Friday, January 15, 2021

काठमाडौं पसेको मगर माघे सकराति

२०७७ माघ ३ शनिबार ०८:०६:००

पानीफोटो– १

‘पाइयो, पाइयो ।’
केटाकेटीका हुल गाउँका ससाना कदे घरको मैरामा उभिएर लय हाल्छन्, ‘पाइयो, पाइयो ।’ कतिका कलिला पिठ्युँमा थैला छन् त कतिका पिठ्युँमा स्कुले झोला । आफ्ना बा कालापारबाट कमाएर फर्किने संयोग जुर्नेका आङमा भने नयाँ भोटी छ । 

सिँगान तान्न स्वाँक्कस्वाँक्क गर्दै लय हाल्ने चिचिले अनुहारबाट खुसीको पाछाबाङखोला बगेको छ । चाडपर्वले खुसी ल्याउने नै बालबच्चालाई न हो । मायपातको पटरी (दुना–टपरीभन्दा ठूला आकारको हुन्छ, जो भान्नेतरुल, केरेतरुल, पिँडालु, झाने रोटी, थोरै पिठो वा चामलले भरिएको छ) हात पार्दै घरपति भन्छन्, ‘पाइयो पाइयो ।’ 

छड्कधुरीबाट त्यस बिहान बाटो लागेको सूर्यलाई राक्माधुरी ढिलो गरी पुग्न आग्रह गर्दै पाइयो खेलिरहेका केटाकेटीहरू अर्को घरमा पुग्छन् । त्यसपछि गाउँ नै गुञ्जने गरी बगाले आवाज लय भएर निक्लन्छ, ‘पाइयो पाइयो ।’

पानीफोटो –२
‘माइत साइत’ जुरेका चेली माइती घर पुग्छन् । एकबित्ताजति अग्लिएका जौका बोट उखेल्छन् । जसलाई कतै झोप्लेनी भन्छन् । दही या दूधसित अक्षता मुस्छन् । तिनले आफ्ना दाजुभाइका निधारमा सेतो टीका लगाइदिएपछि कानको माथिल्लो भागमा घरको थारामा बला तेस्र्याएजसरी झोप्लेनी सिउरिदिन्छन् । मायपात खुटेर तयार सुन्दर पटरीमा ‘खिर्ची’ दिन्छन्, दाजुभाइले । पटरी भरिएको हुन्छ– कन्दमुल (पिँडालु, संखतरुल, भान्नेतरुल, केरेतरुल, कब्ली) र पिठो या चामलले । पछि त्यसमा नगद पनि मिसिन्छ । 

 

पानीफोटो –३
दमाहा बजाउँदै एउटा मानिस अघि लाग्छ । त्यसपछि क्रमशः दमाहा बजाउनेलाई पछ्याउँछन् दौरी, मादल, झ्याली र पैजन बजाउनेले । बाजाका गर्डुमडुमडुम आवाजका बिबीचमा बाँकी तन्नेरीले पाटेसिसुला हाल्छन्, सुईसुईसुइय... । रैथाने बाजाका तालमा तन्नेरी हुल अर्काे गाउँ पुग्छ, जुन हुलमा चामलमा बियाँजसरी दुई–चार पाका पनि मिसिएका हुन्छन् । 


तन्नेरी हुललाई आयोजक तरुनीहरू हुलले स्वागत गर्छ । तन्नेरी हुल पैसरी नाच्छ । त्यसवेलासम्म तारा हान्ने तयारी भइसकेको हुन्छ । काठको सानो फल्याकजस्तो हो,जसको बीचमा अँगारले कोरेर गोलो घेरा बनाइएको हुन्छ, त्यही त हो तारा । निसानेबाजले त्यही भागमा निसाना लगाउनुपर्छ । 


