Sunday, January 8, 2017

प्रचन्डको भान्छामा मोहवीर विश्वकर्मा

नवीन विभास काठमाडौँ, असोज १८
बाबु मन चिन्ताएर फुकिढल कमरेड केशवको सावँलो अनुहारले भन्यो, ‘फत्रक्कै गलायो छोराछोरीको भविष्य चिन्ताले।’ रोल्पाको राङ्कोटस्थित गोरीचौरमा अनुहारको कुरामा सही थाप्दै उनको भालुकोटे बोली पनि झर्‍यो, ‘आजसम्म त गाउँमा जसोतसो पढाएँ। अब कसरी हो? केइ मेलोमेसो पाया छैन।’
जिन्दगीको सिरीखुरी धरेको माओवादी के भयो? थाहै नपाई कसरी भत्क्यो दुःखी–गरिब पनि हाँस्न पाउने नयाँ संसारको सुन्दर सपना?

यस्ता जपनाबाट थाहै नपाई उछिट्टिएका केशव यसपालि झन् असहज थिए। उनको अनुहारमा असहजताका रेखा दौडँदै तलमाथि गरिरहेका थिए।
केशवका १७ वर्षीय जेठा छोरा महेन्द्र ९ कक्षामा छन्। ९ वर्षीय कान्छो सुरेन्द्र र १५ वर्षीया छोरी तिर्मिला पाँच कक्षामा। राङ्कोटमा रहेको स्कूल पुग्न उनीहरुले आफ्नो गाउँ भालुकोटदेखि अढाई घण्टा हिँड्नुपर्छ।
छोराछोरीको पढाइ अब सहर पसे कसरी धान्ने होला?
यसकै उत्तर खोज्दाखोज्दै केशव र उनकी पत्नी गनमाया थकित छन्।
कक्षा ५ पढेका केशव, ३७ वर्षका पुगे भने गनमाया ३६ ।
घरमै दुई-चारवटा खसी पाल्छन्। हाजिरामा मजदुरी गर्छन्। कहिलेकाहीँ आरन लाउँछन्। र, हँसिया, कुटो र कोदालो अर्जाप्छन्। यसै गरेर अहिलेसम्म फारुफारु गरी घरखर्च र छोराछोरीको पढाइ धानेका छन् केशवले। प्रत्येक वर्ष १५–१६ हजारको दरले ऋणको भारी खापिँदै छ।
माओवादीले दलितलाई पनि अरुसरह हक दिलाउँछ भन्ने सुनेकाले उनी भारतको चमोली गढवालबाट मजदुरी गर्दागर्दै घर फर्केका थिए। भारतका पौडी र टिहरी गढवाल तथा हिमाचल प्रदेशका कुनाकुन्दरामा मजदुरी गर्नु रोल्पालीको चलन थियो। त्यै चलन तन्केर अहिले मलेसिया र अरब पुगेको हो।
जनयुद्ध नथाल्दै ‘मोहवीर विश्वकर्मा’ कमरेड केशव भए। २०५४ देखि जिन्दगी पार्टीलाई चढाएर पूर्णकालीन माओवादी भए उनी। माओवादी बनाउन हिँड्ने संगठक भए। त्यसपछि जनमुक्ति सेनाको प्लाटुन भाइस कमान्डर। माओवादी अध्यक्ष प्रचण्डको भान्से।
व्यक्तिगत जिन्दगीका खुसी भर्पाइ दिएर बाटो लागेका केशवलाई उही घुम्तीमा फर्की ‘सांसारिक मायाजाल’का काम ‘जिरो’बाट थाल्दा बज्नु १२ बजेको छ। कहिलीकसो सम्झेर हुक्क हुन्छन्।
मन बुझ्छ कि भनी दराजमा राखेका डायरी हेर्छन्। जो उनको मनसित बाजी लाग्दै पुरानिँदै फाटेका छन्। तिनै डायरीको बाटो समाएर बेलाबेलामा आँधीसित खेलेका आफ्नै विगततिर फर्कन्छन् केशव। कहाँ हिँडेको कहाँ पुगियो?
आफैँलाई सोधेर उकुसमुकुस हुन्छन्।
‘कुनै बेलाका तपार्इंकै सुप्रिम कमान्डर अनि तपाईंले नै पकाएर खुवाएका मान्छे प्रधानमन्त्री छन् त तपाईंलाई के हर्जा? यस्तो बेलामा पनि चिन्ताएर बस्ने?’
