Tuesday, June 9, 2015

कच्छा

‘लाले, ढेल टाले’ भन्छन् । सरले पनि नइय कच्छा लाएर मात्र स्कुल आएस भन्या छन् । मलई नइय कच्छा नभै हुन्न,’ आमासामु लालबहादुरले तुरुक्क आँसु झारेर जिद्दि गरिरहे । उनकी आमा दिलसरालाई नयाँ कच्छा किन्न त परै छ लालबहादुरलाई सम्झाउनसमेत बाह्र बजेको छ । सम्झाउँदासम्झाउँदै हुक्कीहार भएकी दिलसरा सुने पनि नसुनेजस्तो गरिरहिन् ।
‘अर्को दशैमा तेर्बाबै आएसि नइय कच्छा किनम्ला,’ उही बासी आश्वासनले सम्झाउन कोशिस गरिन् ।
चुलोछेउमा बसेका थिए, आमाछोरा । छेउतिर बाँधिएका थिए, तीनवटा गाई । एउटा गोरु थियो । एकतले घरमा बारेर एकातिर बस्तुभाउ थिए भने अर्कोतिर आमाछोरा ।
स्कुलमा सबले ‘सिंगाने लाले’ भनेर गिज्याएपछि लालबहादुरले आमालाई उजुरी गरेका थिए । ‘सिंगान नपुछेकाले सिंगाने लाले भनेका हुन् । नाक सफा गरेपछि कल्ले भन्ने रैछ मेर्छोरालाई सिंगाने’ भनेर दिलसराले भनेकी थिइन् । दिलसराले यस्तो भनेको भोलिपल्टदेखि लालबहादुरले सिंगान आउनेबित्तिकै पुछेथे । त्यसपछि कसैले पनि लालबहादुरलाई ‘सिंगाने लाले’ भनेन । सिंगाने लाले नाम हटाउने उपाय सुझाएकाले लाले ढेल टाले नाम हटाउने उपाय पनि आमासित छजस्तो लाग्यो । त्यसैले आमासित उनले नयाँ कच्छाको माग गरिरहे ।
‘सिंगान पुछेर नाक सफा राखेजसरी नयाँ कच्छा बनाउन सकिन्छ र ?’ लालबहादुर घरीघरी आमालाई हेर्थे ।


दिलसराले धनवीरले पठाएको चिठी पटकटक हेरेर श्रीमान्को तिर्खा मेट्ने कोशिस गर्थिन् । उनको मनमा नजानिदो आश जाग्थ्यो, ‘कहिले पढ्ला लालबहादृरले । र, उसको बाउलाई लेख्ला चिठी ।’ त्यसलगत्तै दिलसराको आँखा टालेको कच्छामा बल्झन्थ्यो । घरी दिलसराको आँखामा चिठीमा अल्झन्थ्यो घरी छोराको टालेको कच्छामा । मनमनै भन्थिन्, ‘नयाँ कच्छा फेर्न सक्ने भए किन गिल्ला गर्दा हुन् गौलेका छोर्छुरीले ?’
स्कुल जान छोरालाई स्कुल जान उक्साउँथिन्, ‘नपढेर हो त के र विक्रमले हेला गरेको । तेर्बाबैले कालापार जाने बेला भन्या बिर्सिस्, ‘औठाछाप भएर मैले दुख पाएँ । पढिगुनी घत हालेर चिठी डाक गरेस् । आँखा देख्ने भएपछि मात्र मुक्खे त के मुक्खेको बाउले नि हेला गर्न सक्तैन ।’

