Wednesday, May 4, 2011

खुब रोऔं हरिवंशजी - खुब रोऔं

Krishna Dharabasi
डालीबाट नबोल कोइली झुली वैलन्छ रे यो वन
काला केश नबाट हे युवती हो फुस्कन्छ रे जोवन
यात्री आखिर जान्छ रे नगर है यो मार्गमा पिरती
देवी स्वर्ग गइसकिन् नगर है यो साँझमा आरती।
(गौरी)
२०३५ सालमा इलाम क्याम्पसको विद्यार्थी छँदा प्रा. हेमचन्द्र नेपालले गुनगुनाउँदै गौरी शोककाव्यका यी श्लोक पढेर सुनाउँदा गला अवरुद्ध भएर आउँथ्यो, आँखा रसाएर आउँथ्यो, मन भावुक हुन्थ्यो। किन त्यस्तो भएको होला, म बुझ्िदनथेँ। एउटा अठार वर्षको म कलिलो युवकको मन पत्नीवियोगको पीडामा छटपटाएको भावुक कविताले किन रुन्थ्यो, थाहा थिएन।
त्यसो त सबै विद्यार्थी नै भावुक हुन्थ्यौं, कवितै यस्तै छ। बिहे गर्ने उमेर धेरै पर रहेको, कलिलो रुमानी प्रेमजीवनमा पनि नपसेको मैले त्यो श्लोकमा कुन पीडाबोध गरेथेँ होला! तर आज यो पचास वर्षको उमेरमा झापाको विर्तामोडको एउटा कुनामा बसेर बारम्बार गुनगुनाइरहेको छु यो श्लोक।
श्रद्धेय कवि माधव घिमिरेज्यू! तपाईंले उति अघि नै किन लेखिदिनुभयो यो काव्य मेरो शोकका निम्ति! आज मैले रुने आँसुलाई पहिले नै किन थुनिदिनुभयो आफ्नो काव्यमा? कत्ति भावुक हुन्छ मन! के-के गुनगुनाउनुजस्तो हुन्छ तर, पहिले नै लेखिएका तपाईंका यी श्लोकले छेकिदिन्छ मलाई। हेर्छु, सेतो कपडामा बेरिएका छन्, कलिला छोराहरू। भित्तातिर फर्किएर भुइँमा सुतेकी छोरी औंलाले के-के नक्सा बनाइरहेकी छ अदृश्य। उनीहरूको पीडा बुझ्न खोज्छु, फेरि गुनगुनाउँछ मन :
गाईलाई लग्यो नि आज कसले बाछो छुटाई झन्
पोथी पास परी मरी नि गुँड बच्चा नहुर्कीकन
के हेर्छ्यौ यत्तिको विजोक धरतीमाता तिमी फाट हे
आमा बालककी नमार भगवान संसार भर्ने भए।
सीताजी! समर्पण छ तपाईंलाई यही श्लोक! मलाई थाहा छ, मृत्यु एउटा अनिवार्य सत्य हो। यस धरतीमा जन्मेर नमरेको आजसम्म कोही छैन। जति नै ठुल्ठुला ध्यानी, ज्ञानी, तपसी पनि एक खास अवधिपछि संसारबाट बिदा भएका छन्। मानिस नजन्मन सक्थ्यो होला तर जन्मेपछि नमर्न सक्दैन। यो वस्तुसत्यलाई अस्विकार गर्न सकिँदैन। तथापि मानिस यसै कारण मानिस हो कि ऊ सबै कुरा बुझ्छ तर बुझ्न डराउँछ।
मोबाइलमा सयौं फोन र एसएमएस आइरहेका छन्। ती प्रत्येक अभिव्यक्तिमा प्रायः एउटै भनाइ हुन्छ- तपाईंलाई हामीले के सम्झाउनुपर्छ र! तपाईं आफैं बुझ्ने मान्छे।
