हटारुको नाउँमा


साथीहरुले भने, 'के नाम हो यार यस्तो, ब्लगको नाम पनि, 'हटारु?' ब्लगको नाम सबैले बुझ्नेखाले पो हुनुपर्छ.'
यसो गमें.
स्वाभाविक लाग्यो, साथीहरुको प्रतिकि्रया ।
जायजै लाग्यो, नजानेको नामप्रतिको असमहमति ।
उनीहरुको तर्क थियो, 'कतै क्लिक गनेृ्रबित्तिकै खुल्नेखाले हुनुपर्छ, ब्लगको नाम।'
अस्वाभाविक थिएनन्, साथीहरुका गुनासा ।
के यी गुनासा सोह्र्रैआना सही हुन्?
जायज थिए.
खेतीपाति सकाइवरी भीरमा खरघुर्रो काटेर मान्छेकd लर्को लाग्थ्यो -घोराहीमा नुन बोक्न जानेको । एकजना प्रत्येक घरबाट जान्थे । १५/२० दिन खाने खाजा र पिठोका साथ उनीहरुको लर्को छुटेपछि गाउँ सुनसान हुन्थ्यो । उनीहरुले परिवारका लागि वर्षदिन पुग्ने नुन बोकेर आउँथे ।
बाबाको पालासम्म नुन बोक्न कोइलाबास या नेपालगाज या बुटवल जान्थे रे । डेढ महिना लगाएर नुन बोकL आउँथे रे । रापती तर्दा कहिले त नुनको भारी नै बग्थे।
प्रत्येक घरबाट भारे डोको, त्यसमाथि मसिनो डोरीको जाली बुनिएको खकन्ना लगाएर तयार हुन्थे । भन्थे -'हटारु जान लागे है ! आइजौ विदावारी गर्न जाम ।' प्रत्येक घरबाट दही र अक्षताको टीका लगाएर विदा गर्थे । पहिलोपालि हाट जानेलाई परिवारका सदस्यलाई मारीमारी सम्झाउँथे, 'दायाबाया नगरेस् है । हर्दा पनि तेरो त नाम्रो रंगढंग छैन ।' जानेहरुमा सबैभन्दा पाकालाई भन्थे, 'नाम्रोसत बगाल लाइदिए है, यो लखेलाई ।'
नुनको भारी र नयाँ लुगा लिएर आउँथे ।
हटारु गाउँ फर्किएपछि भुराभुरीका दसै/तिहार नै फर्केजस्तो लाथ्यो । हातहातमा गुर(भेली)का डल्ला बोकेर प्रत्येक घरमा बाँड्दैजान्थ्यौं, 'लौ ठूल्जेई! हटारुको पाहुर।'
गुरको गुलियोमा भुलेर खुबै खेल्थ्यौं, धुलोमा । घामले नेटो काटेपछि शरीरभर उम्रेका काँडाको पनि कुनै परबाह हुन्न'थ्यो । भकारामा गाइर्ं लिएर आउँथे र गाली गर्थे तब मात्र टाप ठोक्थ्यौं ।
बालापनमै सुनिएको 'हटारु' नाम म किशोर हुँदैजाँदा छोटिदैआयो । नुनको 'हाट' नजिक नजिक सर्दैआयो । अचेल गाउँनजिकै रहेको सानीगार बजारबाट लिएर आउँछन्, नुन । हाट जानुपर्दैन । नुनको हाट जान छाडेपछि सायद 'हटारु' शव्द पनि हरायो, क्यार । पछिल्लो पुस्ताका लागि पनि हटारु शब्दसँग चिनजान छैन । रोल्पाका लोकगीतसँगै यो 'हटारु' शव्द नेटोमा पुगिसकेको छ ।
सम्झना छ, कुनै बेला ठूलदाइले एउटा पत्रिका लिनुभएको थियो। नाम थियो,'हटारु।' कृष्णबहादुर महराको, माओवादी नेता, सम्पादनमा निस्केको रोल्पाको त्यो पत्रिका अहिले एक प्रति पनि सुरक्षित छैन। पत्रिकाको कभर चित्र बनाएका थिए, मेरा गुरु कुलानन्द गिरीले। चित्र थियो, नुनको हाटबाट फर्किरहेको एक रोल्पालीको।
पत्रिकाभित्रका सामग्री के थिए? कस्ता थिए? पढ्न पाइनँ या, पढ्न जानिनँ? मलाई थाहा छैन । तर, त्यसको कभरमा रहेको हटारुको चित्र भने आँखामा उभिएको छ। अझै पनि मलाई याद छ।
हाटबजार जानेलाई 'हटारु' भनेको हो कि? भनेर केही साथीहरुले जिज्ञासा राखे।
त्यसो होइन। किनभने रोल्पातिर 'हाट' लाग्दैन। चलन छैन।
वर्षमा एकखेप नुन बोक्न जानुलाई 'हाट जाने' र जाने मान्छेलाई 'हटारु' भन्ने चलन छ।
कुनै बेला हाम्रा पुर्खा नुन लिन भोट जान्थे रे। त्यसपछि? नुनको हाट सर्दैआएछ । भोटपछि नेपालगाज, बटौलीखसौली(बुटवल)।
त्यसपछि? कोइलाबास सरेछ। लामो समयसम्म कोइलाबासमै 'हाट' बसेछ। त्यसैले होला, कोइलाबास हाटसँग जोडिएका थुप्रै रोल्पाली लोकगीत बने।
रोल्पाली जीवनशैलीसँग जोडिएको 'हटारु' कतै साँच्न पाए हुन्थ्योजस्तो लाग्थ्यो, बेलाबेलामा। कुन बेला? जुनबेला रोल्पाली पाका मान्छेसँग भेटघाट हुन्थ्यो। पुराना कुरा उप्कन्थे। त्यसपछि? हाटका कुरा किन छुट्थे र? त्यसपछि? हररर तिर्खा लाग्थ्यो, 'कतै यसलाई साँच्न पाए?' तर, राख्ने कहाँ? साँच्ने कहाँ? जो डाइनोसर हुँदैथियो/भइसकेको थियो।
म जति आधुनिक भए पनि मेरो जरा 'हटारु'सँगै जोडिएको छ । के जरा कसैले भुल्न सक्छ? सायद, यसैले होला, हटारु शब्दसँग जति धेरै मान्छे अपरिचित भए पनि मेरा लागि सबैभन्दा पि्रय छ । धेरैले नजाने पनि मेरो लागि, मेरो ठाउँको लागि, रोल्पालीको जीवनदर्शनसँग जोडिएको शव्द हो, हटारु ।
मलाई विश्वास छ, मेरा आदरणीय पाठकहरुले पनि यसलाई यहीरुपमा स्वीकार्नुहुनेछ ।
Read more

