त्यो बेला। प्रधानमन्त्रीका स्वकीय सचिव शक्तिबहाहदुर बस्नेतले प्रधान सेनापति रुक्मांगद् कटवाललाई बोलाए। कटवाल गाडीमा सेनाको दलबलसहित पुगे। प्रधानमन्त्रीका प्रेस सल्लाहकार ओम शर्मालाई कटवालले सोधे, ‘मलाई किन बोलाइयो?’
बिहान ८ बजे बालुवाटार पुगेका कुलबहादुर खड्कालाई सरकारले कायममुकायम प्रधानसेनापति बनायो। खड्का चिठी लिएर बालुवाटारबाट निक्लिए।
बिहान ८ बजे बालुवाटार पुगेका कुलबहादुर खड्कालाई सरकारले कायममुकायम प्रधानसेनापति बनायो। खड्का चिठी लिएर बालुवाटारबाट निक्लिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, रक्षामन्त्री रामबहादुर थापा बादल र जनार्दन शर्मा मन्त्रिपरिषद् बैठकलगत्तै बाहिरिए। ‘सरकारले तपाईंलाई अवकास दिएको छ’ भन्दै कटवाललाई मन्त्री थापाले पत्र थमाए। तर, ‘पत्र मेरो कार्यालयमा बुझ्छु’ भन्दै कटवाल चिठी नलिई निक्लिए।
कटवाललाई अवकास दिएको पत्र जंगीअड्डा पुग्यो।
‘अब के हुन्छ?’
सनसनी फैलियो। फरकफरक अनुहारका हल्ला बालुवाटार पनि पुगे। त्यसमध्ये एउटा थियो, सडकमा सेना निक्लियो।
त्यस दिन सनसनीमै ढल्यो।
खाना खाएर प्रधानमन्त्री प्रचण्ड सुते।
हतियारसहित तीनजना प्रचण्डको भित्री ड्युटीमा बसे। नदेखियोस् भनी तिनले पर्दा लगाए। उनीहरु प्रधानममन्त्री सुतेको कोठासम्म कोही नपुगून् भनी भर्याङनेर नै रोक्ने योजनामुताबिक ड्युटीमा थिए। १५-२० मिनेट जति भर्याङनेर रोक्न सके जनता सडकमा पुग्छन् भन्ने आँकलनअनुसार द्वन्द्वकालमा प्रचण्डको सुरक्षा कमाण्ड गरेका दुईजनासहित प्रचण्डपुत्र प्रकाश एम सिक्सटिन र कोलकमाण्डो हतियार लिएर ड्युटीमा थिए।
राति साढे १२ बजेतिर प्रधानमन्त्री प्रचण्डका सुरक्षा प्रमुख एवं लेफ्टिनेन्ट कर्नेल अरुण पाल ‘चिठी आयो सर’ भन्दै पुगे।
त्यो चिठी थियो, राष्ट्रपति रामवरण यादवको। ‘कार्यकारी’ प्रधानमन्त्रीको निर्णय उल्टाउने ‘आलंकारिक’ राष्ट्रपतिको चिठी। अर्थात् कटवाललाई पुनःस्थापित गरेको चिठी।
७ वर्षअघि ‘नागरिक सर्वोच्चता’को नारा बोकी माओवादी सुप्रिमोसमेत रहेका प्रधामन्त्री प्रचण्ड बालुवाटारबाट निक्लेका थिए। ‘भारतले प्रधानमन्त्रीबाट हटाएको’ चर्को आरोप लगाउँदै ‘नागरिक सर्वोच्चता’ कायम गर्न माओवादीले आमहडताल गर्यो।
अन्ततः प्रचण्डको कटवाल ‘कु’ र आमहडताल दुवैले सफलता पाएनन्।
समय फेरियो। तर, रोचक संयोगसहित।
सात वर्षपछि। जसले ‘हटायो’ भन्ने आरोप लगाउँदै बालुवाटारबाट निक्लेका थिए, यसपालि उसैले बालुवाटार ‘पठाएको’ एमाले आरोप बोकी प्रचण्ड प्रधानमन्त्री बनेका छन्। कार्यकारी प्रमुखको निर्णय उल्टाउने राष्ट्रपति यादवलाई ‘राष्ट्रपति उम्मेदवार’ बनाउने कांग्रेसकै हात समातेर उनी बालुवाटार छिर्दैछन्। र, द्वन्द्वकालमा प्रचण्डले वर्ग दुस्मन ठानेका र प्रचण्डको टाउकाको मोल ५० लाख तोकेका देउवाबीच नयाँ लगनगाँठो गाँसिएको छ।
