Wednesday, September 11, 2013

अस्ताए सुरसाधक फत्तेमान

बुधबार २६ भाद्र, २०७०
दीपेन्द्र लामा/सुनौला सयपत्री फलमालाले ढाकिएका फत्तेमानलाई देख्दा लाग्थ्यो, उनी मिठो र गहिरो निन्द्रामा छन् । त्यति नै मिठो र गहिरो, जति उनको स्वर छ । उनलाई बिदाइ दिन झुम्मिएका कलाकार, नेता र सर्वसाधारणका अनुहार शोकाकुल थिए । तर, उनको अनुहार शान्त थियो । मानौं, उनलाई मृत्युदेखि कुनै डर छैन । पृष्ठभूमिमा बजिरहेको उनकै गीतले यो पुष्टि गथ्र्यो पनि, 'मर्न बरु गाह्रो हुन्न...।'
गत बिहीबार अस्पतालमा भेट्न पुगेका संगीतकार आभाषसँग उनी भन्दै थिए रे, 'मृत्युसँग मलाई डर छैन, थला चाहिँ पर्न नपरोस् ।' दुईतीन वर्ष थला परेर आँखा चिम्लिएका सम्धिको दुःख देखेरै उनी आतंकित थिए । फत्तेमान थला त परेनन्, तर यसमा खुसी व्यक्त गर्न सकिने अवस्था पनि छैन । संगीतकार शम्भुजित भन्दैथिए, 'उहाँ अलि चाँडै जानुभयो ।'

सोमबार जब रात निकै गहिरियो र घडीले १२ः५० हान्यो, फत्तेमान गहिरो निन्द्रामा प्रवेश गरे । क्यान्सरसँगको लडाइँमा हारे पनि उनको गीत–यात्रा भने जितैजितले भरिएको थियो । यादव खरेलको शब्द र नातिकाजीको संगीत रहेको 'यस्तो पनि हुँदोरै'छ जिन्दगीमा कहिले–कहिले...' गाउँदै उनले रेडियो नेपालको आधुनिक गायनमा स्वर्णपदक हासिल गरे । २०२५ सालको त्यो गीतले फत्तेमान र यादव दुवैलाई लोकप्रियताको शिखरमा उचालिदियो ।

'सान्नानीको गालैमा कालो कोठी रै'छ...' जस्तो रोमान्टिक होस् वा 'मर्न बरु गाह्रो हुन्न' जस्तो गम्भीर, उनले गाएका धेरैजसो गीत संगीतकार नातिकाजीले कम्पोज गरेका थिए । नातिकाजी पनि नजिकै गुहेश्वरीमा भजन गाउँथे । आपूmले दाइजस्तै मान्ने नातिकाजीले २०६० सालमा धर्तीबाट बिदा लिएपछि फत्तेमान केही समय विरक्तिए । शिवशंकर मानन्धरको निधनपछि निस्किएको अभिलेखग्रन्थ (२०६३) मा फत्तेमानले लेखेका थिए, 'अहिले न शिवदाइ, न नातिकाजी, न नारायणगोपाल, खल्लो र एक्लो लाग्छ उहाँहरु नहुँदा, देशले राम्रो संगीतकर्मी गुमाउँदै गइरहेको छ ।'

पशुपतिमै हराइरहेको अवस्थामा उनलाई गायनको दोस्रो इनिङ सुरु गर्न नेपालय टिमले घचघच्यायो र २०६३ सालमा निस्कियो एल्बम 'फत्तेमान ७० मा', जसमा आभाषको एकल संगीत र नयाँ छिमलका गीतकारहरुका रचना थिए । ७६ को उमेरमा गत वर्ष उनले पलेँटी उत्सवअन्तर्गत ६ सय दर्शकमाझ एकल गायन पनि प्रस्तुत गरे । अस्पताल भर्ना हुनु केही महिनाअघि मात्रै उनले बुद्धिसागरको शब्द र कालीप्रसाद बाँस्कोटाको संगीतमा 'चुपचाप कतै कहानी भएँ' रेकर्ड गराए । गीतप्रतिको उनको समर्पण कत्ति धर्मराएको थिएन ।