भैसीमाथि चढेका




हुलका हुल मान्छे बाजागाजा बोकेर ८ बजे नै जिल्ला प्रशासन कार्यालय पुगे। १६ गते पनि उनीहरु देशभरका गाविस र नगरपालिका कार्यालय यसरी पुगेका थिए। गाउँघरमा लाग्ने मेलामा जस्तै कोहीले मादल बजाउन थाले कोहीले ढोलक कोहीले धिमे कोहीले पंचै बाजा। र तिनै बाजाको तालमा गाउन थाले । कार्यालय समय ९ बजेदेखि नाचगान ४ बजेसम्म चल्यो।
बेलामौकामा गाउँघरतिर लाग्ने कुनै जात्राजस्तो यो दृश्य हो आन्दोलनकारी एकीकृत माओवादीको जिल्ला प्रशासन घेराउ र धर्नाको। जिल्ला प्रशासन घेराउको दोस्रो दिन बुधबार र बिहीबार चल्तीका लोकगीत र दोहोरी गीतको भाकामा दोहोरी गाएर धर्ना दिए। राष्टपति रामवरण यादव प्रधानमन्त्री माधव नेपाल रक्षामन्त्री विद्या भण्डारी एमाले नेता केपी ओलीलाई तिनै दोहोरीको भाकामा आलोचना गरे।

काठमाडौं जिल्ला प्रशासन घेराउमा ७२ वटै जिल्लाका गणतान्त्रिक माचले ब्यानर मात्र बोकेका थिएनन् आफ्नो ठाउँको संास्कृतिक झाँकी पनि बोकेर आए । सुदूर सुदूर पश्चिम र कर्णाली क्षेत्रकाले देउडा गाए। नाचे। पूर्वी भेगकाले चण्डी र धाननाच नाचे। काठमाडौं क्षेत्रका नेवारी धिमे बाजाको तालमा नाचे। पंचैबाजाको धुनमा नाचे। मादल खैचडी पंचै बाजा धिमे बाजा देउडा धान नाच चण्डी नाचे।

बजारमा चल्तीका दोहोरी गीत काँठ क्षेत्रमा गाइने काँठे भाकामा दोहोरी गाए । तिनै गीतका भाकामा राष्टपति रामवरण यादव प्रधानमन्त्री माधव नेपाल रक्षामन्त्री विद्या भण्डारी एमाले नेता केपी ओली कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाविरुद्ध यसरी प्यारोडी गाए।
गीतको तालमा नेताहरु कम्मर मर्का्रई मर्काई नाचे। टीभी र रेडियोलाई के चाहियो र ? धर्नास्थलमा बसीबसी टीभी र रेडियोकर्मीले जागिर पकाए। क्यामेरावाललाई भ्याइ नभ्याई। यता किलिक्क उता किलिक्क। पत्रकारबाहेक आन्दोलनकारीले पनि चाइनीज आलु क्यामेरा र खासा मोबाइलबाट आफ्ना नेता ढल्कीढल्की नाचेका\ खिच्नु खिचे।

प्रधानमन्त्री माधव नेपाललाई काठमाडौं-२ बाट पछार्ने रोल्पाली झक्कु सुवेदी र हिसिला यमी बाघदरवारस्थित काठमाडौं महानगरपालिका कार्यालयअगाडि धर्ना दिनेक्रममा सोमबार कम्मर मर्काएर नाच्दै। फोटोः विजय राई/नागरिक डटन्यूजडटकम

आँधीखोला उर्लेर आयो आउने थिएन, मायाले बोलायो गीतको तालमा यस्तो गाए,'जनसागर उलॆ्रर आयो आउने थिएन रामवरण बौलायो।'

धादिङतिर गाइने भजन राम राम राम भन्ने भजनको लयमा गाए,'मुसुमुसु हाँसेका भैसीमाथि चढेका रामवरण भेट भयो । हरेराम रामवरण भेट भयो । राम राम राम…।

केपी ओली र रक्षामन्त्री विद्याको नाउँमा पनि यै लयमा गाए, 'कमण्डलु हातमा विद्यादेवी साथमा केपी ओली भेट भयो हरेराम केपी ओली भेट भयो । राम राम …।'

यै लयमा प्रधानमन्त्री नेपालको नाउँमा गाए, 'पशुपति कुनामा बसेका खरानी घसेका माकुने भेट भयो । हरेराम माकुने भेट भयो । राम राम …।'

अर्को दोहोरी गीतको तालमा यस्तो गीत गाए

'नाच्दै आऊ माकुने भारतको तालमा।

नाच्दै आऊ केपी विद्याको तालैमा।

नाच्दै आऊ रामवरण भैसीको तालैमा।

सुदूरपश्चिमकाले देउडाको तालमा गाउँदै यस्तो भने भिनाजु भन्ने स्थायी भएको देउडामा, 'रामवरण माकुने केपी …पशुपतिमा ल्याउ भिनाजु ।'

अर्को लोकगीतको तालमा यस्तो गाए, 'माकुनेको खनेर चिहान

सडकबाटै लेख्ने हो जनमुखी संविधान।'

माओवादीका सामना परिवार जलजला परिवार लगायतका निकालेका क्यासेटका गीत बबरमहलस्थित काठमाडौ जिल्ला प्रशासन कार्यालय वरपर दर्जनौं ठाउँमा लाउड स्पीकरबाट गुिाजए। नाचे। नारावाजी गरे।

उनीहरुले खाना पनि सडकमै खाए। चिउरा चना आलु र कोहीले त भात पनि खाइरहेका थिए। बबरमहलस्थित काठमाडौं जिल्ला प्रशासन कार्यालय वरपर माओवादी कार्यकर्ताको बाक्लो उपस्थिति र सशस्त्र जनपद ठूलो संख्यामा भएको परिचालनले यातायात अबरुद्ध भयो।


बालुवाटारमा केपी करायो,
जनसागर उर्लेको देखेर माकुनेको होसै हरायो

भैसीले फुल पार् यो
हे बडा बाउ
भैसीले फुल पार् यो
Read more

The Last Laugh





The Last Laugh
I made hay while the sun shone
My work sold
Now, if the harvest is over
And the world cold
Give me the bounce of laughter
As I lose hold
(The Last Laugh by John Benjamin)
अमेरिकी पेन्टर सिलिया वािसंगटनको चित्र। छेवैमा कागजमा लेखेर टाँसिएको छ, कवितांशसहित पेन्टिङको व्याख्या। व्याख्यापछि थाहा पाएँ, चित्र रहेछ सेप्टेम्बर ११ को घटनामा आधारित। 'व्याख्या' नदेखेको भए त्यै पनि थाहा नपाउने रहेछु। उनकैको अर्को चित्र 'ब्रोकन डि्रम्स' पनि त्यसैमा आधारित रहेछ।