सुनेर फिस्स हाँसे। त्यसपछि उनका आँखा गोरीचौरबाट पारि जिलाधुरीमा टल्किरहेको टावरमा पुगे।
त्यै टावर रुङ्न बसेको सेनासित माओवादी सेना लडेको थियो।
सेनालाई लडाइँको निम्तो दिन घोराही ब्यारेक आक्रमण गरेर जोसिएको माओवादीले एक दिनको अन्तरालमा रोल्पाको जिलाधुरीस्थित रातामाटा टावरमा २०५८ मंसिर २२ गते र सल्यानको कपुरकोटस्थित रिपिटर टावरमा मंसिर २३ गते हानेको थियो।
अनुहारबाट झरेको फिस्स हाँसो नसकिँदै उनले सुक्खायामको खेतजस्तै कुर्कुच्चा मसारे। ‘अब मलाई विदा दे’ भनिरहेको चप्पल फुकाले। एकपालि हेरे। त्यसपछि उही चप्पल ओछ्याएर बसे।
बर्खामास गोठालाहरु लेकतिर उकालिँदा रमझम बढ्ने गोरीचौर भदौ महिनामा पनि सुनसान थियो। रोल्पाली किसान बर्खामा बस्तुभाउ लिएर लेकका बर्खेगोठतिर उकालिन छाडेपछि गोरीचौर सुनसान हुनु नौलो थिएन। त्यसमाथि गोरीचौरमा रहेका राङ्कोट गाविस कार्यालय र स्वास्थ्यचौकी पनि बन्द थिए।
रोल्पाली र रुकुमेली किसान बर्खा लागेपछि बर्खेझरीको तालमा बस्तुभाउ लिएर लेकतिर उकालिन्थे। खोर्रेमा आलु फलाउँथे। बढी भए बेच्थे। तर, माओवादी आन्दोलन हल्केपछि सरकारी आँखाले तिनै बर्खे गोठलाई ‘आतंककारी’ देख्यो। माओवादीको नाउँमा गोठाला मारिए। त्यसपछि लेकका गोठ जान छाडेका रोल्पाली किसान अचेल त चटक्कै भुलेजस्तै छन्।
घरिघरि जिस्काउने ससाना सपनाकै पछि लाग्दालाग्दै केशव हायलकायल थिए। उता, उनकै केही थान ‘सर’ र ‘मेडम’ जिल्लाका सहर र काठमाडौंमै घरघडेरी जोडेर सिंहदरवार र बालुवाटारको साइत गर्दैथिए।
सुन्न त सुनेका थिए कि उनैले खुवाएका मान्छे प्रधानमन्त्री छन्। तर, उनले अनुभूत गरेको छनक उनको अनुहारमा कतै पनि झल्कदैन थियो।
प्रचण्डको भान्छामा मोहवीर
संगठनबाट सेनामा सरुवा भएको केही समयपछि एक दिन भनियो, ‘कमरेड केशव, तपाईंलाई ‘एचक्यू’को व्यवस्थापन विभागमा सरुवा गरिएको छ। बधाइ।’
त्यसबेला माओवादीभित्र अध्यक्ष प्रचण्डलाई सम्बोधन गर्न ‘हेडक्वाटर’ अर्थात् त्यसको छोटकरी एचक्यू र चेयरम्यानको छोटकरी रुप सीएम चल्ती भइसकेको थियो।
प्रचण्ड ‘भारतविरुद्ध सुरुङयुद्ध’को नारा दिई भर्खरै भारतबाट रोल्पा पसेका थिए। र, टाकुरा र अग्ला डाँडामा सुरुङ खन्ने काम तीव्र थियो। ‘एक घर, एक छापामार’ नारा जवान थियो। ‘संगठनका कमरेड सेनामा जाने’ पार्टी निर्देशनले माओवादीभित्र खैलाबैला मच्चाएको थियो।
पार्टीले ‘जहाँ खटाउँछ त्यही खट्ने’, ‘दुश्मनले जहाँ टेक्छ त्यही पड्कने’ कुरा व्यवहारमै बोकेका केशवलाई यस्तो सरुवा नौलो थिएन।
‘सरुवा भएर गएपछि प्रचण्डलाई देखेँ,’ प्रचण्ड नेपाल फर्केलगत्तै असोज या कात्तिक महिना सम्झँदै उनले भने।
दुई शब्द लेख्नपरे या बोल्नपरे माओवादी नेता–कार्यकर्ताले ‘देउता’ बनाएका प्रचण्डको भनाइ उद्धृत गर्नुपर्ने याममा केशव सीएमको व्यवस्थापन विभागमा सरुवा भए। विभागमा थिए, कमान्डर कमरेड विजय। र, भान्सा हेर्ने बाँकी पाँचजना।
विभागमा रोल्पा तेबाङका कमरेड दीलिप थिए। जेलबाङका कमरेड ढुंगाना, कुरेलीका कमरेड साभार र कोटगाउँका कमरेड दिनेश।
नाम व्यवस्थापन विभाग थियो। तर, काम भने सञ्चारदेखि सुरक्षा पनि सम्हाल्नुपर्ने।
कहिलेकाहीँ कम्ब्याट ड्रेस लगाएरै पकाउँथे।
सरुवा हुँदा केशव सेक्सन कमान्डर थिए। बढुवा मिलेर प्लाटुन सहकमान्डर भए।
केशव आफ्नो नयाँ जिम्मेवारी बहन गर्न गए। त्यसबेला प्रचण्डले सेल्टर लिएको डाँडागाउँ (पूर्वमन्त्री जयपुरी घर्ती मगरको गाउँ)को घर (पछि शाही सेनाले हवाइ आक्रमण गरेको देखि अलि परको एउटा घर) छानिएको थियो, प्रचण्डका लागि खाना पकाउन। पाक्थ्यो, एचक्यू सुरक्षाका लागि खटेको तुलसी डाँगी अर्थात् कमरेड मिलनको सेक्सनसहित सीएम, मेडम (सीता दाहाल), प्रकाश र पासाङको लागि खाना।
डाँडागाउँको त्यस घरमा प्रचण्ड एक डेढ महिना बसे।
प्रचण्ड टोली रुकुमको लाबाङ लाग्यो। २०६१ माघ १९ मा सम्पन्न लाबाङको पोलिट्ब्युरो बैठकले बाबुराम भट्टराईलाई कारबाही गरेको थियो।
प्रचण्ड रोल्पा तालाबाङको दाबाङतिर दुई-तीन महिना बसे। राङ्कोटको निमाङमा एकाध महिना बसे भने राङ्कोटकै कोरलमा पनि बसे।
रुकुमको भेरिडाँडा गए जहाँबाट माओवादी संसदीय बाटो लाग्यो। २०६२ असोज १८–२२ गते सम्पन्न उक्त बैठक ‘चुनबाङ बैठक’को नामले परिचित छ। रुकुम भेरिडाँडाबाट फर्केर प्रचण्ड रोल्पा राङ्कोटको पनेरामा बसे।
दुईतीन हप्ता बसेपछि प्रचण्ड रोल्पाकै तालाबाङतिर लागे।
रोल्पामा विभिन्न ठाउँमा ‘सेल्टर’ फेर्दै बसेका प्रचण्डसँगै केशवको विभागले पनि भान्साका सामान कुम्लो पार्दै बिरालोले बच्चा सारेजस्तै सारिरह्यो।
नुन बोक्न उनका बा र बाजेहरु कोइलाबास ‘हाट’ गएको उनले स्मरण गरे। र, यसैगरी त ‘हटारु’ले आफ्नो बास र खाना तयार पारे होलान् भन्ने सम्झिए। तर, प्रचण्डको हिँडाइ हटारुको जस्तो थिएन। हटारु त एक रातको लागि बास र एक छाकको लागि भान्सा गर्थे बाटोमा। प्रचण्ड त एक ठाउँमा त्यसभन्दा धेरै बस्थे, बसाइ व्यवस्थित थियो।
केशव कसरी छानिए प्रचण्डको भान्से?
