Tuesday, April 9, 2019

उदय प्रकाश : २०१०

उदय प्रकाश : २०१०
author-image
नवीन विभास
फुर्सद
 ३० भदौ २०७५ १०:३६:००
  • change font
  • change font
  • change font

कुइनेटो

उदय प्रकाशकृत किताब नै उनले व्याख्या गरेको भारतीय लोकतन्त्र, राजनीति, समाज, प्रविधिले ल्याएको उथलपुथल र आदिवासी/भुइँमान्छेका जीवन हुन्।

आदमी
मरने के बाद
कुछ नहीं सोचता
आदमी
मरने के बाद
कुछ नहीं बोलता
कुछ नहीं सोचने
और कुछ नहीं बोलने पर
आदमी
मर जाता है

त्यसताका, म्यान बुकर पाएकी अरुणधती रोय र कवि वरवर रावसहित पाँचजनालाई भारत सरकारले ‘देशद्रोह’ मुद्दा लगाएको थियो।
यसताका, उनै रावसहित वकिल सुधा भारद्वाज, मानवाधिकारकर्मी अरुण फरेरा, गौतम नवलखा, वरनाँन गोन्जाल्विस खोरमा छन्।
नेपालमा गोर्खा जेल ब्रेक संस्मरण स्रष्टा उमा भुजेलसहित विप्लव नेकपा नेता/कार्यकर्ता हिरासतमा छन्। प्रवक्ता एवं पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई गराइएको हिरासत–दौडाहाले त पञ्चायतलाई ठाउँको ठाउँ टक्कर दिएको छ।
भारतमा ‘म पनि सहरी नक्सल’ ह्यासट्यागसहित ‘डेमोक्रेसी इन इन्डिया, वर्स दान इन्दिरा (इमर्जेन्सी)’ लेखेर मूलधारे सञ्चारमाध्यमले नै हिन्दुत्वसहितको मोदी ‘लोकतन्त्र’विरुद्ध फायर खोलेका छन्। सुधापुत्री मायसा चिठी चर्चामा छ। आमा सुधालाई लेखेको चिठीको पेटबोलीले भन्छः आदिवासी हकका लागि लड्ने, शोषण र दमनविरुद्ध लड्ने यदि नक्सली हुन् भने, ठान्नुस् कि ती धेरै राम्रा मान्छे हुन्।
नेपालमा ‘सरकारी समृद्धि’ कोलाहलमा भुजेल र विश्वकर्मा हिरासत–दौडाहाविरुद्ध स्वर कुपोषणग्रस्त छ।
साहित्य अकादमी पुरस्कार पुरस्कृत एमएम कलबुर्गी मारिए, तीन वर्षअघि। माथि उद्धृत कविता सर्जकले कलबुर्गी हत्या विरोध गर्दै पुरस्कार नै फिर्ता गरे।
‘मोहनदास’ उपन्यासमार्फत २०१० मा उनले अकादेमी पुरस्कार पाएका थिए।
अब त थाहा पाइहाल्नु होला कि, उद्धृत कविताका कवि उदय प्रकाश भनेर।
आठ वर्ष भएछ, उनै उदय प्रकाशलाई उनकै घरमा भेटेको।
समय मिले तपाईं नि आउनुस् है, उक्त भेट एकपालि सँगै ‘रिकल’ गरम्।
०००
पत्रकार पर्शुराम काफ्ले र झारखण्डवासी रमेश भगतसित रेल चढेर आनन्दविहार पुग्यौं। त्यसपछि आनन्दविहारनजिकै ‘प्यासिफिक कोलनी’नेर। नजिकै छ भन्थे, गाजियावाद (दिल्ली र उत्तर प्रदेशको सीमा)।
पानी परिरहेको थियो। दिउँसो ३ बज्दै थियो। त्यो थियो, मंसिर ८, २०६७।
उदय प्रकाशसित भेट नभए नि उनका कविता मनमा थिए। र, भुइँमान्छेका रहर र सपनाले बुनिएका उनका कथा आँखामा। उनका ‘मोहनदास’ त सँगसँगै हिँड्थे, भारतका सडकमा हिँड्दा होस् वा नेपालका।
१० मिनेटपछि अलि टाढै सरकारी प्रज्ञा प्राज्ञ अमर गिरी देखिए। ‘बड्डा कहिले दिल्ली झरेछन्’ भनेर झस्किएँ।
अलि नजिकिएपछि पक्का भो, गिरी होइनन्। तर, उनैले पो हात हल्लाए।
(मंगोल अनुहार देखेर होला कि भन्छु।)
‘यु आर नवीन ?’