बबरमहलस्थित आर्ट ग्यालरी। महिलाका बारेमा बनाइएका पेन्टिङ। केही फोटो। र, केही सामान नै जस्ताको तस्तै राखिएका छन्। अस्मिना रिाजतले टिकुली र चुराको नाउ बनाइकी छन्। काठमा छ टिकुली। र, पर्दाजस्तो बनाइएको छ, चुरैचुराको। यो पेन्टिङ नभई, रहेछ चुरा र टिकुलीले बनाइएको नाउ। भन्न खोजेको बुझिनँ। बोरामा माटो। र, बोरा खोपेर रोपिएको जौ। उम्रेको छ बोरैभरि जमरा। यसैगरी खाने तेल वा मट्टितेलको डिलर भएको दुकानमा तेल भर्ने पाउ, आधा लिटर, एक गदैै्र पाँच लिटरसम्मका भाँडा। त्यसैमा लेखिएको छ, अंग्रेजीमा। के लेखिएको छ कुन्नि? पढिएन। ती भाडाको शीर्षक दिइएको छ, विधवा।

बक्क परेँ कसरी हुनगयो यी भाँडा, विधवा शीर्षकमा?

चित्रसँग चिनजान छैन। सायद नजिकिने कोशिस पनि भएन क्यार। हाइस्कुलसम्म विज्ञान विषयमा चित्र बनाउनुपथ्र्यो । मलाई चरा, रुख, घर र मान्छेको चित्रबाहेक अरु बनाउन आएन। वातारवरण नभएर पनि होला, बनाउने जाँगर पनि चलाइनँ।

जिन्दगीमा पनि मैले एउटा चित्र बनाएँ, पानी कलरमा। जुन एक महिला चित्र थियो, पछिल्तिर कपाल फिजेकी। खुबै राम्रो लाग्यो। कुरा हो, स्नातकमा पढ्ने बेला, घोराहीमा। के जङ चलेर बनाएँ? थाहा छैन। सायद डेरामा मेरो भतिज विमले र गोपालले चित्र बनाउँथे। यसैको प्रभाव थियो कि? मैले उनीहरुले प्रयोग गर्ने रङ प्रयोग गरेर बनाएको थिएँ।

'ल हेर, मैले पनि चित्र बनाएँ। आफूले मात्र जानेको भन्ठान्छस्?' स्वयम्वर हाङलाई देखाएँ।
हाँस्यो। र, भन्यो, 'पहिले चित्रबारे बुझ्। त्यसपछि बनाउने।' खिसि्रक्क भएँ।


हाइस्कुल पढ्ने बेला। कुनै याम थियो। चुनबाङमा साइनबोर्ड र ब्यानर लेख्ने मेरो ठेक्का थियो। साइनबोर्ड लेख्नेमात्र कहाँ हो र? हिमालसिमालको चित्र पनि बनाइदिन्थेँ। सायद अझै पनि खुइलिएका दुईचार साइनबोर्ड होलान्, मैले लेखेका सानीगार्ड र चुनबाङमा।

एउटा याम। भर्खरै हिरासतमुक्त भएको थिएँ। कुरा २०६०को। कसैले मेरो नाम सिफारिस गरेछ। अस्मिना रिाजतको सूत्र भन्ने चित्रकारितासम्बन्धि संस्थाले ओशो तपोवनमा लग्यो। जहाँ चित्र संगीत र लेखन गरी तीन क्षेत्रका तीन पुस्ताको जमघट रहेछ। पाँचदिने शिविरमा बाजे छोरा र नाति पुस्ताका बसे।

भाँतीभाँतीका अनुहारका क्यान्भास। चित्रकारहरु लहरै लागेर दिनभर चित्र बनाए। त्यहाँ कोही पनि थिएनन् काठमाडौंबाहिरका, बात्सायनबाहेक। थाहा पाएँ, चित्रकारिता काठमाडौंका सम्भ्रान्त परिवारबाट मात्र सम्भव छ। चित्रका लागि चाहिने सामग्री र माहौल गाउँको सामान्य परिवारको लागि सम्भव नै छैन। कोही अपवादबाहेक।

चित्रसित हिमचिम नभए पनि चित्रकारसित ठीकै थियो। रोल्पा थबाङको स्वयंवर हाङ(नारायण बुढामगर)ले चित्र बनाउँछ। रोल्पा पढेर होइन बुढानिलकण्ठ बोर्डिङ पढ्दाखेरि सिकेछ।। मूर्तबाहेक उसले बनाएका कुनै पनि चित्रसित चिनजान हुन सकेन। अर्धअमूर्तलाई 'हो कि हो कि' भनेर अथ्र्याउनेसम्म मात्र हो। कसैले यस्तो उस्तो भनेर अथ्र्याइदिएपछि 'हो कि' जस्तो लाग्छ।

एकचोटि सुशील गौतमको किताब चर्किएको जून नामक किताबको कभर बनाइदिएछ, स्वयम्वरले। कलमको टुप्पोले जून छुन खोजेजस्तो बनाएछ। बूढाको के जङ चलेछ कुन्नि? जूनलाई टुप्पो छुवाएर किताब छापेछन्।

साँच्ची चित्र नबुझ्ने मान्छे नै हुँ कि म पनि? जस्तो लाग्छ।

अँ, भित्तामा चित्र छन्। हेरियो मात्र। बुझिाएन। बुझ्ने कष्ट पनि गरिएन।

फोटो। हेर्दैजाँदा फोटो पनि भेटिए।

बेरुतका सहिदका फोटो छन्। फोटोहरुको शीर्षs दिइएको छ, सहिद।

एउटा फोटो। त्यसको छेवैमा एक महिला बसेर यसो नियालिरहेकी।

अर्को फोटो- भग्नावेश। त्यही बसेर दुध चुसाइरहेकी एउटी महिला।

अर्को फोटो- टाँसिएको छ भित्तामा। एक महिला फोटो हेरिहरहिछ, पर्पुरोमा हात राखेर।

अर्को फोटो। अफगानी महिला। हातमा हतियार लिएर उभिएका छन्। उनीहरुका अनुहारमा बुर्का छैन। सारीजस्तो उनीहरुको परम्परागत पहिरन। कोही रगीन छन् कोहीका सेता लुगा।


यसै चित्र हेर्ने उसै चित्र हेर्ने भनेर छिरेँ, सिद्धार्थ आर्ट ग्यालरीमा। छिर्नेबित्तिकै भेटियो -कोक समातेकी मोनालिसा। लेखिएको छ मोनालिसा एक। अर्को छ, हाँसेको मोनालिसा। लेखिएको छ, मोनालिसा दुई।