न खाना पकाउन तालिम लिएका थिए न त सीप नै भएका केशवले अहिलेसम्म यसको उत्तर खोजेका छैनन्। 
‘कमरेड केशव मात्र हुन् कि मोहवीर विश्वकर्मा पनि हुन्?’
यी कुरा प्रचण्डलाई थाहा थियो कि थिएन? पत्नी सीतालाई थाहा थियो कि थिएन?
यो कुरा अहिलेसम्म उनले कसैलाई सोधेका छैनन्।
माओवादी अध्यक्षकै भान्सामा ‘विश्वकर्मा’ छन् भनी ‘क्रान्तिकारी’ देखाउन हो या थाहा नपाएर?
जान्नलाई उनी अहिले नि उत्सुक छैनन्।
‘परम्परागत हिन्दु समुदाय’मा घरभित्र पस्न मनाही गरिएका र ‘छोइछिटो’ गरिने ‘कथित तल्लो जात’का थिए, कमरेड केशव। उनका अध्यक्ष एवं जनमुक्ति सेनाका सुप्रिम कमान्डर प्रचण्डचाहिँ कास्कीको ढिकुरपोखरीबाट चितवन झरेका ‘कथित उपल्लो जात’ अर्थात् बाहुन थिए।
उनै ‘बाहुन नेतृत्व’मा चलेको ‘जनयुद्ध’ले ‘समानता’को नारा दिई जातीय विभेद हटाउने अभियान पनि चलाएको थियो। त्यै अभियानको कडीको रुपमा कमरेड केशव सीएमको भान्से छानिए?
कहिलीकसो यसो अनुमान लाउँछन्, ‘इमानदार भएर होला।’
उनले फेरि लख काटे, ‘पासाङ (तात्कालीन जनमुक्ति सेनाको डेपुटी कमान्डर र हाल उपराष्ट्रपति) ले छानेर होला।’ 
अनुमान सही या गलत?
उनलाई जान्ने खसखस कहिल्यै लागेन।
०००
भान्सामा नियुक्त पाँचका पाँच नयाँ थिए। त्यसैले त्यसअघि पकाउने नुवागाउँतिरका जनमुक्ति सेना कमरेड प्रकाश र सल्यानका कमरेड तराईले ‘यसोउसो’ भनी सिकाए। त्यसपछि पाँचजनाले आलोपालो गरी पकाए।
‘पहिलो दिन कुखुराको मासु, दाल र सागसित भात खुवायौँ,’ खाना खुवाएको त्यो दिन सम्झँदै केशवले भने।
खारा ‘दोस्रो आक्रमण’मा प्रचण्ड
माओवादीले फेरि रुकुमको खारास्थित सेनाको क्याम्पमाथि आक्रमण गर्‍यो।
यो थियो २०६१ चैत २५ गते। दुई वर्षअघि २०५९ जेठ १३ गते पनि उक्त क्याम्प माओवादी आक्रमणमा परेको थियो।
माओवादी आधार क्षेत्रमा अवस्थित त्यो ‘शाही अमेरिकी सेना’को उपस्थिति माओवादीको टाउको दुखाइ थियो। त्यसबेला माओवादीले तत्कालीन शाही नेपाली सेनालाई नाउँ दिएका थिए, शाही अमेरिकी सेना। यसो भन्नुको कारण थियो, अमेरिकी सेना नेपालमा आएर शाही सेनालाई सघाउनु।
प्रचण्ड आफैँले कमान्ड गरेको पहिलो र अन्तिम लडाइँ थियो, त्यो। त्यसबाहेकका लडाइँ हुँदा माओवादीका ठूला नेता कि भारतमा थिए कि त लडाइँस्थल भन्दा धेरै टाढा।
खारा आक्रमणमा मोबाइल सेटबाट लडाइँको कमाण्ड गरिरहेका डेपुटी कमान्डर पासाङलाई प्रत्यक्ष कमान्ड गरे प्रचण्डले। भलै उनी चारपाँच घण्टा पैदल दुरी टाढा रहेको रोल्पाको घर्तीगाउँ र ओतको सिमानामा थिए।
‘खारा हान्दा सेल्टर लिएको आरुडाँडाको घरदेखि माथि टाकुरामा गयौँ। रातभर त्यही बस्यौँ। सँगै थिए, प्रचण्ड, मेडम (सीता), विप्लव (नेत्रविक्रम चन्द) र दीवाकर (पोष्टबहादुर बोगटी) पनि,’ केशवले खारा आक्रमणको रात सम्झिए।
हेन्डसेटबाट प्रचण्ड र विप्लव (नेत्रविक्रम चन्द) ले कमान्डर पासाङसित पलपल सम्पर्क गरे।
टिमसहित केशवले सीएमलाई खाना खुवाए, टाकुरामै। त्यसपछि एचक्यूको सुरक्षार्थ रातभर ड्युटी गरे।
‘रातमा त देख्ने कुरा भएन। बिहान भने सीएम निराश हुनुहुन्थ्यो। त्यस दिन त साग र दाल मात्र थियो खाना पनि,’ उनले भने।
