‘कोरोना लकडाउन’ नामक मैनेगाँठोले भुइँमान्छेका घाँटी यसरी कस्छ कि, ऐया पनि भन्न नपाई ठाउँको ठाउँ ठहरै छन् । ती ‘कोरोना भाइरस’ले भन्दा पनि ‘भोक’ले थला परेका छन् । ज्यानमारा मैनेगाँठो तिनका घाँटीबाट कसले फुकाइदिनु ! शासक खलकीय भ्रष्ट तथा तस्करहरू भने मैनेगाँठोलाई पनि ‘कमाउधन्दा’ बनाएर ‘मस्तराम’ छन् ।
नेपालमा जारी लामो कोरोना ‘लकडाउन’लाई ‘लक’ गरी दुई विपरीत घटना (सामाजिक सञ्जाल समाजमा अचेल खुबै चल्तीवाल भाषामा भन्ने हो भने) ‘भाइरल’ छन् ।
एक–
ज्यालादारी मजदुरले घामपानी र रातदिन नभनी भोकैप्यासै लकडाउनमा आफ्नो थलोतर्फ तय गरेको पैदल ‘लङमार्च’ । मलर सदा, सूर्यबहादुर तामाङहरूले कोरोनासँग होइन, भोकसँग हारेको लडाइँ । कोरोना मुक्त गर्न बनाइएका क्वारेन्टाइनमै मानिसका मृत्यु, आत्महत्या र सामूहिक बलात्कार ।
जाजरकोटी नवराज विकहरूको हत्यापछि ‘दलित म्याटर्स लाइभ्स’ (जस्तो विश्वभर ‘ब्ल्याक म्याटर्स लाइभ्स’ नारासहित ‘जन-जङ’ उर्लेको छ) र सरकारी लाचारीवाल लकडाउन र भ्रष्टाचारविरुद्ध ‘इनफ इज इनफ’ ।
दुई–
सत्तारुढ दलका १ नम्बर अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको कोरोना भारइरसबारे ‘विज्ञ कोच’सहित ‘कोही पनि भोकै नमर्ने’ वाणी र वाणीलाई ‘पानी’ दिने ओली गीत र कविता । २ नम्बर अध्यक्ष पुष्पकमल दाहालको ‘लकडाउनमा युट्युब सहयोगमा परिकार पकाउने गरेको’ समाचार र कान्छी छोरीज्वाइँसहित मासु पकाइरहेको फोटो । भुइँचालोपीडित राहत ‘जस्ता पाता’समेतको पाता फर्काउने रामशरण महतहरूलाई ठहरै पार्ने ओली सरकारको कोरोना स्वास्थ्य सामग्रीवाल ‘ओम्नी’ काण्डहरू ।
नरैनापुरे मुस्लिम युवा
२०६० मा रापतीले खेतीयोग्य बारी बगर बनाउँछ । ११ वर्षपछि घर पनि । त्यसपछि ? एउटा गरिब मुस्लिम परिवार अलि अग्लो भागमा रहेको नयाँबस्तीमा ओत लाग्छ । जुन मुस्लिम बहुल बस्ती (नेपालगन्जदेखि करिब ३६ किलोमिटर टाढा नरैनापुर गाउँपालिका-५) अशिक्षा र गरिबीग्रस्त छ ।
त्यो मुस्लिम परिवारको युवक गर्जो टार्न ‘मुम्बैया’ बन्छन् । आमाबा, पत्नीसहित चार वर्षको छोरा र दुई वर्षकी छोरीले तिनैको सहाराले सास फेर्छन् । २५ वर्षीय ती युवक रमजानमा परिवारसँगै व्रत बस्ने र रम्ने योजना बुनी ६ महिनाअघि मुम्बई फिर्छन् । काम गर्ने होटेल कोरोना कहरले बन्द हुन्छ । वैशाख २६ गते उनीसहित ७० जना नेपाल फर्कन ट्रक चढ्छन् । जसमा २० जना त नरैनापुरे नै हुन्छन् । नरैनापुर–५ मटेहियास्थित दीपेन्द्र प्राविको क्वारेन्टाइनवासी बन्छन् ।
आफ्नो आँगन टेकेर पहिलो झलक के हेर्न मन हुँदो हो हँ, लुहार र मुस्लिम युवकलाई ? घरको छानो ? बस्तुभाउ ? घरछेवैमा रोपेको रूख ? भत्कन लागेको घरको गारो कि बारी ?