चित्र सर्वसधारणले बुझ्ने हुँदैन? अमूर्त बनाए मात्र अब्बल हुन्छ? गाँठवालाको मात्र चिधकारिता ठेक्क हो? प्रश्न अनुत्तरित। सीप भएर मात्र पनि नहुनेरहेछ चित्रमा। कुनै याममा स्वयम्वर काठमाडौं आयो, 'करिअर बनाउन।' राजधानीमा टिक्न सकेन।


एक ठाउँमा चित्र बनाउने काममा लागेको पनि थियो। पैसा नदिएपछि भनेछ, 'तँलाइ पैसा पनि माग्दिनँ काम पनि गर्दिनँ।' चित्रले खान दिएन भनेर वाइरिङ गर्दैथियो। केही महिना गंगोबुमा रहेको आफन्तको साइबरमा काम गर् यो। अरब जाने तयारीमा छ भन्ने सुनेको थिएँ।

कहाँ छ? बेखवर छ। ऊ सकेसम्म मबाट बेखवर बस्न चाहन्छ। कारण? भन्छ, 'रक्सी र चुरोट नखा भनेर भन्ने तेरो कचकच सुन्न चाहन्नँ।' जहिल्यै भन्छ, 'म किन रक्सी खान्छु? तँ बुझ्दैनस्। मान्छे किन रक्सी खान्छ? के हो जीवन तैले बुझेको पनि छैनस्। त्यसैले तँ लेखक पनि बन्न सक्तैनस्।'

उसले म लेखक बन्न नसक्ने ठोकुवा नै गरेको छ।

नबुझिने चित्रसँग भएका भेटैपिच्छे आँखामै उभियो, स्वयम्वर।

'नबुझिने नै सही। म एकजनाले नबुझदैमा के फार्रिन्छ र? कहिले यस्तै भित्तामा झुण्डिएका स्वयम्वरको चित्र हेर्न पाइएला बबरमहलमा, सिद्धार्थ आर्ट ग्यालरीमा?' प्रश्न उभिइरह्यो ऊसँगै।

झुण्डिएका चित्रहरु अमेरिका, भारत, श्रीलंका र नेपालका उनै नाम चलेका गन्यमान्य चित्रकारका मात्र छन्।

'स्वयम्वरको कहिले होला यसरी प्रदर्शनी? नबुझे पनि मेरो गाउँको कलाकारको भनेर कहिले भन्न पाउँला मैले?'

ग्यालरीबाट बाहिरिए पनि अझै गनगन गरिरहेछ, यो अनुत्तरित प्रश्नले।





Read more

२५ वर्ष इन्तजारका


२५ वर्षअघि अर्थात् ३१ अक्टोबर १९८४ मा भारतकी प्रधानमन्त्री इन्दीरा गान्धीको हत्या दुई शिख समुदायका मान्छेबाट भयो । त्यसपछि? त्यसलगत्तै पुलिस प्रशासनको सहयोगमा हिन्दू अतिवादीले चार हजार निर्दोष शिखहरुको हत्या गरे। शिख परिवारका सदस्यलाई खोजीखोजी मारे। जिउँदै जलाए। परिवारजनका अगाडि जिउँदै जलाए।
दुईजनाले गल्ती गरे त चार हजारको के कसुर थियो? किन मारियो?
परिवाजन अझै पनि उत्तरको प्रतीक्षामा छन्।
२५ वर्ष भयो । उनीहरुले अझै न्याय पाएका छैनन्। अपराधीले अझै सजायँ पाएका छैनन्।
उनीहरुको प्रश्न छ, 'इन्दीरा गान्धी मार्नेलाई त फासी भयो। खोइ त हाम्रा सारा परिवारजन सखाप मार्नेलाई सजाय? जसले शिख समुदायका मान्छेहरुको हत्या गरे उनीहरु त खुलियाम िहंडिरहेछन्।'
यस घटनालाई 'दंगा' भनियो। तर, उनीहरु दंगा मान्न तयार छैनन्। उनीहरुको तर्क छ, 'दंगा भए त दुवैतिरका मारिन्थे। यो त कत्ल्याम हो।'

कार्तिक १७ अर्थात् नोभेम्बर ३।

हेरिरहेछु, भारतीय च्यानल, आइबीएन७। कार्यक्रम संचालिका छे, भर्भरकी चेली। नाम रहेछ, ऋचा अनिरुद्ध।
मोटो किताब देखाउँछ। किताबको कभरमा इन्दीरा गान्धीको फोटोमाथि लेखिएको छ, '१९८४।' त्यसभित्र रहेछन्, मारिएका परिवारजनका फोटो।

अँ, एक केटी छ, स्टुडियोमा कार्यक्रम संचालिका। छेउमा बसिरहेका छन्m अधबैसे महिलाहरु। ीशख महिला। दर्जनभन्दा बढी।

संचालिका अक्क न बक्क परेकी छ। मानौं उसको शरीरमाथि एक क्वीन्टलको भारी छ। बक फुटेकै छैन, उनीहरुसँग कुरा गर्न। अर्थात् प्रश्न गर्न नै सकेकी छैन।

पहिलो प्रश्न, 'त्यसदिन कस्तो थियो के भयो?' भनेपछि उनीहरु बोल्दैजान्छन्। बोल्दाबोल्दै थामिन्छन्। उनीहरुसँग त्यसदिनको घटना भन्नलाई आँसुबाहेक अरु छैन। तर चाहिएको छ बोली। क्ार्यक्रम संचालिकाले गर्नुपर्ने हो प्रश्न। तर उसको मुखबाट प्रश्न निस्कन मान्दैनन्। प्र्रश्नको बदलामा उसको आँखाबाट आँसु आउन बल गर्छन्। भक्कानिएर अहिले नै डाको छाड्ले जस्तो गर्छे।

क्ार्यक्रम संचालिका नै रुन थालेपछि के होला कार्यक्रम? रुन हुन्न रे कार्यक्रम चलाउने। त्यसपछि आफूलाई थाम्न, मोड्नलाई प्रश्न सोध्न छाडेर 'कमेन्ट' गर्नतिर ध्यान मोड्छे, 'त्यसदिन थुप्रै शिख समुदायको आमहत्या गरियो।'

थामिनसक्नु गाह्रो भएको छ। उसको अनुहारले यसै भनिरहेछ। तर के गर्नु स्क्रीनमा रुन पनि त भएन। तर आफूलाई 'थाम्न मुश्किल भएको' उसको अनुहारले भनिरहेछ।