बिहान १० बजेसम्म प्रचण्ड, दीवाकर र विप्लव टाकुरामै बसे।
०००
खारा आक्रमण तयारी गरेको रोल्पाको गैरीगाउँस्थित दुम्लाबाट जनमुक्ति सेना खारातिर लाग्यो भने प्रचण्डटोली आरुडाँडातिर।
‘खारा लडाइँ असफल भएपछि पल्लोपट्टि गोटीखोला गयौँ,’ सम्झदै उनले भने।
बाबुराम गोटीखोला पुगे। प्रचण्डलाई भेटे। त्यसबेला बाबुराम कारबाहीबाट फुकुवा भएका थिएनन्।
माओवादी अध्यक्ष, जनमुक्ति सेना सुप्रिम कमान्डर त थिए नै। त्यसको अलावा थिए, प्राधिकार प्राप्त पनि। त्यसैले प्रचण्डले एक्लै गर्दा पनि पार्टी निर्णय हुन्थ्यो। त्यसैले फुकुवा गरेर वा नगरेरै बाबुरामलाई गोटीखोलाबाट दिल्ली दरवारसित ‘मेलोमेसो’ मिलाउन भारत पठाए।
केशवका कमरेडहरुले बाबुरामलाई भारतको नाकासम्म पुर्‍याए।
खारा हारेपछि शाही सेना प्रचण्डले सेल्टर लिएका ठाउँतिर पनि घेर्दै बढ्यो। त्यसपछि लोसेबाङ, गोटीखोला अनि घोरनेटीहुँदै प्रचण्डले थुप्रै ठाउँमा सेल्टर फेरे। केशवको विभाग पकाउने सरसामान कुम्लोकुटुरो पार्दै हिँडिरह्यो।
‘सीएम जति समय रोल्पा बस्नुभयो, त्यसबेलासम्म म सीएमसितै रहेँ। १० महिनाजति बसेँ कि?’ उनले सम्झिए, ‘सीएम आफैँले त घर व्यवहार र परिवारबारे कहिल्यै सोध्नु भएन।’
कहिलेकाहीँ फुर्सद भएका बेला प्रचण्डले सेक्युरिटी र व्यवस्थापनलाई संयुक्त रुपमा बैठक बस्न भन्थे। दुईतीन महिनाको अन्तरालमा पार्टी योजना सुनाउथे।
‘तर, व्यावहारिक कुरा हुन्नथे। कार्यदिशा र कार्यनीतिका विषयमा बड्डाले भाषण गर्थे,’ उनले भने।
०००
‘हामी राति अबेरसम्म पनि तातो पानी, चिया लिएर जान्थ्यौँ। सीएम कमरेडलाई जहिल्यै ल्यापटप, किताब र कलमसित देखेँ। सामान्यतः राति ९ देखि १२ बजेसम्म काम हुन्थ्यो। आवश्यक परे राति १, २ बजेसम्म पनि जान्थ्यौँ। बिहान ३ बजेपछि जान्थ्यौं। बिहानै जाँदा पनि जस्तो साँझमा देख्थेँ उस्तै देख्थेँ सीएमलाई,’ प्रचण्डको सेक्युरिटीले आवश्यकता पर्दा बोलाएपछि राति जुन बेला पनि जानुपरेको स्मरण गर्दै केशवले भने।
प्रचण्डसँग बस्दा पनि उनको मनमा भने एउटा आँधी चलिरह्यो। त्यो हो, लडाइँ जितिएला कि हारिएला?
सुरुसुरुमा त उनलाई हतियारले नै ध्वस्त पारेर नौलो जनवाद ल्याइन्छ जस्तो लाग्थ्यो। अलि पछिपछि भने लडाइँ हार्दा र पार्टीभित्र गुटउपगुट मौलाएपछि ‘हुन्नै क्याउ’ पनि लाग्थ्यो।
प्रचण्डका भान्से अचेल
रोल्पा जनसरकार प्रमुखसमेत भएका कमरेड विजय अर्थात् नन्दबहादुर बुढा मगर अहिले विप्लव माओवादीका केन्द्रीय सदस्य छन्।
जनमुक्ति सेनाका प्लाटुन सहकमान्डर केशवसहित पाँचजनालाई शान्ति सम्झौतापछि माओवादीले ‘वाइसीएल’ भन्यो। माओवादीले अस्थायी शिविरभित्र र बाहिर बस्ने जनमुक्ति सेनालाई समान सुबिधा दिने आश्वासन दियो। तर, त्यो आश्वासन नटेरी टाठाबाठाले भटाभट प्रमाणिकरण गरे।
धेरै जनमुक्ति सेनासहित पासाङले इमान्दार भनी छानेका उनीसहितका पाँच भान्से पनि हेरेको हेर्‍यै भए।
‘शिविरमा बस्नेले त कमसेकम आफ्नो मेलो गरे। दुखजिलै भए नि एउटा पेशा गर्ने अवसर जुराए। हामीले त त्यै पनि पाएनौँ,’ अहिले नि यस्ता गुनासा नसकिएको भन्दै केशवले सुनाए, ‘इमान्दारको त कहीँ पनि रहेनछ जुनी।’
बाँकी केशवहरु कहाँ छन् त?
