Wednesday, April 17, 2019

खुकुरीको दापमा छ, बाको धमिलो तस्बि

उनले काकाको अनुहारमा बाबुको सम्झना भेट्छिन्। त्यसैले यादको तिर्खा मेट्न बिभिन्न पर्वका बहाना बनाएर काकाकहाँ पुग्छिन्। काकाको अनुहार काटीकुटी बाबासँग नमिल्दो हो त कहाँ जान्थिन् होला हँ?
उनका काका पनि दाजुको तिर्खा मेट्न पार्टी कामको बहानामा सदरमुकाम लिबाङस्थित उनको डेरामा पुग्छन्। उनका आफन्त र गाउँलेले उनको अनुहार पनि ‘बाबाबाट आएको’ भन्छन्।
केही दिनअघि मात्र उनका काका उनको डेरामा पुगेका थिए। काकासित अनायास पुराना कुरा उप्किए। ती पुराना कुरा आँसुको बाटो समाएर झरे।
00                    00                   00  
माओवादीको मक्का मानिने रोल्पाको थबाङसित जोडिएको उनको गाउँ उवामा ढुंगामाटो नै माओवादी थिए। तर श्रीकुमारी रोका मगरका बाबाचाहिँ कसरी कसरी उछिट्टिएर कांग्रेस भए? गैरमाओवादीमा लागेको चर्को खडेरीमै उनका बा भने कांग्रेस सक्रिय कार्यकर्ता भए। भलै, पार्टीमा कुनै जिम्मेवारी थिएन।
उनको बाबालाई कांग्रेसमा सक्रिय भएको मूल्य चर्को साबित भयो। यति चर्को कि उनले गाउँ मात्र होइन, यो दुनियाँ नै छाड्नु पर्यो।
दुई बर्षअघि उनकी आमा, तेजमा घर्ती मगर, पनि हिँडिन्। आमाको तेह्रदिनेबाट फर्कंदा बाबाको याद बोकेका केही भेटिन्छ कि भनी माइती घरमा धुँइधुँइती खोजिन्। मेलापात र गोठाला जाँदा बाबाले कम्मरमा भिर्ने खुकुरी भेटिन्। उनलाई बाबा नै भेटेजस्तो लाग्यो। त्यही खुकुरी बोकेर उनी लिबाङस्थित डेरामा फर्किइन्।
गत फागुनको एक साँझ बाकसभित्र जतनसाथ राखेको खुकुरी उनले हातमा लिँदा बाबालाई सम्झेर आफूलाई थाम्न सकिनन्। खुकुरी हातमा लिएर धेरै बेर भक्कानिइन्। 
रोल्पाली मगर पुरुषले बोल्लाको कचनी कात्थे। कचनीमाथि पटुकीले कम्मर कस्थे। र, पटुकीमा दापसहितको खुकुरी कोचेर हिँड्थे। नयाँ पुस्तामा यो चलन हराउन थालेको छ।
‘यत्ति (खुकुरी) बचेछ, बाबाको चिनो,’ आँसुमिश्रित उनको बोली हावामा तरङ्गियो, ‘खुकुरीको दापमा छ, मारिएका बाको धमिलो तस्विर।’ छेउमै बसेका उनका पति उनलाई चुपचाप हेरेर टोलाइरहे। असजिलोगरी पत्नीलाई चुपचाप हेरिरहेका उनका पति, सुरेशकुमार रोका मगर, ३७, केही दिनअघि मात्र कतारबाट छुट्टिमा नेपाल फर्केका थिए।
श्रीकुमारीका एकमात्र छोरा, संजोग, १७, लिबाङकै एक बोर्डिङ स्कुलमा १० कक्षामा पढ्छन्। एक दाजु थिए, उनका। उनै दाजु र उनका पति द्वन्दको ताप सहन नसकी वैदेशिक रोजगारमा हान्निएका थिए।
उनका दाजु मलेशियाबाट फर्केनन्। बिधवा भाउजू छोराछोरी सम्हालेर गाउँमै बसेकी छन्। उनकी एकमात्र बहिनी पुलिस अधिकृतसित घरजम गरेकी छन्।
उनका बाबालाई माओवादीले मारे। शान्ति प्रक्रियापछि त फलानो फलानो माओवादीले मारे भन्ने पनि सुनिन्। तैपनि उनको मनमा त्यस्तो बदलाभाव भने आएन। बदलाभाव न उनको मनमा द्वन्दकालमै आयो न त अहिले नै छ।