'खाना पस्किसक्यांै। आउनु खान' बिमलेले बोलायो।

'तिमीहरु खाँदै गर्नु न।' भन्छु।
खान मन छैन।

विज्ञापनपछि फेरि एकएकजना लिएर सोध्न थाल्छे। त्यसपछि घटना सुनाउनन थाल्छन्। बोलीभन्दा पनि उनीहरुको आँसु झर्न थाल्छ। आँसु सुन्नु नि कि बोली बोली सुन्नुको बदला उनीहरुको मनबाट बोली होइन आँसु झर्न थाल्छ।

आङ सिरिड्ड गर्छ। नजाने मन पनि ओरालोमै झर्दोरहेछ क्यार, नजानेका ती शिख आमाहरुका मनबाट आँसु झर्न थालेपछि मेरो मन भरिएर आयो। अनायास आँसु झर्न थाल्छ।

'भात सेलायो।' विमले फेरि करायो। भन्छु, 'यतै लिएर आ।'

टिभीमा त्यही कार्यक्रम हेर्दै भात खाउ कि नखाउ गरिरहेछन्, राजेश र अरुणादम्पति।

टिभी स्क्रिनमा उनीहरु कहानी सुनाउनुको बदला भक्कानिन थालेपछि अरुणादम्पति भात खान मुखमा हाल्न छाडेर िसंगानको सर्को तान्न थाल्छन्।

४० टेके जतिकी महिला। कहानी भन्दै जाlन्छे, 'थिए मिलिटरीमा मेरा बा। पुलिसले लिएर गए। जिउँदै जलाए।' उनले आफ्नो श्रीमान् पनि सेनामै रहेको बताइन्। उनलाई पनि मारे।

त्यसपछि?

कोही बचेनन्।
के भो?
भन्छे, 'मात्रै म बचेँ। एउटी बूढी आमै। आमै बित्नुभो।'

विमलेले होइन गणेशले खाना लिएर आयो।

भन्छे। ऊ पुलिसकहाँ गई। न्याया दिएन। सरकारकहाँ पुगी। कहीँ सुनुवाई भएन। बदला लिन खोज्ने ठाउँ चहार्दै गई। तैले चिता मैले पुर् याउँछु भनेझैं भेटी एकजना। र, घरजम पनि गरी उसैसित। अन्डरओल्र्डको मान्छे भन्ने थाहा पाएपछि पक्राउ परी। ९ वर्ष जेल सजाय काटेर भर्खरै निस्की। भनी, 'जसरी जलाए मेरा बाबालाई मेरा पतिलाई उसैगरी जलाउन चाहन्छु। मलाई तीन घण्टा भए पुग्छ।'

उसको भनाइसँगै आँखाभरि आए अनगिन्ती अनुहार। हिमाल आयो। उसको सोल्टी पनि। मुसिकोटबाट चुनबाङ आउँदैगरेका पुलिसले हिमालको दाजुभाउजू र दिदीभिनाजुलाई एकै चिहान पारे। त्यसको केही समयपछि हिमाल र उसको दिदीको देवर दुवै जनसेना भए। अहिले हिमाल जनक भएको छ। र, ऊ छ बटालियन भिसी।उसको सोल्टी छ वाइसीएल।

यसैगरी माओवादीले मारेका परिवारका सदस्य नेपाली सेना र पुलिस भएका छन्। चुनबाङमा मारिएका एक कांग्रेसी नेताका छोरा पुलिस भए। यसरी लागेकाहरु 'सबैभन्दा आक्रामक' थिए। चाहे जनयुद्धमा लागेका चाहे पुलिस सेना वा प्रतिकार समितिमा लागेका। सायद वदलाभावका कारणले होला उनीहरुले अमानवीय यातना दिन्थे।

'भातले सिङपुच्छर उमारिसक्यो' विमले बोल्यो। तर भात छिर्न मानेकै छैन मनले।

एक अधबैसे महिला आइन्। भन्न थालिन्, 'खाना खाँदैथियौं…।' त्यसपछि बोल्न सकिनन्। बोलीको बदला आँखाबाट आँसु झर्न थाले। कार्यक्रम संचालिका न प्रश्न सोध्न सकेकी छ न त प्रसंग नै मोड्न नै। कहानी सुनाउनेभन्दा पनि बढ्ता दुखी देखिन्छे। उसलाई सम्हाल्न झन् गाह्रो परेको छ।

'मसँग त्यसदिनको सम्झनाबाहेक अरु केही पनि छैन। न तस्वीर बच्यो न त, यति भनेपछि फेरि बोल्न सकिन।

िसंजाखोलाको घटना सम्झिएँ। उनीहरुले गुमाएका थिए आफ्ना छोराबुहारी र छोरीज्वाइँ। छोराबुहारीको बिहे भएको दुई साता पनि भएको थिएन। छोरीज्वाइ भर्खरै कालापाबारबाट आएका थिए। घटना थियो २०५६ को। उनीहरु माओवादी थिएनन्। बिलकुल सर्वसाधारण। टाटेडाँडाभन्दा पर जंगलमा सोत्तर लिएर फर्कंदैथिए। पुलिसले चारैजनालाई सोत्तरको रांगेसँग लग्यो जंगलछेउको घरमा। माओवादीलाई खाना पुर् याएको आरोप लगायो। आफ्ना श्रीमान्हरुका सामुन्ने पुलिसले बलात्कार गरे। दाम्लोले बाँधे। सिस्नोपानी लगाए। त्यै घरवालाको घर फोडेर आलु पकाए। खाए। र, जानुअघि चारैजनालाई एउटै खाडलमा पुरे।

'दाइको फोटो त लुकाउँदालुकाउँदै मधुरो भइसकेको थियो। एउटा बचेको थियो। त्यै फोटो पनि सहिदका फोटो पत्रिकामा निकाल्ने भनेर माओवादी नेताले लगे। तर लग्ने नेता भागेछन्। न पत्रिकामा छापियो न त फोटो नै बच्यो। हामीसँग दाजुको फोटो मनमा बाहेक अन्त बचेन। सम्झना मात्र छ।' बहिनी सीताले भनेकी थिई। उसका भाउजू त भर्खरै विहे भएको थियो। गाउँमा न हो बिहेमा फोटो खिच्ने चलन पनि त थिएन। माइतमा छ होला तर उनीहरुले ल्याएका रहेनछन्। कालापार िहंड्ने दिदीभिनाजुको पनि फोटो थिएनन्। सीताले भन्दैथी, 'कोही बचेनन्। तपाईंलाई देखाउने तस्वीरसमेत जलाए। अब हामीसित दिदीभिनाजुको नासो त यो नानी छ। यो नानी पनि जलेर विरुप भई।'