७ वर्षको अवधिमा नेपाली समाज, नेपालको राजनीति र प्रचण्डकै राजनीतिक र व्यक्तिगत जीवनमा पनि ठूलो बदलाव आएको छ।
'प्रचण्डलाई नदेखी मरिन्छ कि' भन्दै जनमुक्ति सेनाले एकै झल्को भए पनि प्रचण्डलाई झुलक्क हेर्न हुरुक्क हुन्थे। बलिदानको लागि तयार हुन्थे। तर, अहिले अविश्वास चुलिँदै पदम कुँवरसम्म पुग्यो।
त्यतिबेला गजबको ‘करिश्मा’सहित बालुवाटार पसेका प्रचण्ड ‘करिश्मा’बिनै यसपटक फेरि बालुवाटार फर्कंदैछन्। गणतन्त्रको पहिलो प्रधानमन्त्री चुनिदा जनताको ठूलो भरोसा थियो। बाबुराम भट्टराईको नयाँ शक्तिमा करिश्मा मानन्धर हिँड्नुअघि नै उनको करिश्मा बाटो लागिसकेको थियो।
प्रचण्डका किचन क्याबिनेटका वर्षमान पुन अनन्तले नेपालखबरमा ‘माओवादीप्रति जनअपेक्षा धेरै नभएकाले र माओवादीसित अनुभव पनि थपिएकाले यसपालि केही गरेर देखाउने’ दाबी गरेका थिए, यो दाबीमै सीमित नहोस्।
उतारचढावसहित आएका प्रचण्ड यसपालि बालुवाटार पुनरागमनबाट यसअघि गिरिजाप्रसाद कोइरालाले गरेजस्तै ‘कमब्याक’ गरुन्। यसअघिको जस्तो पलङ काण्डदेखि कटवाल काण्डसम्म प्रचण्डलाई पुग्नै पर्दैन। यसपालि उनले कुनाका जनता, हेपिएका, गरिबका जीवनमा बदलाव ल्याउने सानै काम गरे वा गर्ने सुर गरेमात्र पनि उनको कमब्याकको बाटो खुल्छ। भलै उनको नेतृत्वमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षताजस्ता राजनीतिक उपलब्धि स्थापित छन्। तर, सर्वसाधारण जनताको जीवनशैलीमा बदलाव नआउँदासम्म ती राजनीतिक उपलब्धि कुनामै सीमित रहनेछन्।
समय फेरिएको छ।
समय फेरिएको छ।
७ वर्षअघि उनले माओवादी इपिसेन्टर रोल्पासँगै दुई ठाउँबाट जितेका थिए। ठूलो दलका नेता प्रचण्ड माहिली छोरी रेणुसहित संसद्मा थिए। अस्थायी शिविरमा बसालिएका जनमुक्ति सेनाको सर्वोच्च कमान्डर थिए। यसपालि त्यो राप र ताप उनीसँग छैन। भलै उनी कम्युनिष्ट नेतामध्ये दोस्रोपालि बालुवाटार छिर्ने पहिलो भाग्यशाली बनेका छन्।
३९औं प्रधानमन्त्री प्रचण्ड चुनौतीका चाङमा उभिएका छन्। तेस्रो दल भएकाले बालुवाटारको म्याद थप्न चर्को मूल्य चुकाउनुपर्नेछ। शान्तिप्रक्रियालाई पूरा गर्नु, मधेसी, थारु आदिवासीका मन बुझाउनु, संघीयताको सिमांकन, भूकम्पपछि ध्वस्त संरचना पुनःनिर्माण गरी विस्थापितलाई पुनःस्थापित गर्नु, भारतले सरकार बनाइदिएको भन्ने कलंक मेट्नुजस्ता चुनौती साना छैनन्।
०००
२०४६ सालमा प्रचण्ड नेकपा (मशाल)को महामन्त्री बनेर पार्टी प्रमुख पदमा पुगेका थिए। त्यसपछि उनी लगातार पार्टी प्रमुख छन्।
लामो बहसपछि उनकै नेतृत्वमा नेपालमा २०५२ फागुन १ देखि जनयुद्ध सुरु भयो। यसको विषयमा मतमतान्तर भए पनि यसले नेपालमा आदिवासी, जनजाति, कुनामा पारिएका समुदाय, क्षेत्रका मान्छेले आफ्नो स्पेस खोज्न यसबाट नै आवाज पाएका थिए।
सशस्त्र युद्ध सुरु भएको ७ वर्षपछि बिधिवतरुपमा उनी त्यसको सर्वोच्च कमान्डर बने।
