Tuesday, January 14, 2020

पृथ्वीनारायणले काठमाडौंमा किन बसाले मगरबस्ती ?

२०७६ पौष २६ शनिबार ०८:५०:००
कोतपर्वमा कप्तान रणध्वज रानाको पनि रगत बग्छ । राणाले ‘कप्तान राना सम्पत्ति’ हर्छ । कप्तानपत्नी बालबच्चा च्यापेर वनारसिन्छन् । वनारसमा दुःखजिलो गरी बालबच्चा पढलेख गराउँछिन् । कोतपर्व रगतबाट सिंहासित जंगबहादुर राणा बेलायत पुग्छन् । एकछत्र राजवाला जंगबहादुरलाई संसारै राज गर्ने अंग्रेजी आफ्ना शाखासन्तानलाई पढाउने तिर्खा लाग्छ । कुइरे मास्टर साथ लिई जंगबहादुर फर्कन्छन् । ‘सिओडब्लु काउ’ पढाउँछन् । तर, ‘काउ’ माने ‘गाई’ भन्ने बेलायती मास्टरलाई ‘थाहा मरु’ । जंगबहादुर राणा रन्थनिन्छन् । 

काउ माने गाई जानेको मास्टरखोजी सुरु हुन्छ । सात सरदार वनारस पुग्छन् । भेट्छन्, रणध्वजपुत्र गरुडध्वजलाई । राणा आदेश झर्छ, ‘जसरी भए पनि काठमाडौं ल्याऊ ।’ तर, रानाले प्रस्ताव अस्विकार्छन्, ‘मेरो बाबालाई मारेको ठाउँ फर्कन्नँ ।’सात सरदार सकसिन्छन् । लाख प्रयासपछि अन्तमा, गरुडले तीन ‘सर्त’ राख्छन्ः एक– हरेको सम्पूर्ण सम्पत्ति फिर्ता, दुई– मारिएका पिताको कप्तान पद मलाई, तीन– काठमाडौं पुग्दा सिन्दुर जात्रा । 
सर्त मन्जुर भएपछि राना फर्कन्छन् । लाल दरबारमा पढाउँछन् । चार कक्षापछि कहाँ पढाउने ? पाँच कक्षा पढाउन स्कुल खुल्छ, दरबार हाइस्कुल । ‘२०४२ सम्म त मलाई मगर हुँ भन्ने थाहा थिएन । लाङ्घाली गठन भएपछि बाबा (शान्तध्वज) मकवानपुर अध्यक्ष हुनुभयो । म पनि अभियानमा जोडिएँँ,’ कोतपर्वमा मारिने रणध्वज चेली एवं ललितपुर मगर महिला अध्यक्ष चाँदनी थापा भन्छिन् । पृथ्वीनारायण शाहले उपत्यका कब्जा गर्दा लड्ने सात काजीमध्ये एक हुन्, रणध्वज पुर्खा । ‘काठमाडौं कब्जा गरी फर्कन थाल्दा पृथ्वीनारायणले भनेछन्, ‘ह्याँ मेरो को छ र ? यतै बस,’ चाँदनीले आफ्ना पुर्खा काठमाडौंमा कसरी बसे भन्ने कहानी सुनाउँछिन्, ‘वसन्तपुर दमकलपछाडिको घर दिइएछ ।’

सेनापुत्र कृष्णकुमार राना जंगी जागिरमा नजोडिई कीर्तिपुर केन्द्रीय पुस्तकालयमा जागिरिन्छन् । साठी वर्षीय रानाका चार छोराछोरीमध्ये एक अमेरिका छन्, दुईले मास्टरी गर्छन् भने एक छोरी बैंकमा अधिकृत । ‘हाम्रा पुर्खा गोर्खाबाट नुवाकोट हुँदै वनस्थली बसेछन् । पुख्र्याैली घर गोर्खा त हो, तर कुन गाउँ ? थाहा छैन,’ राना भन्छन्, ‘पृथ्वीनारायणले बसालेको भन्छन् ।’ 

