कुइनेटो
ढुम्मम ककक आवाज आएसँगै झागड झाँक्री भयो। खुबै ‘थुम चलेको रोल्पाली झाँक्री’लाई ठाउँको ठाउँ टक्कर दियो। त्यसपछि बंकर कसरी हल्लियो भने ड्युटीरत एक सेक्सन सिपाही गल्र्यामगुर्लुम्म ढले। र, बंकर मुखका तीन सिपाही त सधैँका लागि।
काश्मीर झागडस्थित फोर जीआरको बंकरमा पाकिस्तानले गोला खसालेको आवाज थियो त्यो। बंकरमा बम त्यति बेला खसेथ्यो जति बेला झिसमिसे झागड झर्दै थियो। र, शीतले निथ्रुक्क भिजेर ‘राजनीतिक सीमाले पाक–भारत भएका’ पहाड बिहानलाई स्वागत् गर्न तर्खरिँदै थिए।
(संयोग) बंकर कुनामा ढलेका मानबहादुर थापा (५२) ले सातो हराएको १६ वर्ष पुरानो झिसमिसे सम्झेर (गएको भदौ ३० गते बिहान) ‘हलाक्’ भए, ‘बंकरभित्र बम पसेको भए त सबलाई सोत्तर पार्ने रहेछ !’
भारतले जीआर (गोर्खा राइफल्स)लाई दुई वर्ष ‘पिस’ र दुई वर्ष ‘फिल्ड’ भन्दै सुरक्षाका कारण सहज र असहज ठानिने ठाउँमा खटाउँथ्यो/खटाउँछ। सुरक्षा आँखाले ‘खतरनाक’ मानिने काश्मीरलगायत पाकिस्तान र चीनसँग जोडिएका सीमा क्षेत्र ‘फिल्ड’ थिए/हुन्। १५ वर्ष लाहुरिँदा मानबहादुरसित झागड बंकर जस्ता अप्ठेरा अनुभव चाङका चाङ थिए।
पाकिस्तानी गोला बंकरमा खस्दा घाइते थापा फोर जीआरका कर्पोरल थिए।
कर्पोरलमै पेन्सन आए पनि थप नौ वर्ष ‘लाहुर’ बाँकी थियो। त्यसैले उनका ‘नम्मरी’ र आफन्तले भनेथे, ‘काम नपाएर अरब उडेका छन्। अहिल्यै किन घर जाने ? ’
मानबहादुरको लाहुरे तन मात्र लाहुरमा थियो, मन घरमा। ‘फिल्डमा भुक्लुक्क भए घरमाया के होला’ भन्ने ढुकचुक चढ्दो थियो।
घरमायामा लहरिँदै ललितपुर नखिपोटस्थित छोरी परिवारको घरमा त्यस बिहान बिस्तार लाए, ‘घरको मायाले तान्यो। नायक
(कर्पोरल)मै राजीनामा दिएर काश्मीरबाट घर फर्कें।’
झागड बंकरमा पाकिस्तानी गोला खसेको एक वर्ष पनि नपुग्दै पेन्सन निक्ले। र, सीधै फर्के, जहाँ उनको घर र परिवार पर्खिरहेथे, आँखा बिछ्याएर।
त्यो थियो, २०६० को असार।
०००
मनकामना मन्दिरबाट एक घण्टा ओरालिए पुग्थ्यो, मानबहादुरको गाउँ। गाईभैंसी र बाख्राका लागि एक भारी घाँस र एक गाग्रो पानी ल्याएपछि बल्ल स्कुल बाटो खुल्थ्यो। मनकामना पूरा गर्न भक्तजन भीड लाग्ने मनकामना मन्दिर छेवैका मनकामना ठिटोका दुःख डाँडा भने हिमालिँदै थिए। मनकामना उकालिँदा उकालिँदै मानबहादुर १९ को घरमा पसे। त्यसपछि लाहुरे बतासमा बतासिँदै लाहुरे बाको पाइला पछ्याएर लाहुरिन गए, सिमलाको सपाटु। पहिलो प्रयासमै लाहुरिए।