बेलाबेलामा हुने उनका कमरेडहरुसितको सम्पर्क पनि अचेल त टुटिसकेको छ। 
‘तिनका पनि हालत मेरो जस्तै छ। कतिपय ‘न्युट्रल’ (कुनै दलमा नलागी बसेका) छन्। र, आफ्नै रोजीरोटीको पासोमा अल्झिएका छन्,’ दीलिप, दिनेश, ढुंगाना र साभारलाई सम्झदै केशवले भने, ‘कुरेलीका साभारचाहिँ चिरानी गर्छन् (काठ चिर्ने)।’
प्रचण्डलाई ‘दुई पेग’ घरपाला रक्सी
युद्धकालमा प्रचण्डको ‘दुई पेग’ खुबै चल्तीमा थियो। कुनै मिडियालाई दिएको अन्तर्वार्तामा प्रचण्डले रक्सी ‘दुई पेग’सम्म पिउने भनेका थिए। दुई पेगको कुरा माओवादीको ‘मध्यम तह’सम्म फैलिएको थियो।
‘सीएमको रोल्पा बसाइको अन्ततिर कहिलीकहिली रक्सी ल्यायौँ। त्यो लोकल रक्सी हो,’ उनले भने, ‘तर, सीएमले खाएको भने देखिनँ।’
माओवादीले युद्धकालमा महिला उत्पीडन र गरिबीको कारक रक्सीलाई ठान्थ्यो। फलस्वप सर्वसाधारणका ‘तीनपाने’का घैँटा पनि फुटाइए। त्यसैले माओवादी कार्यकर्ताले थाहा नपाऊन् भनी प्रचण्डको व्यवस्थापन विभागको ‘माथ्लो तह’ले नै रक्सीको चाँजोपाँजो मिलाउँथ्यो।
‘रक्सी पाइन्छ? भन्दै गाउँमा जाने कुरा पनि भएन नि। ‘डाइरेक्ट माथि’बाट सप्लाइ भइहाल्थ्यो,’ उनले भने।
सेतो घोडामा प्रचण्ड
प्रचण्ड भेट्नेलाई चियापान र भेट्ने ठाउँ केशवकै टिमले मिलाउँथ्यो। तर, प्रचण्ड बस्ने सेल्टरदेखि टाढा।
राङ्सीको डाँडागाउँमा प्रचण्ड बस्दा भेटघाट पासाङको गाउँ भन्भनेतिर हुन्थ्यो।
अलि टाढा जान परे प्रचण्ड घोडा चढ्थे।
तीनवटा घोडा थिए। तिनका नाउँ थिएनन्। दुईवटा सेता थिए भने एउटा कालो। प्रचण्ड सेता घोडा चढ्थे।
‘अप्ठेरोमा मन नहुकेपछि कमरेडहरुले सीएम चढेको घोडाको कैजा समाएर डोर्‍याउँथे,’ उनले भने।
प्रचण्डलाई ककसले भेटे? कस्ता मान्छेले भेटे? र, तिनलाई चियामात्र खुवाए कि खाना नै? ती मान्छेका अनुहार र खानाका कुरा कमरेड केशवको आँखाबाट भागिसकेका छन्।
‘लेखेर राखेको भए हुन्थ्यो। तर, लेखेका चिज पनि कता हराए कता,’ उनले भने।
विदेशी नेता-पत्रकारले भेटेको पनि उनलाई याद छैन।
‘हो, विदेशी त आउँथे। रिमको आन्रे कि के नाउँको आएका थिए,’ उनले सम्झन कोसिस गरे।
‘लोसेबाङमा पाहुनालाई सुताउन पलङ व्यवस्था गरेका थियौँ। तर अटेनन्। त्यसबेला अर्को एउटा विदेशी पाहुनाले प्रेसर कुकरमा २० मिनेटसम्म पानी उमाल्न लगायो,’ दोस्रोपालि खारा हान्नुअघि र पछिको उक्त घटना सुनाउँदै केशवले भने, ‘चारैतिरबाट सेनाले घेरा हाली चाप पारेपछि ती विदेशी पाहुनालाई पनि जंगलको बाटो हिँडायौँ। रुखपात नभनी सिंधै हिँड्थे ती त। बरमुस्किलले तिनलाई पाखापानीको गोठीखोलासम्म पुराइम्।’
खाना खाँदै गर्दा वा पकाइरहेका बेला भागेका थुप्रै घटना छन्, उनीसित। तर, प्रचण्डसित बस्दा भने होइन।
‘खारा हारेपछि हतार गरेर हामी भागेको होइन। तर,चारैतिरबाट सेनाले घेरा हाल्दै आएपछि सेल्टर फेर्‍यौँ, छुरपत्ताल भागेको होइन।’
रोल्पाको राङ्कोट, तालाबाङ र राङ्सीमा प्रचण्ड महिनौँ बसे। एक हप्ताजस्तो त रोल्पाको धेरै ठाउँमा बसे।
सोना मन्सुलीको भात, लोकल भाले र खसीको मासु
एचक्यूको खानाको अनुहार कस्तो हुन्थ्यो होला? माओवादी कार्यकर्ता र सर्वसाधारणका लागि रहस्यमै रह्यो। 
नेतृत्व नबचे क्रान्तिको के हालत होला? यस्तै भन्दै नेतालाई माया गर्न प्रशिक्षणमा कार्यकर्तालाई प्रेरित गरिन्थ्यो।
