Sunday, May 26, 2019

शोकगीतको शोकमा

२०७६ बैशाख ७ शनिबार ०९:१०:०० | काठमाडाैं

लाहुरे भेना गए । तर, गीतविनै गए । 

रोल्पाको सुदूर गाउँ जैपाबाट मलामी पाछाबाङ खोला र चुनबाङ खोला दोभानछेउको घाट झरे । बिप्पे दमाहा तालमा (मान्छे मरेको जनाउ दिएर मलामी बोलाउन र घाट लैजाँदा बजाउने दमाहाको ताल) चोयाको एक छेउमा आधाजति चिरेको कापमा बाटो(कात्रो) च्यापेर हातमा उठाएका मलामी थिए । लगत्तै लाहुरे शव । शव पछि–पछि रुँदै हिँडिरहेका लाहुरेनी र आफन्त । 
लाहुरे परिवारजन र आफन्तका आँसु र तिनका गोडा सँगसँगै ओरालो ओर्ले, आँसुले निथ्रुक्क भिजेको अह्राउने (घाट लाने शोकगीत) गीतविनै । लाहुरे भेना गए । तर, गीतविनै । के जैपामा शोकगीत गाउने सकिएकै हुन्?

लाहुरे भेना
गाउँमा कोलबोटे काकुलाई बिरालोजुँगे भनी बोलाउँथे भने चुनबाङी भिउराज सम्धीलाई चुङचुङे । ओखरबोट काइँला भेनालाई स्याउला बाङ्ङे । यस्तै नाउँ थियो, लाहुरे भेनाको पनि । होइन भने, फुपूले त जेठा छोरा लाहुरेलाई गंगु भनेर बोलाउँथिन् त कान्छा भिरपाटेलाई रणु ।
लाहुरे भेना न मलाया लाहुरे थिए न भारतीय न त नेपाली । लाहुरे थिएनन् । तैपनि, कसरी उनको नाउँ लाहुरे रह्यो ? अलग्गै किस्सा थियो । 
गाउँमा कसै–कसैका बोलाउने र नागरिकते नाउँ फरक हुन्थे । बोलाउने कतिपय नामकरण त साथी–संंगीबीच ठट्टैठट्टामा हुन्थे । 
गाउँलेले कालापार (भारत) गएर मात्र आफ्नो मनको नाउँ राख्थे । जस्तो कि, काकुको कालापारे नाउँ दिलबहादुर गोर्खा थियो भने हलहले दाइको रामबहादुर गोर्खा । हाम्रोतिरका धेरैजसो हिमाचल र गढवालमा काम गर्न जान्थे । र, तिनले ‘सर नेम’चाहिँ गोर्खा राख्थे । 
रुकुम चुनबाङबाट जैपा ‘देश’ आएका रामजाली पुन थिए, लाहुरे भेना । (बसाइँ सर्नुलाई गाउँतिर ‘देश जाने’ भन्छन् ।)
सत्तरीको घरमा पस्न उनलाई केही वर्ष बाँकी हुँदो हो । आमा–छोरा भेट हुन्छन् कि हुँदैनन् ? थाहा छैन । तैपनि लाहुरेनीलाई विश्वास थियो, ‘राख्या रैछन् । हेर कान्छा ! तेर् भेना
त गए आमा भेट्न । जे भे नि, पाटीफूल लाएका जेठा छोरा हुन् !’
जेठो छोरो जन्मँदा आमा–बा शिरमा दुबो र पाटी सिउरिदिने चलन छ । लाहुरे भेना जेठा थिए । र, आमा बितेको एक वर्ष पुग्दैथियो । 
लाहुरे भेनाकी आमा माहिला बाजेकी छोरी अर्थात् फुपू थिइन् । घाम नलाग्ने सियालामा घर थियो । त्यसैले, उनलाई बोलाउँदा ‘सेला फुपू’ भन्थ्यौँ । 
गाएर पठाउने जैपाकी अन्तिम मान्छे उनै सेला फुपू थिइन् । 
पैसरी नाचको अगुवा वा गुरु हुन्थे भने लाहुरे भेनालाई घाट पठाउन मादल, झ्याली, डौरी र पैजन पनि मलामी थपिन्थे । जैसी हुन्थे भने बाटोभरि नै पात्रो फिँजिन्थे । 
लाहुरे भेनालाई पठाउन दमाहा र आँसु मात्र थिए ।
लाहुरेलाई बिदा गर्दै रोइरहेकी लाहुरेनीलाई आफन्तजन सम्झाउँदै थिए, ‘छाती पहर बनाऊ । एक दिन सबैलाई लाग्ने घाउ हो । सम्हाल ।’ तर, सम्झाउनेहरू नै नसम्झेजसरी रोइरहेका थिए ।