दिलमायाले दिल दिइन्। दिलमा दिलमाया दिल मिसियो। परिवारमा अस्मिता र दीपेन्द्र थपिए। तिनै छोराछोरीका भविष्य खोज्दै मनकामनाबाट मुग्लिन झरे। मुग्लिनछेउमा घडेरी किने। केही वर्षपछि सिमेन्टले भित्ता लिपेको जस्ताछाने चारकोठे घर उभ्याए।
परिवारसित सुखदुःख साट्दै मानबहादुरका दिनचर्या त यसै चल्दै थियो। त्यसै बेला उनको घरमायामा ढुंगा हान्दै खबरहरू लस्कर लागे, ‘इराकमा काम छ रे, जाम् डलर कमाउन। अफगानिस्तानमा भूपू खोज्यो रे।’ आदि आदि।
‘पिन्सिङ्ङे’ मानबहादुर मन टसमसिएन। बरु नगद ११ लाख तिरेर २२ लाखे किया माइक्रो किस्तामा किने। कियासँग काठमाडौं–नारायणघाट गुडे। किया र मानबहादुर गुड्दागुड्दै एक दिन किया गल्छी नजिकै मच्छेरखोलामा खस्यो।
उपचारमा साढे तीन लाख लाग्यो। तर, इन्सुरेन्स पाए, ३५ हजार।
रिनमा रिन थपियो। किस्ता त छँदै थियो।
दुई वर्ष पुग्न के लागेको थियो, मुग्लिन नजिकै किया ठोक्कियो। ‘खट्निसमाथि थप्निस्’ भनेजस्तो तीन महिना ग्यारेजमा किया बास बस्यो। किस्ता तिर्न सकेनन्। हुक्किहार भए। किया नै बैंकलाई जिम्मा लाए।
चितवनको जग्गा बेचेर ऋणभार अलिकति घटाए।
ऋण त पखेटा लगाएर आकाशमा पो उड्न थाल्यो। मानबहादुर ‘गार जाम् कि भीर’ भए। त्यसै बेला भान्जा नाता पर्नेले भने, ‘मामा, अफगानिस्तान जानुस्। कमाइ छ। छ लाख लाग्छ।’
ऋण चिन्ता आकासिएको बेला मानबहादुरले दायाँबायाँ सोचेनन्। भान्जा भरमा सन् २००४ मा काबुल उडे। काबुल ओर्लेर पो थाहा पाए कि, उडाउने भिसा त पर्यटक भिसा पो रहेछ। उनका भूमिगत ६ महिना काबुलमा खबुज र चियासँग ढल्यो। न काम न पैसा न फोन न खुला हिँड्नु। साँगुरो कोठामा लुकेर बसे।
धन्न, एकजना साथीको सहाराले नेपाल फर्के।
६ लाखको तीन प्रतिशत ब्याजले घाँटीमै रिनको मैने गाँठो पर्यो। रिनले ‘हुने हुनामी’ भएको बेला चिनेजानेकाले सोधे, ‘कमाइ राम्रै छ। उड्नलाई पैसा पनि लाग्दैन। जाने हो त ? ’
‘कहाँ ? ’
‘अफगानिस्तान।’
‘अफगानिस्तान !’