‘चाहेको भए त सेना पुलिससित सिआइडी भएर हिँड्ने थिएँ। माओवादीलाई पक्राउन सक्थेँ। मैले भनेकै भरमा पुलिस र सेनाले माओवादीलाई मार्न सक्थे,’ सम्हालिएर खुकुरी बाकसमा राख्दै भनिन्, ‘बदलाभाव पहिले पनि जागेन। अहिले पनि छैन। बुबाको हत्यामा संलग्न थिए भन्ने सुनेका माओवादी साथीहरुसित पनि मेरो राम्रै सम्बन्ध छ। उहाँहरुसितै सहकार्य पनि गर्छौं।’
द्वन्दमा चर्को मूल्य चुकाएकाले पनि रोल्पा कांग्रेसले पुराना कुरा नकोट्याउन भन्यो। सहकार्य गरेर जान कार्यकर्तालाई प्रशिक्षण नै चलायो। अघिल्लो कार्यकालमा रोल्पा कांग्रेस सदस्यसमेत रहेकी उनको मनमा तिनै प्रशिक्षणले पनि बदलाभावलाई मलजल गरेनन्।
‘बिगतका घटना कोट्याएर सजाय गर्ने हो भने त घाउ फेरि बल्झिन्छ। दिगो शान्ति कायम गर्न एकापसमा सहकार्य गर्नुपर्छ भनेर पार्टीले पनि भन्यो। मेरो अधिकार गुम्यो, राज्यले गरिदिने के हो? भन्नेतर्फ ध्यान पनि गएन।’
00                    00                   00  
सत्य निरुपण तथा मेलमिलाप आयोगमा २९२२ तथा बेपत्ता आयोगमा ११६ गरी रोल्पामा जम्मा ३०३८ वटा उजुरी दर्ता भएका छन्।
उनले आफ्नो बाबाको हत्या र द्वन्दकालमा बिस्थापित भएको बिषयमा उजुरी दर्ता गरेकी छन्। उनले दर्ता गरेको उजुरी गत असार १ गते फेसबुकमा पोष्ट गर्दै लेखिकी छन्, ‘मैले पनि उजुरी दिएँ। तर, अझै पनि विश्वास लागेको छैन कि यस आयोगले पीडितलाई न्याय दिलाउँछ भनेर।’
द्वन्दकालमा करिब आठ सय मारिएको, सयौं बिस्थापित र बेपत्ता पारिएका रोल्पामा राज्य र विद्रोही पक्षबाट मारिने मगर जातिको संख्या सबैभन्दा बढी छ।
स्थानीय कांग्रेस नेतृ श्रीकुमारी रोका मगर, ३७, को आँखामा द्वन्द्वका कारण भने सकिएका छैनन्। द्वन्द्वपीडितका भावना उचितरुपले सम्बोधन नभए फेरि द्वन्दको सम्भावना देख्छिन्।
रोल्पामा यस्ता धेरै घटना छन्, जो सार्बजनिक भएनन्। गाउँमा गुपचुप भए। उनका अनुसार, सेना र प्रहरीबाट धेरै रोल्पाली महिला बलात्कृत भए। तर, ती घटना बाहिर आएका छैनन्। द्वन्द्वको बेला बलात्कृत महिला र यौन हिंसामा परेकालाई राहतको प्याकेजमा नराखेकाले धेरै पीडित नखुलेको उनको भनाइ छ। 
‘घटना बाहिर ल्याए पनि न्याय पाउँदैनन् भने किन ल्याउने? न्याय नपाउने भएपछि चुप लागे। न्याय पनि नपाइने र समाजमा बहिष्कृत हुने संभावनाले पनि धेरै घटना बाहिर आएका छैैनन्,’ उनले भनिन्।
नेपालमा द्वन्द्व सुरु हुँदा पुलिस चौकी नभएका रोल्पाली गाउँ सायदै थिए। भारतको काश्मिरजस्ता थिए रोल्पाली गाउँ। उनको गाउँमा पनि पुलिस चौकी बस्यो। द्वन्द भने दिन दुगुना र रात चौगुना चक्र्यो। जहिलेसम्म उनको गाउँमा पुलिसचौकी बस्यो तबसम्म उनी गाउँमै बसिन्। द्वन्द एकाएक तन्नेरी हुन थालेपछि भने गाउँका पुलिसचौकी कतिलाई माओवादीले लखेटे त कति डरले सदरमुकाम सरे। उनीजस्ता धेरै गैरमाओवादी घोराही गए। कति काठमाडौं। आफ्नो गच्छेअनुसार नयाँ गन्तव्य पहिल्याए।
त्यसबेला आठ पास गरेकी थिइन्। उनको गाउँबाट पनि पुलिसचौकी हट्यो। त्यो थियो द्वन्द उत्कर्षमा पुगेको याम। अर्थात् २०६०।
एक बिहान उनी पनि गाउँ छाडेर हिँडिन्, सदरमुकाम लिबाङ ताकेर। फेरि गाउँ फर्कनेमा दोमन नै लिबाङयात्रा थालेकी थिइन्। उनका बाबा रामजी घर्ती मगर, ५४, पार्टी कामको लागि घरबाट लिबाङ हिँडेका थिए। तर, २०५३ माघ १९ गते जैमाकसलास्थित माबाङमै माओवादीले मारे। 