लाहुरेनी रुँदै सोध्दै थिइन्, ‘पहिला मलाई पठानू भन्या थेँ । तिमी किन पहिला गयौ ?’
खरले घर छाउँदा दाँती लाउने (छानोको जग) उनै थिए । मेलाभेलामा गरिने खानपिन र बोलीचालीमा चाँजोपाँजो मिलाउने उनै थिए । एक बोतल तीनपाने वा डल्लीभैँसीको मोही (जाँड) २०-३० जनालाई कसरी (एकेक तुर्का नै सही) पुर्‍याउने ? आधा किलोजति पकाएको मासु कसरी सबैलाई पुग्ने गरी बाँड्ने ? लाहुरे भेनासँगै घाट पुगेको थियो, गाउँ र समाजलाई चाहिने यी बुटी पनि । 
घाटबाट फर्कंदा गाउँले भन्दै थिए, ‘मरुभरु(जन्ममृत्यु) र सलभल (गाउँमा हुने जमघट) अब कसरी टार्ने होला?’
पहिले जैपाली मगर र क्षेत्रीले गाड्थे, आ–आफ्ना चिहानघाटमा । ‘सरकारी हिन्दूकरण’सँगै गाड्ने चलन जलाउने घाट पुगेको थियो । 
लाहुरे भेना सेला फुपूपुत्र थिए । मगर साइनोअनुसार फुपूपुत्र आफूभन्दा जेठो भए भेना त कान्छो भए ज्वाइँ साइनो लाग्छ ।
लाहुरे भेनाका भाइ भिरपाटे भेना । भिरपाटे भेना ‘जनयुद्ध’मा कमरेड ऋषि भए । माओवादीले रोल्पामा गर्ने ठूला सभा र जनमुक्ति सेनाका तालिममा व्यवस्थापन चाँजोपाँजो उनैले मिलाए । माओवादीकाे चकलेट उद्योग पनि चलाए । 
लाहुरे भेना र भिरपाटे भेना दुई दाजुभाइ अंशबन्डा नगरी सगोलमै बसेका थिए । 
उनको घर माओवादी ‘सेल्टर’ थियो । भेनाको घरबाट पन्ध्र पाइला पश्चिम हिँडेर रपापातल पुगिन्थ्यो । त्यसैले पनि सुरक्षित सेल्टर मानिन्थ्यो । रोल्पा–रुकुममा ‘जनयुद्ध’ जग खन्ने रामबहादुर थापा बादल त्यही सेल्टरमा बस्थे ।
सिज (सिस्ने र जलजला) मितेरी अभियान चलाएपछि त बादल ‘भाउ’ ह्वात्तै बढेको थियो । बादलको बोली, कपालको स्टायल, उठाइबसाइजस्ता हाउभाउ कार्यकर्ताले नक्कल गर्न थालेका थिए । माओवादी पार्टीभित्र बादल थिए भने बाहिर बाबुराम भट्टराई । माओवादी सुप्रिमो प्रचण्डले आफूलाई न पार्टीभित्र देखे न त बाहिर । कहीँ देखेनन् । त्यसैले प्रचण्डले पहिलो ‘थ्रेट’ बादललाई देखे र कारबाहीको पहिलो ‘सिकार’ बादललाई बनाए । बाबुरामलाई धेरै पछि मात्र कारबाही गरे ।
पक्का ‘रोल्पाली मगर’जस्तै इमानदार र सोझा, भिरपाटे भेना । उनले हेर्दाहेर्दै टाठाबाठाले ‘पद र सम्पत्ति’ कुम्ल्याए । युद्ध सुरु हुनुअघिदेखि सारा दुःख बेसाएका भेना भने हेरेको हेर्‍यै । 
गाउने र गीतजसरी रुने र आँसु सकिए के होला ? रुदालीकरण विस्तार हुन थालेको यस घडीमा समवेदना समाप्त भए के होला ? गीतजसरी आँसु र रुने चलन हराए समवेदना कहाँ वास बस्ला ? गम्नुस् त, त्यसवेला कस्तो होला हाम्रो जीवन र समाज ? कसरी मलाम जालान् मलामी ?
शोकगीत 
सेला फुपू थला नपर्दासम्म त आँसुगीतले (पहिले चिहानडाँरा त पछि स्यानीगारको घाट) मलामी निथु्रक्क भिज्थे । शोकमग्न परिवार र नातेदारलाई भिजाउने त्यो गीत त सय
साउनबराबर थियो । हेर्दाहेर्दै गीतको बाटो भएर आँसु चुनबाङखोला बग्थ्यो । लाग्थ्यो, यो दुनियाँमा योभन्दा विरही गीत अरू सायदै होला !