‘अफगानिस्तान।’
उसो त उनी सातोपुत्लो काबुलमै छाडेर आएका थिए। ऋणको भारी बिसाएर होलाङ हुने लालचसामु काबुल दुःखले हार मान्यो। फर्केको दुई वर्षपछि उनी फेरि काबुल उडे।
चार वर्ष बेलायती दूतावासमा सुरक्षा गार्ड (मासिक सात सय पचास डलर) भए। त्यसपछि क्यानडेली दूतावासमा (मासिक नौ सय पचास डलर)।
काबुल बसाइ ११ वर्ष लाग्दा मानबहादुरको आर्थिक जीवनले लय समात्दै थियो।
त्यस बिहान पनि उनी विश्वको सबैभन्दा ‘खतरनाक’ सहर काबुलको पूर्वी भागबाट मिनी बसमा दूतावास जाँदै थिए। टाढा थियो। उनीहरू बिनाहातहतियार मिनीबसमा आउजाउ गर्थे। काम लगाउने कम्पनीले कुनै सुरक्षा प्रबन्ध गरेको थिएन। गोरा र नेपालीको सुरक्षा र सेवामा भने आकाश र पाताल थियो।
अँ, त्यस बिहान उनी मिनी बसमा भित्र पस्ने ढोकादेखि दुई लहर पछि बसे। उनका दुई साथी भित्र छिरे।
‘लांघाली, यहाँ बस्छु है’, लमजुङे भूपू सईले भने। हुन्छ भन्दै मानबहादुर सरे। धन्यवाद भनेर मानबहादुरको सिटमा उनी बसे। मानबहादुरभन्दा ज्याङ्ङा दुवैजना उनको वरपर बसे।
बिहान ६ बजे ड्युटी भेट्न एकाबिहानै मिनी बस पूर्वी काबुलबाट गुड्यो। गुडेको केही समयमै पाकिस्तानी गोलाको आवाज र झागड बंकर हल्लेको समेत भुलाउने गरी आवाज आयो। लगत्तै मिनीबस बेस्सरी हल्लियो।
पेट दुखेकाले उनी कोल्टिएर बसेका थिए। त्यसरी नकोल्टिएको भए आफू पनि नबाँच्ने त्रासद पल स्मरण गर्दै मानबहादुरले भने, ‘मेरो दिन आएको रहेनछ।’
सुरक्षागार्ड यात्रारत मिनीबस तालीवानी आत्मघाती आक्रमणमा परेको थियो। त्यो थियो, ६ असार २०७३।
दिल्लीस्थित अपोलो अस्पतालमा पाँच महिना उपचार गरी मानबहादुर नेपाल फर्के। मुग्लिनस्थित आफ्नो घरमा दुई रात बसे। त्यसपछि उपचारका लागि काठमाडौं आए।
०००
पाँच फिट तीन इन्च अग्ला मानबहादुरको गहुँगोरो मंगोल अनुहार र जीउभर तालीवानी गोलाले छाडेका चिनो थिए। जस्तोः पिठ्यँुको दायाँतिर खत र घाउ, टाउकोमा खत, शरीरका विभिन्न भागमा कतै नीलडाम त कतै मधुरो टाटा कतै मासु सापटी लिएर रफ्फु गरिएको ! मानबहादुरका आँखा, नाक, कान आफ्नो पुरानो ठाउँमा फर्किसकेका थिएनन्। नाकको प्वाल बांगिएर साँघुरिएको थियो। यसले गर्दा प्रत्येक सास फेर्न समेत संघर्ष गर्थे। सहयोगी यन्त्रबिना कानले आफ्नो काम गर्न छाडेको थियो। दायाँ हातको भर थिएन। औंलाले समाउन सक्तैनथे। बेला न कुबेला आँखाबाट आँसु झथ्र्यो। बोल्न पनि अप्ठेरो थियो। शरीरका प्रायः अंगले काबुलमा हराएका होश अझै आफ्ना घर फर्केका थिएनन्।
बायाँ कुहिनाले लामो प्रयास गरेपछि मानबहादुर बल्लतल्ल उठे। त्यसपछि ओछ्यानबाट निक्लिए। ललितपुर नखिपोटस्थित छोरीको परिवारको घरको माथ्लो तलामा उनको बास थियो।