क्वारेन्टाइनमा ‘बाँच्यौँ भने अर्को वर्ष रमाजान मनाउँला’ भन्दै एकअर्कालाई सम्झाउँछन् । आफ्नो आँगन र घर देख्न अनि टेक्न नपाउँदा युवामन भारी हुन्छ । घरतिर्खाले छटपटिन्छन् । त्यसैले आफ्नो गाउँ, आँगन र घर देखिन्छ कि भनी वेलावेलामा जिराफले जसरी घाँटी तन्काउँछन् । खाली आँखा कसरी पुग्नु, क्वारेन्टाइनबाट तीन किलोमिटर पर रहेको उनको घर ? क्वारेन्टाइनमा भेट्न आएकी पत्नीसित कोरोनाकालीन ‘भौतिक दूरी’बाटै सन्चोबेसन्चो बिसाउँछन् । बारी बगर बनाउने रापतीभन्दा बेगले उर्लेको पतिपत्नी ‘रापती’लाई कोरोना पहाडले जबर्जस्त छेक्छ ।
टाढैबाट एकअर्कालाई हेरेर मन बुझाउँदा ‘पतिपत्नी–मन’ कति ठाउँमा भाँचियो होला ? छोराछोरीलाई काखमा लिएर अनुहार सुम्सुम्याउने पिता–मन कति पिर पिसियो होला ? त्यसरात पनि ८ बजे क्वारेन्टाइनमा खाना खान्छन् । गर्मी भएकाले ११ बजेसम्म विद्यालय प्रांगणमा गफिन्छन् ।
‘राति १० बजेतिर फोन गर्नुभएको थियो,’ पत्रकार विश्वराज पछल्डङ्ग्या युवकपत्नीलाई उद्धृत गर्छन्, ‘मेरो स्वास्थ्य राम्रो छ, चिन्ता नलिनु भनेर सम्झाउनुभएको थियो । मैले पनि स्वास्थ्यको ख्याल गर्नु, धेरै चिन्ता नलिनु भनेर सम्झाएँ ।’ त्यही रात (जेठ ३ गते) २ बजेतिर लगातार सात÷आठपालि बान्ता गर्छन् । उनका साथीहरूले वडाध्यक्ष र स्वास्थ्यकर्मीलाई फोन गर्छन् । फोन उठे पो ! क्वारेन्टाइन सुरक्षार्थ खटिएका पुलिस नेताको घरमा गएका हुन्छन् ।
गर्दागर्दा फोन नै थाकेपछि अर्थात् झन्डै दुई घन्टापछि (बिहान साढे ५ बजेतिर) स्वास्थ्यकर्मी पुग्छन् । त्यतिवेलासम्म युवकको ‘बोली’ बाटो लागिसकेको हुन्छ । करिब ६ बजेतिर त उनी पनि छाडीहिँडेको ‘बोली’लाई पछ्याउँछन् । ती मुस्लिम युवक नफर्कने बाटो हिँडेको आधा घण्टापछि बल्ल एम्बुलेन्स पुग्छ । ‘बचाउन धेरै हारगुहार ग¥यो । औषधि र पानी माग्यो,’ मुम्बईबाट ती युवकसँगै फर्केका साथीलाई पछल्डङ्ग्या उद्धृत गर्छन्, ‘एक ट्याब्लेट औषधिसमेत नपाएर गयो ।’ युवकको पिसिआर रिपोर्ट कोरोना पोजेटिभ छ ।
पुर्चौडीकी लुहार