थापेको तारा छेवैमा हुन्छ, एक बोतल घरपालुवा र बोतलको बुजो लागेको नगद । बोतलसँगै बसेको हुन्छ, बुट्टेदार बासा । सीपवाल तरुनी हातले बुट्टा भरेको हो । जुन बासामा कक्कड राख्ने चलन हुन्छ । तारा हान्ने तन्नेरीबीच विमर्श चल्छ । बयान्नेका निसानेबाज स्याउलाबाङ्ङे भेना, भिरपाटे भेना, भिखे दाजु, गोफ्ले भैदारसहित बाँकी तन्नेरीहरूबीच होड चल्छ । धनुषकाँध तन्नेरी भएर भरुवा बन्दुक भएको तारा हान्ने जिनिस । एकजनाले निसाना लगाउँछन् । त्यसपछि तरुनतन्नेरी गाउँछन् । नाच्छन् । 

पानीफोटो –४
माइती घर जाने साइत नजुरेका र टाढाका चेलीकहाँ खिर्ची लिएर माइती लर्को छुट्छ । जुन लर्कोका माइती गोडा असलीभन्दा पनि बायुपंखी घोडाको गोडाले हिँड्छन् ।  जैपा र लामिडाँडा दुई गाउँका एउटै खलक छन्, ह्राङु पुन । एउटै भाइ पर्‍याल भन्छन् । एक गाउँका अर्को गाउँमा पुग्छन् । त्यसपछि भन्छन्, ‘हाम्ता खिर्ची लिएर चेली पुज्न आइगिम् ।’


०००
तपाईंले देख्नुभएका चार पानीफोटो उत्तरी रोल्पाको दुर्गम गाउँ जैपाको माघे संक्रान्तिका हुन् । जुन फोटो बिस्तारै धुमिल हुँदै छन् । एउटा पानीफोटोमा ‘पाइयो पाइयो’ भन्दै माघे संक्रान्तिमा ‘पाइयो खेल्ने’ फुच्चे मै हुँँ । बचपनमा रङ्नाम, बाँठाकोप्चा, बाँस्कोट, एक्लेपोनडेरा, ओखरबोटजस्ता मेरा गाउँका टोलहरूमा पाइयो खेलेको सम्झना ताजै छ । सम्झना साथमै छन्, तन्नेरी दाजुहरूका पुच्छर लागेर रानीकोट तारा हान्न गएको र काकुहरूसित खिचडी लिएर लामीडाँडा गएको पनि । 

माघे सकराति राजधानीको डेरामा कहिले प्रत्यक्ष प्रसारण गर्ने टिभीमा हेर्छु त कहिले टुँडिखेल पुगेर । ‘कम्तीमा बड्डाहरू टुँडिखेलमा नाच्या त छन्’ भन्छु अनि ‘ढुक्क’हुन्छु कतिखेर । 


मगर समुदाय र माघे संक्रान्तिलाई एकअर्कासँग गाँस्ने पेचकिला छन् । ती हुन्, पुर्खालाई सम्झिने, खिर्ची दिएर चेली पुज्ने, सेतो टीका र झोप्ल्यानी लगाउने, याम फेरिने, प्रकृतिलाई धन्यवाद ज्ञापन गर्ने, तारा हान्ने खेल आदि । मूल थलो रापती र धवलागिरि भए पनि मगर समुदाय नेपालभर छरिएकाले माघे संक्रान्ति मनाउने तौरतरिकामा विविधता छ । 


माघे संक्रान्तिः याम फेरिने दिन


मगर समुदाय खस नेपालीमा भनिने माघे संक्रान्तिलाई माघे सकराति भन्छन् । मगर समुदाय माघे सकरातिको दिनदेखि याम फेरिन्छ भन्ने विश्वास गर्छ । यसैगरी, मगरले ऋतुु होइन, याम भन्छन् । थारूलगायत कतिपय आदिवासी समुदायले माघे सकरातिलाई आर्थिक वर्ष मान्छन् । माघे संक्रान्तिमा देशका विभिन्न भागमा ठुल्ठूला मेला लाग्छन् । जस्तो– रिडी, बाह्रकुने दह (घोराही), मारीबाङ (रोल्पा) आदि । 

 