‘रातमा तीनपालि पिसाब फेर्न उठ्छु’, दुःखाइ र घरमायामा हैरान मानबहादुरले भने, ‘सास जालाजस्तो घिटीघिटी हुन्छ, सास फेर्दा पनि। हेर्नुस् त। सुत्न, कोल्टे फेर्न, सास फेर्न, खान, बस्न र हिँड्न एकदमै गाह्रो हुन्छ। अरू कामको के कुरा।’
दिनमा त थेरापी गरेपछि अलिकति सहज हुन्थ्यो। तर, रातमा ? रात काट्न साह्रै गाह्रो। रात ढल्दै गएपछि जीउ यसै कक्रिन्थ्यो। यसले गर्दा उनलाई हलचल गर्न पनि मुस्किल हुन्थ्यो।
टाउको, छाती र काँधका सातवटा छर्रा झिके। अझै जीउमा त्यत्तिकै संख्यामा बाँकी थिए। एउटा दायाँतिर ढाडमा, दुईवटा दाहिने मिर्गाैलानेर, एउटा टाउकोमा थिए। अपोलोका डाक्टरले पछिल्तिरको झिक्दा मिर्गौलालाई असर पर्न सक्ने सुझाएथे। बमका छर्राका कारण जीउ दुख्ने मात्र होइन, बेस्सरी चिलाउँथ्यो। शरीरमा बास बसेका सबै छर्रा झिक्न अपोलोले १६ लाख भारतीय रुपैयाँ लाग्ने बताएथ्यो।
दुखाइ र चिलाइ सहन नसकेर तुरुन्तै झिकौंजस्तो लाग्थ्यो। तर, ‘कसरी र कहिले’ १६ लाख जुटाउने ? र, कहिले जीउलाई छर्रामुक्त बनाउने ? यी सब उनको बसमा थिएन।
घाइतेलाई उपचार र भरणपोषण गर्ने साब्रे इन्टरनेसनल सेक्युरिटी लिमिटेड बेपत्ता थियो। ‘सुरक्षा गार्ड अंगभंग भए वा मारिए तीन लाख डलर दिने’ कागत भए पनि पीडितले जम्मा ३० हजार पाएका थिए। ‘क्यानडेली नियमसमेत पालना नगरेको र कामदारलाई शोषण गरेको’ भन्दै भरणपोषण र क्षतिपूर्तिका लागि पीडितले क्यानडेली सरकार र साब्रेविरुद्ध मुद्दा दायर गरेका थिए।
मानबहादुरलाई उपचार गर्न एक महिनामा ३३ हजार रुपैयाँ लाग्छ। हप्ताको ३० घण्टा फिजियोथेरापीमै बित्छ। धन्न, छोरीको परिवारको घरमा बसेकाले घरभाडा लाग्दैन।
लाहुरे पेन्सन २५ हजार आउँछ।
बाँकी कसरी धान्ने ? बज्नु बाह्र बजेको छ।
गरिबी पनि खापिएका मानबहादुरसहित काबुल बम आक्रमणले चेतप्रसाद शेरचन, अमृत रोकाया क्षेत्री, कृष्णकुमार देउजा र प्रेमबहादुर क्षेत्री आजीवन विकलांग भए।
बम आक्रमणमा सामान्य घाइते छजना काबुल फर्किसके।
तालिवानी आक्रमणमा मारिएका १५ सुरक्षागार्डमध्ये १३ नेपाली र दुई नेपाली मूलका भारतीय थिए।
मारिने एक थिए, नुवाकोटे मधुसूदन कोइराला। भुइँचालोमा मारिएका नौ हजारमा कोइरालाका छोराछोरी पनि थिए। काबुलबाट फर्केपछि कोइरालाले भुइँचालोले लगेका छोराछोरीका याद गीत बनाए। त्यसलाई बिबि अनुरागीले संगीत हालेर गाए।
‘निको नहुने घाउ’ नामक एल्बममा समेटिएको गीत गेडा यस्ता थिए :
बाँसका मुनाजस्ता मेरा दुवै छोराछोरी
भूकम्पले चुँडी लग्यो, बिर्सूं कसोगरी
सबले पर्छ एकपटक मर्न
कठैबरी पाएनन् च्या गर्न