दशरथ चन्द, भीमदत्त पन्त, बाकावीर, डा.केआई सिंह, जयपृथ्वीवहादुर सिंहजस्ता ‘विद्रोही’ सुदूरपश्चिम सुनिने सुनाम हुन् । त्यही सुदूरपश्चिमको बझाङमा माओवादी बिउ छर्न गएको रुकुमेली एक दम्पती (सूर्यप्रकाश पुन ‘सुन्दर’ र परम्परा गौतम ‘वृक्षा’) रगत सेतीमा बग्छ । उही सेती सुसाइमा सुरेलिँदै चार वर्षअघि कमरेड सुन्दर सपनाका सिला चिहाउन बझाङ पुगेको हुँ । त्यसैवेला हो, पुर्चौडी पुगेको ! पुर्चौडी अर्थात् बैतडी सदरमुकाम बैतडीदेखि सय किलोमिटर उत्तर ।
पुर्चौडी नगरपालिका–४ भटनाकी २२ वर्षीया सुनिता लुहार । पंजाबबाट १८ महिनाकी पुत्री र पतिसाथ घरको बाटो लाग्छिन् । भोक प्याससँग लड्दै जेठ १६ गते गौरीफन्टा नाकाबाट छिरेको दुई दिनपछि आफ्नै वडाको मालिका मावि क्वारेन्टाइनमा बस्छिन् । क्वारेन्टाइनमा बसेको दुई दिन हुँदा एक वर्षयता नियमित खाइरहेको मुटुको औषधि सकिएको १२ दिन पुग्छ । लकडाउन र पैसा अभावले औषधि किन्न सकेकी हुन्नन् । आफ्नो आँगन टेक्न हतारिएका लुहार गोडा र मनले जेठ २० गते सदाका लागि विश्राम लिन्छन् । लुहारको पिसिआर रिपोर्ट कोरोना नेगेटिभ छ ।
०००
सिमानामा पुगी आफ्नो मुलुक फर्कन लुहारहरूले बिलौना गर्दागर्दै थाकेपछि बल्ल सरकारले सीमा ढोका खोलेको हो । खाडी तथा मलेसियारत मजदुरका लागि पनि वेला घर्केपछि सरकार सुरसार गर्दै छ । नेपालभित्र पसेकालाई आफ्नै थातथलो नजिकका कोरोना क्वारेन्टाइनमा तिनलाई ‘कैद’ गरिएको छ । लुहारहरू आँगनछेवै पुगेर पनि आफ्नो आँगन टेक्न नपाई क्वारेन्टाइनबाटै बिदा भएका छन् ।
आफ्नो आँगन टेकेर पहिलो झलक के हेर्न मन हुँदो हो हँ, लुहार र मुस्लिम युवकलाई ? घरको छानो ? बस्तुभाउ ? घरछेवैमा रोपेको रूख ? भत्कन लागेको घरको गारो कि बारी ? पर्खिरहेकाहरूले के सोचे होलान् ? कस्तो बतास चलेको हुँदो हो, परिवारको मन–डाँडामा पनि ? बस्, मुस्लिम युवा र लुहार अनि तिनका परिवारका मनका कुरा मनमै मक्किन्छन् । दिल दह दिलमै डुब्छ । तिनका घित्करो रहन्छ । भनम्ला भनी मनमा साँचेको कुरालाई रोल्पा÷रुकुमतिर घित्करो भन्छन् ।
आधारभूत आवश्यकता पनि ‘रहर’ र ‘सपना’मा परिणत भएका तिनका स–साना खुसी र रहर ‘गणतन्त्र, लोकतन्त्र, समाजवाद, समृद्धि’सामु कसरी सुहाएको ? तर, गर्नुहुन्छ के ?