म सोच्छु- यो बुद्धि भन्ने कुरा कति निष्ठुर र अटेरी रहेछ। रुने ठाउँमा रुन नपाइने, हाँस्ने ठाउँमा हाँस्न नपाइने, रिसाउने ठाउँमा रिसाउन नपाइने। हरेक ठाउँमा बुझिदिनुपर्ने र प्रतिक्रियाशुन्य हुनुपर्ने। मलाई आज आफ्नो यो बौद्धिक पहिचानसँग रिस उठेको छ। मलाई पश्चात्ताप लागेको छ- मैले किन रातदिन अनेक दर्शन पढेर आफ्नै बुद्धिलाई ढुंगोजस्तो बनाएँ? मैले किन आफ्नो परिचय यस्तो गह्रुँगो बनाए? आज म आफ्नै पत्नीको मृत्युमा पनि दिल खोलेर रुन पाइरहेको छुइनँ।
सम्झाउनेहरू भन्न छोड्दैनन- तपाईंजस्तो अनुभवीलाई हामीले के सम्झाउनुपर्छ र?
आफन्तको मृत्युमा रुन नपाइने, खुसीमा रमाउन नपाइने, केही पनि देखाउन नपाइने यो ज्ञान मलाई के काम? आफैंले भेला गरेको यो व्यक्तित्व मलाई के काम? सबै रोइरहेका छन् सीताजीलाई सम्झेर, उहाँका गुणहरूको स्मृति गरेर। कत्ति सुहाएको छ ती रुनेहरूलाई! तर मैले आँखामा अलिकति पनि आँसु देखाउनु हुन्न, सबैले भन्छन्- तपाईंले रुनु हुन्न, नत्र यी अरूले आफूलाई कसरी सम्हाल्छन्!
अहा! आज मलाई मेरो बौद्धिकता यति धेरै भारी भइरहेको छ, त्यसैले थिचेर निसासिइरहेछु म। मेरो ओठको हाँसो हराएको छ, आँखाको पानी सुकेको छ, मनको रहर र रमिता समाप्त भएको छ। मेरो भावुकता, काल्पनिकता, रोमान्चकता सबै अनुपस्थित छन् तर म त्यसको पीडाको अभिव्यक्ति गर्न असमर्थ छु।
मृत्युका यी अनगिन्ती क्षण पार गर्दै आएको मैले आज सीताजीको नाममा पनि कपाल खौरिएको छु। यो कुरा सम्भि्करहँदा दुःख लाग्छ- आजभन्दा दस वर्षअघि २०५८ सालमा आमाको शोकमा विह्वल भइरहेका बेला मित्र राजेश हमाल पनि सेतो छोपो ओडेर शोकमा डुब्नुभएको थियो। राजेशजीका शोकमय अन्तर्वार्ता पत्रिकामा पढ्दै म आमाको नाममा पिण्ड लडाइरहेको थिएँ। अनि आज फेरि पत्नीवियोगको आँसु बगाउन म लामबद्ध भएको छु अर्का मित्र हरिवंश आचार्यसँग।
मेरी माताजीको सबैभन्दा मनपर्ने नेपाली नायक- राजेश हमाल। राजेश हमालको फिल्म आएपछि सासुबुहारी नै थामिदैनथिए घरमा। त्यसबेला मेरी आमा र राजेशजीकी आमाको सहयात्रा भएको थियो अनन्ततिर।
आज हरिवंशसँगै बसेर रुन छोडेर सीताजीले पनि बिदाइ लिनुभएको छ। २०५६ को असार महिनाको एकदिन साँझ घर पुग्दा सीताजी एकदमनै खुसी हुनुहुन्थ्यो। अनुहार सारै उज्यालो थियो। अनौठो मान्दै सोधेँ, ‘माताजी, आज त खुसखुसी देखिनुहुन्छ नि!'
उहाँले त्यस्तै उज्यालो अनुहार रमाउँदै भन्नुभयो, ‘आज हरिवंश आचार्यले फोन गर्नुभएको थियो तपाईंलाई खोज्दै।'
‘किन रहेछ त?'
‘धरमपुरको कार्यक्रमबारे कुरा गर्न डम्बर घिमिरेसँग सम्पर्क हुन सकेन रे।'
‘अनि के भन्नुभो त?'
‘चिनेजस्तै गरेर निकै बेर कुरा गर्नुभयो।'