गायक रवि थापामगर स्टुडियोमा अन्जु पन्तलाई भन्दै छन्, ‘...मेरा सबै खुसीहरू बाटोभरि ओछ्याइदिन्छु ।’ पुर्खाको जंगी जागिरमा नजोडिई मगरगाउँले रवि गायन क्षेत्रमा छन् । पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका कब्जा गरेपछि रवि पुर्खालाई भैंसेपाटीस्थित मगरगाउँमा बसालेका हुन् । पुर्खा गोर्खा कुन ठाउँबाट आएका हुन् ? सेनाको कुन पदका हुन् ? लिखत छैन । मगरगाउँ नाउँका उपत्यकामा दुई गाउँ छन्, सानोठिमी र भैंसेपाटीमा । यी दुई गाउँका नाउँमा पुरानो बसपार्कबाट बस गुड्छन् । दुईमध्ये रवि भैंसेपाटीवाला मगरगाउँका हुन् । नाउँ नै मगरगाउँ नै नलेखिए पनि रैथाने मगरगाउँ भने उपत्यकामा दर्जन हाराहारी छन् । 
विद्रोह गर्न सक्ने कीर्तिपुर घेर्न मगरबस्ती 
मगर सेनाका रगत, पसिना र रहर साटेर गोर्खा राज्य बिस्तार काठमाडौं उपत्यकामा पनि विस्तार हुन्छ । काठमाडौंलाई राजधानी बनाउँछ । कब्जा गर्दै मगर सेना पूर्व पुग्छन् । सत्ताकब्जापछि पृथ्वीनारायणले काठमाडौं बचाउन पनि मगर सेना नै प्रयोग गर्छन् । त्यसका लागि उपत्यकाका सामरिक महत्वका ठाउँमा मगरबस्ती बसाल्छन् ।
गोर्खाली सेनाले कीर्तिपुरमा चर्को ज्यादती गर्छ । नाक काटेका क्रूर कुरा छन् । रोल्पा÷रुकुमतिर क्रूर नरसंहार सम्झाउन अहिले पनि ‘गोर्खा प-यो’ भन्छन् भने कीर्तिपुरमा के भयो होला ? कीर्तिपुरले विद्रोह गर्ने डरले होला, मगर सेनालाई पृथ्वीनारायणले कीर्तिपुरवरपर बसालेको देखिन्छ । ‘कीर्तिपुर वरिपरि मगर र क्षेत्री बस्ती छन् । चम्पादेवीदेखि लिएर वानस्थली, नैकाप झन्डै चारैतिर,’ कीर्तिपुरवासी लेखक राजेन्द्र महर्जन भन्छन् ।
टौदह, धोबीघाट, बल्खु, वानस्थली, मच्छेगाउँ, चोभार, मगरगाउँ, टौदह, नैकापका मगर रैथाने बस्तीले कीर्तिपुर झन्डै फन्को मारेका छन् । ‘हुन सक्ने कीर्तिपुर विद्रोह रोक्नलाई राखिएको हुनुपर्छ,’ बल्खुस्थित मगरगाउँले एवं अनुसन्धाता सनचन्द्र थापामगर भन्छन् । बल्खुमा बसालिएका मगर सेना गोर्खाबाट लडाइँ गर्दै पूर्व गएर फर्केका हुन् । ‘पूर्वबाट आएको भन्छन् । राजाले लालमोहर दिएर बसालेको हो,’ थापा भन्छन् । बल्खुमा अहिले तीस मगर घरधुरीसहित पृथ्वीनारायणले बसालेका बस्नेत, हमाल, सन्यासी, नगरकोटी र केही घर बाहुन पनि छन् । काठमाडौं र कीर्तिपुर जोड्ने मुख्य भाग बल्खु हो । त्यसैले पनि बल्खुमा मगरबस्ती बसालेको देखिन्छ । 
मगर कमान्डर र सेनाको साथले काठमाडौं सिंहासनमा पृथ्वीनारायण शाहलाई राज गराएको हो । ‘गोर्खा विस्तार’मा मगरबस्ती उजाडिएका छन् । उजाडिने क्रम दोहोरिन्छ, पहिलो र दोस्रो विश्वयुद्धमा पनि । 
