Saturday, December 6, 2008

दुखेसा सिर्फ दुखेसा

ब्लग अपडेट नगरेको पनि जुग बितेछ । अघिल्लो महिना पोखराबाट फर्किएपछि छोएकै रहेनछु । फेसबुक पनि ब्लक थियो । के कुरामा 'र् याङ्थ्याङ' मिलेन कुन्नि ब्लक नै गरिदियो । धेरै साथी गुमाएको पीर थाम्न सकिनँ । पुराना साथी पनि कोही भेटिइ पो हाल्छ कि भनेर अर्को आइडीबाट फेरि थालें । त्यसैले यतिखेर मसँग छैनन् झण्डै चार सय पुगेका मेरा 'फेसबुके' साथीहरु । थाहा छैन फेरि ती साथीहरुलाई भेट्छु या नाई ? नियमीत सम्पर्कमा रहेका सीमा र एउटी चाइनीज मूलकी साथीको धेरै सम्झना आउँछ । लेखन र पत्रकारिताका 'उधारो कुरा' हुन्थे ती साथीहरुसित । चाइनीज मूलकी साथीसँग भने अंग्रेजी भाषा नजान्नुका दुखेसो पनि थपिएका थिए । ऊ पनि मजस्तै अंग्रेजीमा 'आलु' नै रहिछ । थाहा छैन कहाँ छे ऊ । फेसबुकमा फेरि भेट हुन्छ हुँदैन रामजाने ।
के लेख्ने मलाई थाहा पनि छैन । आफूलाई पोख्ने शव्द नपाएजस्तो न कस्तो कस्तो पो लाग्न थालेको छ । नलेख्दा लेख्ने कुरा पनि टाढिदै पो जान्छन् कि क्या हो वास्तवमा लेख्ने बानी परम्ला भनेर पनि ब्लग थालेको थिएँ । ब्लगमा के नै लेखौला भनेर त होइन । सिर्फ दुईचार कुरा लेखम्ला भन्ने मनमा साँचेकॊ थिए । त्यसमा एउटा त थियो -समाचारमा लेख्न नपाएका गुनासो यसैमा खन्याउने । मैल त्यै सोचेको थिएँ मेरा नितान्त निजी अनुभूति यसैमा खन्याउँछु ।
तर थाहै नपाई एक महिना त नखन्याएरै पो गएछ । यसबीचमा न निबन्ध लेखेको छु न त कथा नै । दिनका दिन आएर 'रोटी'बाहेक के लेखेको छु र ? अरे यार रॊटी त जसले पनि लेख्छ नि । खै त अरु लेखेको आफैलाई सोध्छु । आफै खिसि्रक्क पर्छु ।
दिनचर्या उही छ -राति अबेर मात्र डेरामा पुग्नु । विमलले समयमै पकाएको तर असमयमा पुग्दा िसंग पुच्छर उमारेको भात खानु । कहिले त बक्क पर्छु, होइन यार यस्तो चल्छ कहिलेसम्म ?
तपाईलाई लाग्ला कति दुखेसो मात्र पोख्छ यार यसले ? यसको दुखेसेले पनि वाक्कै लायो । भन्नुहोला, कहिले त गर्नु नि खुसीका, रोमान्सका कुरा पनि ।
मलाई पनि त लाग्दो हो नि खुशीकै कुरा लेखूँ । उमंगकै कुरा पोखूँ । तर के हामीले सोचेजस्तै छ र जीवन ?
मान्छेको जातले खुशी अरुसित बाँड्दैन रे । बाँड्नलाई ऊसँग दुख मात्र हुन्छ रे । सायद यही दुख बाँडिरहेछु मैले पनि । सिर्फ दुख । यसरी बाँड्दाबाँड्दा दुख नै सकिए के होला ? साँच्ची दुख नै सकिएपछि के बाँडूँला हँ मैले ? कल्पना पनि गर्न सक्तिनँ यार । सायद मसँग पोख्नलाई यी गुनासा र दुखेसा मात्र छन् ।
सुख त मान्छेले कहाँ बाँड्छ र होइन ? त्यसैले होला अहिलेसम्म मैले तपाईंसामु बाँड्नलाई खुशी भेटेका छैन । भेटे भने त्यो खुशी अवश्य बाँड्ने छु, दुखेसा बाँडेजस्तै । त्यसबेला कस्तो होला हँ यो दुनियाँ एकपालि तपाई पनि कल्पना गर्नुस् है ।

1 comment:

  1. Rolpali kamred blog ma lekhna chai na6odau k. tapaile blog kholeko dekher maile ni khole tapaile lekhna 6adnu vo vane ta maile ni 6adnu parla .tesaile mero lagi vay ni lekhau.
    tapai ko writing style chai gajjab lag6 hai malai chai. keep it up.

    Jhapali kamred

    ReplyDelete