मान्छे सास फेर्न छाडेपछि घरमा र घाट लग्दा पनि गाउँथे । शुद्धो नहुँदासम्म ‘ठाट रुवाउने’ भन्दै मृतक सुतेको ठाउँमा साँझपख गाउँथे । 
छिमेकी भेला हुन्थे, रातमा । भन्थे, ठाट सुत्ने । झुस्से रुवाउने (शुद्धो हुनुभन्दा अघिल्लो दिन काट्ने भाले, बाख्रा वा राँगा) वेला पनि गाउँथे । 
मैले थाहा पाउँदा जैपामा सेला फुपू, माइली बोई, माइली सान्जी मात्र थिए, गाउने । बाँकीले गला गाँस्थे । सबैभन्दा पहिले माइली बोई गइन् । त्यसपछि माइली सान्जी । अन्तमा सेला फुपू । एउटी मात्र जीवित हुन्थे भने त लाहुरे भेना जाँदा गाउँथे होला–
...आजबट सेउरे (भूतजस्तो) भइस्, हुँ ऽऽऽ
सम्झेपानी गएस्, हुँ ऽऽऽ
सम्झेपानी खाएस्, हुँ ऽऽऽ
तेरो ज्हान परिवार सप्पैलई सम्झेस्, हुँ ऽऽऽ
बिर्सेपानी गएस्, हुँ ऽऽऽ
बिर्सेपानी खाएस्, हुँ ऽऽऽ
तेरो कुलकुलामी, ज्हान परिवार र इष्टमित्र सप्पैलई बिर्सेस्, हुँ ऽऽऽ ।
‘बिर्सेपानी पुगेर सबलाई बिर्सेस्’ भनेपछि लाहुरेनी झन् भक्कानिन्थिन् होला । 
बस्, लाहुरे भेना घुमेका ठाउँ, उनको परिवार र आफन्तसम्मका कुरा आँसु तालमा उनेर गाउँथे होला । तर, लाहुरे भेना त गीतविनै गए । मौखिक ज्ञान उत्पादन र हस्तान्तरण बारी बाँझिएकै हो त ?
पूर्वी रुकुम कुनो मैकोटी आँधीसँग खेल्दाका लेखक अजयशक्ति (सुरुल पुन)का अनुसार सम्झेपानी म्याग्दीमा पर्छ भने बिर्सेपानी बाग्लुङमा । सम्झेपानी र बिर्सेपानीबीच यस्तै एक दिनको पैदल दूरी होला । 
प्राण गएपछि र चिहानमा नसेलाउँदासम्म गाउने शोकगीतलाई मैकोट र हुकामतिर ‘लाह्वैसिने’ भन्छन् । शुद्धोपछि नानीलै भाकामा गाउँछन् । 
मैकोट र हुकामतिर झोर्बे (चोखिने ठाउँ)मा झुस्से काट्नेवेला नि गाउँछन् । 
पूर्वी रोल्पा उवाका कवि प्रेमप्रकाश मायालु भन्दै थिए, ‘हाम्रो गाउँ अहिलेसम्म त शून्य भएको छैन । तर, नयाँले सिकेका छैनन् । मर्दाखेरि गीत अनिवार्य छ ।’
उवामा शोकगीतलाई बाटो खुलाउने भन्छन् त जैपामा अह्राउने। पूर्वी रुकुमकै तकसेरातिर क्यारमा भन्छन् भने मैकोट र हुकामतिर लाह्वैसिने । 
‘हाम्रो गाउँ सेरामा गाउनेजति त सबै सकिए । तकबाट पो गाउने बोलाएर ल्याए,’ फिल्म ‘लोम्बा’ निर्देशक अनिल बुढा मगरले सुनाउँदै थिए, ‘जानेका गइसके । बचेका कति मुसिकोट कति दाङ त कति काठमाडौं झरे । गाउँमा गाउने छैनन् ।’
अजयशक्ति, अनिल र प्रेमका गाउँमा केही घर दलित छन् । बाँकी खामभाषी मगर । मेरो गाउँ जैपा भने मिश्रित । जैपाको रङनाम, बाँस्कोट, बाँठाकोप्चा, ओखरबोट, चुनबाङी टोल, र पाडाँरा गरी विभिन्न टोलमा एक घर ठकुरी (चन्द) छन् भने बाँकी मगर (पुन, बुढा) र क्षेत्री (खड्का, दाहाल खत्री र ओली) ।
