Wednesday, December 31, 2008

थ्यांक क्यू अनवर

पोहोर ६० को हाराहारीमा डकुमेन्ट्री हेरेको थिएँ । मौका पर्दा यसो हेरे पनि यसरी माया नै मारेर हेरेको पहिलोपालि थियो । त्यसले ममा डकुमेन्ट्रीको भूत चढाएछ क्यार ।

हिउँमा बस्ने स्कीमो जातिको बारेमा बनेको ुफाष्ट रनरु हेरेपछि डकुमेन्ट्रीप्रतिको मायाजाल नजानिदोगरी गहिरियो । बृत्तचित्रको इतिहासमा पहिलो बृत्तचित्र नै स्कीमो जातिको बारेमा बनेको थियो ।

तर यसपालि न पर्वतीय चलचित्र महोत्सव हेर्न पाइयो न त आदिवासी फिल्म नै । पर्वतीय फिल्म हेर्ने बेला रोल्पा गएको थिएँ । सारा छुटे । आफन्तसँग छुटेजस्तो 'थक्थक्' लागिरह्यो ।

केही महिनाअघि प्रुान्सेली फिल्म महोत्सवमा फिल्म हेर्न अग्निशिखा दाइसँग सट्टीपट्ट गरेर ठीक्क परेका थियौं । जाम्ला नभनेर ठीक्क परेको बेला अग्नि दाइ त आफै फिल्म भएर अर्को लोक जानुभयो । उहाँले सिफारिस गरेका 'अच्छा अच्छा' फिल्मुमध्ये गुडबाई लेनिन पनि एक थियो । दाइ नै नभएपछि के जानु भन्ने लाग्यो । गइएन । बिनू रिजाल, प्रमिला देवकोटा पनि जानुभएन । अहिले पनि फिल्म महोत्सव भन्नेबित्तिकै अग्नि दाइको याद बल्झेर आउँछ ।


प्रसंग फेरौं जस्तो लाग्यो । भन्नु होला कति लेख्छ यार, यल्ले अर्थ न बर्थका ग्वाले कुरा । तर त्यै ग्वाले कुरा गरें ल माफ गर्नुस् ।

जिन्दगीमा कहिलेकाहीँ 'नजाने जोशु' पनि चल्दोरहेछ के । सपनामा नउनेका कुरा पनि भइदिने ! गफैगफमा माओवादी आन्दोलन बारेमा रोल्पाकेन्द्रीत विषयवस्तुलाई उन्ने उधारो कुरा गरेको थिएँ, साथीभाइमाझ । त्यो पनि उही बृत्तचित्रको भूत चढेको याममा । संयोग ! साथीभाइमाझ गरेको त्यो उधारो कुरा ख्यालख्यालमै नगदमा अनुवाद भइदियो ।

भयो के भने साथीहरुले पैसाको मेसो मिलाए । क्यामेराम्यान बाबुराम नेपालीसित एक महिने रोल्पाको सुटिङ तय भयो । लागियो रोल्पा । जनयुद्धमा परिवारका सदस्य गुमाएका झण्डै एक दर्जनका आँसुले लछप्पै भिजायो । तिनका आँसुका अनुत्तरीत प्रश्नले ठहरै भएर झण्डै बीचमै फर्किए म त । कारण -तिनका घाउ कोट्याएर रुवाउनुको के अर्थ थियो ? मसँग जबाफ थिएन । उनीहरुका आँसु बेचेर डलर कमाउनु पनि थिएन मलाई । कतिखेर भने तिनका आँसु लगेर शासककहाँ पुर् याउँ ? केही प्रेसर त गर्ला । यस्तो पनि लाग्यो । अनि मन थामियो । भागेर आउन एक मनले दिदै दिएन ।

जे होस् अप्ठेराबीच एक महिनासम्म सुटिङ गरियो ।

तर देखाउने ?