नेता र कार्यकर्ताका खानामा फरक त माओवादी जनयुद्ध थालनीअघि नै थियो। यसैलाई व्यंग्य गर्दै रोल्पाको पाछाबाङमा सम्पन्न माओवादीको केन्द्रीय प्रशिक्षणमा रुकुम–१ का सांसद् खड्गबहादुर बुढा मगरले भनेका थिए, ‘नेता र कार्यकर्ताले खाने मासुभात फरक। तर, चलाउने डाडुपन्यु एक।’
त्यो कार्यक्रम जनयुद्ध थालनीअघि भएको थियो। 
यसरी अलिअलि मेसो पाएका पुराना कार्यकर्ताले एचक्यू त नेताका पनि ‘नेता’ भएकाले खाना विशेष हुन्थ्यो होला भनी लख काट्थे।
त्यसबेला एचक्यूमा सोना मन्सुली चामलको भात पाक्थ्यो।
‘सोना मन्सुली त्यसबेला महँगो थियो। अहिले त सबैले खान्छन् भन्छन्,’ रोल्पामा प्रचण्डले खाने चामल सम्झँदै केशव बोले।
भान्साबाट प्रेसर कुकरमा पाकेको भात र तरकारी बोकेर प्रचण्डको सेल्टरमा लान्थे। थालमा पस्कन्थे। खाइसकेपछि थाल तान्थे। 
‘बचेपछि हामी पनि सीएमकै लागि पकाएको भात खान्थ्यौँ। हामीले खाने र सीएमले खाने खानामा भिन्नता भनेको प्रेसरकुकर र डेक्चीमा पकाएको मात्र हो।’
प्रचण्डको सुरक्षार्थ एउटा सेक्सन तैनाथ थियो। तर, सेक्सन भनिए पनि झण्डै १५-१६ जना जनमुक्ति सेना खट्थे।
तिनका खाना पनि केशवकै विभागमा पाक्थ्यो।
000
‘तरकारीमा सबैभन्दा बढी त मासु पाक्यो होला। खसी र लोकल कुखुरा,’ उनले भने, ‘बाहिर फर्मेसन (जनमुक्ति सेना) का साथीहरुका लागि जस्तो केन्द्रीय कार्यालयमा गाई काट्ने कुरा भएन।’
प्रचण्ड दम्पती मासु पारखी भने थिएनन्।
‘तरकारीको समस्या हल गर्न पनि मासु वाध्यता थियो,’ उनको आँखाबाट अलप हुन थालेका ती दिन सम्झेर भने, ‘हरियो साग पाक्थ्यो। नास्तामा हलुवा, पुलाउ र रोटी पकाउँथ्यौँ। कागती चिया पकाउँथ्यौं।’
गाउँ डुल्न र जनतासित घुलमिल हुन मनपर्ने भएकाले खसी र भाले खोज्न कमरेड केशव आफैँ हौसिन्थे। कहीँ तौलेर किन्थे भने कहीँ मोलेर। 
‘मोल्ल्वा हो। झिन्वा साइडतिर तौलमा पनि किने। त्यसबेला भाले दुई सय ५० रुपैयाँ किलो थियो।’ सीएम राङ्कोटमा बस्दा उनी खसी र भाले खोज्न उनकै गाउँ भालुकोट, दाउनीभीर र जैपा जान्थे।
‘त्यसबेला ठूलो भालेको मोल १२ सयभन्दा माथि थिएन। अहिले त दुई हजारमा पाउँदैन। त्यसबेला खसी त ८-१० हजारसम्मको खाइयो। लास्टतिर चाहिँ अलि महँगो भएको थियो।’
खसी र भाले प्रचण्डका लागि हो भन्ने कुरा वरपरका जनमुक्ति सेनालाई त थाहा थिएन भने कार्यकर्ता र गाउँलेले थाहा पाउने कुरै भएन। अध्यक्ष प्रचण्ड बसेका छन् भन्ने नै थाहा हुँदैनथ्यो। 
कम्ब्याट ड्रेस लगाएर भाले र खसी किन्न गएपछि चल्तीको मूल्य पाउँथे त गाउँलेले? ‘गाउँलेले किन्ने मूल्य भन्दा बढी नै हालिन्थ्यो। त्यसो भएर पनि भाले पाइन्थ्यो नि। फेरि कम्ब्याट ड्रेस देख्दैमा गाउँलेले आफ्नो मूल्य छाड्दैनथे।’
‘भान्सामा प्रायः मेडम (सीता) आउनुहुन्थ्यो। बाहिर सुनेजस्तो सारो कचकचे होइन। सुझावका रुपमा खाना यसरी पकाउने, उसरी पकाउने भन्नुहुन्थ्यो। यसैलाई कचकच त नभनौँ,’ भान्सामा आउने प्रचण्ड परिवारका सदस्यबारे सम्झदै उनले भने, ‘कम्प्युटरमै बिजी देखिने प्रकाश पनि कहिलेकाहीँ भान्सामा घुम्न आउनुहुन्थ्यो।’
