साथीहरुले भने, 'के नाम हो यार यस्तो, ब्लगको नाम पनि, 'हटारु?' ब्लगको नाम सबैले बुझ्नेखाले पो हुनुपर्छ.'
यसो गमें.
स्वाभाविक लाग्यो, साथीहरुको प्रतिकि्रया ।
जायजै लाग्यो, नजानेको नामप्रतिको असमहमति ।
उनीहरुको तर्क थियो, 'कतै क्लिक गनेृ्रबित्तिकै खुल्नेखाले हुनुपर्छ, ब्लगको नाम।'
अस्वाभाविक थिएनन्, साथीहरुका गुनासा ।
के यी गुनासा सोह्र्रैआना सही हुन्?
जायज थिए.
खेतीपाति सकाइवरी भीरमा खरघुर्रो काटेर मान्छेकd लर्को लाग्थ्यो -घोराहीमा नुन बोक्न जानेको । एकजना प्रत्येक घरबाट जान्थे । १५/२० दिन खाने खाजा र पिठोका साथ उनीहरुको लर्को छुटेपछि गाउँ सुनसान हुन्थ्यो । उनीहरुले परिवारका लागि वर्षदिन पुग्ने नुन बोकेर आउँथे ।
बाबाको पालासम्म नुन बोक्न कोइलाबास या नेपालगाज या बुटवल जान्थे रे । डेढ महिना लगाएर नुन बोकL आउँथे रे । रापती तर्दा कहिले त नुनको भारी नै बग्थे।
प्रत्येक घरबाट भारे डोको, त्यसमाथि मसिनो डोरीको जाली बुनिएको खकन्ना लगाएर तयार हुन्थे । भन्थे -'हटारु जान लागे है ! आइजौ विदावारी गर्न जाम ।' प्रत्येक घरबाट दही र अक्षताको टीका लगाएर विदा गर्थे । पहिलोपालि हाट जानेलाई परिवारका सदस्यलाई मारीमारी सम्झाउँथे, 'दायाबाया नगरेस् है । हर्दा पनि तेरो त नाम्रो रंगढंग छैन ।' जानेहरुमा सबैभन्दा पाकालाई भन्थे, 'नाम्रोसत बगाल लाइदिए है, यो लखेलाई ।'
नुनको भारी र नयाँ लुगा लिएर आउँथे ।
हटारु गाउँ फर्किएपछि भुराभुरीका दसै/तिहार नै फर्केजस्तो लाथ्यो । हातहातमा गुर(भेली)का डल्ला बोकेर प्रत्येक घरमा बाँड्दैजान्थ्यौं, 'लौ ठूल्जेई! हटारुको पाहुर।'
गुरको गुलियोमा भुलेर खुबै खेल्थ्यौं, धुलोमा । घामले नेटो काटेपछि शरीरभर उम्रेका काँडाको पनि कुनै परबाह हुन्न'थ्यो । भकारामा गाइर्ं लिएर आउँथे र गाली गर्थे तब मात्र टाप ठोक्थ्यौं ।
बालापनमै सुनिएको 'हटारु' नाम म किशोर हुँदैजाँदा छोटिदैआयो । नुनको 'हाट' नजिक नजिक सर्दैआयो । अचेल गाउँनजिकै रहेको सानीगार बजारबाट लिएर आउँछन्, नुन । हाट जानुपर्दैन । नुनको हाट जान छाडेपछि सायद 'हटारु' शव्द पनि हरायो, क्यार । पछिल्लो पुस्ताका लागि पनि हटारु शब्दसँग चिनजान छैन । रोल्पाका लोकगीतसँगै यो 'हटारु' शव्द नेटोमा पुगिसकेको छ ।
सम्झना छ, कुनै बेला ठूलदाइले एउटा पत्रिका लिनुभएको थियो। नाम थियो,'हटारु।' कृष्णबहादुर महराको, माओवादी नेता, सम्पादनमा निस्केको रोल्पाको त्यो पत्रिका अहिले एक प्रति पनि सुरक्षित छैन। पत्रिकाको कभर चित्र बनाएका थिए, मेरा गुरु कुलानन्द गिरीले। चित्र थियो, नुनको हाटबाट फर्किरहेको एक रोल्पालीको।
पत्रिकाभित्रका सामग्री के थिए? कस्ता थिए? पढ्न पाइनँ या, पढ्न जानिनँ? मलाई थाहा छैन । तर, त्यसको कभरमा रहेको हटारुको चित्र भने आँखामा उभिएको छ। अझै पनि मलाई याद छ।
हाटबजार जानेलाई 'हटारु' भनेको हो कि? भनेर केही साथीहरुले जिज्ञासा राखे।
त्यसो होइन। किनभने रोल्पातिर 'हाट' लाग्दैन। चलन छैन।
वर्षमा एकखेप नुन बोक्न जानुलाई 'हाट जाने' र जाने मान्छेलाई 'हटारु' भन्ने चलन छ।
कुनै बेला हाम्रा पुर्खा नुन लिन भोट जान्थे रे। त्यसपछि? नुनको हाट सर्दैआएछ । भोटपछि नेपालगाज, बटौलीखसौली(बुटवल)।
त्यसपछि? कोइलाबास सरेछ। लामो समयसम्म कोइलाबासमै 'हाट' बसेछ। त्यसैले होला, कोइलाबास हाटसँग जोडिएका थुप्रै रोल्पाली लोकगीत बने।
रोल्पाली जीवनशैलीसँग जोडिएको 'हटारु' कतै साँच्न पाए हुन्थ्योजस्तो लाग्थ्यो, बेलाबेलामा। कुन बेला? जुनबेला रोल्पाली पाका मान्छेसँग भेटघाट हुन्थ्यो। पुराना कुरा उप्कन्थे। त्यसपछि? हाटका कुरा किन छुट्थे र? त्यसपछि? हररर तिर्खा लाग्थ्यो, 'कतै यसलाई साँच्न पाए?' तर, राख्ने कहाँ? साँच्ने कहाँ? जो डाइनोसर हुँदैथियो/भइसकेको थियो।
म जति आधुनिक भए पनि मेरो जरा 'हटारु'सँगै जोडिएको छ । के जरा कसैले भुल्न सक्छ? सायद, यसैले होला, हटारु शब्दसँग जति धेरै मान्छे अपरिचित भए पनि मेरा लागि सबैभन्दा पि्रय छ । धेरैले नजाने पनि मेरो लागि, मेरो ठाउँको लागि, रोल्पालीको जीवनदर्शनसँग जोडिएको शव्द हो, हटारु ।
मलाई विश्वास छ, मेरा आदरणीय पाठकहरुले पनि यसलाई यहीरुपमा स्वीकार्नुहुनेछ ।

