Friday, August 7, 2009

ऐठन ऐठन

बिहान आउन भुलेका याम। ती याम नाप्ने माध्यम नै यातना थिए। ती याम थिए, असोज, कार्तिक र मंसिर, २०६० का। कति गते। कति बजे। र, कुन बार। हामीलाई यत्ति मात्र थाहा थियो, एकादशी। जुन दिन हामी एकछाके हुन्थ्यौं।
अँ, त्यो एक बार। चारैतिर अँध्यारो। सैन्य कष्टडी। जहाँ कसला काटिरहेका थियौं। तीन महिने यामका कुनै एक बार।

भन्दैथिएँ, रात या दिन। अनुमान मात्र लाउन सक्थ्यौं। हाम्रा लागि न दिन थिए ती न त रात नै। असोज, कार्तिक र मंसिरका ती तीन महिनाका रात र दिनसँग मेरो उठबस त के चिनजान पनि हुन सकेन।
तर, रात र दिन नखुलेका ती समयमा यातना भने आइरहे।
आफन्त आउने र जानेक्रम जारी रहे।
आउने त हामीकहाँ आइपुग्थे तर जानेहरु? थाहा छैन, ती घर पुग्थे या सिधै माथि?
अहिलेसम्म? रामजाने, थाहा छैन। तर, अझसम्म पनि कामना गरिरहेछु नचिनेका ती मेरा आफन्त सकुशल घर पुगून्।


यसबाहेक अझ भयानक घटना पनि जारी रहे। हामीकहाँ राखिएका महिला बन्दीमाथिका भयानक घटना। दोहोरिरहे। बारबार दोहोरिरहे। तिनैमध्ये अज्ञात एकबारको सम्झना। भन्छु।

अपशव्दका तालमा पोखिएका हाँसोसँगै मातेका मान्छेका एक हुल। हामीलाई राखिएको पालमुनि छिरे। लात्ता र बन्दुकका कुन्दाले हिर्काउँदै जहाँ महिला बन्दी छन्, त्यतैतिर लागे।
'हिंड् पिसाब फेर्न।'
'बरु, गोली हान्। छोर्दे मलाई ...।'
'बाबा! मलाई मार्। बरु मार् मलाई यस्तो नगरा ..।'
मातेका मान्छेका अपशव्द र गाडाङगुडुङका तालमा यस्ता बोली पनि झर्न थाले।
'कति चोखी जस्तो! कतिजनासित सुतिस् जंगलमा ...?'
माओवादीमा लागेका महिलालाई बेश्याको संज्ञा दिदै उनीहरुले घिसारेर लगेको आवाज झन् झन् चर्कन थाल्यो। सेनाका कामुक स्वरसँगै महिला बन्दीको इन्कारीका चित्कार झन् बढ्न थाल्यो। तिनले प्रयोग गरेका शव्द र सुनिएका गतिबिधिले भन्थे, 'बलाtकृत हुँदैछन्।'