गिरी ठानेका उनै रहेछन्, उदय प्रकाश।
नमस्ते आदानप्रदानसँगै ‘हग’ गर्‍यौँ।
गुरुजी सिटमा उदय प्रकाश बसे। त्यसपछि ग्रे कलरको कार गुड्यो। केही मिनेट गुडेपछि ग्रे कलरकै घरअगाडि रोकियो।
गेटमा सानो बाकस थियो। लेखिएको थियो, उदय प्रकाश।
गेट खुलेपछि जापनिज स्पिट्ज सेतो कुकुरले कुइँकुइँ गर्दै पछ्यायो। तर, भुकेन।
चिनजान गराए, ‘उनी मेरी श्रीमती।’
‘हाउ केम टु नो माई नेम इज कुमकुम ?’ फोनमा भएका कुराकानी स्मरण गर्दै आश्चर्यचकित प्रश्न गरिन्। खासमा कथाकार कुनाल सिंहले उदय प्रकाश परिवारको नालीबेली दिएका थिए।
झरीले ओसिलो वातावरण उदय प्रकाश परिवारको स्वागतले एकाएक न्यानो भयो।
०००
बैठक कोठा। एक छेउमा बुद्ध मूर्ति। (खन्दाखेरि भेटिएको मूर्ति आफ्नै गाउँबाट लिएका थिए।)
हल्का खैरो अनुहारका सोफा। तीमध्ये छेउको सोफामा उनी बसे। र, दायाँ कुहिना अड्याउने भागमा कुकुर बस्यो।
कुकुर बेलाबेला कुइँकुइँ गर्‍यो भने बेलाबेला भित्रबाहिर।
दायाँहाते साइली औंलामा औंठी। बायाँ हातमा घडी। घडी देखिने गरी बाहुला सिमलेको फुल टिसर्ट। र, टाउकोमा कालो क्याप।
कुराकानी मेसो नलाग्दै कुमकुम आइन्। मोबाइल हात पारेर उदय प्रकाशको कान नजिक मुख लगेर फुस्फुसाइन्।
एकछिनपछि उदय प्रकाशले भने, ‘ठूलो छोरोले भारतीय नागरिकता त्याग्यो।’
‘ए।’
‘बुहारी पनि जर्मन हो।...मनले भारतीय भए नि अब कानुनीरूपमा जर्मन।’
कान्छा छोरासँग केही अघिमात्र चिनजान भएको थियो।
अध्ययन कक्षका भित्ताभर ब्रतोल्त ब्रेख्त नै ब्रेख्त थिए। त्यहाँ पनि एकछिन फोटो सेसन चल्यो।
लार्जेस्ट ‘डेमाक्रेसी’मा नक्सल र आदिवासी
‘कुनै पनि लेखक आफ्नो समयसँग परिचित हुनैपर्छ,’ लोकजीवन र लेखक सम्बन्ध बुझाउन उदय प्रकाशले भने। आसय प्रष्ट थियो– लेखक लोकमनकहाँ जाऊ। बुझ। र, तिनलाई अक्षरमा उन।
‘साहित्य भाषा तागतदार हुन्छ जो जीवनको भाषा हुन्छ। मनदिल समयसँग नजोडिए लेखक बन्न सक्तैन,’ यति भनेर बे्रख्तका फोटो नियाल्दै थपे, ‘बन्न त सक्छ। तर, राम्रो बन्न सक्तैन।’