भारतमा माओवादी नेता भकाभक पक्राउ पर्न थालेपछि उनी नेपाल फर्किए। र, भारतविरुद्ध सुरुङ युद्धको घोषणा गरे। भलै, त्यसैबेला भएको दोस्रो खारा आक्रमणपछि उनी एकाएक नेपालका संसदीय दलसित भारतमा १२ बुँदे सम्झौता गर्न पुगे।
माओवादी संसदीय धारमा आउने बाटो यही १२ बुँदेले खनेको हो। चुनबाङ बैठकले नक्सा मात्र कोरेको थियो।
राजा र संसदीय दललाई खेलाउँदै आएका प्रचण्डले राजासितको सम्बन्ध सदाका लागि तोडे। र, नेपालमा गणतन्त्र घोषणा भयो।
उठान मात्र होइन, उनले १० वर्ष लामो जनयुद्धलाई बृहत् शान्ति सम्झौतामार्फत टुंग्याए पनि।
पहिलो संविधानसभा चुनावमा प्रचण्डले कार्यकर्तालाई ‘मुखमा चुनाव मनमा विद्रोह’ भनेर थान्को लगाए। चुनावमा माओवादी सबैभन्दा ठूलो दल बन्यो।
प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बने। ९ महिने कार्यकाल तात्कालीन प्रधानसेनापति रुक्मागंद कटवाललाई हटाएपछि टुंगियो। कार्यकारी प्रधानमन्त्रीको निर्णय आलङ्कारिक राष्ट्रपति यादवले उल्टाएपछि नेपालको राजनीति नै जटिलतातिर मोडियो।
कटवाल काण्ड प्रचण्डको राजनीतिक जीवनमा मात्र होइन, नेपालको राजनीतिक जीवनमै पनि टर्निङ पोइन्ट बन्यो। कटवाल काण्डपछि माओवादी नागरिक सर्वोच्चताको नारा लिएर सडकमा पुग्यो। आमहडताल गर्यो। तर, सफल भएन।
विरोधीलाई प्रयोग गर्नु र खेलाउनु अस्वाभाविक होइन। तर, उनले आफ्नै कमरेडहरुलाई जुधाउने र लडाउने गर्न थालेको उनलाई आरोप लाग्यो। कहिले बाबुराम त कहिले मोहन वैद्यको बाटोमा हिँडिरहेका प्रचण्ड त्यसबेला कुनामा परे जुन बेला धोवीघाट प्रकरण भयो। प्रचण्ड अल्पमतमा परेपछि उनी बाबुरामलाई प्रधानमन्त्री बनाउन बाध्य भए।
माओवादी नेतृत्वमा दुदुईपल्ट सरकार बने। तर, दुवै सरकारले सर्वसाधारणको जीवनशैलीमा अलिकति तलमाथि पार्नेगरी सिन्को पनि भाँचेनन्। तिनले जनयुद्धकालमा बाँडेका सपनाका कुरा त परै छाडौँ।
त्यसपछि पार्टीभित्र पलाएको अविश्वास झन् झाँगिदै गयो। प्रचण्डसहित केही नेता र केही कार्यकर्ताका जीवनमा प्रचण्डको शब्दमा छलाङ आए पनि आमनेता र कार्यकर्ताका जीवनशैली उस्तै रहे।
वैद्य समूहसित विवादको मुद्दामा सेना समायोजन पनि थपियो। अन्ततः वैद्य समूह हिँड्यो। वैद्य मात्र हिँडेनन्, उनीसित माओवादी संघर्षमा बलिदान गरेका धेरै चोखा कार्यकर्ता पनि हिँडे।
नेपाली सेनाको ‘भर्ती’मा पुर्याएर सेना समायोजन टुंग्याएपछि प्रचण्डलाई साथ दिएका जनमुक्ति सेना पनि टाढिए।
वैद्यको भाषामा राजनीतिक रुपमा प्रचण्डमा आएको 'स्खलन'सँगै उनी मोटाउँदै गए तर उनको दल दुब्लाउँदै गयो।
प्रचण्ड सानो घेरामा रमाए। दायरा खुम्चन थाल्यो।
राजनेताको लालचमा यसरी फँसे कि, आफ्नाको विश्वास गुमाउँदै गए तर अर्काको विवश्वास पनि जित्न सकेनन्। अन्तमा न बलिदान गरेका आँखामा कमरेड अध्यक्ष भनेर आदरणीय रहन सके, न त कांग्रेस-एमालेलगायतकाले मान्ने राजनेता नै।
दुई-चार बुद्धिजीवी र आफ्ना कोटरीको सानो घेराको प्रशंसामा रमाउनमै प्रचण्डका दिन बित्न थालेपछि उनको यात्रा ओरालियो।