तानेर परपर लगेजस्तो चित्कार सुनिन थाल्यो। पट्टीले छोपिएको आँखामा महिलाका चित्कारले नजानिदो चित्र बन्न थाल्यो। सेनाका कुकृत्यका विभत्स चित्र! एकपछि अर्को लश्कर लाग्न थाले। सम्झेर पनि कहाली लाग्ने भयानक विम्व।
'यातनालयबाट आएको चित्कार के यस्तो हुन्छ?'
लागेनन्, यी चित्कार यातनालयबाट आएका हुन्। उनीहरुलाई बयान लिएको र यातना दिएजस्तो लागेन। चेली चित्कार अझ जोडले आउन थाल्यो। उनीहरु चिच्याउन थाले। चिच्याहट आइरहे, 'छोड् मलाई। छोड् मलाई।'
झसंग भए –अहिले मध्यरात भए, बास बसेका चरा पनि ब्युँझेर भुर्र उडे होलान्, तिनका चित्कारले झस्केर। महाराजगंजमा बस्ने घरवाला या डेरावाल या पाहुना आएका सबका कान कानमा पसे होलान्, ती चित्कार। र, पसे होलान् पशुपन्छीका कान कानमा पनि। के मलाई जस्तै सास नै रोकिएजस्तो छटपटी भएको होला?
यातनालयबाट आउने चित्कार भन्दा अझ विभत्स चित्कार। अझ कहालीलाग्दा। खासखुससहित सेनाको चहलपहल र हाकिमको अट्टहाससँगै अपशव्द झरिरहे।
सेनाको आउज्ााउ जति बढ्दैगयो उति नै महिलाको चित्कार पनि।
नाइनास्तीको के अर्थ?
चित्कार आइरहे।
चिच्याहट, चित्कार र तिनका चालढालले एकदमै भयानक र कल्पदा पनि अचम्म लाग्ने बलात्कारको चित्र आउन थाल्यो, छोपिएको आँखामा। चित्रसँगै बन्ने भयानक कल्पनाले मन फुटेर चिराचिरा भयो।
आँखामा उभियो –एउटी महिला जसको आँखा छोपिएको छ। हात पछिल्तिर हत्कडी छ। र, हिन्दी फिल्ममा देखाइने भिलेनभन्दा पनि कुरुप र क्रूर मान्छेले बलात्कार गर्दैछन्।
अबोध महिला चिच्याइरहेकी छ। तिनीसँग प्रतिकार गर्ने न हात छ न आँखा छ। न थुक्ने र टोक्ने मुख नै छ। मुख पनि छोपिएको छ।
छोपिएको मुखबाट आउने ख्यार ख्यार आवाज झन् कति भयानक!