चैतको तेस्रो साता रुपन्देही उचडीहवामा सम्पन्न थारू साहित्यिक मेलामा कृष्णप्रसाद पौड्याल बोटे भाषा अध्ययनका लागि नवलपरासी कोल्हवा पुग्दाखेरिको घटना सुनाउँदै थिए, ‘कोही मरे कि, अर्को गाउँमा गाउने मान्छे बोलाउन जाँदा रहेछन् । गाउने ती आमै ७६ वर्ष लागेकी छिन् ।’ पौड्यालका अनुसार अल्पसंख्यक आदिवासी बोटे मर्दा शोकगीत अनिवार्य छ । तर, नयाँ पुस्ताका कसैले नि’ सिकेका छैनन् । 
रुवाइ रुदालीकरण
‘गाउँसे एक रुदाली बुला ल्या । बडेबडे घरमे मातम कर्ति न, व वाली । कमसेकम व तो रोएगी मेरे लिए । शोक मनाएगी मेरा ।’ 
आफूलाई लिन यमराजले ढिला गरेकोमा गुनासिएका राजस्थानी राज खानदान चरित्र निभाइरहेका अमजद खानले सहयोगीलाई भनेको रुदाली फिल्म संवाद अंश हो, यो । महाश्वेता देवीको कथा र कल्पना लाज्मी निर्देशित रुदालीले ‘मृत्युमा रुने सवालमा समेत रच्ने ढोङ’ देखाएर सामन्ती समाजको पर्दाफास गरेको छ । 
राजस्थानमा राज खानदानका ठूला घरानावाल मर्दा पैसा तिरेर रुने मान्छे ‘हायर’ गर्थे । यसरी रुने मान्छेलाई रुदाली भन्थे । 
लाहुरे भेनालाई सेलाएर फर्कंदा रोल्पाली एफएममा बजेका समवेदना विज्ञापनले सम्झाएथे, रुदाली । कुनै वेला गाउँतिर मरेको धनी हो या गरिब भनेर चिन्नलाई बाटो (कात्रो)हेर्थे । गरिब मरे बाटो छोटो हुन्थ्यो भने धनी मरे लामो । अहिले भने कति शक्तिशाली मिडियामा कति धेरै समवेदना प्रकाशित–प्रसारित भए भन्ने अर्को मापन थपिएको थियो जुन सहर हुँदै गाउँ पनि बहुराष्ट्रिय पुँजीवादी बजारीकणको रुदालीकरण संकेत थियो । र, यसलाई समृद्धि रटानले उकेरा लाइरहेको थियो । 
कहिलेकसो सोच्छु, किन गीत तालमा जाने चलन चल्यो होला ? परिवार र आफन्त मन राख्नलाई कि ? (किनकि नेपाली समाज त सामन्तवाद र पाप–पुण्य तथा पुनर्जन्मजस्ता कुरामा अन्धग्रस्त छ ।) मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नलाई हो कि ?
(जे भए पनि, आदिवासी जीवन थाल्ने र बिट मार्ने गीत रहेछ । थाहा छैन, अन्य मुलुकका आदिवासी जीवनशैलीमा यसरी नै गीत आउँछ कि आउँदैन ?) शोकगीतमा के होला सामाजिक मूल्य ? समाजशास्त्रीय अध्ययनले के भन्छ ? गाउँदा र नगाउँदा (जैपामा नगाएरै लान थाले) फरक नपर्ने भए किन गाए होलान् ?
जैपामा अहिले नि’ मेरा प्रियजन ‘माथि’ जान छाडेका छैनन् । (उसैगरी आउने नि’ जारी छ ।) जानेका यादमा परिवार र आफन्तजनले रुन पनि छाडेका छैनन् । तर, (गाउनेजति माथि लागेपछि) जानेहरू गीतविना नै जान थालेका छन् । गाउँ शोकमग्न छ, शोकगीतको शोकमा । 
गीतिविनै जैपाबाट मलामी रुँदै घाट पुग्छन् । किनकि, गीत गाउने मान्छे र गीत सकिए नि’ परिवार र आफन्तको आँसु सकिएको छैन । 
ए साँच्ची, गाउने र गीत जसरी रुने र आँसु सकिए के होला ? रुदालीकरण विस्तार हुन थालेको यस घडीमा समवेदना समाप्त भए के होला ? गीतजसरी आँसु र रुने चलन हराए
समवेदना कहाँ वास बस्ला ? गम्नुस् त, त्यसवेला कस्तो होला हाम्रो जीवन र समाज ? कसरी मलाम जालान् मलामी ? 
from Nayapatrika

No comments:

Post a Comment