Monday, May 2, 2011

टाउकोमा गोली लागेको थियो बिन लादेनको, शव बाग्राम बेसमा

गएराति पाकिस्तान नजिकैको अब्बोत्ताबादस्थित घरमा भएको अमेरिकी आक्रमणमा मारिएका ओसामा बिन लादेनको टाउकोमा गोली हानिएको अमेरिकी अधिकारीहरुलाई उद्‍धृत गर्दै सीएनएनले जनाएको छ।
बिन लादेनको शव बाग्राम बेसमा, पत्रकारहरुलाई हेर्न बोलाइयो
पाकिस्तानमा भएको अमेरिकी आक्रमणमा मारिएका अल कायदा प्रमुख ओसामा बिन लादेनको शवलाई अफगानिस्तानको बाग्राम बेस (अमेरिकी हवाई शिविर) मा लगिएको र शव निरीक्षण गर्न पत्रकारहरुलाई बोलाइएको अल जजिराका काबुलस्थित संवाददाताले बताएका छन्।
खोजेको १० वर्षपछि मारिए ओसामा
अमेरिकाले आतंकवादी संगठन घोषणा गरेको संगठन अलकायदाका 'मास्टरमाइन्ड' बिन लादेनको मृत्यु भएको छ। सेप्टेम्बर ११ मा अमेरिकामा भएको आक्रमणपछि विश्वभर थालिएको खोजी अभियानको १० वर्ष र आतंकवादविरोधी कारबाहीमा ३ हजार भन्दा बढीको मृत्यु पछि अमेरिकी राष्ट्रपति बाराक ओबामाले पाकिस्तानमा गरिएको आक्रमणमा उनको मृत्यु भएको पुष्टि गरेका हुन्। लादेनसँगै थप तीन जना पनि मारिएका छन्। तीमध्ये एक उनका छोरा रहेको अमेरिकी अधिकारीहरुले जनाएका छन्। उनीसँगै उनका अन्य परिवार सदस्य समेत मारिएको दावी गरिएको छ। 
अधिकारीहरुले उनको शव नियन्त्रणमा लिइसकेका छन्। यो अपरेसनमा कुनै पनि अमेरिकीलाई क्षति नपुगेको बताइएको छ।
बिन लादेन मारिएको खबरसँगै अमेरिकाले विश्‍वभरका अमेरिकी कार्यालयहरुमा उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।  अलकायदाका सदस्यहरुले गर्नसक्ने  बदलाको आक्रमणलाई ध्यानमा राख्दै यस्तो निर्देशन दिइएको हो।
ओसामा मारिएः ओबामा
ओसामा बिन लादेन मारिएको समाचार स्रोतलाई उद्‍धृत गर्दै अमेरिकी लगायत अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले दिएको केही समयमा नै अमेरिकी राष्ट्रपति बाराक ओबामा राष्ट्रका नाममा सम्बोधन गर्द राति अबेर टेलिभिजनमा देखिए। 'म आज अमेरिकी जनता र विश्वलाई यो बताउन चाहन्छु कि.., ओसामा बिन लादेन मारिए', उनले घोषणा गरे, 'आज मेरो निर्देशनमा बिन लादेनविरुद्ध अमेरिकी सेनाले आक्रमण गरेको हो। भिडन्तपछि उनीहरुले ओसामालाई मारे र उनको शवलाई नियन्त्रणमा लिए।' घोषणासँगै राति अबेरसम्म पनि ह्वाइट हाउसअगाडि अमेरिकी झण्डा बोकेर खुसियाली मनाउनेहरुको भीड लागेको छ। ९ मिनेट २८ सेकेन्ड लामो उनको सम्बोधन यस्तो थियो-
कसरी मारिए ?
पाकिस्तानी अधिकारीहरुलाई उद्‍धृत गर्दै अमेरिकी समाचार एजेन्सी एपीले जनाए अनुसार पाकिस्तानको राजधानी इस्लामावादबाट करिब सय किलोमिटर उत्तरमा रहेको अब्बोत्ताबादको बिलाल क्षेत्रमा चार वटा हेलिकप्टरले हवाई आक्रमण गरेको थियो। आक्रमणपछि छापा मारेर त्यहाँ रहेका महिला र बालबालिकाहरुलाई हिरासतमा लिइएको छ।
एउटा सानो अमेरिकी समूहले उनी रहेको घरमा आक्रमण गरेको थियो। घरमा अमेरिकी समूह ४० मिनेटसम्म रहेका थिए। लादेनले प्रत्याक्रमण गरेका भए पनि अमेरिकी कोही हताहत नभएको बताइएको छ। सीएनएनका अनुसार छापा मार्ने क्रममा एउटा अमेरिकी हेलिकप्टर प्राविधिक कारणले दुर्घटना भएको थियो।
एएफपीका अनुसार आक्रमणका क्रममा बिन लादेनसहित चार जना मारिएका छन्। तीन जना पुरुष हुन् भने मानव ढालका रुपमा प्रयोग गरिएकी एक महिला पनि मारिएकी छिन्।
कस्तो थियो त्यो घर ?
बिन लादेन मारिएको घर पाकिस्तानको अब्बोत्ताबादमा छ। यो तीन तला अग्लो छ। वरपरका घरहरुभन्दा यो आठ गुणा अग्लो छ। गुप्तचरहरुले यसअघि नै त्यो घर वरपर १८ फिट अग्लो पर्खालहरु भएको र त्यसको माथि काँडेतार लगाइएको बताएका थिए। उनीहरुका अनुसार त्यहाँ दुई सुरक्षा गेट थिए र कुनै फोन र इन्टरनेट थिएनन्।
के गरिन्छ लादेनको शवलाई ?
बिन लादेनको मृत्युको खबर सार्वजनिक भए पनि उनको शव भने यो समाचार तयार पार्दासम्म सार्वजनिक गरिसकिएको छैन। रोयटर्सका अनुसार अमेरिकी अधिकारीहरुले लादेनको शवलाई  इस्लामिक परम्परा अनुसार व्यवहार गरिने बताएका छन्।

 
कसले के भने ?
न्याय गरिएको छ
अमेरिकी राष्ट्रपति ओबामा, राष्ट्रका नाममा सम्बोधन गर्दै
यो गौरवशाली उपलब्धि हो। आतंकवादविरुद्धको संघर्ष जारी छ तर आज राति अमेरिकाले एउटा गल्ती नहुने सन्देश दिएको छ- समय जतिसुकै लागे पनि न्याय गरिन्छ।
अमेरिकी पूर्व राष्ट्रपति जर्ज डब्ल्यु बुस
यो समाचारले विश्वलाई ठूलो राहत दिनेछ।
बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन
आतंकवादविरुद्ध संघर्ष गरिरहेका प्रजातान्त्रिक देशहरुका लागि बिन लादेनको मृत्यु एउटा ठूलो विजय हो।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू
इस्लामावाद नजिकै बिन लादेन मारिनुले पाकिस्तानले आतंकवादीहरुलाई संरक्षण दिन्छ भन्ने चासोलाई उजागर गरेको छ।
भारतीय गृहमन्त्री पी चिदम्बरम, एएफपीसित

No comments:

Post a Comment