कोइरालासहित काभ्रेका चन्द्रबहादुर रानामगर, पर्वतका नवीनसिंह क्षेत्री, सुनसरीका अंकुर मोक्तान, बुटवलका जितेन्द्रसिंह थापा, स्याङ्जाका सुकबहादुर गुरुङ, लमजुङका अमृतबहादुर थापा, चितवनका कृष्णबहादुर ढुंगाना, पर्वतका विदुरबहादुर क्षेत्री, नुवाकोटका डम्बरबहादुर तामाङ र लिलबहादुर गुरुङ, काठमाडौंका हरिबहादुर बडुवाल र च्याङ्बा तामाङ मारिए।
०००
प्लस टु पढेका थापापुत्र दीपेन्द्र दुबईबाट फर्के। र, स्विमिङ पुलमा ‘लाइफ गार्ड’ जागिर खान मालदिभ्स उड्न ठिक्क थिए। स्टाफ नर्स पढेकी छोरी अस्मिता बिहे गरी बेलायत उडिसकेकी थिइन्।
काठमाडौं बसाइले दुई वर्ष हान्यो। कहिलेसम्म ? ठेगान थिएन। मानबहादुरको बाँकी जिन्दगी यसरी नै थेरापी र उपचारमै लगाउनुपर्ने।
‘उपचार गर्न दिनदिनै अस्पताल जान नपर्ने भए त आफ्नै घरमा बस्थेँ हुँला’, दुःखैदुःखमा घरमाया बल्झेर शोकमग्न मानबहादले मुस्किलले आफूलाई सम्हाल्दै भने, ‘घरमै परिवारसित सुखदुःख गरम्ला भनेको त यस्तो पो भयो।’
कहिले मुग्लिनमा अस्पताल बन्ला र मानबहादुर आफ्नो घरमा बस्न पाउलान् ? यसको जवाफ थिएन।
‘लाहुर नछाडेको भए यस्तो हुँदैनथ्यो कि ? ’ मनले ओरालिँदै कहिलीकसो उनलाई सोध्थ्यो। र, अर्को मनले कुतर्क गथ्र्यो, ‘फेरि काबुल नउडेको भए के हुन्थ्यो ? ’
‘हामीलाई त खसीबोका नै बनायो’, सास फेर्नसमेत मुस्किल भएपछि उठ्न कोसिस गर्दै उनले भने।
‘खसीबोका बनाएको क्यानडेली साब्रेले हो कि उनको देशको शासकले ? ’
प्रस्ट नभने पनि आशय जरुर बुझिन्थ्यो।
मानबहादुरहरूका घरमाया दिनका दिन बिथोलिएका बिथोलियै थिए। उनले आफ्नो बिथोलिएको ‘घरमाया’ सुनाउँदाखेरि उनका प्रधानमन्त्री केपी ओली भने टेलिभिजनमा ‘समृद्धि’, ‘रेल’ र ‘पानीजहाज’ गफ दिन मस्त थिए।
सरकारी तथ्यांकअनुसार पछिल्लो १० वर्षमा एक हजार दुई सय ५२ भन्दा बढी मानबहादुर अंगभंग भएर फिरे। ६ हजार नौ सय २१ युवा बाकसमा फर्के। नेपाल त विदेश उडेका ‘सर्वसाधारणका पसिना र रगत गोडा’ले उभिएको थियो।
मानबहादुरका बैंसालु १५ वर्ष लाहुरिएर बिते— कहिले सिलोङ, कहिले जम्मुकाश्मीर, कहिले सिलोन त कहिले सिमला। जहाँ लाहुरिए पनि घरतिर्खाले छटपटाइरहे। घरतिर्खा मेट्न काश्मीरबाट सीधै घर फर्के। परिस्थितिले भाँजो हाल्यो। र, ११ वर्षे काबुलले घरमाया नलाउने गरी तालीवानी तारबारले छेकेर नेपाल फर्कायो।
दुई वर्षयता तनको बास छोरीको परिवारको घरमा छ। मन भने मुग्लिन घरमा। न लाहुरमा न छोरी परिवारको घरमा। मानबहादुर त घरतिर्खाले छटपटाइरहेछन्।
‘तिर्खै नमरी जाने त होइन, यो जिन्दगी ? ’
घरमायाले घायल मानबहादुर दिल सुनार रसनले समेत नरसाउने गरी चर्केको छ। भन्नुस् त, मानबहादुरहरूको घरतिर्खा कहिले मेटिएला ? कहिले धीत मारेर लाउलान् घरमाया ?
No comments:
Post a Comment