वैद्य र बाबुराम पार्टीभित्र रहँदासम्म उनले कहिले बाबुरामको बाटो त कहिले वैद्यको बाटो हिँडे। वैद्यले छाडेपछि पटक-पटक बाबुरामलाई नेतृत्व हस्तान्तरण गर्ने कपाली तमसुक गरे। तर, कार्यान्वयन गरेनन्। अन्त्यमा पार्टीलाई रातो स्टिकर टाँसेर बाबुराम हिँडे।
संसद्मा प्रधामन्त्रीको उमेद्वारी भाषण गरिरहँदा प्रचण्ड आफूलाई छाडेर हिँडेका कमरेडलाई सम्झेर भावुक बनेका थिए।
०० ००० ००
द्वन्द्वकालभर उनी कहिले संसदीय दलसित नजिक भए त कहिले राजासित।
द्वन्द्वकालभर उनी कहिले संसदीय दलसित नजिक भए त कहिले राजासित।
१२ बुँदेपछि गिरिजाप्रसाद कोइरालासित उनी नजिकिए। भलै त्यो सम्बन्ध कोइरालालाई राष्ट्रपति नबनाएपछि चुँडियो। भलै, प्रचण्ड आफ्ना भाषणैपिछे कोइरालाको प्रसंग कोट्याउन थाकेका छैनन्।
सत्ता राजनीतिको दलदलमा फँसेर बदनामी कमाएका कोइरालाले गणतन्त्र स्थापनासँगै प्रधानमन्त्री बनेपछि कमब्याक गरेका थिए। ओरालो लागेका बेला बालुवाटारको टिकट पाएका प्रचण्डले यो इनिङलाई कमब्याक गर्ने अवसरका रुपमा सदुपयोग नगरे सायद उनलाई अर्को मौकाले पर्खिनेछैन। उसो त, दुईपालि प्रधानमन्त्री बन्ने अवसर पाएका उनले नै एमालेका झलनाथ खनाल र केपी ओलीलाई प्रधानमन्त्री बनाउने भूमिका खेले। खिलराज रेग्मीलाई मन्त्रिपरिषद् अध्यक्ष बनाउने भूमिका समेत उनकै थियो।
०० ००० ००
राजनीतिमा मात्र होइन, प्रचण्डको व्यक्तिगत जीवनमा पनि ठूलो आरोहअवरोह आयो यसबीचमा। हिसिला यमीले भनेजस्तो, 'च्यासलको गल्लीभित्र दिउँसै मैनबत्ती बालेर उक्लिनुपर्ने कोठाबाट' राजनीतिक यात्रा थालेका प्रचण्ड अहिले लाजिम्पाट पुगेका छन्। प्रचण्डकै शब्द सापटी लिएर भन्दा, यो उनको जीवनमा आएको 'क्रान्तिकारी छलाङ' हो।
यसैगरी, छोरा प्रकाशको बिहेकाण्डले गर्दा झुक्किएर पनि महिला अधिकार र न्यायका कुरा गर्ने नैतिक बल प्रचण्डले गुमाएका छन्। यद्यपि उनले उत्तराधिकारीका रुपमा छोरा प्रकाश र माहिली छोरी रेणुलाई 'ग्रुम' गर्न भने छाडेका छैनन्।
कैयौँ अवगुणका बीच पनि सकारात्मक आँखाले हेर्ने हो भने, प्रचण्ड जति डाइनामिक नेता नेपालमा छैनन्। हुनत अस्थिर र बोलीको ठेगान नभएको भनी उनलाई आरोप लाग्दै आएको छ। यतिसम्म कि, चीन भ्रमणबाट फर्कंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो पहिलो राजनीतिक भ्रमण भारतबाट हुने भनेपछि उनको तौल अन्तर्राष्ट्रिय बजारमा एकाएक घटेको थियो।
विद्रोहकालमा देखाएजस्ता सपना नभए पनि संसद्मा भोट माग्दा उनले केही सपना बाँडेका छन्। रविन सायमीको कार्टुनजस्तो ‘एउटाको बोली नबुझिने र एउटाको भोलि नबुझिने’ नहोस्। त्यो व्यङ्ग्य कार्टुनमै सीमित रहोस्।
आफ्नै प्रधानमन्त्रीलाई बोलीको ठेगान नभएको भन्दा नेपालीलाई दुःख लाग्छ। प्रचण्डले हराएको करिश्मा फर्काउने काम गरुन्। र, उनका वरपरकाले मात्र होइन, गरिब नेपालीले पनि आफ्नो प्रधानमन्त्रीको नाम लिँदा गर्व गरुन्।
No comments:
Post a Comment