तिनका रहर भने पनि सपना भने पनि यत्ति छ-
गद्दे (भारतीय)को मुखबाट यी कानले ‘गोर्खे बाँदर’ ‘नङ्पाटे’ र ‘डोट्याल’ सुन्न नपरोस् ! आफ्नै थलोमा जिन्दगीको उकाली–ओराली–देउराली होस् ! कुल मिलाएर कालापार जान नपरोस् ! भारतीय सीमामा अवस्थित नरैनापुर मुस्लिम बहुल बस्ती हो । सुदूरपश्चिम पहाडी भूभाग पुर्चौडी क्षेत्री, बाहुन, ठकुरी र दलित थलो । बस्ती र भूगोल टाढा भए पनि दुवै ठाउँ केही कुरामा समान छन् ।
जस्तोः
एक–
एक–
राज्य उत्पीडन । बाँकेको विकट ‘रापतीपारि’ भनेर चिनिने साबिक नौ गाविसमध्येकै भूभाग हो, नरैनापुर । कर्मचारीले सदरमुकाम नेपालगन्जबाटै नरैनापुर ‘सरकारी काम’ चलाएका हुन् । स्थानीय एवं पत्रकार गुरुमुरत यादवका अनुसार रापती पुल बनेपछि बल्ल नरैनापुर नेपालगन्जसँग जोडिएको छ । जुन पुल बनेको सात वर्ष भयो भने बाटो भर्खरै खुलेको छ । सदरमुकामदेखि दूर पुर्चौडी पनि राज्यको भेगीय उत्पीडनमा परेको छ ।
दुई–
माओवादी थलो । दार्चुला, बझाङ र बैतडीको सीमा र भौगोलिक उचाइमा अवस्थित जंगलवाल पुर्चौडी जनयुद्धकालीन माओवादी सेल्टर, हेडक्वाटर र छापामार तालिमथलो हो । माओवादीले सभा सम्मेलन सम्पन्न गरेको हो । लुहार मरेको स्कुल प्रांगनमा त जनमुक्ति सेनाले परेड खेलेको हो । नरैनापुर माओवादी नेता कार्यकर्ता नेपाल–भारत ओहोरदोहोर गर्न प्रयोग गरेको ‘नाका’ हो । जहाँबाट माओवादीले आफ्ना नेता, घाइते लडाकु र युद्ध सामग्री सारेको हो । नरैनापुर सेल्टरमा भूमिगत माओवादी नेताका अन्तर्वार्ता लिएको, नेपालगन्ज पुगेर समाचार लेखेको पत्रकार रुद्र खड्का सम्झन्छन् ।
तीन–
भारत भर ।
स्थानीय पत्रकार लोकेश साउदका अनुसारपुर्चौडीका झन्डै ८० प्रतिशत गाउँले रोजीरोटीका लागि उत्तराखण्डका पिथौरागढ, नैनीताल, धार्चुलाआसपास मजदुरी गर्छन् । पुर्चौडीका केही थान बम र कुँवर परिवारबाहेक बाँकी कालापार नगई न चुलोमा आगो बल्छ न आङले काँचुली फेर्छ । स्थानीय सरकार बनेपछि कालापारे संख्या ह्वात्त बढेको पत्रकार गोकर्ण दयालको भनाइ छ । दयालका अनुसार उपभोक्ता र मजदुरका काम डोजरले खोसेपछि कालापारे थपिएका हुन् । नरैनापुर पनि काम र मामको लागि भारतमै भर पर्छ ।
कोरोना क्वारेन्टाइन कि कन्सन्ट्रेसन क्याम्प ?