नारी चित्कारले आँखामा बन्ने बलात्कारको चित्रलाई घरीघरी 'नहोस्' भन्छु। 'होइन होला' भन्दै अविश्वास गर्न खोज्छु। तर, चित्कार थपिइरहेछ। उनीहरुका चित्कारले पटकपटक मेरो आँखामा बन्ने चित्रलाई सहयोग गरिरहे।
यातनाको रुवाइ, दुखाइ र बलात्कारको रुवाइ फरक छ कि? दाँजिरहेँ। तौलिरहेँ।
घोर यातनापछि ब्युझेर तड्पेको रुवाइ र ती रुवाइ बिलकुल फरक लागे।
किन मजस्तो रोइरहेका छैनन्? किन उनीहरु घोर यातनापछि जस्तो रोएका छैनन्? किन सर्वस्व गुमाएजसरी रोए?
चित्कार क्रमशः मत्थर हुँदै गए। लाग्यो, ती बेहोस भए। तर, तिनका शरीर शिथिल भए पनि, बेहोस भए पनि यौन पिपासुहरु मनमर्जी गरिरहे। यस्तै भयानक चित्र एकपछि अर्को गर्दै उभिन थाले।
मुक्तिको सपना उनेर हिंडेका ती चेली।

यसअघिका चित्कार थामिए।
झण्डै एक घण्टासम्म।
उसो त यातनालयबाट ल्याएको केही समयसम्म पनि हून्थ्यो यस्तो सन्नाटा)।
सन्नाटा चिर्दै पालमुनि भुट्ट फालेका आवाज आउन थाले। मानौं ठूलठूला मुढा घिसारेर ल्याउँदै फालिरहेछन्।
आँखामा चित्र आयो, बलात्कृत महिला बेहोस भई। उसलाई घिसारेर फाले।
कोल्टे फेरेको पनि सुनिएन। मूर्दा हो कि ज्यूँदो? थाहा भएन। यातनालयबाट फर्केको केही समयसम्म पनि यस्तो त हुन्छ।
तर यो?
सायद आधा घण्टापछि। मेरो छेउमा कोही चलमलाएको सुनँे। तर, कहाँकहुाँ खोलाको किनारमा जस्तो टाढै। गहिरो निद्राबाट ब्युँझेजस्तो नराम्रो सपनाले भस्केजसरी झस्केर मेरो छेवैमा एउटी चेली रुन थाली।
डाँको पनि नछाडेको न त सुस्तरी सुँक्कसुँक्क गर्न सकेको बीच्चको रुवाइ। पोखिन थाल्यो, सुक्क सुक्क।
(यसो त पालमुनि सधैं पोखिन्थ्यो।)
'के तेरो पोइ मर्‍यो र रोइस्?' पालेले आएर लात्ताले भुक्क पार्‍यो। तर रुवाइको गतिमा तलमाथि भएन।
'पानी!' चेलीको सुक्खा आवाज सुस्त झर्‍यो।
'अघि साप्को त्यति पानी खाएर पनि तिर्खा मेटिएन?' फेरि लात्ताले भ्वाक्क पार्‍यो।
'बरु मलाई मार्नु। यस्तो सहनुभन्दा मर्छु ...' मुस्किलले निस्केको आवाजसँग रोएको आवाज झरिरह्यो।
त्यसपछि? म पनि रुन थालेछु।
आँसुबाहेक हामीसँग के नै बाँकी थियो र? सुख भए पनि दुख भए पनि जे भए पनि बाँड्ने एक मात्र माध्यम त्यै आँसु त थियो। न उनको अनुहार हेरेर सहानुभूति व्यक्त गर्ने आँखा थियो मसँग न बोली नै। सिर्फ कान थियो, सुन्नलाई। सिर्फ सुन्नलाई। आँखा, हात, खुट्टा, बोली सबै सेनाका थिए।

जति चर्कदैगयो गाह्रोगरी निस्केको आँसुको आवाज उति उही विभत्स दृश्यसहितको 'नदेखेको उनको मुहार' उभियो। एउटा निरीह दाजुले आफ्नैसामु लुटिएकी बहिनीसामु निशव्द उभिएजस्तो लाग्यो।
लाचारीले पानीपानी भएँ। आफ्नै बहिनीको इज्जत लुटिदा पनि चुपचाप आँसु बगाउने निरीह दाजुको अनुहार सम्भि्कएँ। जलिरहेँ।
के मैले देखेजस्तो होला उनको मुहार? नदेखेकी चेलीको मुहार आँखामा उभिएर प्रश्न गरिरह्यो, 'दाजु, तिमी ज्यूँदै छौ?'
लाचार आँखाले पट्टीभित्र हेरेँ। आँसुले अनुहार भिज्दैथियो झन् झन्। थाहा छैन ती पीडाका थिए या प्रतिशोधका। नाजबाफ उभिइरहेँ। मैले भन्न सकिनँ, म ज्यूँदै छु या मरिसकेँ।
'अँ..., अहँ...' चिच्याएछु अनायास।
'ए, साले बौलाइस् कि?' पाले आएर बुट र कुन्दा बजार्‍यो।
खक्रक्क भएँ।
'के मेरो आँखामा उभिएको तस्विर साँचो हो?' बुट र कुन्दाको दुखाइकै बीचमा आफैलाई सोधेँ।
झूट होस् भनेर लाख कोशिस गर्न थालेँ।