ब्रेख्त उनका ‘दिलवाले’ लेखक थिए।
‘कुनै समाजको आत्मा बचाइराख्ने हो भने लेखकलाई बाँच्न दिनुपर्छ,’ समाजसँग संवाद गर्न सक्ने लेखक जरुरी भएको तर्क राख्दै उनले भने।
लगत्तै अरुणधतीलाई दिइएका धम्की र देशद्रोह मुद्दाप्रति असहमति जनाए। त्यसपछि विरोध। र, राज्यसत्ताले जस्ता रवैया अपनाए नि लेखकले चाहिँ कहिल्यै सत्य लेख्न छाड्न नहुने जिद्दी गरे। उनको जिकीर थियो, ‘महत्वपूर्ण त्यो नै हुन्छ जो सत्ताद्वारा स्वीकृत हुँदैन।’
त्यसैबेला कुकुर कुईंकुईं गर्दै बाहिरियो। र, कोही आएको संकेत गर्दै भुक्यो पनि।
उदय प्रकाश रमेश भगततिर फर्के। (विपरीत दिशामा राखिएका सोफामा हामी तीनजना थियौं।) त्यसलगत्तै उनी आफ्नो गाउँ फर्के। कारण थियो, भगत र उनी छिमेकी जिल्लाका थिए। (आफ्नो जीवन, समय, लेखन, समाज र राजनीतिबारे भन्न आफ्नो गाउँ जान जरुरी देखे, सायद।)
‘घना जंगल थियो। जनावर भेटिन्थे। चराले गाएका सुन्थ्यौं। नदी थियो। माछा माथ्र्यौं,’ नोस्टाल्जिक हुँदै उनले आफ्नो गाउँ–गाना गाए।
उनको गाउँ छोएरै बग्थ्यो, सोन। सोन त बग्दै बग्दै बिहार पुग्थ्यो। त्यही नदीले सोनभद्र जिल्लालाई नाउँ दिएको थियो।
आदिवासी थिए। ती आदिवासी कोही पात टिपेर बिँडी बनाउँथे। कोही माछा मार्थे। कोही इँटा बनाउँथे। कोही बाँसको काम गर्थे। त्यसरी नै ‘आदिवासी जोवन गाडी’ गुडेको थियो।
याम फेरियो।
आदिवासी बस्ती, जंगल र नदी भएको ठाउँमा त १९ वटा कोलमाइन बने। कागज कारखाना बने। दुईवटा चिनी कारखाना र सिमेन्ट कारखाना खुले। बाह्य लगानीमा बाटो र कारखाना खुले।
‘जब घर जान्छु, चौबीसै घन्टा कोलाहल। पहिलेजस्तो जीवन छैन,’ हिजो र आज तौलँदै उनले भने।
आदिवासी आश्रित पात, माटो, पानी र बाँस त कर्पोरेट र मल्टिनेसनल कम्पनीका भइसकेका थिए। कसरी बाँच्नु आदिवासी ! कसरी ‘बिरला’ जस्ता कर्पोरेटबाट किनेर आदिवासीले धान्नु जिन्दगी !
जल, जमिन र जंगल नभएपछि आदिवासी र गरिब पूरापूर बेरोजगार भए।
त्यसपछि ?      
आदिवासी बस्तीमा भोकमरी छायो।
त्यसपछि ?      