त्यो दिन सीताजीलाई ठूलो पुरस्कार प्राप्त भएजस्तो खुसी लागेको थियो हरिवंशसँग फोनमा बोल्न पाउँदा। यो देशको एउटा महान कलाकार जसले सम्पूर्ण जीवन अरूलाई हँसाउँदा हँसाउँदै गम्भीरताले रुवाउन पनि सक्छ, अज्ञानका कत्राकत्रा फलामे ढोका भत्काउँदै चेतनाको उज्यालो छर्छ। त्यो मान्छेसँगको एक फोनवार्तामात्र पनि सीताजीका लागि कत्रो उर्जा थियो। गत वर्ष नागरिक दैनिकको वार्षिक समारोहमा सोल्टी होटलमा हरिवंशसँग प्रत्यक्ष भेट हुँदा उहाँले हरिजीलाई त्यो पुरानो कुरा सम्झाउँदै परिचय गर्नुभएको थियो। तर आज सीताजी पनि हरिवंशजीलाई जस्तै पत्नीशोक दिएर बिदा हुनुभएको छ मबाट।
हरिवंशलाई पत्नीशोक परेकै खबर रेडियोबाट सुन्दै गर्दा सीताजी क्यान्सरको असहनीय पीडाबाट छटपटाइरहनुभएको थियो। उहाँलाई थाहा थिएन, के रोगबाट पीडित छु भन्ने तर मैले देखिसकेको थिएँ आफ्नो यो दिनको क्षण। हुन त यही बीचमा हामीजस्ता सयौं पुरुष पत्नीवियोगमा छटपटाइरहेका होलान्, तथापि मलाई हरिवंशको पीडाले नराम्रो गरी छोएको छ। मेरो सीताजीको निधनको निश्चितता मैले फागुन १२ गतेकै दिन शिक्षण अस्पतालमा थाहा पाएको थिएँ, यस दिनका लागि त म मानसिक रूपमा तयार थिएँ नै तर मित्र हरिवंश! तपाईंलाई परेको यो हठातको पत्नीशोकप्रति म अत्यन्त संवेदनशील छु।
संसारलाई हँसाउन सक्ने तपाईं आज आफैं रोइरहनुभएको छ। तपाईंलाई पनि त भनिरहेका होलान् आफन्त, शुभचिन्तक र साथीहरूले- हरिजी! शोक नगर्नोस् यो संसार नै यस्तै हो। हुन त तपाईं यत्तिको बुद्धिमान हुनुहुन्छ, तपाईंलाई हामीले के सम्झाउनुपर्छ र! आफैं बुज्जकी हुनुहुन्छ।
तर म त्यसो भन्दिनँ हरिजी! खुब रुनुहोस् मित्र। आफ्नी पत्नीको निधनमा नरोए कहिले रुनु! कुनै पनि पुराण र इतिहासमा न मानिस, न देवता कसैले पनि आफ्ना मरेका बाबुआमा वा छोराछोरीको लास काँधमा बोकेर रुँदै हिँडेका छैनन् तर, शिवजीले आफ्नी पत्नी सतीदेवीको लास काँधमा हालेर तीन लोक चौध भुवन घुमेका छन्। कालकुट विष पचाउन सक्ने शिवले पनि पचाउन नसकेको पीडा तपाईं-हामीले मात्र कसरी पचाउन सकौंला त मित्र!
तैपनि हामीलाई बाध्यता छ, दर्शन ज्ञान, अनुभव र लोकाचारको। हामीले शिवभन्दा पनि महान हुनुपरेको छ। तैपनि यो ज्ञानको भित्तोलाई भत्काएर गौरीतिरै फाल हान्न मन लाग्छ किन हो! माधव घिमिरेकै घुँडामा मुन्टो राखेर रुन मन लाग्छ किन हो!

1 comment:

  1. great writeup, in facebook too i had similar discussions, haribansha acharya dai married for cheap popularity and for cashing her widowhood

    ReplyDelete