Tuesday, June 30, 2015

असार

असार १
असारमा किसान खेत जाने विषयमा गैरीगाउँमा भुइँचालो गएको छ । एकै चुलोबाट फाटेका खोपीराम, नोखीराम र गोपीरामबीच चर्केको बहस हात हालाहालसम्म पुगेको छ ।
असारमा जाने ठाउँ खेत होइन भन्दै कोही मुक्खेसित कुम जोड्दै हिँडेका छन् भने कोही असार लागेकै छैन भन्दै तर्कदैछन् । कोही भने असार हो कि सार भन्दै खेत झरिरहेका छन् ।
‘गोपे ! एकबारको चोला हो’, गलबन्दीको फुर्कोले स्वाट्ट सिँगान पुछेर नोखीरामले गोफ्ले टोपी मिलाए । पुरानो डिजाइनको पावरवाला चस्माको धुलो पुछे । बूढो जिउ बिस्तारै मर्काए । थपे, ‘ए गाठ्यौ ! असार जप्दै कपाल फुलाएँ ।’

यति भनेर खेतमा काम गरिरहेका किसानलाई हेरे । अनि लामो सास फेरे । कतैबाट जवाफ नआएपछि भने, ‘मुक्खेको त्यत्रा सिपाही देखिनस् ? एके फोर्टी सेभेन भन्ने पनि छ । बम छ । तोप छ । तँलाई त एकैघान पार्छ ।’
नसुनेजसरी गोपीराम किसानसित खेत खनिरहे । कहिले बायाँ हातले पसिना पुछ्दै त कहिले दायाँ हातले ।
‘तँैले जल्दी खाऊँ जल्दी मरौँको उग्रउग्र ग¥याछस् । खेती अन्दुलनमा छेती पुराइस् । जे भए नि म त जुग खाएको मान्छ हुम् । तँ आलोकाँचो’, यति भनेपछि नोखीरामको बोलीको भोल्युम बढ्यो, ‘चैते मकै फल्दैन, रक्सी नखाई मान्छी ढल्दैन ।’

Tuesday, June 9, 2015

औल्याल

‘यी स्हिडिया  औल्याल  । पुलिस र सेना हाकिम औल्याल । खाद्या हाकिम औल्याल । कांग्रेस, एमाले, माउवादी नेता औल्याल । कोइ नाइ आफ्ना भन्या ।’

हुम्ला सदरमुकाम सिमकोटस्थित खाद्य गोदामअगाडि पाँच घण्टा लाइनमा कुरेर रित्तै फर्केको रिस अझै मरेको थिएन । त्यसैले फुसफुस हिउँसँगै उनको रिस पनि बाजी लाग्दै खसिरहेको थियो भुइँमा ।

फेरि जानुछ भोलि सखारै खाद्य गोदामअगाडि फेरि लाइनमा उभिन ।

हिउँ खसिरहेथ्यो ।
घरछेउमा गाडेको चोंटो  र आलु कुटोले खनी निकालिन् । दिसा गर्दाजसरी बसिन् । त्यसपछि गुन्यूको फुर्काे मास्तिर दोबारिन् । फुर्कोलाई दुबै हातले अड्याएर दोबारेको भागमा चोंटो राखिन् । त्यसपछि आलु ।

खस्ला कि भनी सतर्कहुँदै कुप्रो परी लिस्नो चढिन् । त्यसबेलासम्म उनले ओढेको बर्कीबाट कति हिउँ भीरबाट घाँसको मुठा झरेजसरी झरिसके भने कतिचाहिँ बर्कीमै अल्झिए ।

कच्छा

‘लाले, ढेल टाले’ भन्छन् । सरले पनि नइय कच्छा लाएर मात्र स्कुल आएस भन्या छन् । मलई नइय कच्छा नभै हुन्न,’ आमासामु लालबहादुरले तुरुक्क आँसु झारेर जिद्दि गरिरहे । उनकी आमा दिलसरालाई नयाँ कच्छा किन्न त परै छ लालबहादुरलाई सम्झाउनसमेत बाह्र बजेको छ । सम्झाउँदासम्झाउँदै हुक्कीहार भएकी दिलसरा सुने पनि नसुनेजस्तो गरिरहिन् ।
‘अर्को दशैमा तेर्बाबै आएसि नइय कच्छा किनम्ला,’ उही बासी आश्वासनले सम्झाउन कोशिस गरिन् ।
चुलोछेउमा बसेका थिए, आमाछोरा । छेउतिर बाँधिएका थिए, तीनवटा गाई । एउटा गोरु थियो । एकतले घरमा बारेर एकातिर बस्तुभाउ थिए भने अर्कोतिर आमाछोरा ।
स्कुलमा सबले ‘सिंगाने लाले’ भनेर गिज्याएपछि लालबहादुरले आमालाई उजुरी गरेका थिए । ‘सिंगान नपुछेकाले सिंगाने लाले भनेका हुन् । नाक सफा गरेपछि कल्ले भन्ने रैछ मेर्छोरालाई सिंगाने’ भनेर दिलसराले भनेकी थिइन् । दिलसराले यस्तो भनेको भोलिपल्टदेखि लालबहादुरले सिंगान आउनेबित्तिकै पुछेथे । त्यसपछि कसैले पनि लालबहादुरलाई ‘सिंगाने लाले’ भनेन । सिंगाने लाले नाम हटाउने उपाय सुझाएकाले लाले ढेल टाले नाम हटाउने उपाय पनि आमासित छजस्तो लाग्यो । त्यसैले आमासित उनले नयाँ कच्छाको माग गरिरहे ।
‘सिंगान पुछेर नाक सफा राखेजसरी नयाँ कच्छा बनाउन सकिन्छ र ?’ लालबहादुर घरीघरी आमालाई हेर्थे ।