त्यसैगरी, कीर्तिपुर र पाटन जोड्ने धोबीघाटमा मगरबस्ती छ । थानकोट भएर सीधै व्यापारी कीर्तिपुर पस्ने नाकावरपर वानस्थली, माटीखेल, नैकापजस्ता भागमा मगरबस्ती बसालिएको छ । ‘पृथ्वीनारायण शाहले यहाँदेखि त्यहाँसम्म भनेर जग्गा दिएर बसालेको रे,’ मगरगाउँले गायक रवि थापा मगर भन्छन् । मगरगाउँको पश्चिममा कुँवर छन्, पूर्वमा खड्का र बीच भागमा खत्री । अलि पर छ, नेवारबस्ती, सानो खोकना । झन्डै पचास घर मगर भएको वानस्थली बस्तीसँगै छन्, खड्का र कार्की पनि । 
३ 
राजधानी सुरक्षार्थ उपत्यका पस्ने मुख्य नाका थानकोटवरपरका वानस्थली, नैकाप, माटीखेलमा मगर सेनाको बस्ती बसालेको देखिन्छ । त्यसैगरी उपत्यका भित्री भाग धोबीघाट, बल्खु, धापासी तिलिंगाटार, मगरगाउँ आदि भागमा मगरबस्ती छन् । २५१ वर्षअघि भादगाउँ कब्जा गर्ने मगर सेनाका कतिपयलाई सानोठिमीमा बसाल्छन् । बस्ती नाम रहन्छ, मगरगाउँ । मगरगाउँबाहेक चाँगुनारायण, सिपाडोलमा पनि मगरबस्ती छन् । तिब्बतसँग हुने व्यापारमा व्यापारिक थलोको रूपमा परिचित साँगामा मगरबस्ती छ । 
सानोठिमीवाला मगरगाउँ, सूर्यविनायक, सिपाडोल, चाँगुनारायण, साँगा, गुन्डु, कौशलटार, भैंसेपाटीवाला मगरगाउँ, टीकाथली, लुभु, बाग्डोल, नखीपोट, धोबीघाट, चोभार, टौदह, मच्छेगाउँ, वानस्थली, माटीखेल, दहचोक, धापासी तिलिंगाटार रैथाने मगरबस्ती हुन् । उपत्यकामा बसालिएका रैथाने मगरबस्तीमा मुख्यतः थापा, राना र आले छन् । तिनैभित्रका इस्माली, गुर्माछान, बरई, मस्रांगी, फेवाली, भुसाल, सिंजाली, किङरिङ छन् । राजधानी मात्र होइन, भारतीयसँग जोडिएको सीमामा पनि मगरबस्ती बसालिएको छ । कञ्चनपुर चाँदनी दोधारामा बसालिएको पूर्वसैनिक चेली हुन्, खानेपानीमन्त्री विना मगर । त्रिवेणी र सुस्ताजस्ता सीमामा पनि मगर भूपू सेना बस्ती छ । 

भक्तपुर मगरगाउँमा करिब पैंतालीस घर थापा, आठ घर राना र पाँच घर आले छन् । ‘तीन सय पचास मत छ । जुन मत वडामा जिताउन र हराउन काफी छ,’ मगरगाउँका वासुदेव थापामगर भन्छन्, ‘अहिले कांग्रेसबाट राम थापामगर वडाध्यक्ष छन् ।’ मगरगाउँकी हुन्, नेमकिपा पूर्वसांसद अनुराधा थापामगर । थानकोट डाँडामुनि माटीखेलकी हुन्, प्रदेश सांसद रमा आले । पंैतालीस घरधुरी भएको अर्को मगरगाउँ अर्थात् भैंसेपाटी मगरगाउँसहित अन्य मगरबस्तीका मगर पनि राजनीतिमा संलग्न छन् । 