दिलसराले मकै र भटमास मिसाएको खाजा ‘अर्नि’ भनेर ऊनको झोलामा राखिन् । बल्लबल्ल लालबहादुर तयार भए, उही लुगामा स्कुल जान ।
‘अर्नि खाएस् । नतरी भोकले चाम्री पर्लास् । लालेलाई आफैसित लग्दे है, सेते । विक्रमले पिट्ला । हेर्दिनू,’ यति भनेर दिलसरा घाँस लिन जंगलतिर लागिन् ।
रपापातल पुग्दा विक्रम डिम्मरको रुखमा थिए । पाकेको डिम्मर खाँदै काँचो डिम्मरले लालबहादुरलाई हाने । त्यसपछि भने, ‘लाले ढेल् टाले ।’
लालबहादुरलाई रिसको पारो चढ्यो । लालबहादुरको मुखबाट फुस्कियो, ‘तँ जाँ ...प मुक्खेको छोरा होस् र लाउँछस् वालीवालीका । हाम्ता गरिप्ता भैगिम् ।’
लालबहादुरले यति भनी सकेर अलि पर नपुग्दै विक्रम डिम्मरको रुखबाट भुइँमा ओर्ले । एक लात लालबहादुरको पेटमा हाने । त्यसपछि कान तान्दै भने, ‘मु...जोरी खोज्या होस् ? आइज जाँ ...सिंगलसिंगल ।’
लालबहादुर भन्दा उमेरले पाका विक्रमसित लड्न सक्ने कुरै थिएन । टोक्न र चिथोर्न खोजे । त्यसपछि लालबहादृरले ढुंगा टिपेर हिर्काए । तर लागेन । गालीचाहिँ मरुन्जेल गरे, ‘तेरो हात कोरले गलोस् । आजको रात पनि काट्न नपाएस् । तेर्जेईलाई लगेस् ...।’
गालीको पर्रासहित रुँदै लालबहादुर स्कुलतिर दौडिए । विक्रमले हेर्दाहेर्दै लालबहादुरले रपाखोला तरे । त्यसपछि फेरि विक्रम कराए, ‘जा आइते लालेको टालेको कच्छा तान्दे ।’
मनले नमाने पनि आइतराम विक्रमको डरले दौडिए । तर आइतरामको पाइला लर्बरायो ।
‘टेरिनस् मा...अब तेरै कच्छा तान्दिन्छु ।’
आइतराम पनि रुँदै दौडिए । विक्रमले आइतरामलाई उछिने । त्यसपछि लालबहादुरलाई भेटे । लालबहादुरको टालेको कच्छा ताने । लालबहादुर थचक्क बसे । तान्दा कच्छा त खसेन तर जोडले तानेकाले नारा  छिनियो ।
बाँकी पन्ध्र मिनेटको बाटो एउटा हातले आँसु पुछ्दै अर्को हातले कच्छा सिमल्दै लालबहादुर स्कुल पुगे ।
‘जा जा तैले सरलाई चुक्ली हाले पनि क्यै फारिन्न । हेडमाष्टर हाम्रो घरमा आएर भाले खान्छन् । रक्सी खान्छन्,’ विक्रमको आवाज झन चर्कियो ।
अरु बेलामा त स्कुलबाट फर्कदा इजारा छिनिन्थ्यो । दिलसराले विक्रमलाई गाली गर्दै इजारा गाँस्थिन् । तर आज स्कुल जाँदा बाटोमै छिनियो ।
सरलाई उजुरी गर्न लालबहादुर दौडेर स्कुल पुगेका थिए । एउटा हातले आँसु पुछ्दै अर्को हातले कच्छा सिमल्दै कक्षाकोठामा पस्दा उनको आँखा हेडमाष्टरमा ठोकियो । नमस्कार गर्न हात उठाउँदा कच्छा भुइँमा खस्यो । हत्तपत्त सिमले । विक्रमले छिनाएको कुरा भनम्ला भन्दाभन्दै हेडमाष्टरले लालबहादुरको टाउकोमा लाठी बजाए । हेडमाष्टर मदनमणि आचार्य कुर्लिए, ‘तेरिमास्साले स्कुल आउँदा नयाँ कच्छा लाएर आउनु भनेको होइन ? मु...निहुँ पारेर एउटा हातले आँसु पुछेको छ । अर्को हातले कच्छा समातेको छ ।’
स्कुलमा के पढाइ भयो ? लालबहादुरले केही बुझेनन् ।