बचे जति विस्थापित भए।
कर्पोरेट हाउस, बहुराष्ट्रिय कम्पनीले आदिवासी र सर्वसाधारण विस्थापित गरी ठड्याएका कारखाना, बाटोघाटोलाई ‘विकास’ भन्यो, ‘लार्जेस्ट डेमोक्रेसी’वाला सरकारले। ‘समृद्धि’ भन्यो।
त्यै नक्कल गर्दै नेपालमा ओली सरकार र प्रतिपक्षको ‘समृद्धि सुगा रटान’ अहिले जारी छ।
सोन नदी सुक्यो।
‘प्राकृतिक स्रोत र ट्राइबल एकअर्कासँग जोडिएका छन्। राज्यले त जंगल र नदी मास्दै ट्राइबल मास्दैछ। जति छ ती सबका सब कोल माइनर, मल्टिनेसनल कम्पनीका भए। ...प्राकृतिक स्रोत बचाउन लड्नु हुन्छ भने तपाईं पनि अटोमेटिकल्ली ट्राइबल बचाउन लडेको हुनेछ,’ भूमिपुत्र आदिवासी मायामा बल्झिएका दुःख बिसाए।
‘जसले नदीलाई माया गर्थे, जंगललाई माया गर्थे ती त कहीँ पनि छैनन्। हो, हामी त कहीँ पनि छैनौँ।’
आदिवासी र गरिबलाई खेदेर नि सरकारी सत्तावालाका मन बुझेन। तिनलाई हातपात गर्‍यो। धम्क्यायो। कुट्यो। हिरासत र जेल हाल्यो। कतिलाई गोली हान्यो। र, सबलाई जबर्जस्त ‘नक्सल तक्मा’ भिरायो।
‘कसैका भाइ पक्राउ परे त कसैका बा कसैका दिदी त कसैका बहिनी। सबलाई नक्सल भन्यो। ती कोही पनि नक्सल होइनन्,’ उनले भने।
नेपालको सरकारी आँखामा पनि मंगोल अनुहार माओवादी थिए। ‘जनयुद्ध’कालमा गरिब र दलित जति आतंककारी थिए। उसो त कांग्रेस सशस्त्र विद्रोह र झापा विद्रोहताका पनि पूर्वीपहाड र तराईका आदिवासी बस्ती नै रक्ताम्यै पारिएथे।
भारतमा ११ प्रतिशत आदिवासी छन्। उत्तर/पूर्वी भारतमा ९० प्रतिशत आदिवासी छन् भने उदय प्रकाशको छत्तीसगढमा ५४ प्रतिशत।
‘के राज्यले यति जनतालाई मार्न सक्छ ? ,’ उनले प्रश्न गरे।
आदिवासी र सर्वसाधारणलाई न्याय छैन। न्याय खोज्ने बाटा बन्द छन्।
‘नागरिक अधिकार कहाँ गएर खोज्ने ? पहुँचवाला जति कर्पोरेटसँग मिलेका छन्,’ उनको कथन थियो, ‘सीमित सोकल्ड उच्च जातिका हिन्दुले मिडिया र शक्तिको टेको लगाएर राज गरिरहेछन्।’
नक्सल आन्दोलन अन्याय र विभेद रहँदासम्म नमर्ने उनको निष्कर्ष थियो।
‘नक्सलवादी आन्दोलन लोकतन्त्र असफलताको कारण हो। नक्सल बोर्न इन इन्जस्टिस,’ उनले थपे।
सरकारसित सेना छ। बन्दुक छ। मिडिया छ। विदेशी सहयोग छ। तैपनि गरिब र आदिवासीलाई मास्न नसक्ने उनको ठहर थियो।
‘लडाइँ त जनता र तिनका इच्छाशक्तिले पो जितिन्छ त। न्यायको लडाइँ मात्र जित्न सकिन्छ,’ उनको तर्क थियो, ‘भियतनामीले कसरी जिते ?’
