Friday, November 11, 2011

देवीले संसदमा भनिन- ‘म पनि माधव नेपालविरुद्ध किटानी जाहेरी दिन्छु’

Photo: Nabin Bibhas
२५ कात्तिक, काठमाण्डौं । ब्यक्ति हत्याको आरोपमा जन्मकैद फैसला सुनाइएका माओवादी सभासद बालकृष्ण ढुंगेलको मुद्दा फिर्ता लिन सरकारले सिफारिस गरेको बिषयले आइतवारको सदन तात्यो । माओवादी र बिपक्षी सभासद्ले पक्ष र बिपक्षमा आ-आफ्ना धारणा राखे ।
यसरी बोल्ने समासदमध्ये सवैभन्दा मार्मिक र पेचिलो सम्बोधन थियो- माओवादी सभासद देवी खड्काको । जनयुद्धका क्रममा आफ्ना श्रीमान र दाजुसहित चार जना गुमाएकी तथा प्रहरी हिरातमा आफ्नै अस्मिता गुमाएकी देवीको सम्बोधनले त्यसअघि बोल्ने धेरै वक्ताको अनुहारलाई अँध्यारो बनाएको थियो भने सदनमा सन्नाटा छाएको थियो ।

देवीले बोलेका मुख्य अंशहरु उनकै शब्दमा -
सभामुख महोदय, म केही कुरा पाँचमिनेटभित्र राख्न चाहान्छु । हामी सहमति खोजिरहेका छौं कि बिगतको समिक्षा गर्दै छौं ? यदि युद्धको समिक्षा गर्दै छौं भने सवैको समिक्षा हुनुपर्छ मसंग पनि किटानी जाहेरी छन् । उज्जनकुमार श्रेष्ठ वा अर्जुन लामाको परिवारको भावनामाथि ठेस पुर्‍याउन खोजेकी हैन, मैले केही गम्भीर कुरा राख्दै छु ।
अहिले बालकृष्ण ढुंगेलले ब्यक्तिगत रिसिइवीका आधारमा उज्जनकुमार श्रेष्ठको हत्या गरिएको भनिदै छ, बालकृष्ण ढुंगेल ४२ सालदेखि कम्युनिष्ट राजनीतिमा हुनुहुन्छ, उहाँले कसरी ५५ सालमा आएर ब्यक्तिगत रिसीइवीका आधारमा मान्छे मार्नुभयो ? जुन बेला उज्जनकुमारको हत्या भएको छ त्यो बेला ढुंगेल काठमाण्डौंमा हुनुहुन्थ्यो, कृष्णप्रसाद सापकोटाको उपचारका लागि । त्यसको प्रमाण अहिले पनि ल्याउन सकिन्छ, के मैले त्यो पेश गरुँ ?
ठिकै छ ढुंगेललाई जेल हाल्नुपर्ने हो भने उहाँ आठ बर्ष जेल बसिसक्नुभएको छ, फैसलाअनुसार अब १५ महिनामात्र हो, ठिकै छ उहाँलाई जेल हालौं । तर मैले पनि किटानी जाहेरी दिनसक्छु, हाम्रा पनि जाहेरी छन् ।
२०५९ साल असार २ गते मेरा दाजु रितबहादुर खड्कालाई रौतहटको चन्द्रनिगाहापुर हत्या गरियो, मेरो परिवारले अहिलेसम्म पनि लास पाउन सकेका छैनौं । त्यही छेउमा एमाले नेता माधवकुमार नेपाल भाषण गर्दै हुनुहुन्थ्यो, उहाँको सुरक्षाका खटिएका सुरक्षाकर्मीले मेरा दाजुको हत्या गरेका हुन् । मेरी भाउजु र आमाले माधवकुमार नेपालबिरुद्ध किटानी जाहेरी दिन सक्नुहुन्छ । के हामी अब त्यसै गर्ने हो ?
तपाई हामीले बिर्सेका छैनौं ५४ मा को हनुुहुन्थ्यो प्रधानमन्त्री र को हुनुहुन्थ्यो गृहमन्त्री । म स्वयंलाई पक्राउ गरेर प्रहरी हिरासतमा अस्मिता लुटिएको छ । अस्मिता लुटिएको प्रमाण डा. भोला रिजालले दिनुभएको छ । मेरो इज्यत लुटिएकोमा त्यतिबेलाका प्रधानमन्त्री र गृहमन्त्रीलाई किटानी जाहेरी दिउँ ? राज्यले बेपत्ता पारेका पूर्ण पौडेलकी श्रीमति पनि यही हुनुहुन्छ, यही सदनमा हामी थुप्रै परिवार छौं जसले द्वन्द्वका बेला राजनीतिक आस्थाका आधारमा आफ्ना परिवारका सदस्य गुमाएका छौं, अस्मिता गुमाएका छौं । के हामी सवै पछाडी र्फकने हो ? त्यसो भए भोलीबाटै भिडौं, परिणाम के निस्कन्छ त्यसपछि हेरौंला । के यहि तरिकाले शान्ति आउँछ ? समाधान निस्कन्छ ?
बालकृष्णलाई जेल हाल्ने कि नहाल्ने भन्ने बिषयमा आदेश गर्न नपर्ने भनेर सर्वोच्च अदालका सम्मानित प्रधान न्यायाधीशले भनिसक्नु भएको थियो, त्यो तथ्यलाई बुझेर पनि किन हामी बुझ पचाएर अभिनय गरिरहेका छौं ?
२०३८ सालमा मेरो दाजु मार्ने जिल्ला न्यायाधीश आज सम्मानित पोष्टमा हुनुहुन्छ, मैले त्यो पहिले नै सार्वजनिक गरिसकेकी छु । मबिरुद्ध पनि १३ वटा मुद्दा छन, म पनि जेल बस्नुपर्छ । हामी अगाडी जाने हो भने यो तरिका ठिक होइन् । सम्बेदनाको छहारीभित्र हामी छुद्र खालको राजनीति गर्दैछौं, म बिनम्रतापूर्व आग्रह गर्छु त्यसो नगरौं, सम्मानित सदनलाई अलिक गम्भीर खालका राजनीतिक मुद्दामा बहस गर्ने थलो बनाउँ ।
यो सव देख्दादेख्दै पनि म एक बर्षसम्म बोलिन, अहिले म बाध्य भएर यो कुरा राख्दै छु सम्माननीय सभामुख महोदय । युद्धकालीन घटनालाई ब्यक्तिरुपमा जाने हो भने साढे १३ हजार मान्छे राजनीतिक आस्थाका कारण मरेका छन, अमेरिकन र इन्डियन आएर त पक्कै मारेन, ती सवैको खोजी गरौं र जाहेरी दिन सुरु गरौं । यदि सहमतिका आधारमा अगाडी जाने हो भने छुद्र राजनीतिको धरावाहिक श्रृङखला अन्त्य गरौं भन्ने आग्रह गर्न चाहान्छु ।

No comments:

Post a Comment