Tuesday, March 17, 2015

बेपत्ता ! कहिले फर्केलान् घर ?

बेपत्ताकी आमा, बाबा, श्रीमती, छोरा, छोरीलाई के भनम्ला ?
असहज यक्ष प्रश्नसाथ पसेको थिएँ, बागबजारस्थित बेपत्ता परिवारको कार्यालयमा ।
थाहा पनि छैन —कार्यालय उही ठाउँमा छ वा छैन वा कार्यालय नै छैन अचेल ?
पत्रकारिता नामक रोटीकारिता गर्नेक्रममा दुई/चारपालि देखेभेटेको छु —बेपत्ता परिवारलाई । जो बेलाबेलामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्छन् । प्रधानमन्त्री फेरिएलगत्तै भेट्छन् ।
मानवअधिकारवादी नेतालाई भेट्छन् । न ज्यान न चिहानको खबर पाएका ती बेपत्ता परिवारले अनुनय विनय बिसाउँछन् ।
संघर्षका कार्यक्रम पनि ल्याउँछन् । सिंहदरवार घेर्छन् । नारा जलुस गर्छन् । कि ज्यान कि च्यान थाहा पाम् भन्दै आक्रोश पोख्छन् । आफ्ना प्रियजनका यादमा दुख बिसाउँछन् ।

Saturday, March 7, 2015

पूर्णविराम दाइ

धेरै भो, ब्लग अपडेट नगरेको पनि । किन हो कुन्नि, मन पनि छैन । कहिलेकाहीँ अराजक भइदिन्छ आफ्नो भन्नलायक यो एउटा मन पनि ।
किन हँ ?
थाहा छैन ।
अँ, धेरै भो नलेखेको । रोटीकारितामा नअटेकालाई ब्लगमा भनेर यो चौपारी कल्पेथेँ । तर वचनको पक्का हुन सकिनँ । ‘हटारु’मा दुईचार थान रोटीकारिताकै पारेर अन्याय गरेको छु ।
सो सरी है, मेरा प्रियजन । माफ पाम् ।
पूर्णविराम दाइसित भेट नहुँदो हो त सायदै लेख्थेँहुला । र, भेट सायदै हुन्थ्यो ।
ठुस्सिएको यो अराजक मन एक तालले बग्दैन । बेलगाम छ । कहाँ खोजेको कहाँ बगिदिन्छ, बर्खामासको खहरेजसरी । त्यसलाई बाँध बाँधेर तह लाउने कला मसँग छैन ।

अँ, फागुनको अन्तिम आइतबार साँझपख ।
सुनधारानेर भीडमा पूर्णविराम दाइसँग अनायास भेट भो। दुवैजना आश्चर्यचकित। भेटघाट । फोनफान नै नभएको वषदिन पनि काटिसकेको हुँदो हो भन्छु।
रोल्पाका गाउँघरतिर एक चिलम कक्कर खाने बहानाजस्तै चियाको बहानामा बसियो। दुईचार बात मारियो, सुकमदुखमका।

बस फेरि गुड्न थाल्छ

‘फटाफट झर्नुस् ।’
खलासी र कण्डक्टरका आवाजसँगै यात्रु ओर्लन थाल्छन् । झोला, झिटीझ्याम्टा र कुम्लाकुटुरासहितका अनुहारका लाइन लम्बिन थाल्छ ।
अर्जुनखोला, भालुबाङ फेरि दोहोरिन थाल्छ ।
शाही डाक्टर आफ्नो जाँच्ने भाँडो बन्दुकले जाँच्न थाल्छन्ः
–मंगोल अनुहार । मुटुको धड्कन । अनुहार र शरीरका अंगमा खत । हात÷खुट्टा÷पाइताला÷कुहिना÷घुँडा गाँठा । मुलायम या कडा । झोला कुम्लाकुटुरा ।
संकटकालका डाक्टरले अस्पतालका सुइ लगाउने डाक्टरले जसरी सोधेका छैनन्ः
–खाना कत्तिको रुच्छ ? के दुख्छ ? के हुन्छ ? कतिखेर ज्वरो आउँछ ?
शाही डाक्टर सोध्न थाल्छन्– प्रचण्ड । बाबुराम । आतंककारी । कहाँ । को । कहिले । किन । कसरी ।
क्यै पनि सुनेका छैनन् । ‘बन्दुक’ झैं आफैं मात्र पड्किरहेछन ।
इमर्जेन्सी डाक्टरका आफ्नै भाषा छ । आफ्नै पारा छ । आफ्नै मर्जी । आफ्नै खुशी । आफ्नै मन ।

