‘पाइयो, पाइयो ।’
केटाकेटीका हुल गाउँका ससाना कदे घरको मैरामा उभिएर लय हाल्छन्, ‘पाइयो, पाइयो ।’ कतिका कलिला पिठ्युँमा थैला छन् त कतिका पिठ्युँमा स्कुले झोला । आफ्ना बा कालापारबाट कमाएर फर्किने संयोग जुर्नेका आङमा भने नयाँ भोटी छ ।
सिँगान तान्न स्वाँक्कस्वाँक्क गर्दै लय हाल्ने चिचिले अनुहारबाट खुसीको पाछाबाङखोला बगेको छ । चाडपर्वले खुसी ल्याउने नै बालबच्चालाई न हो । मायपातको पटरी (दुना–टपरीभन्दा ठूला आकारको हुन्छ, जो भान्नेतरुल, केरेतरुल, पिँडालु, झाने रोटी, थोरै पिठो वा चामलले भरिएको छ) हात पार्दै घरपति भन्छन्, ‘पाइयो पाइयो ।’
छड्कधुरीबाट त्यस बिहान बाटो लागेको सूर्यलाई राक्माधुरी ढिलो गरी पुग्न आग्रह गर्दै पाइयो खेलिरहेका केटाकेटीहरू अर्को घरमा पुग्छन् । त्यसपछि गाउँ नै गुञ्जने गरी बगाले आवाज लय भएर निक्लन्छ, ‘पाइयो पाइयो ।’