Wednesday, March 24, 2010

Saturday, March 6, 2010

बैतर्नी तर्न


एउटा याम। जुन याममा अंग्रेजीको नजानिदो तिर्खा बोकेर राजधानी छिरेको थिएँ।

तर राजधानी त्यस्तो थिएन जस्तो सपना उनेर आएको थिएँ। राजधानी सपनाको ठीs उल्टो थियो।

केन्द्रीय अंग्रेजी विभाग जलेको थियो। विद्यार्थी निराश थिए। तर निराशा जलेका कारणले होइन। मजस्ता सरकारी स्कुले 'तेस्रो डिभिजन मात्र हुन्छ। हाम्रो तागतले भ्याउँदैन। यहाँका शिक्षक घिउ र चिनजानमा नम्बर दिन्छन्। त्यसैले जिन्दगी भड्खालोमा जाँक्किन्छ' भनेर मजस्ता सरकारी विद्यार्थी निराश थिए।

निराशा थप्ने अर्को कारण पनि थियो 'जागिरको चर्को अभाव र जनयुद्धको नाउँमा विद्यार्थीलाई सेना पुलिसले ओरालो लागेको मृगलाई झैं खेद्ने प्रवृत्ति।'

खासगरी रोल्पाली रुकुमेलीका लागि राजधानी दिनानुदिन बिरानो हुँदैथियो। रोल्पाली भएकाले पनि हामी जगजगीको बतासमा घरी यता बतासिन्थ्यौं घरी उता। हाम्रा लागि रोल्पा घर हुनु नै अभिसाप थियो।

Monday, March 1, 2010

अनसनमा रहर


रहर, तिर्सना र सपना अनसनमा छन् । आफ्ना माग पूरा गराउन लामो समयदेखि अनसनमा ।  
थाहा छैन, कहिले तोड्छन् अनसन । र, सुमधुर सम्बन्ध होला मसित । 
रहर नलाग्दो हो त हुँदो मान्छे कस्तो ? मान्छेका जम्मै तिर्सना पूरा हुँदा हुन् त कति इखलाग्दो हुँदो हो मान्छेको जिन्दगी ? 
कहिलेकाहीँ बक्क पर्छु । 
छेपारो रहेछ रहर । भेष बदल्दै आउने । रंग बदल्दै आउने ।  
चरा रहेछ तिर्सना । पखेटा हाल्दै कहाँ हो कहाँ उड्ने । नजानिदो रहेछ, रहरको गन्तव्य । थाहा हुँदो हो त मान्छेको जात किन रहरको पछिपछि लागेर एकछाँगे भीरमा जाँक्किदो हो र है ? 
रुख रहेछ रहर । हाँगाबिंगा हाल्दै लहरिने । र, लहरिदैजाँदा रहर र रहरबीच नै टक्कर पर्दोरहेछ । कहिलेकाहीँ त दोहोरो भिडन्तमै पुग्ने । धावक रहेछ तिर्सना । कहिले कुन रहर अघि लाग्ने त कहिले कुन रहर । ठेलमठेल गर्दै रहर कुद्दारहेछन् । 
भाँतीभाँतीका रहर र सपनाका चालढाल देखेर आफै हलाक् पर्छु ।