केही सीमितलाई मोजमस्ती दिलाउने सत्ता ‘अंग्रेज भागेजस्तै भाग्ने दिन आउने’ उनले बताए। आफूलाई विश्वको सबैभन्दा ठूलो लोकतन्त्रिक देश दाबी गर्ने सरकारी दाबीलाई ‘गलत’ भने।
‘भारतमा लुटेरातन्त्र छ। माफियातन्त्र छ। कलमादी र यदुरप्पा छन्। पटवारीदेखि कलमादीसम्म भ्रष्ट छन्। डेमोक्रेसी त प्रोटोक्रेसीमा फेरिएको छ,’ अधिकारका कुरा गर्नेलाई सरकारले दुश्मनजस्तै व्यवहार गरेको आरोप लगाउँदै नोम चोम्स्कीको शब्द सापटी लिएर उनले भने, ‘अहिले भारतमा प्लुटोक्रेसी छ।’
सत्तावालाले कमिसन खाए। शोषणको वातावरण बनाए। त्यसपछि बहुराष्ट्रिय कम्पनीहरूले आफ्ना माल बेचे। यसैलाई सरकारले भन्यो, ‘विकास’।
‘भारतमा विकास भनेको ‘बढी भ्रष्टाचार’ र ‘बढी कमिसन’ हो,’ उनले दाबी गरे।
अहिले त बहुराष्ट्रिय कम्पनी कोक, म्यागडोनल लिएर पुगे काम तमाम हुन्छ। हिजोजस्तो सेना पठाउनै पर्दैन।
‘बहुराष्ट्रिय कम्पनीको रुचि र लाभका आधारमा भारत त उपनिवेश बन्दैछ। यहाँ त गोली नचली मान्छे मरिरहेछन्,’ उनले भने।
‘जनतालाई उपभोक्ता’ बनाएर राजनीतिक दलले राजनीतिक म्यानिफेस्टो नै विज्ञापन बनाएको दुःख पोखे। भाजपा र कांग्रेसले चुनावमा कसरी विज्ञापन गरे र कसलाई कसरी प्रयोग गरे ? दृष्तान्त सुनाए।
मोहनदास
बेरोजगारी, गरिबी, भ्रष्टाचार र भारतीय ‘लोकतन्त्र’प्रति प्रश्न उठाउन लेखे, मोहनदास। त्यो उदय प्रकाशको गाउँकै सत्य कथा थियो। भलै ती पात्रको नाउँ मोहनदास थिएन।
‘म त दुर्गम गाउँ छत्तीसगढको हुँ। जो तपाईंले कल्पना गर्न पनि सक्नुहुन्न,’ उनले भने।
मोहनदास सारांश यस्तो थियोः
राम्रो अंकसाथ स्नातक पास एक दलित युवा मोहनदास। जति धाए नि दलित र गरिब भएकैले जागिर पाउँदैनन्। पछि पो थाहा पाए कि उनकै नाउँ र सर्टिफिकेटमा त कथाकथित हिन्दु उच्च जातिकोे पहुँचवालाको छोरोले पो जागिर खाइरहेका छन्।
न पैसा थियो उनीसित न्याय पाउन न त पावर थियो जागिर पाउन। धम्की र कुटाइ थिलोथिलो उनी हुक्कीहार भए। र, आफूलाई मोहनदास नै होइन भन्ने तहमा पुगे।
उदय प्रकाशका अनुसार, भारतको ७९ प्रतिशतभन्दा बढी जनसंख्याले मोहनदास जिन्दगी अँध्यारोमा जिइरहेछन्।
‘हिन्दी हिन्दु धर्मको आधार बनाएर ‘क्रियट’ गरिएको भाषा हो। हिन्दी कोलकोतामा क्रियट गरियो भने बनारसमा विकास। यो त राजभाषाको रूपमा क्रियट गरिएको छ, गणतन्त्र भारतमा।’
भारत एक छैन। धार्मिक/सांस्कृतिक विविधता छ। भाषा नै २२५ छन्। कुरान, महाभारत, त्रिपिटकसहित धेरै धार्मिक विविधता भएको ‘प्लुरल भारत’ले एउटालाई मात्र स्विकारेको उनको आरोप छ। र, भारतीय संविधानलाई ‘सिंगुलर टेक्स्ट’को संज्ञा दिए।