कोरोना कहरले घर फर्काए पनि आफ्नो आँगन टेक्न नपाएका मुस्लिम युवा र लुहारहरूको सूची लामो छ । पुर्चौडी नगरपालिका–६, भूमिराजका ६७ वर्षीय जुने लुहार अनि डडेल्धुरा नवदुर्गा गाउँपालिका–३ का ६ वर्षीय बालकहरूले पनि क्वारेन्टाइनबाटै बिदा लिएका छन् ।
आफ्नो भूमि टेक्न नपाई १६ नेपाली मजदुर महाराष्ट्रको औरंगावादस्थित रेलले किचेर मरेका छन् । भारतबाट आएर नेपालगन्जबाट सल्यान जाँदा दुर्घटनामा परी १२ जना र कालीकोट लालीघाटबाट रासकोट नगरपालिकास्थित क्वारेन्टाइनमा भारतबाट फर्केका मजदुर बोकेको टिप्पर कर्णाली नदीमा खस्दा चारजना मरेका छन् भने एकजना अझै बेपत्ता ।
उदयपुर रौतामाई गाउँपालिका–१ मुर्कुचीस्थित जनता क्याम्पसको क्वारेन्टाइनमा १९ वर्षीय सुमन बिक र गुल्मी छत्रकोट गाउँपालिका–४ दिगामस्थित आदर्श माविको क्वारेन्टाइनमा ५६ वर्षीय चन्द्रबहादुर परियार र अर्घाखाँची शीतगंगा नगरपालिका–५ जुकेनास्थित हरि माविको क्वारेन्टाइनमा ४४ वर्षीय देवबहादुर विकले आत्महत्या गरेका छन् ।
कैलाली लम्कीचुहा नगरपालिका–१ स्थित सहिद स्मृति मावि क्वारेन्टाइनमा ३१ वर्षीया महिला स्वयंसेवक÷स्वास्थ्यकर्मीहरूबाट सामूहिक बलात्कृत भएकी छन् । समयमा पिसिआर रिपोर्ट नआएकोमा रिसाएर रौतहट राजपुर नगरपालिका–१ का तीनवटा क्वारेन्टाइनरत ३०५ जनाले सडक अवरुद्ध गरेपछि पुलिसले अश्रुग्यास र हवाई फायर गरेको छ ।
भनिएको छ, देशभर दुई लाख ५३ हजार तीन सय २२ बेड क्षमताका क्वारेन्टाइनहरू छन् । प्रायः क्वारेन्टाइनवासी एउटै ओछ्यानमा कोचाकोच भएर सुत्छन् । कति बेन्च, बरन्डा र भुइँमा सुत्छन् । सबैले एउटै शौचालय र धारा प्रयोग गर्छन् । तराईको गर्मीमा ‘झुल, पंखा नभएको, पेटभर खान नपाएको र अपराधीलाई जस्तै राखिएको’ क्वारेन्टाइनबासीको गुनासो छ ।
नयाँ र पुरानालाई एकै ठाउँमा राखिएको छ । क्वारेन्टाइनको अनुहारले अलमल्याउँछ, ‘यो क्वारेन्टाइन हो कि संक्रमण फैलाउने कारखाना ?’ क्वारेन्टाइन सरकारी मापदण्डअनुसारका छैनन् । क्वारेन्टाइनसम्बन्धी सरकारी मापदण्ड भन्छ–
क्वारेन्टाइनमा अनिवार्य चिकित्सक र एम्बुलेन्ससहितको सुविधा । सञ्चार, स्वास्थ्य, बिजुली, सडक र पानीको पूर्ण सुविधा । (सम्भव भएसम्म) घनाबस्तीबाट टाढा ।
क्वारेन्टाइनमा अनिवार्य चिकित्सक र एम्बुलेन्ससहितको सुविधा । सञ्चार, स्वास्थ्य, बिजुली, सडक र पानीको पूर्ण सुविधा । (सम्भव भएसम्म) घनाबस्तीबाट टाढा ।
