Wednesday, April 17, 2019

सुखीलाई हेरी भएन, दुःखीलाई हेरी मन बुझाउँछु

भृकुटीमण्डपस्थित शारीरिक पुनस्र्थापना केन्द्रमा घरी यता घरी उता गर्दै धनमाया नक्कली गोडाले हिँड्न अभ्यासरत थिइन्। बेलाबेलामा ‘कहाँनेर दुख्यो’, ‘सजिलो भो कि अप्ठेरो’ भनी सोध्दै अवलोकन गर्दैथिए, उनको गोडा बनाउने रमिला गोले र साइँला कैटीसहित फिजियोथेपारिष्ट मनिष गुप्ताले। काटेर बचेको बायाँ गोडा सुक्न थालेपछि नयाँ खुट्टा जोडेको भाग खुकुलो भयो। त्यसपछि सिन्धुपाल्चोक बाँसखर्कबाट धनमाया काठमाडौं फर्केकी थिइन्।
‘परिवारलाई खाना पकाइदिने हुन पाए नि लाख हुन्थ्यो’ भन्ने तिर्खाले तानेर धनमायालाई भृकुटीमण्डप ल्याएको थियो।
00                      00     
कुरा हो, गत बर्षको बैशाख १२ गतेको दिउँसो झण्डै १२ बजेको।
उनको गाउँभन्दा एक घण्टा टाढा रहेको मन्दिरमा सप्ताह चलिरहेको थियो। गाउँले र आफन्तसहित उनी पनि सुन्न गइन्।
पण्डितको प्रवचनकै बीचमा बसेको जमिन हल्लिन थाल्यो। जमिन यसरी हल्लियो कि हेर्दाहेर्दै भगवान्को घर अर्थात् मन्दिर नै गल्र्याम्म ढल्यो। भत्केको मन्दिरले उनको घाँटीसम्म पुर्यो। १२ बजे पुरिएकी उनलाई दिउँसो तीन बजे निकालियो।
भोलिपल्ट उनलाई भनिएको यत्ति सम्झिइन्, ‘नआत्तिनुस् आमा, १२ मिनेटमै अस्पताल पुगिन्छ।’
त्यो भन्ने हेलिकप्टरका पाइलट थिए।
नभन्दै उनी सिन्धुपाल्चोकबाट उडेर काठमाडौंस्थित टिचिङ अस्पताल पुगिन्।
उनको बाया खुट्टा बाँधेको पछ्यौरी कसैले फुकाले। उनको जिउबाट बाया खुट्टा अलग्गिन थोरै मात्र छाला बाँकी थियो।
‘५-६ घण्टा लागे लागोस्, हुन्छ भने मेरै खुट्टा बचाइदिनुस्। हुन्न भने जिन्दगी नै पीडा हुने, जुनीभर रुने नबनाइदिनुस्। यो चरोलाई सेलाइदिनुस्,’ अस्पतालमा उनले डाक्टरलाई आग्रह गरेको सम्झदै भनिन्, ‘मेरो घर सिन्धुपाल्चोक हो। यहाँ मेरा कोही पनि आएका छैनन्। त्यसैले मलाई सेलाइदिए नि तपार्इंहरुलाई कुनै ‘खटभाट’ लाग्दैन।’
तर, डाक्टरहरुले उनको आग्रह सुनेनन्।
‘मानो नसकिएपछि रहर गरेर मात्र मरिने रहेनछ। झट्टै गएको भए सजिलो त हुन्थ्यो होला तर अपर्झट मर्दा ‘माथि’ बास पाइँदैनथ्यो कि!’
भगवान्लाई सुन्न गएकी उनको सासू र देवरकी छोरी पनि मन्दिरले किचिएर मरे। उनकै टोलका आधा दर्जनजति मरे। धेरै गाउँले घाइते भए। तर, उनीजस्तो होइन। ती घाइते कोही खुट्टा खोच्याउँदै घाँस बोक्छन् त कोही बाख्रा चराउँछन्।
‘घुँडा टेकेर यताउता गर्दै परिवारलाई खाना मात्र बनाइदिन पाए नि हुन्थ्यो भन्ने लाग्छ’, नक्कली खुट्टाले उभिन पटकपटक प्रयास गर्दै उनले भनिन्।
चार छोराछोरीका पढाइलेखाइको भार मुश्किलले थामेको खनाल परिवारमा उनको भार पनि थपियो। पतिलाई सघाउने उनी थला परेपछि ‘मुश्किलले मिल्न खोज्ने’ उनको ‘घरको समीकरण’लाई भुकम्पले नराम्ररी भत्काइदिएको छ।
जेठी छोरीलाई त स्कुलको मुख नदेखाई बिहे गरिदिइन् भने माहिलीलाई आठ पढाएर।
साहिली छोरी गाउँ नजिकै १२ मा पुगेकी छन् भने दुई छोरा र कान्छी छोरी १० मा।
‘लगनै लगन’ छन्। आमा पनि थपिएपछि पाँच पुग्यौँ। तर, कमाइ छैन। के गर्ने के गर्ने,’ उनले भनिन्।
‘कोहीले छोराछोरी पढाइदिए हुन्थ्यो।’