चेलीले पार्टीको अति गोप्य कुरा प्राण त्यागेर पनि सुरक्षित गर्न सक्छ। पार्टीको योजना र आुस्था जोगाउन सक्छे। तर, आफूलाई मारेर भए पनि जोगाउन सक्छे, विचार र पार्टीको योजना।
'तर आफूलाई? आफ्नो अश्मितालाई?'
एकसाथ त्यो चेली उभिई, आँखामा। जति उनको रुवाइको गति धिमा हुँदैगयो उति आँखामा आउन थाल्यो।
'दाजु, मैले आफूलाई बचाउन सकिनँ,' नदेखेकी बहिनीको आँसुले भनेजस्तो लाग्यो।
एउटा सुन्दर सपनाको खोजमा हत्केलामा मुटु लिएर हिंडेका ती चेली को थिए?
कानले देेखेका बलात्कारका ती विम्ब गलत भइदिऊन्। ती जम्मै झूट भइदिऊन्। पटकपटक कामना गरेँ।
घरी चुप्प हुन्छे घरी सुक्कसुक्क। जब होसमा आउँछे तब फेरि रुन थाल्छे।
मैले यस्तै सोचेँ। कुनै बेला बीचमै रोकिन्छ। सायद रुँदारुँदै बेहोस हुन्छे। फेरि रुवाइ सुनिन्छ। सायद होस खुलेपछि फेरि रुन थाल्छे। आफ्नै आँखाअघि आफ्नी बहिनी लुटिदा सबथोक गुमाएको 'एउटा निरीह दाजु'ले कस्तो अनुभूत गर्छ होला? उनीहरुका आँसु बगेको स्वाक्कसुक्क र रुवाइ जति जति सुस्तसुस्त हुँदै गयो उति उति म मरिरहेँ। कामना गरिरहेँ –ती अनाम दिदीबहिनी निस्किऊन्। ती दुराचारीविरुद्ध लाममै मिसिऊन्।

कतिखेर निदाएछु। अरु रोएको तालमा निदाउन पनि बानी परेछु। अब त अरु रोएको तालमा निदाउने, खाना खाने बानी नै भइसक्यो क्यार।
ननिदाउँदासम्मन् पर वर अलि पर कुनातिर रोइरहेको आवाज आइरहेको थियो। ब्युँझदा पनि आइरहेथ्यो। तिनका आँसु बग्दैबग्दै कहाँ पुगे होलान् हँ? के सेनाको यो कष्टडीले आँसुलाई रोक्न सक्यो होला?
तिनका आँसुको यादले पनि बल्झाएछ क्यार। भक्कानिए छु।
निदाउँदा पनि रोइरहेका थिए। ब्युँझदा पनि रोइरहेका। त्यतिखेर मैले हाइस्कुलकी मेरी साथी अमृतालाई सम्भि्कएथेँ। मध्ये जनयुद्धताका (२०५८ तिर) घोराही आएकी थिई, उपचारका लागि। ऊ दस पढेर लागेकी थिई, जनयुद्धमा। भनेकी थिई, 'गोली खाएर मर्नुमा कुनै गुनासो हुने छैन। डर त एउटै कुरामा मात्र 8/ छ, दुश्मनले समातेर इज्जत लुट्यो भने?'
जिउँदो मानिसलाई खाल्डो खन्न लगाएर त्यै खाल्डोमा माटो हाल्दै सुस्तरीसुस्तरी पुर्दैजाँदा त्यसबेला मानिस कति छटपटाउँछ? त्यो भन्दा पनि भयानक चित्र आइरहे आँखामा। नारी चित्कार आइरहे। सेनाका आवाज आइरहे। निदमा होस् या कुनै पनि बेला। हाम्रा जिउमाथि बुट बजि्ररहे।
थाहा छैन। कतिलाई निस्कने अवसर जुर्‍यो? कति मारिए? थाहा छैन। तर, आँखाले नदेखेका ती अनुहारले पलपल झस्काइरह्यो। एउटा निरीह माइती मन दुखिरह्यो। सहोदर दिदीबहिनी नभएको मेरो मनले भनिरह्यो –के यस्तै दुख्छ सहोदर दिदीबहिनीहरुको मुटु पनि?

2 comments:

  1. really, 1dam bidarak lagyo. afno surkchit lifeko wasta nagari desko lagi ladne, balatkrit nepali cheliko yo chitkarlai aatmasamyam gari sabai narima maunata hoena pratishodhko bhawana jagrit hos.

    ReplyDelete