पृथ्वीनारायण शाहको फौज पुर्खावाल काठमाडौं रैथाने मगरबस्तीमा भर्ती घट्दो छ । बाहिरका मगर समाजमा जसरी बेलायती सेना र सिंगापुर पुलिस हुने चलन छैन । भारतीय सेनामा जाने चलन एकदमै कम देखिन्छ । यसैगरी, निजामती सेवामा जाने संख्या पनि एकदमै सानो छ । जग्गा बेच्दै घर बनाएर घरभाडा आम्दानी स्रोत बनाउने रैथाने मगर संख्या बढ्दो छ । अंशबन्डा हुँदै जाँदा जग्गा साँगुरिएका छन् । युवाहरू अष्ट्रेलिया, युके, अमेरिका, कोरियामा पुगेका छन् । 
जन्म, बिहे र मृत्युमा बाहुन बोलाउँछन् । राजधानीका रैथाने मगर पूरै हिन्दूकरण भएका छन् । हिन्दू शासक संस्कृति प्रभावले ‘मामाचेली बिहे’ चलन ठप्पप्रायः छ । 
उपत्यकाका रैथाने मगरका वंशावली छैन । बस्ती बसाल्दाका पुर्खा को र कुन पदका हुन् ? थाहा छैन । त्यसैले आफ्ना पुर्खा गोर्खाबाट आएको भन्ने थाहा भए पनि खोज्दै जाँदा कुन गाउँ हो ? पुग्न गाह्रो छ । अन्तर्जातीय बिहे थोरै देखिन्छ । धेरैजसो क्षेत्री र नेवारसँग भएको छ । रैथाने मगरबस्ती बसेका छन्, ठकुरी, क्षेत्री, बाहुनबस्तीसँग ।
मगर सिला बचेको छ, ‘छ्यामा’ र ‘छेवर’
काठमाडाैंका रैथाने मगरको ‘मगरनेस’ गुमाएका छन् । उनीहरूसँग न भाषा छ, न संस्कृति । मगर भाषा र संस्कृतिको ‘सिला’ खोजे भेटिने दुई चिज छन्, छ्यामा र छेवर । कसरी बचेका छन् ? अध्ययनको विषय छ । राज्यनीति नै एक भाषा र एक संस्कृति भएपछि मगरले आफ्नो संस्कृति र भाषा भुल्नु अस्वाभाविक होइन । सानीआमालाई छ्यामा भन्छन् । त्यसैगरी, तिनले छेवर गर्छन् । क्षेत्री–बाहुनको व्रतबन्धजस्तै हो, छेवर । कुलपूजाको रूपमा तिनले वराह मस्ट पुज्छन् । मगर थर क्षेत्री–बाहुन थरसँग जुधेर ‘पहिचान संकटमोचन’का लागि मगर अभियन्ताले आफ्नो थरको पछाडि ‘मगर’ लेख्ने अभियान चलाएका छन् । ‘थरपछि अनिवार्य मगर लेख्ने कुरा चलेको छ,’ भक्तपुर मगरगाउँका वासुदेव थापामगर भन्छन् । थापा, राना, घर्ती, बुढा, रेग्मी, भुसाल, बराल आदि थर बाहुनक्षेत्रीसित पनि मिल्छ । 
मगर इतिहास स्रोत नै लोककथन
मगर मूलथलो हिमाली भेग, उच्च पहाडी भेग र मध्यपहाडी भेग हो । जुन थलो क्रमशः काइके, अठार र बाह्र नाउँले चिनिन्छन् । क्षेत्रीबाहुनपछि नेपालमा फैलिएको मगर त छिमेकी भारतका सिक्किम र दार्जिलिङमा पनि छन् । आदिवासी मगर क्लस्टर राप्ती, लुम्बिनी, गण्डकी, धवलागिरितिर हो । मगरको भाषा छ । लिपि छैन । अन्य आदिवासीका जस्तै मगरको पनि लिखित इतिहास छैन । भन्छन्, ‘लिपिबद्ध नभएका जातिका किंवदन्ती र कथा मात्र हुन्छन्, ती नै आदिवासी इतिहास स्रोत हुन् । 