... .... ....
बाच्छी कराइरहेथ्यो । दुध दिन गाई पनि आत्तिएको थियो । कुखुरा खोरभित्र पसिसकेथे । दुध्लाको बोटमा बास बस्न थालेका सारीका कोलाहल चर्केको थियो । स्कुलबाट आउनेबित्तिकै चुल्होमा आगो फुक्ने लालबहादुर कुनामा घोप्टो परेका थिए ।
साँझ ढल्न थालेपछि दिलसरा पानी लिएर झाँक्रीखोलाबाट फर्किइन् । गाग्रो बसालिन् । चुल्होमा आगो नसल्काएको देखेर सोधिन्, ‘के भयो लालु ?’
लामो समयसम्म पनि जबाफ नआएपछि फेरि बोलाइन्, ‘लालु के भयो ? किन बोल्दैनस् ?’
सोध्दासोध्दै दिलसराले सोध्न भुलेको बेला लालबहादुरको मुखबाट बोली झयो, ‘नइय कच्छा नभए स्कुल जान्नँ ।’
‘काँबाट ल्याउनु नइय कच्छा तेबार्बै कालापारबट नआई ? तेर्बाबै आएसी थुनिकोत बुदे दमैलाई बोलाम्ला । कलमा कटट सिलाम्ला है,’ दिलसराले भनिन्, ‘के पैसाले किनूँ नइय कच्छा ?’
‘जान्नँ । सरले पिट्छन् । साथीहरुले गिल्ला गर्छन् । लाले ढेल टाले भन्छन् ।’
दिलसरा काखको छोरो समाएर घरी उठिन् घरी बसिन् ।
‘नइय कच्छा नभई स्कुल जान्नँ । सरले नइय नलाई नआउनु भन्या छन् ।’
नयाँ कच्छा नभई स्कुल नजाने अड्डी कसेपछि स्कुल छुट्यो । दिलसरालाई बेलाबेलामा स्कुल गएर हेडमाष्टरसित भनसुन गरौंजस्तो त लाग्थ्यो तर गाउँका ठूलाठाली मानिएका मुक्खेसित उनको घाँटी जोडिएको थियो । उनले बित्नी बिसाएर के मान्लान्जस्तो लागेर उनका पाइला यसै थचारिन्थे ।
लालबहादुरका सहपाठी माथिल्लो कक्षामा उक्ले । लालबहादुर भने स्कुलको बदला आज पनि चुनबाङखोलापारि घुरेनीभीर गए । भीरमा बाख्रा छाडेर लालबहादुरजस्तै ससाना बाख्रा ग्वाला पौडी खेले खोलामा । खुब खेले । तर खेल्दाखेल्दै लालबहादुरको टालेको कच्छा खोलाले बगायो ।
अब के गर्ने ? खोज्न तलसम्म पुगे । कतै भेटिएन ।
कसैले देख्लान् कि भनेर लालबहादुर बाख्रासित छेलिदै घर फर्के । छिटोछिटो घरभित्र पसे । यताउति हेरे । भाइले ‘सु’ गरेकाले सुकाएको थाङ्ने गुन्युमा आँखा प¥यो । उही गुन्यु ओढे । र, कुनामा बसे ।
साँझ ढलेपछि दिलसरा घाँसको भारी बोकेर मेलाबाट आइन् ।
गाई दुहिन् । आगो नफुकेको देखेर भनिन्, ‘आगो मरिगो कि के भो ? जा सेतेको घरबाट आगो ले । आगो फुक । दुधको कराही टेका । म घाँसपात गर्छु ।’ यति भनून्जेल त दिलसरा बाहिर निस्किसकिन् ।
घाँसपात गरेर भित्र पसिन् । लालबहादुर त झोक्राएर बसेका थिए, गुन्यु ओढेर कुनामा । सशंकित भएर सोधिन्, ‘किन झोक्रायाछस् ? बाख्राले मुक्खेको कम्दमा भट्ट खाए कि हँ ?’
लालबहादुर बोलेनन् ।
‘किन बोल्दैनस् ? के भयो लालु ?’
सन्त्रास र डरको दोभानमा अल्झदै धेरै बेरपछि लालबहादुरले भने, ‘खोलाले कच्छा ...।’
वाक्य पूरा नगरी लालबहादुरले डाको छाडे ।
सम्झाउनुको साटो दिलसराले लालबहादुसित आँसु मिसाउन थालिन् । सुल्पामा भरेको कक्कडको धुँवा आफ्नै तालले आकाशतिर लाग्यो ।
मुक्खेको छोरा बिक्रमले इजारा नछिन्देको भए कसरी बगाउँथ्यो खोलाले ? मुक्खेकै हेडमाष्टर नभए कसरी टालेको कच्छा फेर्न नसकेकालाई स्कुल जान रोक्थे ?
आमाको गोदाइ खाइन्न भन्ने थाहा पाएपछि दिलसराको पिठ्युमा टाँसिए । भाइ दुध खाँदाखाँदै आमाको काखमा निदाएका थिए भने दुधको कराही उसैगरी ओदानमा थियो । उम्ल्यो या नाई ? थाहा भएन ।
ढल्दै गएको रातमा झन टाँठो आवाज आइरह्यो, ‘नइय कच्छा लाएर स्कुल जान्छु ।’ र, लालबहादुरको आँखामा आए स्कुले साथी । सोधिरहे, ‘लाले कैले स्कुल जान्छस् ?’
‘भोलि ।’
त्यो ‘भोलि’ कहिले आउने हो ? न दिलसरालाई थाहा थियो न त लालबहादुरलाई ।

No comments:

Post a Comment