सय वा सोभन्दा बढी बस्ने क्वारेन्टाइनमा सुपरिवेक्षणका लागि विशेषज्ञ चिकित्सक, एक मेडिकल अधिकृत, एक स्वास्थ्य परिचारिका, एक प्यारामेडिक, आवश्यकताअनुसार ल्याब टेक्निसियन, फर्मासिस्ट तथा एम्बुलेन्स सञ्चालनका लागि दुईजना प्यारामेडिक र एकजना चालक । फोहोर व्यवस्थापनका लागि सुपरिवेक्षकसहित पाँच कर्मचारी ।
क्वारेन्टाइनमै मर्नु, आत्महत्या गर्नु, बलात्कृत हुनु, मरेपछि पिसिआर रिपोर्ट आउनुले ‘लोकतन्त्र, गणतन्त्र अझ समाजवादतिर मुख फर्काएको छु’ भन्ने सरकारको लाज हुँदो त यतिवेला लाजले समेत लाज मान्दो होे । यसैले होला, प्रतिपक्षी कांग्रेस सांसद गगन थापाले संसद्मै ‘क्वारेन्टाइन कि मान्छे मार्ने कन्सन्ट्रेसन क्याम्प’ भनी सोधेका छन् । राष्ट्रिय मानवअधिकार आयोगले ‘क्वारेन्टाइनमा आधारभूत मानवअधिकारको संरक्षणसमेत नगरिएको, भौतिक संरचना सुधार गर्न र पिसिआर परीक्षण बढाउन निर्देशन दिए पनि सरकार असंवेदनशील’ भनेको छ ।
कोरोनाको सम्पूर्ण जिम्मा लकडाउनलाई दिएकाले, सरकारले त क्वारेन्टाइनमा मर्नेहरूको तथ्यांकसमेत राखेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीर अधिकारी भन्छन्, ‘कुन क्वारेन्टाइनमा कति मरेका छन् ? त्यो संख्या ती स्थानीय तहहरूबाट ल्याएर मात्र थाहा हुन्छ ।’ जेठ २६ गते कान्तिपुरमा मातृका दाहालकृत समाचारअनुसार ११ जना क्वारेन्टाइनमै र क्वारेन्टाइनबाट अस्पताल लगिएपछि ६ जना मरेका छन् । ‘महाकाली’मा डुबेको केपी ओलीको राष्ट्रवाद ‘नाकाबन्दी’मा फुट्ट उत्रेको ‘राष्ट्रवादी’ रणबहादुर शाहको अवतारमा प्रकट भएका छन् ।
आफ्नो छोरा गिर्वायुद्धविक्रमलाई बिफर महामारीबाट जोगाउन उपत्यकाका सारा बालकलाई राजाले तामाकोसीपारि, चारकोशे झाडी र साँखुभन्दा माथि मणिचुडनजिक निर्वासित (बिजोग नेवारी लोकगाथा ‘शितलामाजु’मा छ) गर्छन् ।
कोरोना भाइरसको निहुँमा ओलीले सिंगो देश ‘लकडाउन’मा ‘लक’ गरेका छन् भने भारतबाट आएका नेपाली मजदुरलाई क्वारेन्टाइनमा कैद । लकडाउन एक्लैले कसरी कोरोनालाई तह लाओस् ? पूरै जिम्मा लकडाउनलाई दिएर सरकारले ‘गफ’मात्र लगाएपछि संक्रिमत बढेका बढ्यै छन् । ओलीले सडकमा विस्फोट हुने सरकारविरोधी नागरिक आवाज, राज्यसत्ताविरुद्धको नारा र आफ्नै पार्टीभित्रका बहुमत ‘कमरेड’हरूलाई लक गर्न लकडाउनलाई नै ‘बुटी’ बनाएका छन् ।
नेपालमा कोरोना क्वारेन्टाइन बन्नुअघि पनि क्वारेन्टाइन अभ्यास थियो भनेर सुदीप श्रेष्ठले ‘परम्परागत क्वारेन्टाइन’ नाम दिँदै ‘सेतोपाटी’मा लेखेका छन् । कमलरत्न तुलाधरको ‘ल्हासा टु क्याराभान’को हवालासाथ मल्लकालीन १४ दिने क्वारेन्टाइन भनेका छन् । तर, त्यो क्वारेन्टाइन रोगवाल नभई धार्मिक ‘शुद्धीकरण’वाले क्वारेन्टाइन भनेर लेखक राजेन्द्र महर्जन ‘भोटबाट फर्कने नेपालीलाई गरिने पतिया विधि हिन्दू धर्म, धर्मशास्त्रअनुसार बनाइएको विधान र राज्यको धार्मिक संरचनासँग जोडिएको’ तर्क तर्कन्छन् ।