यामबहादुर पुन र झकेन्द्र घर्तीमगरले सम्पादन गरेको ‘मगर जाति’मा फटिकबहादुर थापा मगर लेख्छन्– पृथ्वीनारायण शाहले सन् १७६७ मा कीर्तिपुर, १७६८ मा काठमाडौं र एक वर्षपछि पाटन र भादगाउँ जितेका छन् । त्यसपछि गोर्खाबाट राजधानी काठमाडौं सार्छन् । पृथ्वीनारायण सेनामा मगर बाहुल्य भएकाले तिनलाई कीर्तिपुर, काठमाडौं, भादगाउँ र पाटन हान्दा मगर सेनाका परिवार काठमाडौंमा उपत्यकामा रहन थाल्छन् । 
पछिल्लो जनगणनाअनुसार ललितपुरको जनसंख्या ४ लाख ६८ हजार १३२ छ । त्यसमध्ये मगर जनसंख्या २१ हजार ९३४ (४.६८ प्रतिशत) छ । भक्तपुरमा ३ लाख ४ हजार ६५१ जनसंख्यामध्ये मगर ६ हजार ८३९ (२.२४प्रतिशत) छन् भने काठमाडौंमा १७ लाख ४४ हजार २४० जनसंख्यामध्ये मगर ७० हजार ८३ (४.०१ प्रतिशत) छन् । सरकारी तथ्यांक भन्छ– मगर जनसंख्या १८ लाख ८७ हजार ७३३ छ । यसको अर्थ हो, नेपालमा तेस्रो ठूलो जनसंख्या र आदिवासीमा पहिलो । जसमध्ये ४ लाख २५ हजार १३५ मगर मात्र आफ्नो मातृभाषा बोल्छन् । 
नेपालमा १२६ जातजाति र १२३ भाषामा ६ थपिएर भाषा संख्या १२९ पुगेको छ । मातृभाषी जनसंख्याका आधारमा मगर भाषा नेपालको सातौँ स्थानमा छ । ‘गोर्खा’ र ‘माओवादी’ विस्तारमा मगर रगत काठमाडौंमा मगर कहिलेदेखि बस्न थालेका हुन् ? मगर लेख्य इतिहास छैन । ‘शासक खलकीय इतिहास’ भरपर्दो छैन । तपाईंले भन्नुहोला, ताम्रपत्र र शिलापत्रमा लेखेको के हो ? त्यस्ता लेखोटमा भेटिने शासकस्तूति हो ।
रुकुम मैकोटका लजिम पुन सुनाउँछन्– रुकुम मैकोटका ‘र्‍हाङु पुन’ वंशावली रुकुमकोटे राजाले लान्छन् । पितापुर्खा जान्ने जिज्ञासा जागेर लजिमहरूले खोज्छन् । रुकुमकोटे राजा सन्तान लोकेन्द्रबहादुर शाहले आफ्ना पितालाई मागेर नरहरिनाथ योगीले लगेको बताउँछन् । लजिम वंशावली खोज्दै योगी आश्रम पुग्छन् । त्यसवेला योगी ‘माथि’ लागिसकेका हुन्छन् । सरकारले ‘सिल’ गरेको भन्छन् । हेर्न नपाएर फरक्क फर्कन्छन् । नरहरिनाथपछिका मुख्य योगी श्रीषनाथ भन्छन्, ‘बढीजसो कागतपत्र सिल गरेका वेला पानीले भिजेर खत्तम भयो । तपाईंले भनेको चिज छ कि छैन ? कुन्नि ?’ पहिलो, मगर लिखत नै नगण्य छ । भएका पनि ‘गुम’ छन् ।
गोर्खा कब्जाअघि कर्णालीको खस आक्रमण प्रतिकार गर्न क्षेत्री, मगर सेना ल्याउने चलन सुनाउँछन्, जानभानहरू । त्यसैले शाही सत्ताअघि पनि काठमाडौंमा मगर अस्तित्व सम्भावना देखिन्छ । गोर्खा विस्तारमा लडेका लडाकु सन्तान हुन्, काठमाडौंका रैथाने मगरबस्तीवाल । कब्जा गरेको भूगोल रक्षार्थ सामरिक महत्वका ठाउँमा मगरबस्ती बसालेको देखिन्छ । 