घरबाट लिबाङ हिँड्दा उनले बाबालाई सम्झिइन्। बाबा लिबाङ नपुगे पनि उनीचाहिँ लिबाङ पुगिन्।
अरु उपाय केही थिएन। बाबाले समाएको उही नेपाली कांग्रेस समाइन्। पार्टी समाएर मात्र साँझबिहानको गर्जो टर्दैनथ्यो। प्राइभेटबाट एसएलसी पनि पास गरिन्। ‘समाजसेवा र राजनीति गर्न सजिलो हुने पेशा खोज्दाखोज्दै लेखापढी भेटेँ,’ उनले भनिन्, ‘२०६५ देखि यसैमा निर्भर छु। मेरो दैनिकी यसैबाट चलेको छ।’

00                    00                   00  
माओवादीले औपचारिक युद्ध घोषणा गर्नअघि नै रोल्पामा द्वन्द झाँगिसकेको थियो। माओवादीको चुनावी मोर्चा संयुक्त जनमोर्चा र कांग्रेस कुकुर–बिरालो थिए।
२०४८ को संसदीय चुनाबमा (कृष्णबहादुर महरा र बर्मन बुढा मगर) जनमोर्चाले रोल्पाको दुबै सिट कब्जा जमायो। जिल्लामा जनमोर्चा कब्जा जमायो भने केन्द्रमा गिरिजाप्रसाद कोइरालाको सरकार बन्यो। बर्चश्व कायम गर्न शक्ति संघर्ष चुलियो। यसै बलियो थियो जनमोर्चा रोल्पा। र, कांग्रेसलाई पुलिस प्रशासनको साथ थियो।
त्यसबेला जनमोर्चा र कांग्रेस दुबैका एक सूत्रीय नीति थियो, जसरी हुन्छ आफ्नो बनाउने। सकिन्छ मन जितेर, सकिदैन तानेर अझ सकिदैन हानेर।
‘मानौँ मैले जनमोर्चामा जान मानिनँ। त्यसपछि जनमोर्चाले मलाई कायम गराउन अर्को गाविसका जनमोर्चा लगाएर कुट्थे। मास्क लगाएका हुन्थे। किटानी जाहेरी दिने कसरी? भएजतिलाई र चिनेजति जनमोर्चालाई मुद्दा हाले। त्यहाँनेर दुबैतिरबाट बदमासी भयो,’ उनले भनिन्।
कोइराला सरकार बनेलगत्तै रोल्पामा मुद्दाखेती हल्क्यो। जनमोर्चा कार्यकर्ता या समर्थक एकैजनाका नाउँमा दर्जनभन्दा बढी मुद्दा दायर भए। मुद्दा कि ज्यान मार्ने उद्योग कि सार्वजकि अपराध। तारिख थाम्न लिबाङ पुग्ने जनमोर्चा या जनमोर्चा समर्थकका लर्को लाग्थ्यो। तारिख बोक्दाबोक्दै मुद्दा थपिएको थपियै हुन्थे। त्यसपछि खोलको रुपमा रहेको जनमोर्चाबाट माओवादी भए। कति भारत गए। कति जेल परे।
जनमोर्चाको प्रभाव रोक्न कांग्रेसले रोल्पामा अभियान नै चलायो। अभियानमा सघाउने पुलिस थियो। त्यसैताका सरकारले रोल्पामा रोमियो अपरेसन चलायो। अभियानमा कांग्रेस कार्यकर्ता र पुलिस मिसिएर गाउँ पसे। तिनले खसी काटे। रगतमा हात चोबाए। र, आजदेखि जनमोर्चा छाडे भन्दै कांग्रेस सदस्यता बाँडे।
झडप झन चर्क्यो।
जनमोर्चाले कांग्रेस अगुवाजस्तालाई बथना बसी कुट्न थाल्यो।
रोल्पालाई माओवादीको आधारभूमि बनाउने नेता रामबहादुर थापा बादल थिए। रोल्पाली जनमोर्चा र माओवादी आँखामा नेता नै बादल थिए। प्रचण्ड कतै पनि थिएनन्। बादलले बोल्ने र लगाउने शैली कार्यकर्ताले पछ्याउँथे। उनले त्यसैबेला भनेका थिए, ‘सबभन्दा पहिले प्रतिक्रियावादी सत्ताा आँखाकान फोर्नुपर्छ।’
गाउँमा प्रशासनलाई बाटो देखाउने आँखाकानको रुपमा स्थानीय कांग्रेस र एमाले नै थिए। त्यसपछि जनमोर्चाले तारो बनायो।