अँ, स्क्रिनमा भन्दैथिइन्। बच्नलाई के नै बाँकी राखिएन। भन्दै गइन्, 'सबै छोराका कपाल छोरीको जस्तै बनाइदिएँ। कारण शिख पुरुष भनेर चिन्छन् भनेर। तर कोही पनि बचेनन्।'

उनीहरुका अनुहार नै काफी थियो। के सुनिसक्नु थियो र? उनीहरुका बयान। बोलीपिच्छे उनका आँखाबाट आँसु झरे। २५ वर्षदेखि लगातार आँसु बगिरहेको छ। तर अझै सकिएको छैन। साँच्ची आँसु सकिएको दिन के होला हँ? कल्पेर पनि अत्यास लाग्यो।

'होइन भातले सिङपुच्छर उमारिसक्यो। के ताल हो?' निरुले भन्दैछ।

हात भातमा छ। जुठो हात कक्करक्क भइसकेछ। आँखाबाट तरकारी पो झर्दैरहेछ थालमा म त फिल्म हेर्दा पनि रुने मान्छे। यो त साँचो कहानी थियो। कसरी थाम्न सक्थे ओरालोमा मनलाई?

अर्की एक बूढीआमा आइन्। उनको अनुहारमुन्तिर लेखियो, 'भागी कौर।' भन्न थालिन्, 'उनीहरु पुलिस र हिन्दू ले टीभीको कार्टुनमा राख्दैगए। त्यसपछि छोरालाई पनि आगोमा हाले।' उनले छोराको पुकारा गरिन् रे। पाउ छोइन् रे। तर मानेनन् रे। भनिन्, 'मैले देखबहाल गरुला भनेँ। पतिको बचाउन पनि खबै कोशिस गरेँ। सकिनँ। उनीहरुले सबलाई जिउँदै आगोमा हाले।' परिवारका सदस्यसहित उनका ११ जना आफन्त जिउँदै जलाइए।

उनले यसो भनिरहँदा जनयुद्धताका जिउँदै आँखा झिकेर जलाइएकी रोल्पाकी कुमारी बुढा आँखाअघि उभिइन्। पुलिसले जिउँदै उनको आँखा झिके। र, जिउँदै जलाए। उनका छरछिमेकका बालबालिकाका सामुन्ने यी सब हर्कत गरे। अहिले पनि त्यस घटनाकाको बारेमा बताउन छिमेकीसमेत असमर्थ छन्। परिवारका सदस्यले झन् कसरी सक्थे?

अर्की एक अधबैसे आइन्। उनको अनुहारमुन्तिर लेखियो, 'पप्पी कौर।' उनको परिवारका १० जना मारिएछन्। सबलाई जिउँदै जलाइएछ। उनले भन्दैगइन्, 'तीन दिनसम्म सडकमा तड्पिरह्यौं। न्याय मिल्ला र परिवार सदस्यका सपना कतै भेटिएला भनेर पर्खदापर्खदा २५ वर्ष बित्यो। मिलेको छैन।'

गाउँमा पनि सहरमा पनि शिख पुरुष बचेनन्। बचे सिर्फ महिला। भन्दैथिइन्, 'जबसम्म जिउँदो रहन्छु तबसम्म कसरी भुल्न सक्छु।'

कौर बोल्दैथिइन्। उनको मनसाय बुझी क्यार संचालिकाले। अर्की बूढीआमैलाई सोधी, 'बोल्न खोज्दैहुनुहुन्छु? बूढीआमै आइन्। बोल्न थालिन्।

'क्या कहुँ बेटा? न उपरवालेले सुना न इन्सानोने।' अहिलेसम्म कोही पनि सोध्न नआएको बताइन्। पहिलोपालि यसरी यिनै संचालिकाले सोधेको भनिन्। यसअघि घटनाबारे उनलाई कसैले पनि सोधेका रहेनछन्।उनले सारा आशिर्वाद यिनै चेलीलाई दिने बताइन्।

मंंगलबार बाँकी कार्यक्रम आउने भन्दै कार्यक्रम सकियो। र टिभीले पाना पल्टाउन थाल्यो इन्दीरा गान्धीको ठूलो फोटोमाथि लेखिएको १९८४। लाग्यो यो घटनाबारेमा किताब छ। र त्यै किताबको आधारमा यो कार्यक्रम बनाएकी छ। र, देखाइदैछ।

कार्यक्रम सकिदा भात हिउँ भइसकेको थियो। मुश्किलले खाएँ।

सम्झिएँ कुनै याम। क्यामेराम्यान बाबुराम नेपालीलाई लिएर रोल्पा पुगेको थिएँ। त्यसताका माओवादी र पुलिसद्वारा मारिएका एक दर्जन परिवारलाई भेटेँ। त्यसपछि लामो समयसम्म बेचयन रहेँ। मैले गर्न सक्ने त केही थिएन। उनीहरुको घाउ कोट्याएर गर्ने के? मसँग जबाफ थिएन। किन भनेर सोधे पनि मसँग जबाफ थिएन। तर, उनीहरुका मौन अनुहारले गरेका यस्ता यक्ष प्रश्नअगाडि म थला परेँँ।

उनीहरुलाई थाहा थिएन परिवारजन गुमाउनेका आँसु डलरमा बिक्री हुन्छ। माओवादी जनयुद्धमा परिवारजन गुमाउनेका आँसु डलर खेती गर्नेका लागि 'गनारी खेत' भएको कुरा। डलर फलाउन देशभित्र र बाहिरका डलर खेतालाको रासोबासो नै रोल्पामा छ, अहिले पनि। रोल्पाका गाउँगाउँबस्ती गएर डलर खेती गर्ने एनजीओ आइएनजीओहरुले कति कमाए लेखाजोखा कोसित होला र?

तर मेरो कुनै उद्देश्य थिएन। रोल्पाका केही उत्साही तन्नेरी मिलेर गर्दैथियौं। तर साथीहरुले मलाई बीचैमा छाडे। पचास साठी हजार रिन लाग्यो। अहिले तिनका आँसु यसै थन्किएको छ। ती आँसु मैले डलरमा बेच्ने छैन।

सेना पुलिसले मारेका होऊन् या माओवादीले। ीतनका परिवारका आँसु एउटै छ। जुन सपना बोकेर मारिएका भए पनि तिनलाई गुमाउने परिवारजनको आँसु उस्तै छ। उनीहरुको पीडा उस्तै छ। आँसु जसको आँखाबाट झरे पनि आँसु नै रहेछ। र, तिनलाई बुझ्ने मन पनि।

नेपालमा हजारको हाराहारीमा बेपत्ता छन्। जिउँदा छन् या मारिए? अत्तोपत्तो छैन। जनयुद्धमा परिवारजन गुमाएका त छदैछन्।

यी अनुहारले कहिले पाउँछन् न्याय? बेपत्ताको जानकारी कहिले पाउँछन्?