रुकुम तकसेरा क्षेत्रबाट काम्लोलगायत
ऊनजन्य स्थानीय उत्पादन बेच्न महिनौँ हिँडेर रिडी पुग्ने चलन अहिले पनि छ । साउने संक्रान्तिदेखि उँधेउली र माघे संक्रान्तिदेखि उँभेउली याम सुरु हुन्छ । माघ १ गतेपछि गर्मी सुरु हुन्छ भनिन्छ ।  अनुसन्धाता मीन श्रीसमगरले ‘आगो तापेर बस्ने समयको अन्त्य भएको प्रतीकका रूपमा डोल्पाली मगरहरूले माघे संक्रान्तिमा राँको फाल्ने र काग पुज्ने रीति प्रचलनमा ल्याएको र साउने संक्रान्तिदेखि तापक्रम घट्दै जाने भएकाले जाडो बढ्ने संकेतस्वरूप आगोको अगुल्टो घरको छानाको चारैतिर बालेर पूजा गर्ने’ उल्लेख गरेका छन् ।

उनका अनुसार उँभेउलीको प्रारम्भ हुने साउने संक्रान्तिमा मादल फुकाएर सुरु गरेको आख्यानयुक्त नृत्य गीत मारुनीलाई माघे संक्रान्तिमा समापन गरेर कौर्‍हा नृत्यको विधिवत् थालनी हुन्छ । ‘पुस मसान्तको दिन फूलको थुंगा उडाएर समापन गरेपछि उँधौली याम सुरु हुन्छ,’ मगरविद् बमकुमारी बुढामगर भन्छिन् । 


माघे संक्रान्तिपछि मगरको मूल बाजा मादल
बन्द हुन्छ । शास्त्रीय रूपमा बजाउन बन्द भए पनि मेला र कोही मरेमा मरुजस्ता आकस्मिकतामा खुलै हुन्छ । 
उँभेउली याममा मादलविनाको कौर्‍हा र घाटुु नाच्छन् । जाडोवाल उँधेउलीमा कुर्लेर गाउने गीत, घन्काएर बजाउने मादल र उफ्रेर नाच्ने नाच । श्रीसमगरका अनुसार उँभेउलीमा नयाँ पालुवा पलाउने, चराचुरुंगीले बच्चा कोरल्ने, खेतबारीमा अन्नको बिउ छर्ने भएकाले सृष्टिका प्रतीक नारी अर्थात् कन्याहरूको सौम्य र शान्त प्रकृतिका नाच नाच्ने चलन छ । 

 

तारा हान्ने
तरुनीले तन्नेरीलाई निम्ता दिएर तारा हान्ने खेल मनोरञ्जनमै सीमित देखिए पनि यसको थालनीचाहिँ मगर युवालाई सिकारमा दक्ष बनाउन  भएको हो । माघदेखि गर्मी सुरु हुने र जाडोमा ओडारमा लुकेका जनावर बाहिर निक्लिन थाल्छन् । ती जनावरको सिकार खेल्न सीप पनि त चाहियो । सीप कसरी सिक्ने त ? माघे संक्रान्तिको दिनदेखि सिकार विद्या सिकाउन तारा हान्ने खेल सुरु हुन्छ । 


अनुसन्धाता बुढामगर भन्छिन्, ‘युवालाई सिकार खेल्न जानलाई ताराखेल त तालिम हो । माघदेखि असारसम्म सिकारको समय हो ।’ उँभौलीमा ठूला जनावर पनि बाहिर निक्लिन्छन् । त्यसपछि सिकारीले सिकार गर्छन् । सिकार खेल्दा कोही चहारी हुन्छन् त कोही बथानी । चहारीले सिकार लखेट्ने हो भने बथानीले बथाना बसेर निसाना लगाउने । सिकारी युगबाट खेतीपाती युगको चरणमा पुगेपछि तारा हान्ने तरुनीले तन्नेरीले बोलाएर तारा हान्ने बाजीमै सीमित भएको छ । 