गाउँमा पुलिस पस्ने, भाले, खसी बोका लाने, गरहना लाने, बलात्कार, कुटपिट र पक्रेर लानेक्रमले तीब्रता पायो। त्यसबेला जनमोर्चाको सांस्कृतिक मोर्चा सामना परिवारले गीत नै बनायो, ‘हाम्रो रोल्पामा पुलिसहरु पसेर, झिंटी झाम्टा गरिबका लगे लुटेर।’
२०५२ फागुन १ देखि माओवादीले औपारिकरुपमा जनयुद्ध सुरु गर्यो। रोल्पाली जनजीवनमा त फरक पर्ने नै भयो, माओवादी र सत्तासीन कांग्रेस कार्यकर्ताबीचको सम्बन्ध झन जटिल बन्यो।
विपक्षीलाई तान्नसक्ने क्षमता भएका गैरमाओवादीलाई माओवादीले अपहरण गर्ने वा अन्य कारबाहीको प्रक्रियामा लान थाल्यो। अन्य प्रक्रिया भनेको हत्या पनि हुन सक्थ्यो।
‘जिम्मेवारीको हिसाबले कुनै पदमा नभए पनि कांग्रेस सक्रिय कार्यकर्ता हुनुहुन्थ्यो। त्यसैले मेरो बुबालाई माओवादीले मारे,’ बाबालाई किन मारे भन्ने जिज्ञासामा मेटाउँदै उनले भनिन्।
उनीसँगै खाइखेलेका थुप्रै उनका साथी माओवादी छन्÷थिए। तर किन हो कुन्नि? उनी माओवादी भइनन्। ‘थाहै नपाई मलाई भने माओवादीका क्रियाकलाप मन परेन,’ उनले भनिन्, ‘भलै माओवादीले उठाएका महिला र उत्पीडितका मुद्दा जायज थिए।’ उनले थपिन् ‘माओवादीका व्यवहार फरक देखेँ। मन जितेर भन्दा पनि जबर्जस्त गर्ने माओवादी व्यवहार मन परेन। त्यसैले म माओवादी हुन सकिनँ।’
00                    00                   00  
द्वन्द्वको बेला रोल्पालीमा लागेका घाउ अझै निको भएका छैन। चाँडै निको हुने सम्भावना पनि देखेकी छैनन् श्रीकुमारीले।
माओवादी द्वन्द्व सुरु भएको रोल्पाले चर्को मूल्य चुकाएको छ। तर, सर्बसाधारण रोल्पालीले त्यो मूल्यअनुसार अधिकार र न्याय पाएका छैनन्। रोल्पाली द्वन्द्वपीडितका समस्या के छन्? के चाहन्छन् भन्नेतिर त झन कसैको ध्यान नपुगेको उनको गुनासो छ। यसैगरी, रोल्पाली द्वन्दपीडितका चाह पनि फरकफरक छन्।
एकथरी द्वन्द्वपीडित पीडकलाई कानुनको दायरामा लिनुपर्छ भन्दै एक रुपैयाँ पनि राहत चाहिन्न भन्छन्। अर्कोथरी पीडित, न्याय पनि चाहिन्छ र राज्यले राहत पनि दिनुपर्छ भन्छन्। अर्कोथरी, निम्न बर्गका द्वन्द्वपीडित छन्। द्वन्द्वले गर्दा सारा गुमायौँ भन्दै तत्काल खाने÷बस्ने व्यवस्था राज्यले गरिदिनु पर्छ भन्छन्।
रोल्पाली माओवादी र कांग्रेस नेताले आफ्ना कार्यकर्ता, रोल्पाली जनताका चिन्ता नलिएकोमा उनी बेखुसी छिन्। के कारणले द्वन्द्व भयो? के उद्देश्यले लडायौँ हामीले? अब के गर्ने? कुनै नेतामा सोंच देखेकी छैनन्। 
‘म त आफ्नै पार्टीसित पनि सन्तुष्ट छैनँ,’ पार्टीले द्वन्दपीडितका समस्यालाई राज्यलेजस्तै पार्टीले पनि बेवास्ता गरेको भन्दै उनले गुनासो गरिन्। 
‘रोल्पाली द्वन्द्वपीडितले राज्यले यसो गरोस् उसो गरोस् भनी आन्दोलन गर्न गर्न पनि सकिनौँ। ध्यानाकर्षण गराउन पनि सकेका छैनौँ,’ उनले भनिन्, ‘द्वन्द्वमा हामीले छिमेकी गुमायौँ। दाजुभाइ गुमायौँ। अब यस्तो द्वन्द्व कुनै पनि हालतमा कसैले पनि नथालोस्। हामी आफ्नो गुजारा गर्दै स्वतन्त्र ढंगले बाँच्न चाहन्छौं।’
    प्रकाशित २३ साउन २०७३, आइतबार | 2016-08-07 12:43:17

    No comments:

    Post a Comment