प्रश्न अनुत्तरित छ यहाँ पनि। कारण -भारतको जस्तै छ नेपालको सरकार। सत्ता।

भनाइ छ, 'justice delay is justice denie.'
Read more

माओवादी राँको


नागरिक सर्वोच्चताको माग गर्दै माओवादीले कार्तिक १५ देखि दोस्रो चरणको दुई हप्ते आन्दोलन थालेको छ। राजधानीसहित देशैभर गाउँगाउँबाट मसाल जुलुसबाट आन्दोलनको सुरुवात गरेको छ। राजधानीमा गरेको मसाल जुलुसमा उनीहरुले राष्टपति रामवरण यादव, प्रधानमन्त्री माधव नेपाल, केपी ओली र रक्षामन्त्री विद्या भण्डारीलाई 'भारतीय दलाल' भन्दै चर्को नाराबाजी गरे। राष्टपति यादवलाई भैसी चराउन धनुषा जान आग्रह गरे।

नेपाली सेना भर्ना गर्नलाई 'विस्तृत शान्तिसम्झौता' बदल्न र भैरवनाथ गणमा ४९ जना नागरिक बेपत्ता पारेको अभियोग लागेका एक जर्नेललाई रथीमा बढुवा गर्न लबिङ गरेपछि रक्षामन्त्री भण्डारीप्रति माओवादी राँक्किएको हो। उनले ओलीको बोलीमा लोली मिलाउँदै रक्षामन्त्री भएपछि पनि सेना समायोजनविरुद्ध बोल्दैआएकी छन्। सायद यसैले होला, यसअघि जस्तै 'ओली र भण्डारीबीचको सम्बन्ध'को यसरी नारा लगाए, 'विद्या तेरो सिन्दुर खोइ ? केपी ओली तेरो पोइ ।'

उनीहरुले दुई ठाउँबाट हारेका माधव नेपाललाई हरुवा मात्र भनेनन् राष्टपति यादवलाई जस्तै भारतीय दलाल भने। चर्काे नाराबाजी गरे। उनीहरुले माधव नेपाललाई काठमाडौं दुईबाट पछार्ने रोल्पाली झक्कु सुवेदी र रौतहट ६ बाट पछार्ने देवेन्द्र पटेललाई 'आऊ' भन्दै नेपालको राजिनामा मागे। एक\एक ठाउँबाट हारेका केपी ओली र रक्षामन्त्री भण्डारीलाई हरुवा भने भनेनन्। माओवादीका कटु आलोचक मानिने ओलीलाई पनि गर्नु गाली गरे। यादव माधव र ओलीलाई 'भारतीय दलाल'को एउटै घानमा राखे।


Read more

माओवादीले भुल्यो लालसलाम


नेपाल संवत्को अवसरमा कार्तिक १३ गते माओवादी ललितपुरले आयेाजना गरेको चियापानमा कार्यकर्ताको लालसलाम फर्काउँदै अध्यक्ष प्रचण्ड


कुनै याम थियो, सनासोले चेपेजसरी हात मिलाएपछि अनचिनार मान्छेलाई पनि सहजै चिन्थे,'माओवादी विचार बोकेको मान्छे रहेछ।' संकटकालमा हात मिलाउँदा पनि तौलेर गर्नुपरेको माओवादी, शुभचिन्तकले भन्थे। उनीहरु यसरी हात मिलाउनुलाई 'वर्गीय माया' र 'आत्मीयता'सँग जोडेर व्याख्या गर्थे।

पार्टी अध्यक्षले शुभचिन्तक र तल्लो तहका कार्यकर्तासँग पनि मज्जाले हात मिलाउँथे। फलस्वरुप नेतृत्व र आफूहरुबीच 'सारो सीमारेखा नभएको' अनुभूत गर्थे। र, युद्धकालमा जस्तोसुकै बलिदान गर्न र नेतृत्वको रक्षा गर्न तयार हुन्थे।

कुनै याम थियो फनन्न हावामा माथि माथि मुठी उठाउँथे। र, भन्थे 'कमरेड लालसलाम।' त्यसपछि सनासोले समाएरजसरी चपक्क पार्दै हात तलमाथि पार्दै हात मिलाउँथे।

लालसलाम अलि लामो भयो कि या किन हो कुन्नि? जनयुद्धको मध्यतिर लालसलाम छोटिएर 'सलाम' मात्र भन्न थालियो। त्यसपछि उनीहरु सलाम भन्दै हात मिलाउन थाले।

कुनै याम थियो तल्लो तहका कार्यकर्ता र नेता एकापसमा 'कमरेड' भनेर बोलाउँथे। जसले नेता र कार्यकर्तालाई 'समान' भएको अर्थ पनि दिन्थ्यो।

जनयुद्धकै मध्यतिर 'अलि नेता'हरु कमरेडबाट 'सर' भए। अचेल ? अचेल पनि कार्यकर्ताका लागि नेताहरु 'कमरेड' होइन 'सर' भनेर सम्बोधित हुन्छन्।

यसले नेता र कार्यकर्ताबीच 'दूरी' बढेको कार्यकर्ताहरुको अनुभव छ।

माथिमाथि मुठी उठाएर अभिवादनस्वरुप भनिने 'लालसलाम' कम्युनिष्टको पहिचान हो। तर, त्यो पहिचान माओवादीका तल्लो तहका कार्यकर्तामा मात्र सीमित हुन थालेको छ। अब त केन्द्रीय तहका नेताले 'लालसलाम' गरेपछि पो 'अचम्म' मान्नुपर्ने भएको छ।

शुक्रबार माओवादी ललितपुरले नेपाल संवत्को अवसरमा चियापान आयोजना गरेको थियो। कार्यक्रममा सहभागी थिए, अध्यक्ष प्रचण्ड, स्थायी समिति सदस्य अनन्त, पोलिट्ब्युरो सदस्य हितमान शाक्य, हिसिला यमीलगायतका दर्जनभन्दा बढी केन्द्रीय नेता। चियापानस्थलमा अध्यक्ष प्रचण्डले कार्यकर्ताको तालीलाई 'लालसलाम'ले होइन 'नमस्कार'ले फर्काउँदै माचमा पुगे। माचमा पुगेपछि पनि उनले लालसलाम गरेनन्। नमस्कार गर्दै हात हल्लाए।

अध्यक्षपछि पालो आयो, स्थायी समिति सदस्य अनन्तको। उनले पनि लालसलाम गरेनन्। पोलिट्ब्युरो सदस्य हितमान शाक्य र पम्फा भुसालले पनि लालसलाम गरेनन्। धन्न! हिसिला यमीले भने लालसलाम गरिन्। दर्शकदीर्घामा बसेका कार्यकर्ताका आँखा अचम्मितहुँदै यमीमा परे। कार्यकर्ताले एकापसमा कानेखुसी गरे, 'धन्न! यिनले लालसलाम भुलेकी रहिनछन्।' माचमा बसेका नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्य नेताहरुका अनुहारमा पुलुक्कपुलुक्क हेर्थे। सायद हराएको लालसलाम खोजे होलान्।

'माओवादीले लालसलाम बिसे्रर त सर्वसाधारणलाई घाटा न होला। हुँदैन पनि। तर, जनयुद्धमा बलिदान गरेका सहिद, सहिद परिवार, आफ्ना खुसी र रहरसहित आफ्ना अंग नै चढाएका घाइतेहरुको सपना भुल्यो भने के होला?'