जेईबाबैका मनका कुरा

Jei n Babai [Dal Bahadur Pun, 80, Dilsari Pun, 80]
केही भोगेका केही सुनेका कति काम सकिए पुरा 
कति बाँकी रहे अधुरा, अनुभवका कुरा  
मनका कुरा मनका कुरा 

Thursday, March 5, 2015

कुशको लाश

केहीबेरपछि धनकुमारी अर्थात् ठूली कोर्न हप्तौं भइसकेको कपाल र पाकेको टमाटरझैं आँखाको साथमा हातमा अम्खोरा लिएर निक्लिइन् । सरासर जुठ्यानमा गइन् । पखाल्नुपर्ने बन्चरोमा आँसु खन्याउन थाल्थिन् –अम्खोरा हातैमा राखेर । बाहिर आकाश पनि मलाम आएको थियो, समवेदनाको पानी खन्याउँदै ।

छानो फेर्न अबेर भइसकेको खरले छाएको ठूलीको एकतले घरसँगै जोडिएको थियो गोठ । आकाशको सिमसिमे आँसु घरको परेलीमा नअल्झिई सिधै झरिरहेथ्यो । तर कोरलगाउँका पाका लोग्नेमान्छे र स्वास्नीमान्छेका ‘खसखस’ भने भयले अड्किईअड्किई झरिरहेथ्यो –‘बरै नि ! ...फेरि यसपालि नि हिँबाट ...!’
ठूली ‘भरेभोलि भएको’ पेट असजिलोगरी सुम्सुम्याउँदै एकोहोरिई । बूढीहरुले ठूलीको छेवैमा बसी गुन्यूको फेरले आँसु पुछे । आकाशको आँसुले भिज्न थाले, आँगनमा, ‘आफन्तसँगका विछोड÷भयले निथु्रक्क भिजेका’ मलामी ।
पिँढीअगिल्तिर आँगनमा राखिएका थिए, छ÷सातवटा टपरी । दाहसंस्कारका सामान –छातीमा राख्ने मानो चामल, दूध, फूल, अक्षेता, धजा, धागो, धूप–बत्ती, कात्रो, जौ–कुश ...। हरियो बाँसका टुक्रासहित दाउरा ।

गुगल सर्च

सन्च  हिर्ने  करणालीय  धम्की हिर्ने बबई
परानी  गैजाने रैछ मनको जस्तो नभई
मनकलाको कानमा बज्यो । यसो कान थापिन् । फेरि कहीँ पनि सुनिएन । आफ्नो पालामा रोल्पाका वनपाखामा फुल्ने यो स्यानीमाय गीत थियो । अहिले त वनपाखामा कहाँ फुल्नु यस्ता गीत !
‘कोजानी  कान भैयो  कि के हो’, उनले भनिन् ।
हाट  जाने र चाँखी पिस्ने चलनसँगै गाईबाख्रा लिएर बर्खामास लेकतिर उकालिने चलन हराएपछि यी गीत पनि बूढाबूढीसितै डाँडामाथि हात हल्लाइरहेका थिए । अनुहार फेरिँदै थियो गाउँको । फेरिँदै थियो वनपाखाको । गाउँबाट तन्नेरी सब कालापार र जनयुद्धमा लाग्ने याम सरेर साउदी अरब र मलेसिया पुगेपछि गाउँको जीवनशैली नै फेरिएको थियो ।
बारी पनि बाँझा थिए । बाँझा थिए्, आलु लाउने खोर्रे पनि ।
मनबारीका के कुरा ।