साथीहरुले एकछाङ्गे भीरमा पो जाँकीदिए । यस्तो कि न तल झर्न भन्छन न माथि नै उक्लन । क्यामेराम्यानलाई तिर्ने बाँकी पैसा नदिएर बिजोग पारे । झण्डै तीस हजारको हाराहारीमा रिन बोकियो । कमाइधमाइबिनाको नवीन जोगी भयो ।

'कहिले आउँछ भाइ अनुहार ?' कहिले थबाङबाट फोन आउँछ कहिले जेलबाङबाट कहिले इरिबाङबाट । उनीहरुका प्रश्नले म यता ठहरै भएको छु । के जबाफ दिने क्यामेराम्यानलाई तिरेको खाल्डो त पुरेको छैन भने कसरी सम्पादन गरेर देखाउने बनाउनु ?

'हुँदैछ अर्को दशैमा आउँछु' यसै भनेर टार्दैआएको छु । मलाई थाहा छैन ती दशै कता छन् ।
'उचाल्छौ र सर्गे सुली, बसाल्छौ र भुइँती' भनेजस्तो साथीहरुले त जाँकिदिए, भन्भनेको तालमा ।
मसँग झण्डै पचासवटा डिभी थन्किएको छ । अझै त्यसले संसार हेर्ने अवसर पाएको छैन । मलाई माफ गर, जनयुद्धमा परिवारका सदस्य गुमाउने मेरा आफन्त ! मलाई माफ गर ।

साफ्माको फिल्म महोत्सवमा एकदिन अफिस विदा लिएरै हिजो हेरे । हिजो 'भाषण कम फिल्म बढी' भएकाले विदा लिएरै गएको थिएँ । हेरियो होला सातआठवटा । द्वन्द्व, शान्ति र संस्कृतिमा आधारित ती फिल्ममध्ये मलाई सबैभन्दा हेर्न मन थियो अफगानी फिल्म । त्यहाँको जीवनशैलीबारे जान्न मलाई इच्छा थियो । दुईवटा अफगानी बृत्तचित्र हेरियो । पहिलो अफगानी महिलाले बनाएको गुफामा बस्ने अफगानी जातिको कथा ज्यादै मर्मश्पर्शी थियो । श्रीमान् मरेपछि दुई ससाना छोराका साथ ती महिलाले गरेको जीवनोपार्जनका कथाले मन छोयो । त्यसैगरी इरानमा निर्वासित जीवन बिताएकी एक अफगानी चेलीको बारेमा बनाइएको फिल्म 'नर्मल' लाग्यो । कट्टर मुसलमान देशबाट दुईवटी महिला फिल्मकर्मीले बनाएका फिल्म आफैमा फिल्म थिए ।

अनवर जमालको 'डि्रम अफ डार्क नाइट' हेरेपछि मनलाई झकझकायो । फोहोर उठाउने कुचविहारको अनवर मियाको गाउँमा भिडियो चलाउने सपना कसरी पूरा भयो ? मज्जा लाग्यो त्यसको प्रस्तुति । बच्पनमा देखेको सपनाजस्तै कहाँ आकाशको जस्तो थियो । अन्तमा एकजना सहयोगीको सहयोगले भिडियो हल खोल्छ मियाले । फोहोरमा लटपटिएको हिरो हिरोनीको फोटो मियाले सम्हालेर राख्छ । र, भित्तामा टाँसिएका हिरो हिरोनीका पोष्टर हेर्छ ।


फिल्म सकिएपछि त्यसका निर्देशक अनवर जमाल उभिएर बोले । उनले आधा कहानी मियासँग आफ्नो पनि जोडिएको बताए ।

त्यो पिल्मले कान्तिपुर टेलिभिजनका क्यामेराम्यान दाइ श्याम श्रेष्ठको जीवनको एउटा भाग चॊरेको रहेछ । आफ्नो गाउँ चितवन मादीमा यसैगरी भिडियो चलाएका कहानी दोहोर् याउनुभयो ।

डेरा पुग्दासम्म पनि उसले फोहोर उठाएको भिडियो हल चलाएको उसको अनुहारले पछ्याइरह्यो । माचमा उभिएर बोलिरहेका जमाल उभिइरहे आँखामा ।

अनवर थ्यांक क्यू । सर्वसाधारणले उनेको सपना बनाउने अनवरलाई बधाई । आफूले बनाउने त यत्तिकै भयो, तिम्रै बृत्तचित्र हेरेर मन बुझाएँ ल, अनवर । धेरै धेरै धन्यवाद अनवर ।


No comments:

Post a Comment