कान्तिपुरमा लेख्छन्, ‘भोटबाट नेपाल फर्केका जुनसुकै धर्मका व्यापारीले पनि घरमा आएर बार्ने र चोख्याउने क्रममा हिन्दू धर्मअनुसार पतिया विधि नै पालना गर्नुपथ्र्यो । राज्यले ऐनकानुन बनाएर वर्णव्यवस्था र जातभातको प्रथा लागू गरेकाले पतिया विधि मात्रै पूरा गरेर पुग्दैन, पतिया पुर्जी पनि लिनुपर्थ्याे ।’
क्वारेन्टाइनमा कैदरत नेपालीको संख्या (स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबार ‘मिडिया ब्रिफिङ’) एक लाख २५ हजार सात सय ९८ छ । खाडीसहित अन्य मुलुकमा गएका नेपाली मजदुर आफ्नो देश फर्कन साइत कुरिरहेका छन् ।
कोरोना क्वारेन्टाइनमा भएका मृत्यु, आत्महत्या र बलात्कार ‘सरकारी संवेदनहीनता’ र ‘लापरबाही’ले भएका छन् । यस्तो भन्नुको एक होइन, अनेक कारण छन् ।
जस्तो–
चीनको वुहानमा कोरोना कहर सुरु हुनेबित्तिकै कोरोना रोकथाम तयारी गर्न विज्ञले, अदालतले, प्रेसले, नागरिकले, सदनमा सांसदहरूले सरकारलाई सुझाएका हुन् । तर, सरकार सूचना र पर्याप्त समय हुँदाहुँदै कानमा तेल हालेर सुतेको हो । क्वारेन्टाइनका अनुहारले १० अर्ब खर्चेको सरकारी दाबीलाई ‘गलत’ भन्छ । सरकारले न पिसिआर जाँच बढाएको छ न त क्वारेन्टाइनमा ‘आधारभूत’ सुविधा नै । संक्रिमत बढेका बढ्यै छन् । क्वारेन्टाइनमा मृत्यु, आत्महत्या र बलात्कारका घटना थपिँदै छन् ।
बाँकी लुहारहरूले आफ्नो आँगन टेक्न पाउलान् ? भन्छन्, भारतमा १५ लाख हाराहारीमा नेपाली मजदुर छन् । र, करिब एकचालीस लाखभन्दा बढी नेपाली विदेशमा रोजगाररत छन् ।
आँगननेरै पुगेर पनि आफ्नो आँगन टेक्न नपाउने लुहारहरू ‘माम र काम’को खोजीमा भौँतारिन थालेको दुई सय वर्ष (इस्ट इन्डिया कम्पनी र नेपाल सरकारबीच भएको सन् १८१६ को सम्झौता) नाघेको छ । सम्झौतापछि नेपाली काम खोज्दै बर्मा, भुटान, बंगलादेशसम्म पुगेका छन् । कामको खोजीमा परदेश ‘जाने र जानु’लाई नेपालका विभिन्न स्थानका ‘लोकबोली’अनुसार विविध नाउँ दिएका छन् ।
जस्तोः कालापार (कालापार जानेलाई कालापारे), लाहुर (लाहुर जानेलाई लाहुरे), मुग्लान (मुग्लान जानेलाई मुग्लानी) । त्यही कालापार त हो, जो तनक्क तन्केर अरबको खाडी हुँदै विभिन्न मुलुक पुगेको छ । र, रेमिट्यान्समा ‘राज्यसत्तावाल खलक’ले जुगदेखि मोज गर्दै आएको छ ।