‘हरेक व्यवस्थालाई हेर्ने/नाप्ने न्याय हो। न्याय खोज्ने मान्छेका चाह कहिल्यै नि मर्दैन,’ उनले भने।
पैसा, पावर, मिडिया र बाह्य सहयोगका गोडाले उभिएको सरकारी सत्तामा जागिर गर्ने केहीलाई भने मोहनदासले छोयो। तिनका दिल र दिमाग हल्लायो।
मोहनदास बजारमा आएलगत्तै एक रात उदय प्रकाशलाई कसैले फोन गरे।
ती सिनियर पुलिस अधिकृत थिए। मोहनदासकै एरियाका।
आफू भोलिपल्ट बिहानै मोहनदासलाई भेट्न जान लागेको जानकारी दिए। मोहनदास पढेपछि हैरान ती पुलिस अधिकृत फोनमै रोए।
नभन्दै बिहानै गए र मोहनदासलाई ‘आइन्दा पुलिसले नछुने’ आश्वासन दिए।
एक युवा जुडिसियल मजिस्टिेडले उदय प्रकाशलाई भेटे। र, आफू त्यहाँ भएको भए ‘मोहनदासको पक्षमा फैसला गर्ने थिएँ’ भने।
रिफ्लेक्सन अफ ग्लोबलाइजेसन
वर्णा श्रमले विनाश समाज र भूमण्डलकीकरण प्रभावबारे उदय प्रकाशले ‘पाँल गोमरा का स्कुटर’ लेखे।
चर्खा प्रविधि थियो। जुन गान्धीले प्रयोग गरे, औद्योगिकरणविरुद्ध। त्यसैगरी स्कुटर चर्खा हो। तर, गोमरा भने स्कुटर चलाउन सक्तैनन्।
उनका अनुसार, भारतमा न धेरैले स्कुटर चलाउन सक्छन् न त क्रेडिट कार्ड प्रयोग।
‘अन्तमा गोमरा पागल हुन्छ। र, ढुंगा हान्दै ‘क्विट इन्डिया’ भन्छ। त्यसमा बडा कहानी छ, ९० को,’ उनले भने।
थर्ड टेक्नोलोजी रिभोलुसन
ठूला कारखाना गायब भए। लाखौं मजदुर जरुरत भएन। एकैजनाले काम तमाम गर्ने भए। नयाँ प्रविधि आयो। यो थियो, थर्ड टेक्नोलोजी रिभुलुसन, जुन सभ्यताकै ‘टर्निङ प्वाइन्ट’ थियो।
‘दुई पुस्ताबीच २० वर्षको अन्तर मानिन्छ। जब सन् ८९ मा थर्ड टेक्नोलोजी रिभुलुसन भयो, २० वर्ष रहेन। सिंगो सिभिलाइजेसन अर्थात् नौ सय वर्षको। यो जेनेरेसन चेन्ज होइन, सिभिलाइजेसन चेन्ज हो,’ उनले भने।
यसलाई लिएर थुप्रै सिर्जना सिर्जिए। त्यसमध्ये लिगेसी फिल्मको उदाहरण दिए :
२१/२२ वर्षको एक युवक मुम्बई मल्टिनेसनल कम्पनीको सीईओ छ। कहिले सिंगापुर जान्छ बैठक बस्न त कहिले दिल्ली।
चर्को बेफुर्सदीबीच सात दिनको छुट्टी लिएर घर लाग्छ।
सुरुमा हवाईजहाज चढ्छ। त्यसपछि ? रेल चढेर जोधपुर। त्यसपछि ? लोकल बस चढ्छ। बसबाट ओर्लेर रिक्सा। त्यसपछि ? खेतैखेत पैदल हिँड्छ। र, हिँड्दाहिँड्दै रात परेपछि घर पुग्छ।
घर पुग्दा उसको बा बिन बजाइरहेछ (बा सफेरा हुन्) भने आमाले फलामको काम गरिरहेकी।
‘उसको बा नन् अग्रिकल्चर स्टेजको छ। छोरा मल्टिनेसनल कम्पनीको सीईओ। यो जेनेरेसन ग्याप होइन, सिभिलाइजेसन हो। बहुत अन्तर छ,’ उनले भने।
नाम नै किटेर उनका समकालीन र नयाँ पुस्ताका लेखकबारे सोधेको प्रश्नको जवाफ उनले तिनका सिर्जना चर्चेर दिए। नाम होइन।
०००