प्रचण्डलाई मासु काट्न रहर लाग्थ्यो। खसी काट्दा प्रचण्ड भान्सामा आउँथे। आफैँ काट्न कस्सिन्थे। ‘मासु काट्न उहाँलाई रहर लाग्छ रे। त्यसैले खसीको मासु काट्नु हुन्थ्यो। हामीसित गफिँदै सीएमले घोरनेटीको तुसारापानीमा खसी काट्दाखेरि भन्नु भएको थियो, ‘मलाई सानैदेखि मासु कटिङ गर्न रहर लाग्छ।’
रोल्पामा प्रचण्ड पल्टन
अध्यक्ष प्रचण्डसित ३०-४० जना भन्दा बढी जनमुक्ति सेनासहितको दलबल हुन्थ्यो। 
जस्तोः
– प्रचण्ड, पत्नी सीता र छोरा प्रकाशसहित केही केन्द्रीय सदस्य।
– सुरक्षाका लागि खट्ने जनमुक्ति सेनाको सेक्सन।
– व्यवस्थापन विभागका सदस्य।
– सुरक्षाको प्रमुख जिम्मेवारी लिएका पासाङ र उनका अंगरक्षक।
– त्यसभन्दा बाहिरी घेरामा जिपिएमजी र एलएमजी ग्रुप।
तर, यो दलबल सँगसँगै र एउटै बाटोबाट कहिल्यै हिँड्दैनथ्यो। जाने ठाउँ छानेपछि आआफ्ना ठाउँमा ‘आर्क’ बनाएर बस्थे। 
‘प्रचण्डसित बसेका कतिपय ठाउँमा अहिले पनि जान्छु,’ यति भनेपछि प्रचण्ड बसेका ठाउँका अनुहार अहिले पनि नफेरिएको सम्झिई भावुक केशवको सावँलो अनुहार अप्ठेरो देखियो।
‘घोरनेटी साइडतिर अनि राङ्सी र हाम्रो गाविसका कोरल, पनेरा, निमाङ गएको छु। अन्त त जान मन भए पनि जान पाएको छैन।’
प्रचण्ड ‘सेल्टर’को अनुहार
चरणचरणमा नापजाँप गरी प्रचण्ड बस्ने ठाउँ र घर छानिन्थ्यो। सुरक्षाको आँखाले बाह्रपालि नापिन्थ्यो।
सुरुको चरणमा प्रचण्डको सेल्टर ‘अग्ला डाँडा या टाकुरा’ रोजिए। वारिपारि नजर डुलाउन र फोन सम्पर्कका लागि अग्ला डाँडा र टाकुरा छानिए।
पछिल्लो समयमा सेनाले हवाइ आक्रमण चर्कायो। त्यसपछि भने अग्ला डाँडा र टाकुराबाट सेल्टर खोल्सा र लुकालो ठाउँ रोज्जा भए।
ठाउँको पालो सकिएपछि सेल्टर लिने घरको पालो आउँथ्यो। खासगरी घरको अनुहारको।
ढुंगाले छाएको घर रोजाइमा पर्थ्यो। यसको कारण थियो, खरले छाएको घरमा आगलागी हुने खतरा।
प्रचण्डको सेल्टरका लागि रोजाइमा परेका कतिपय घर खाली हुन्थे भने कतिपयमा घरमालिक बसिरहेका।
प्रचण्ड रोल्पामा बस्दासम्म खरले छाएको घरमा बसेनन्। 
घर छानिसकेपछि घरछेउमा बंकर र सुरुङ खन्थे। बंकर र सुरुङ खन्ने चलन भने शाही सेनाले हवाइ आक्रमण थालेपछि चलेको थियो।
प्रचण्डको सेल्टर बन्ने घरले ‘रुप’ फेर्थ्यो। 
जस्तोः
– रङरोगन हुन्थ्यो। 
– घरछेवैमा अस्थायी ट्वाइलेट बन्थ्यो।
– सुत्नलाई खाटको व्यवस्था हुन्थ्यो।
– कोठाको भित्ता र सिलिङले सेतो कपडा ओढ्थे ता कि कोठा उज्यालो र सफा देखियोस्।
‘देशको बारेमा चिन्तन गर्ने नेतालाई राम्रै ठाउँमा बसालौँ भन्ने हुन्थ्यो। त्यसैले सेतो कपडाले सेतै पार्थ्यौँ।’
केशवकै टिमले प्रचण्डको सेल्टर ठाउँठाउँमा बनाउँथ्यो ता कि अप्ठेरो परे धेरै विकल्प बचून्।
अर्कोतिर धेरै सेल्टर बनाउँदा माओवादीको भाषामा ‘दुश्मन’लाई झुक्याउन पनि सकिन्थ्यो।
‘सेल्टर धेरै ठाउँमा बनाउँथ्यौँ, जाने ठाउँबाहेक चार-पाँच ठाउँमा। हामीले नसोचेको ठाउँमा पनि बड्डा (प्रचण्ड) बस्थे।’
पासाङ प्रायः टेन्टमै बस्थे।
‘हामी भने भान्सामै सुत्थ्यौँ,’ उनले भने।
१२ बुँदे तुइनमा दिल्ली हुँदै प्रचण्ड काठमाडौंमा
प्रचण्डको ‘सहज’ सहर–यात्राको साइतसँगै ‘संकटकाले’ भान्से कमरेड केशव रोल्पामै छुटे। कमरेड प्रचण्ड दिल्ली पुगे।
२०६२ मंसिर ७ गते माओवादी र कांग्रेस–एमालेसहित सात संसदवादी दलबीच १२ बुँदे सहमति भयो। त्यै १२ बुँदेको बाटोहुँदै प्रचण्ड काठमाडौं पुगे।