परिवार सदस्यका आङको रङ र अनुहारमा (थोरै भए पनि) मुस्कान बोकेर फर्कने कालापारे यसपालि भने कोरोना कहरमुक्त हुन (भोकैनांगै, प्यासै, ‘लङ पैदलमार्च’ गरी) घर, परिवार, सन्तानका ‘माया–भर’मै सीमासम्म आइपुगेका हुन् । तर, तिनलाई सरकारले ढोका बन्द गरी बिचल्ली पारेको हो । त्यसबीच कति कालापारे महाकाली तरेरसमेत फर्केका हुन् ।
चर्को जनदबाबका कारण (समयमा तिनका चित्कार नसुनी सरकारले कोरोना संक्रमित भएपछि) बल्ल सीमा–ढोका खोलेको छ । जो आजभोलि आफ्ना थलो नजिकका क्वारेन्टाइनवासी भएका छन् ।
बतासे गफ र भ्रष्टाचारमा लीन सरकारले ‘अभागी’ बनाएका मजदुरलाई सरकार मात्र होइन, छरछिमेकले समेत ‘कोरोना आँखा’ तरेका छन्, हान्ने राँगाले जसरी ‘सिउँ’ गरेर । सरकारी लापरबाही र हेलामा आफ्नै समुदायले (दुःख बाँड्नुको बदला) कोरोना कहरमाथि थप कहर थपिदिएका छन् । लुहारहरू राज्य राज्यजस्तो नहुँदा करले न परदेशिएका हुन् । अप्ठेरोमा आफ्नो थलो नसम्झी कसलाई सम्झिऊन् ? अप्ठेरोमा आफ्नो थातथलोमा नआई कहाँ आऊन् ?
क्वारेन्टाइनमा अधिकांश भारतबाट फर्केका मजदुर छन् । तिनका जाति, वर्ग, लिंग र क्षेत्रका हिसाबले लुहारहरूजस्ता शासित जातिका र गरिब छन् । सुदूरपश्चिम, कर्णाली, मधेसजस्ता उत्पीडित क्षेत्रका छन् । कालापारे त प्रायः ‘अरब उड्ने पखेटा’समेत लाउन नसक्ने मजदुर हुन् ।
क्वारेन्टाइन ‘चर’बाट कालापारे आँखा कति परसम्म देख्छन् होला ? कतिले झलक्क एक झल्को भए पनि आफ्नो घर, बारी, आँगन, मेलापात गरेको वनपाखा हेर्ने अवसर पाए होलान् ? कति एक झल्कोसमेत हेर्न नपाई बिदा भए होलान् ? जोख्नुस् त, स्कुल क्वारेन्टाइन र भुइँमान्छेका लागि यो देशमा के फरक छ ? कहाँ छ देश– गरिब, दलित, कर्णाली, मधेस, आदिवासी, अल्पसंख्यकका लागि ? मलर सदा, सूर्यबहादुर तामाङ, अंगिरा पासी, नवराज विकहरूलाई राज्यले ‘मान्छे’ मानेको छ ?
एकछिन कल्पनुस् त– नरैनापुरे मुस्लिम युवकहरूले आफ्ना बच्चा काखमा राखेर कसरी हाँस्दा हुन् ? रुँदा हुन् कसरी ? आमाबाका आशीर्वाद थाप्दा कसरी मुस्कुराउँदा हुन्, तिनका ओठ ? प्रियजन अँगालोमा बेरेर मनको बह कसरी पोखेर हलुङ हुँदा हुन् ? सरकारले बनाएका ती झन् ‘अभागी’ हुन्, जसले टाढैबाट भए पनि आफ्नो जीवनसाथी, बाआमा र छोराछोरीका मुहार झलक्क एक झल्कोसमेत देख्न पाएका छैनन् । टाढै सही, आफूले मेलापात गरेका पाखापखेरासमेत देख्न पाएका छैनन् । र, जसले आँगनछेवैमा पुगेर आफ्नो आँगनधरी टेक्न पाएका छैनन् ।
तपाईं भन्नुस् त, आफ्नै नागरिक परदेशमा बेचेर मस्तीवाल यो ‘जात’ र ‘हुनेखाने वर्ग’को राज्यको स्वरूप नफेरी ‘बचेका लुहारहरू’ले आफ्नो आँगनछेवै पुगेर पनि कसरी आफ्नो आँगन टेक्न पाउलान् ?
from nayapatrika
No comments:
Post a Comment