बिहान आउन भुलेका याम। ती याम नाप्ने माध्यम नै यातना थिए। ती याम थिए, असोज, कार्तिक र मंसिर, २०६० का। कति गते। कति बजे। र, कुन बार। हामीलाई यत्ति मात्र थाहा थियो, एकादशी। जुन दिन हामी एकछाके हुन्थ्यौं।
अँ, त्यो एक बार। चारैतिर अँध्यारो। सैन्य कष्टडी। जहाँ कसला काटिरहेका थियौं। तीन महिने यामका कुनै एक बार।
भन्दैथिएँ, रात या दिन। अनुमान मात्र लाउन सक्थ्यौं। हाम्रा लागि न दिन थिए ती न त रात नै। असोज, कार्तिक र मंसिरका ती तीन महिनाका रात र दिनसँग मेरो उठबस त के चिनजान पनि हुन सकेन।
तर, रात र दिन नखुलेका ती समयमा यातना भने आइरहे।
आफन्त आउने र जानेक्रम जारी रहे।
आउने त हामीकहाँ आइपुग्थे तर जानेहरु? थाहा छैन, ती घर पुग्थे या सिधै माथि?
अहिलेसम्म? रामजाने, थाहा छैन। तर, अझसम्म पनि कामना गरिरहेछु नचिनेका ती मेरा आफन्त सकुशल घर पुगून्।