साँच्ची, के होला हँ लालसलाम भुलेको यो माओवादी ? सीपी मैनालीको माले कि अरु क्यै ?

तपाइर् नै भन्नुस् त, के होला त्यसबेला माओवादी ?


Read more

झुमे प्रचण्ड


'कहाँ भेटिएला'की हिरोनी श्वेता खड्का

राजनीतिक\सांस्कृतिक रुपान्तरणका लागि जनयुद्धको नेतृत्व गरेको दल, माओवादी। र, त्यसका अध्यक्ष प्रचण्ड। प्रचण्डसहित पत्नी सीता, सभासद्पुत्री रेणु, पुत्र प्रकाश, नातिनी(कान्छी गंगापुत्री) स्मीता प्रधान . र, भतिज समीर।

साथमा माओवादी महासचिव वादल। सुदूरपश्चिमका दर्जनांै माओवादी नेता र सभासद् । जनयुद्ध थालनीको पूर्व सन्ध्यामा रोल्पा रुकुममा चलाइएको 'सिज मितेरी अभियानुमा'समाज बदल्ने' भन्दै सुरिएर क्रान्तिकारी गीतको तालमा छमछमी नाच्ने तारा घर्ती(अहिले सभासद्।) क्रान्तिकारी लेखकदम्पति सुधा त्रिपाठी र रमेश भट्टराई।

बुधबार काठमाडौंस्थित एकेडेमीको हलमा श्वेता खड्का र बबि तामाङको पश्चिमा शैलीको 'उग्रु नृत्य' र रामकृष्ण ढकालहरुको(माओवादीको शव्दमा 'घोर प्रतिकि्रयावादी') गीतमा झुम्नु झुमे।

'समाज रुपान्तरणका लागि क्रान्तिको गीत गाउँदागाउँदै मारिएका चुनू गुरुङ, मस्त विष्ट, शारदा श्रेष्ठ, डीबी थापा र गाउँदागाउँदै बिकलांग भएका माइला लामाहरुको बलिदान बालुवामा खन्याएको पानी हो ?'

'यै हो हामीले गर्न खोजेको सांस्कृतिक रुपान्तरणु ?'

'यतिमै भुल्नु थियो त किन कार्यकर्तालाई रणभुल्ल पारेको ?'

उत्तेजक नृत्य र दारु खाएर हेर्ने गीतमा जति झुम्दैगए उति नै प्रश्नले अध्यक्ष प्रचण्ड र महासचिव बादललाई घेरे।

'फर्कनु नै रहेछ त रामकृष्ण ढकालकै गीत र बबि तामाङको नृत्यमा, किन एमालेलाई सत्तोसराप हाल्छौं ?' जति बबि तामाङ पश्चिमा शैलीमा फन्कदैथिइन् उति हुल बाँधेर आएका प्रश्नका गति 'भैसीलाई मुरली'को ताल हु्ँदैगयो, 'घुम्दै फिर्दै रुम्जाटारै रहेछ त किन यति सारो बजाउँछां ?' सांस्कृतिक रुपान्तरणको बाजा ?'

समाज बदल्ने भनेर जिन्दगी नै बगर बनाएका विचरा खुसीराम पाखि्रन, जेबी टुहुरे, रामेश, रायन, रामकृष्ण दुवाल, जीवन शर्माहरु कुन कुनामा गुमनाम थिए, त्यतिखेर ? रामजाने।

कार्यक्रम थियो, सुदूरपश्चिम बाढीपीडित सहयोग अभियानको। संयोजक थिए, पूर्व श्रममन्त्री एवं माओवादी पोलिट्ब्युरो सदस्य लेखराज भट्ट। कार्यक्रम थियो, बाढीले आफन्त गुमाएका सम्पत्ति गुमाएकालाई सहयोग गर्ने। तर, नृत्य र गीत थिए दारु खाएर डकार्दै हेर्ने। र, छेर्ने।

कत्रो विरोधाभास!

रामकृष्ण ढकालको गीत थामिएपछि आइपुगिन्, अध्यक्ष प्रचण्डकी नातिनी स्मीता प्रधान। उनी अध्यक्षकी कान्छीपुत्री गंगाकी पुत्री x'न्। उनले गाइन् दुईवटा गीत। गीत थियो जागरण। तर, र् याप मिसिएको। संगीत रहेछ, चेतन सापकोटाको।

'अध्यक्ष प्रचण्डले भनेको 'फ्युजन' यै गीतजस्तै हो कि क्या हो ?' छेवैमा बसेका क्रान्तिकारी पत्रकार र अघिल्तिर बसेका एक माओवादी कलाकारले कानेखुसी गरे।


प्रचण्डनातिनी स्मीता प्रधान

जतिजति उनीहरुका पश्चिमा शैलीका नाच र पंचायतकालीन गीत बज्दैगए उति उति स्कुले झोला थन्काएर सांस्कृतिक रुपान्तरणका लागि होमिएका गाउँका अबोध कलाकार आँखामा आए। जनयुद्धकाल र चुनावमा भोट माग्न िहंडेका र अचेल न यता न उता भई विचल्ली भएका कलाकार झंकार मगर कोपिला बुढा उषा बोहराहरु आँखामा आए। छोराछोरीलाई स्कुल पठाउन नसकेर एक छाक पेट भर्न र परिवारको आङ ढाक्न के गर्ने होला भनेर माडीखोलाको दोभानमा दोमनदोमन उभिएका माओवादीका लाखौं लाख जनकलाकार आँखामा उभिए।

'अब के होला तिनका भविष्य सबै रामकृष्ण ढकालमा परिणत भए ?' कल्पना पनि गर्न नसकी उकुसमुकुसिएर मान्छेहरु हलबाट बाहिरिन थाले।



Read more