मगर कमान्डर र सेना साथले काठमाडौं सिंहासनमा पृथ्वीनारायण शाहलाई राज गराएको हो । ‘गोर्खा विस्तार’मा मगरबस्ती उजाडिएका छन् । उजाडिने क्रम दोहोरिन्छ, पहिलो र दोस्रो विश्वयुद्धमा पनि । सत्ता जोगाउन राणा सरकारले मगरलाई बेचेर बसालेको ‘लाहुरे संस्कृति’, मगर बेचबिखन अर्थात् लाहुरयात्रा ‘समाजवादी’ डबल ‘कम्युनिस्ट’ ओली सरकारसम्म जारी छ । कास्मिरमा भर्खरै गोर्खाका अर्जुन थापामगरले रगत बगाएका छन् । 
बेलायती साम्राज्य फैलाउन र जोगाउन पनि मगर रगत बगेको छ । पृथ्वीनारायणलाई काठमाडौं सिंहासन दिलाएको २३९ वर्षपछि मगरले नै पुष्पकमल दाहाललाई बालुवाटार सिंहासन दिलाउँछन् । सुप्रिम कमान्डर दाहालका चारमध्ये दुई डेपुटी कमान्डर अनन्त वर्षमान पुन र पासाङ नन्दबहादुर पुन हुन् । दुवैजना माओवादी आधारभूमि रोल्पाका हुन् । जुन भूमिमा ‘जनयुद्ध’ जग बसाल्ने रामबहादुर थापा बादल हुन् । 
गोर्खा विस्तारमा बाह्र मगरात मगर रगतको गण्डकी बगेको छ भने माओवादी विस्तारमा अठार मगरातको रापती । बलिदानअनुसार मगर समुदायले सत्ताको ‘बिलो’ पाउनुपर्ने हो । तर, एकाधलाई दिलाएको ‘चिब्लो’मै मगर बलिदान सुरापूरा गरिएको छ । 
टुंग्याउनीमा माओले सत्ता बन्दुकको नालबाट निक्लन्छ भनेजसरी नेपालमा सत्तापलट रगतको आहालबाट आएको छ । आहालमा मगर रगत पनि छ । तर, त्यो रगत अरूका सत्ता ल्याइदिन र जोगाइदिनमै सिमितिएको छ । मगर रगत, पसिना, भावना र जीवनका खुसी सत्ता खोस्न र टिकाउन प्रयोग गर्ने पृथ्वीनारायण ‘नजिर’ दोहोरिरहेको छ ।
पछिल्लो संस्करण हो, पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको जनयुद्ध । एकातिर, राज्यले नै जबर्जस्त मगरलाई माओवादी बनाउँछ भने अर्कोतिर प्रचण्डले ‘उत्पीडित जाति, लिंग, वर्ग र क्षेत्र’लाई मुक्तिको ‘ललिपप’ देखाउँछन् । सबभन्दा बढी मगर नै ‘जनयुद्ध’मा सहभागी हुन्छन् । मारिन्छन्, बेपत्ता पारिन्छन् र अंगभंग बनाइन्छन् । तर, सहिद, घाइते, बेपत्ता र जिन्दगीका रहर जति बलिदान गर्ने भुइँतले मगरसपना सडकमै अलपत्रिन्छन् ।
 पृथ्वीनारायण र पुष्पकमल सत्ता दिलाउने र टिकाउने लडाकुमै कहिलेसम्म मगर सिमितिने ? लाहुरे संस्कृतिमा कहिलेसम्म लाहुरिने ? कुमार थापाको संगीत र जगदीश समालको यो गीत कहिलेसम्म गाइरहने, ‘...बलिदानको बाली लाउँछौ उठाउने हुन्छ अर्कै ।’जवाफ खोज्ने वेला घर्किसकेको छ ।
from nayapatrika

No comments:

Post a Comment