श्रीसमगरका अनुसार त रुकुम रोल्पातिरको रैथाने मगर समाजमा पुस १५ गते नम्सुइँ (तीर फुकाउने) विधि गरेर तीर हान्ने अभ्यास नै हुन्छ । माघको तेस्रो दिनदेखि पाँचौँ दिनसम्म एक ठाउँमा भेला भएर तारो हान्छन् । श्रीसमगर लेख्छन्, ‘निसाना लगाउनेलाई बाजा बजाउँदै र ‘स्याम्बो स्याम्बो राजा, स्याम्बो स्याम्बो रानी’ भन्ने गीत गाउँदै बोकेर डुलाउँछन् ।’ 
माघे संक्रान्ति साँझपखदेखि बुढापाकाहरू जम्मा भई आफ्ना दुःखसुखमा भन्ने गीत हो, श्याम्भो गीत । जुन गीत संक्रान्तिपछि दुई–तीन दिनसम्म गुञ्जन्छ । यसैगरी, माघे संक्रान्तिमा डाँफे र मयूरको आख्यानमा आधारित डाम्फ्या स्याई (झोराल्नी वा जोरा स्याई) नाच र गीत पनि प्रस्तुत गर्ने चलन छ । 


डोल्पाका तराली मगरहरूले माघे संक्रान्तिमा तारो हान्छन् । घोडा दौडाउँछन् । पुतली नचाउँछन् । श्रीसमगरका अनुसार बाग्लुङको निसी भल्कोटमा पञ्चेबाजाको तालमा पुतलीनाच (तरबार नाच) नाच्छन् । निसी कापारूपमा मुकुण्डो लगाएर जौंबारीमा उफ्रिँदै घरघरमा गएर दान माग्दै नाच्ने काइपानाच नाच्छन् ।

सेतो टीका र झोप्लेनी 
रैथाने अन्न जौ । मगरले शुभकार्य र उत्सवमा जौ प्रयोग गर्छन् । बिउ ठीक छ कि छैन भनी बिउ परीक्षण गर्नुलाई ख्यारो गर्ने भन्छन् । जौ कति प्रतिशत उम्रिन्छ भनेर अँध्यारोमा परीक्षण हुन्छ । उम्रेको पहिलो जवारा (जमरा) भन्छन् । अठार मगरातमा असोज कात्तिकमा ख्यार गर्छन् । तुसारो परेकाले जौ त पुस अन्ततिर बल्ल टुसाउँछ । 

 

टुँडिखेलमा बोलाएका नेताले भाषण ठोक्छन् । मगर ‘माघे सकराति’को राजधानी कर्मकाण्ड सकिन्छ । मगर समुदाय सरोकार र अधिकारका जिनिसलाई नछोईकन मूलधारे मिडियाले ‘सुन्दर’ मगर युवतीका फोटो छाप्छन् ।


‘जौ उम्रेको देखेर अब अनिकाल हुन्न भनी प्रकृतिलाई धन्यवाद दिन खुसियालीमा फूलको रूपमा जौ सिउरिन्छन्,’ माघे संक्रान्तिको दिन दिदी–बहिनीले दाजुभाइ र घरको धुरीखामामा झोप्लेनी लगाउनुको कारण भन्छिन्, बमकुमारी बुढामगर । माघे संक्रान्तिमा बिहानै नदी, पोखरी वा धारोमा नुहाएर गोबरले घर पोत्छन् र घरको धुरीखामा(खाँबो) पनि ।

 

अक्षताको सेतो टीका लगाइदिएर झोप्लेनी लगाइदिन्छन् । यो घरको पूजा हो । यसरी फूलको रूपमा लगाउने जौलाई झोप्लेनी भन्छन् । बमकुमारी बुढामगरका अनुसार सेतो टीका लगाउनुको कारण हो, हामी हिमालजस्तै सेतो र उच्च छौँ भन्ने आत्मसम्मानबोध गराउनु । 


दाजुभाइले दिने खिर्चीमा प्रयोग हुने कन्दमुल पुस मसान्तमा उसिनिन्छ । खस नेपालीको खिचडी भनिने खिर्चीलाई कतै खिर्चो त कतै मिश्रा पनि भन्छन् भने बाह्रमगराततिर निस्रो । देवीका घर्तीमगरका अनुसार माघे संक्रान्तिमा अविवाहित युवतीहरू टोली बनाई घरघरमा पुगेर मस्यान्द्रा माग्छन् । जसलाई मस्यान्द्रा खेल्ने भन्छन् ।