00                      00    
अक्षरसित चिनजान नगरेकी धनमाया। पतिले पनि लेखपढ गरेका छैनन्। अहिले धनमाया ५४ पुगिन्। तर, नागरिकतामा ५०। छ बर्षले जेठा पति प्रेमबहादुर खनाललाई उनले खेतीपातीमा सघाउँथिन्।
खेतीपातीले नै उनको परिवारलाई छ महिना धान्थ्यो। कहिलेकाहीँ बाख्रा बेच्थे। त्यसले छोराछोरीका पढाइ र लुगालत्ताको सर्जाम गर्न भरथेग गथ्र्यो।

भुइँचालोले उनको गोडासितै घर पनि लग्यो। सरकारले दिएको टिनको छानो हाली बनाएको गोठजस्तोमा अचेल उनको परिवार ओत लागेको छ।
सरकारले दुई लाख दिँदैछ भन्ने सुनेकी छन्।
‘सरकारले दिएपछि भुइँ गारो बनाएर बस्नुपर्ला भन्ने सोचेको छु,’ नक्कली खुट्टालाई वल्टाइपल्टाइ हेर्दै भनिन्।
आएका दिनलाई के भनी विदावारी गर्ने?
खनाल परिवारले योभन्दा पर सोच्न सकेको छैन।
‘देख्न त पाइयो। हेर्न पाइयो। मनले भनेअनुसार खान, लाउन, हिँड्न नपाए पनि, आत्माले मागेअनुसार गर्न नपाए नि सन्सार देख्न पाइयो,’ घरी नक्कली खुट्टा त घरी बचेको बाया खुट्टाको अवशेषलाई सुम्सुम्याउँदै उनले भनिन्, ‘वरपर हेर्छु। देख्छु। सुखीलाई हेरी भएन, दुखीलाई हेरी मन बुझाउँछु। जन्मिनाको साइत भनेर बुझाउँछु मन।’
‘भदौरे पानीजस्तो सात झरी पर्छ नि। मन नदुखे आँसु झर्छ त?’
उनले नक्कली खुट्टा पाइन्। दिसा गर्न सजिलो हुने कुर्सी पाइन्। र, सहयोगको नाउँमा एउटा कार्ड पनि पाइन्। तर, उनको दैनिकी चल्न यत्ति पर्याप्त छैन।
00                      00    
‘आत्माले भनेको बेला माइत जानलाई ह्याउ पुगेन। दिसापिसाब त अरुको सहयोगमा जान परेपछि अरु समस्याका के कुरा,’ बाया गोडा आफ्नो बाटो लागेपछि फेरिएको उनको जीवनशैली र सोच्ने तरीकाबारे मेसो लाउँदै उनले भनिन्।
गोडा गुमेपछि इष्टमित्र भेट्न सकेकी छैन। चाडवाडका रमाइलो छुटे।
घरदेखि तीन घण्टा पैदल दुरीमा छ, उनको माइत। पोहोर दसैँमा त उनको भाइ लिन आए। यसपालिको दसैँमा? थाहा छैन।
00                      00    
पोहोर लामो अभ्यासपछि नक्कली खुट्टाले हिँड्ने भइन्। त्यसपछि? यति हौसिइन् कि बाख्रा पाल्छु भन्ने साहस बोकेर गाउँ फर्किइन्। तर, त्यो उत्साह उनीसित गाउँ पुग्न सकेन। गाउँनजिकै पिपिनेमा गाडीबाट ओर्लेपछि हिँड्न थालिन्। त्यसपछि उनलाई छाडी त्यो उत्साह आफ्नो बाटो लाग्यो।
‘हाम्रो जस्तो कान्ला र साङ्रो, अल्गो र होचोमा नक्कली खुट्टा आफ्नो नहुँदो रहेछ’, काठमाडौं फर्केर हिँड्ने अभ्यास गर्नुअघि नक्कली खुट्टा बायाँ खुट्टाको अवशेषमा जोड्दै धनमायाले भनिन्।
ढाडको समस्या पनि छ, धनमायालाई । दाया हातमा समस्या छ। हिँड्दा अनि बस्दा पनि उनको कम्मर नै झर्लाजसरी दुख्छ।
जोरपाटीमा कोठा लिई बसेकी भदैनीकहाँ बास बसेकी धनमायालाई छिटो गाउँ फर्कनु छ। तर, कति दिन लाग्छ, अभ्यास गर्न? थाहा छैन।
धनमायाको गाउँ र पहाडी तथा हिमाली गाउँ अपांगमैत्री छैनन्।
सरोकारवालाले कहिले त्यस्ता नक्कली गोडा बनाउलान् र धनमाया आफ्नो गाउँमा पनि हिँड्लिन्?
‘नक्कली खुट्टा सोबक त हुने रहेछ। तर, ज्यानलाई पीडा हुने रहेछ।’
यति भनेपछि नक्कली खुट्टालाई मसार्दै आफ्नै कथाले उनेको (उनको भाषामा ‘मुखले रचेको’) टुक्कालाई लय हालिन्ः
१२ गते १२ बजे भगवान्ले के रचे के रचे
१२ गते भगवान्ले के रचे अचम्म
कति मरे कति छन् अपाङ्ग
मै त मरे जिमिनमा गाड्दिनू
त्यै त माथि कमल फूल सार्दिनू
गाई त मरे जुत्ताको तलुवा
मै त मरे खोलाको बालुवा
    प्रकाशित ४ असोज २०७३, मंगलबार | 2016-09-20 12:41:36

    No comments:

    Post a Comment