नयाँ बजारहुँदै लाजिम्पाट बसे। र, दुई पटक बालुवाटार पसे।
केशव भने प्रचण्डले छाडेको रोल्पाको एचक्यू रुँगेर एक वर्षसम्म बसे। रुँगेका सामान सरकारलाई बुझाएपछि बल्ल आफ्नो गाउँ भालुकोट गए।
‘प्रचण्ड तालाबाङको दाबाङबाट सहरतिर लाग्नुभयो। प्रचण्डका लागि खाना पकाउने सामानदेखि ओढ्ने ओछ्याउने, प्राविधिक सामान, कागजात, प्रमाणिकरण नगरेका हतियारसम्म रुँगेर कार्यालयमै एक वर्ष बस्यौँ।’
अचेल केशव भालुकोटमै ‘साँझ खाए बिहान के खाने र बिहान खाए साँझ के खाने’को गर्जो टार्न र छोराछोरीलाई कसरी पढाउने तनावमै ‘तलमाथि’ गर्छन्।
प्रचण्ड पुष्पकमल दाहाल भए भने कमरेड केशव मोहवीर विश्वकर्मा।
त्यसपछि जनयुद्धकालमा एउटै भान्सामा पुगेका प्रचण्ड र केशव क्रमशः ‘परम्परागत’ बाहुन र कामी भए।
कमरेड केशवले खुवाएका कमरेड प्रचण्ड ‘प्रधानमन्त्री पुष्पकमल दाहाल’ भए। एकपालि होइन, दुईपालि।
प्रधानमन्त्री दाहाललाई मोहवीरले देखे। भेटे। लालसलाम पनि गरे। तर, दाहाल निवासमा (नयाँ बजारमा हुँदा या लाजिम्पाटमा हुँदा या दुईपालि बालुवाटारमा हुँदा) उनले पाइला टेकेनन्।
अहिलेसम्म एकपालि सीएमलाई भेटौँ न भन्ने तिर्खा पनि लागेको छैन।
‘प्रचण्डप्रतिको श्रद्धा पुष्पकमल दाहालमा नसरेर हो कि किन?’ उनी आफैँ अचम्मित छन्।
‘हुन त हामी भेट भइरहन्छम् कार्यक्रमहरुमा। तर, कुराकानी हुन्न। अहिले त चिन्नुहुन्न जस्तो लाग्छ। कार्यक्रममा आउनु हुन्छ। मन्चमा बस्नु हुन्छ। जानुहन्छ,’ उनले भने। 
रोल्पाबाट छुटेको प्रचण्ड र केशव कुनै दिन फेरि एउटै भान्सामा पुग्लान्?
केशवले गोरीचौरबाट प्रचण्डसित बसेको डाँडागाउँ हेरे। निमाङ, कोरल र पनेरा हेर्न खोजे। देखिएन। ती ठाउँका अनुहार उस्तै थिए जस्तो उनको थियो।
त्यसपछि उनले सिएमलाई पकाएर खुवाउने सम्भावना झल्याकझुलुक पनि देखेनन्। भलै उनी अहिले पनि दाहाल माओवादीमै थिए,छन्।
‘शान्ति भएपछि त एचक्यूमा सिएमसित सँगै बस्न पाउने कुरै भएन। ...लिबाङमा भेट हुँदा मेडम (सीता दाहाल) सँग हल्का कुराकानी भएको थियो। कहाँ हुनुहुन्छ? के गर्दैहुनुहुन्छ? भन्नुभयो। उहाँको छोरा (प्रकाश)सँग राङ्कोटको साङ्रा खोलामा सिएम विद्युतको उद्घाटन गर्न आउँदा कुराकानी भयो। उहाँले कहाँ हुनुहुन्छ, के गर्नुहुन्छ, काठमाडौं आउँदा भेट्नुहोला भनी फोन नम्बर दिनुभयो। त्यसपछि पनि धेरैपालि काठमाडौं गएँ। तर, उहाँहरु ‘धेरै बिजी हुनुहुन्छ’ भनी भेट्ने प्रयास गरिनँ।’
पुत्र प्रकाशसित कहिलीकसो हुने फोन सम्पर्क पनि अचेल बन्द छ।
‘कमरेड (प्रकाश) ले सगरमाथा चढेयता सम्पर्क छैन। गाईफर्म खोलेको सुन्छु,’ उनले भने।
प्रचण्डलाई खुवाउँदाका तीतामीठा कुरा उनले भुल्न लागिसके। खानेले नै भुलेपछि खुवाउनेको के कुरा! तैपनि एउटा घटनाचाहिँ उनले अहिले नि सम्झन्छन्। त्यो हो, दहबाङमा प्रचण्डदम्पतीले हिउँ खेलेको।
रोल्पाको थबाङ र रुकुमको लाबाङ गाउँको बीचमा अवस्थित दहबाङमा प्रचण्ड टोली बास बसेको थियो। राति हिउँ पर्‍यो।
‘साँझ सुँगुर काटेर खाइम्। राति त हिउँ परिहाल्यो। बिहान सिएमले आफ्नो जहान (सीता) सँग हिउँ खेल्नुभयो। त्यो रमाइलो लाग्यो। अरु त केही पनि छैन सम्झने कुरा,’ उनले भने।
from nepalkhabar

No comments:

Post a Comment