रोल्पा र रुकुमका केही भागमा माघे संक्रान्तिमा सिस्नो खेल्छन् । रुकुम (पश्चिम) सदरमुकाम मुसीकोटछेवैको साँकस्थित मगर गाउँमा लाग्ने पापिनी मेलामा आउने नवागन्तुकलाई सिस्नोले हान्ने चलनबारे स्थानीय पूर्णबहादुर बुढामगर भन्छन्, ‘नइय मान्छेलाई सिस्नोले हान्छन् ।

 

तिनले रकम दिने चलन छ । यसरी हानेमा मातम हुन्छ भन्छन् । सिस्नोले हानेमा रोगव्याध जाने र राम्रो हुन्छ भन्ने मान्यता छ ।’ सिस्नो खेल्नुलाई अनुसन्धाता श्रीसमगर सिस्नोको जरा खान आएको बँदेललाई सिकार गर्ने क्रममा सिस्नोको झाङ हुँदै भागदौड हुने घटनालाई प्रतिबिम्बित गर्न सुरु भएको खेल अहिले मनोरञ्जनको माध्यम बनेको उल्लेख गर्छन् । माघे संक्रान्तिमा कन्दमुलका अलावा मगर समुदायले मासु र माछा खान्छन् । कतै राँगा कतै सुँगुर त कतै भेडा वा बाख्राको मासु । 


खोलाछेउका बस्तीका मगर समुदायले कात्तिक अन्त वा मंसिरमा माछा घर बनाउँछन् । गहिरो पानीमा बनाउने त्यही घरमा माछा बस्छ । पुस मसान्तभित्रै माघे संक्रान्तिमा खानलाई माछा मार्छन् । यसरी बनाउने माछाको घरलाई रोल्पातिर कतै गरिङ भन्छन् त कतै कुर ।

बिसाउनीमा 
०६८ को जनगणनाअनुसार मुलुकको तेस्रो र आदिवासीमध्ये पहिलो जनसंख्यावाल मगर समुदायले परम्परादेखि मनाउने माघे संक्रान्तिलाई नेपाल सरकारले मगर समुदायकै प्रमुख पर्व र राष्ट्रिय पर्वको रूपमा ०६५ सालमा मान्यता दिएको छ । तर, उपभोक्तावादी संस्कृतिवाल पुँजीवादको भोटो लगाएर मान्यतावाल माघे संक्रान्ति अहिले मुलुकको राजधानी काठमाडौं पसेको छ । माघे संक्रान्तिमा राजधानीतिर मगर युवायुवती र मगर नेता टुँडिखेलमा भेला हुन्छन् । तिनीहरू नाच्छन् । गाउँछन् । पिउँछन् । 


मगर भविष्य चिन्तन, विमर्श र योजना बनाउन गठित नेपाल मगर संघले टुँडिखेलमा बोलाएका नेता (कहिले प्रधानमन्त्री त कहिले मन्त्री)ले भाषण ठोक्छन् । मगर ‘माघे सकराति’को राजधानी कर्मकाण्ड सकिन्छ । मगर समुदाय सरोकार र अधिकारका जिनिसलाई नछोईकन मूलधारे मिडियाले ‘सुन्दर’ मगर युवतीका फोटो छाप्छन् । 

 

माघे सकराति राजधानीको डेरामा कहिले प्रत्यक्ष प्रसारण गर्ने टिभीमा हेर्छु त कहिले टुँडिखेल पुगेर । ‘कम्तीमा बड्डाहरू टुँडिखेलमा नाच्या त छन्’ भन्छु अनि ‘ढुक्क’ हुन्छु कतिखेर । कतिखेर भने ‘हुक्क’ हुन्छु । शासक संस्कृति हुँदाहुँदै पुजीवादवाल उपभोक्तावादी संस्कृति नामक कोभिड–१९ को पनि संक्रमणले घिटीघिटीरत रैथाने माघे सकरातिको ‘पानी फोटो’ हेर्दै घरीघरी सुदूर गाउँहरूसँगै ‘नोस्टाल्जिक’ हुन्छु ।

from Nayapatrika

No comments:

Post a Comment