२३ वर्षयता उदय प्रकाश पूर्णकालीन लेखक छन्। उनको घर छ। गाडी छ। जिन्दगी गज्जबले गुडेको छ।
‘युवा साथीहरूले मेरा किताबको रोयल्टी संकलन गर्छन्। र, दिन्छन्। म त तिनका सहाराले बाँचिरहेछु,’ उनले भने।
उनका किताब हिन्दीबाहेक अन्य भारतीय भाषा र विदेशी भाषामा अनुदित छन्।
‘मोहनदास’ नेपाली खस भाषामा यज्ञशले अनुवाद गरेका छन्।
उत्तर दिँदा उड्दैउड्दै उदय प्रकाश अनन्त आकाशमा पुग्थे। कहाँ हो कहाँ बरालिन्थे। तीन घन्टा लामो कुराकानी क्रममा उदय प्रकाश जति बरालिए, उति मज्जा लाग्यो। अझ रमाइलो त के भने भारतीय समाज, राजनीति र साहित्यबारे भन्दाभन्दै आफ्नो व्यक्तिगत जीवनमा लुसुक्क पस्थे।
‘अहिलेसम्म नसोचे पनि कुनै दिन नेपाल र नेपालीबारे लेख्ने मन छ’ भन्दै पटकपटक उनले भने, ‘आज धेरै खुसी छु कि नेपाली साथीहरूलाई घरमा स्वागत् गर्न पाएँ। मेरा पाठक हिन्दी भाषीमात्र छैनन्, फरकफरक भाषी संसारभर छन्।’
उदय प्रकाशकृत किताब नै उनले व्याख्या गरेको भारतीय लोकतन्त्र, राजनीति, समाज, प्रविधिले ल्याएको उथलपुथल र आदिवासी/भुइँमान्छेका जीवन हुन्।
०००
समय घर्केपछि जबर्जस्त कुराकानी टुंगियो।
उनले देखाए, कोठाको अनुहार। त्यसपछि भने, ‘यो तपाईंहरूको कोठा हो। दिल्ली आउँदा यही बस्नुस् है।’
माथि उक्ले।
थियो डाइनिङ रुमजस्तो। बगैंचाजस्तो पनि। पानी। फूल र केही अरू पनि। रङ रङका बल्ब। बल्बले आँखा झिम्क्याइरहेका थिए।
‘यहाँ बसेर कविता सुन्छौँ,’ उनले भने।
उदय प्रकाश दम्पती नै आनन्दविहारसम्म पुगे जहाँ त्यस दिनका अन्तिम बस र रेलले हामीलाई पर्खिरहेका थिए।
डायरी हेरेँ– छलफल गरेका र गर्न बाँकी।
जस्तो :
भारत कहाँ छ, विश्व साहित्यमा ? तपाईंको स्थान कहाँनेर हो ? अंग्रेजी र हिन्दीबाहेकका भाषामा लेखिने साहित्य स्थिति कस्तो छ ?      
शासक सौन्दर्य र यथास्थिति लेख्ने नै हाबी मोदी मुलुकमा उदय प्रकाश निरन्तर लेखिरहेछन्। उनको साथ छ त, पाठकीय सत्ता। सरकारी सत्ता होइन।
०००
बस गुड्यो।
जेएनयू पढाएका, कम्युनिस्ट पार्टी सदस्य बनेका, जेल बसेका, (पछि सक्रिय राजनीति छाडेका), लेखक, अनुवादक, पत्रकार (सरकारी जागिरे पनि भएका) उदय प्रकाश।
बसको गति जति बढ्यो उति उदय प्रकाशलाई पछ्याउँदै आँखामा आए कृष्णज्वाला देवकोटा। उनै देवकोटा थिए, पत्रकारिता सुरुआतीका मेरा सम्पादक। देवकोटासँगै आइन्– हिरोइन नन्दिता दास र दासमाथिको ज्वाला लेख। दासमाथिको देवकोटा लेखान्त यस्तो थियो, ‘मैले कलाकारसित कुरा गरेँ कि दार्शनिकसित ?’
झन्डै सोध्न भुलेको, उदय प्रकाशलाई भेटेर तपाईंलाई कस्तो लाग्यो हँ ? 

No comments:

Post a Comment