चुरोटको धुवाँ उडाउनु उनको सोख थियो । चुरोट पिउनुलाई उनी 'सास फेर्नु' भन्थे । संगीतकार आभाष सम्झिन्छन्, 'गीत रेकर्ड र कन्सर्टको दौरान उहाँ बेलाबेला सास फेर्नुप¥यो भन्नुहुन्थ्यो र फुत्त कुना पस्नुहुन्थ्यो ।' दुर्भाग्य, त्यही 'सास फेराइ'ले उनको असली सासको हरण ग¥यो । उनलाई पत्तै थिएन, चुरोटको धुवाँले फोक्सो भत्काउन थालेको ।

पाँच छोराछोरीले बुबा गुमाए भने नयाँ पुस्ताका कलाकारहरुले अभिभावक । फत्तेमानको घरमा नियमित ओहोरदोहोर गर्ने नयाँ कलाकारमध्ये एक हुन् गायक मनोज सेवा । 'हामीलाई आऊआऊ भनिरहनुहुन्थ्यो र रियाज गराउँदै आफ्ना अनुभव र ज्ञान बाँड्नुहुन्थ्यो,' मनोजले भने, 'सुर नबिगार्न हामीलाई निकै सचेत गराउनुहुन्थ्यो ।'

फत्तेमानको स्वरलाई साधकीय स्वर भन्न रुचाउँछन् संगीतकार बुलु मुकारुङ । बुलुले २०६१ सालमा सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङको शब्द 'पुरानो थियो चिनारी, अहिले त्यो बिर्सिसक्यो'लाई फत्तेमानको स्वरमा रेकर्ड गराएका थिए । 'शनिबार अस्पतालमा आरामले कुरा गर्दै हुनुहुन्थ्यो, तर यो क्यान्सरले यति छिटो आक्रमण गर्छ भन्ने थाहा थिएन,' बुलु अचम्ममा छन् ।

घमण्डको कुनै तरंग नभएका प्रतिभाशाली, तर सरल गायकको रूपमा फत्तेमानलाई चिनाउँछन् कलाकार नीर शाह । हाँसो र ठट्यौली मिसाएर गम्भीर कुरा गर्ने फत्तेमानको स्वभावले उनी प्रभावित छन् । पशुपति मन्दिरभित्रै फत्तेमानसँग जीवन र मृत्युबारे पटकपटक भएको वार्ताको झझल्को आइरहेको छ उनलाई। फत्तेमानले बोलेको एउटा गम्भीर भनाइ उनले सम्झिए, 'एकपटक उहाँले भन्नुभएको थियो, मलाई जति गम्भीर रोग लागे पनि, मेरो मृत्यु पशुपतिकै छेउछाउ हुनेछ।'

चावहिलको ओम अस्पतालमा अन्तिम सास फेरेका फत्तेमानको अग्रीम संकेतलाई तबलावादक सरिता मिश्रले बल्ल बुझेकी छन्। 'बीस दिनअघि उहाँले मलाई आफ्नो तबला दिनुभयो, सायद उहाँले आपूm प्रस्थान गर्दैछु भन्ने संकेत दिनुभएको रहेछ, मैले बुझिनँ,' सरिता महसुस गर्छिन्।

१९९३ मंसिर १३ मा जन्मिएका फत्तेमानले बुबा जितमानबाटै संगीत अँगाल्ने प्रेरणा पाएका थिए । भजन गाउने बुबाकै सिको गर्दै उनी भजनमा आनन्दित हुन थालेका थिए । पशुपति घाटमा ल्याइएका एक बिरामीका छोरा फत्तेमानको भजन सुनेर यति लोभिए कि उनैले फत्तेमानलाई रेडियो नेपालमा प्रवेश गराइदिए । २०१९ सालमा रेडियोमा गएका फत्तेमानको २०२० मा 'हे राम नाम प्रभुको जप' भजन रेकर्ड भएको थियो ।

२०१८ सालदेखि एक दशकसम्मको अवधिलाई नेपाली सुगम संगीतको स्वर्णकाल मानिन्छ । रेडियो नेपालमा फत्तेमान, प्रेमध्वज, नातिकाजी, बच्चु कैलाशहरुको एउटा पुस्ता हुर्कियो । त्यही पुस्ता वा कालका एक प्रभावशाली गायक फत्तेमानको भौतिक शरीरको अन्त्येष्टि मंगलबार दिउँसो पशुपतिमै गरियो । अर्थात् उनी जहाँ प्रकट भए, त्यहीँ बिलाए ।
from Republica

No comments:

Post a Comment