२०७६ बैशाख ७ शनिबार ०९:१०:०० | काठमाडाैं
लाहुरे भेना गए । तर, गीतविनै गए ।
रोल्पाको सुदूर गाउँ जैपाबाट मलामी पाछाबाङ खोला र चुनबाङ खोला दोभानछेउको घाट झरे । बिप्पे दमाहा तालमा (मान्छे मरेको जनाउ दिएर मलामी बोलाउन र घाट लैजाँदा बजाउने दमाहाको ताल) चोयाको एक छेउमा आधाजति चिरेको कापमा बाटो(कात्रो) च्यापेर हातमा उठाएका मलामी थिए । लगत्तै लाहुरे शव । शव पछि–पछि रुँदै हिँडिरहेका लाहुरेनी र आफन्त ।
लाहुरे परिवारजन र आफन्तका आँसु र तिनका गोडा सँगसँगै ओरालो ओर्ले, आँसुले निथ्रुक्क भिजेको अह्राउने (घाट लाने शोकगीत) गीतविनै । लाहुरे भेना गए । तर, गीतविनै । के जैपामा शोकगीत गाउने सकिएकै हुन्?