Friday, November 11, 2011

सम्मानपूर्वक नहुँदासम्म सेना समायोजन हुँदैन

नेत्रविक्रम चन्द विप्लव, माओवादी नेता
शान्ति प्रकृया टुंग्याउने विषयमा मुख्य तीन दलबीच कात्तिक १५ गते भएको महत्वपूर्ण सहमतिप्रति सवै राजनीतिक दल र आम जनता खुसी भइरहेका बेला माओवादीकै एउटा हिस्सा भने चर्को बिरोधमा उत्रिएको छ । उसका गतिबिधि र अभिब्यक्ति हेर्दा लाग्छ कात्तिक १५ को रात खुसी भन्दा पनि दुःखी हुनुपर्ने रात हो । सहमति कार्यन्वनय हुन नसक्ने बताउँदै आएको बैद्य समूहले कब्जा सम्पत्ति फिर्ता गर्ने पार्टी निर्देशनको पनि अबज्ञा गरेको छ । सबै क्षेत्रले स्वागत गरेको सहमतिप्रति माओवादीको वैद्य समूह किन असन्तुष्ट ? वैद्य पक्षले चाहेको के हो ? त्यो पक्षका लडाकुले अब के गर्लान् ? बैद्य पक्षका खास नेता र योजनाकार भनेर चिनिने नेत्रबिक्रम चन्द बिप्लवसँग हामीले छोटो कुराकानी गरेका छौं ।शान्ति प्रकृया टुंगिने भयो भनेर सबै खुशी भैरहेको बेला तपाईंहरु चाहिं किन बिरोध गरिरहनुभएको ?हामीले पहिले नै भनिसकेका छौं, कात्तिक १५ को रात बिसर्जनलाई बोकेर आएको अँध्यारो रात नै हो । यसले हाम्रो पार्टीको योजना र विचारलाई कुठाराघात गरेको छ । प्रचण्ड र बाबुराम भट्टराईले जनयुद्धकालमा शहिद, बेपत्ता र घाइते परिवारलाई देखाएको सपना नै उल्टाइदिनुभएको छ । सम्झौतामा जनमुक्ति सेनालाई बिसर्जन गर्ने काम भएको छ । जनमुक्ति सेनालाई हतियार विनाको, कर्मचारीको रुपमा बदलेर उसको बलिदान र इतिहासमाथि नै कुठाराघात गर्ने काम भएको छ । कब्जा सम्पत्ति फिर्ता भनेर किसान र भूमिहीनहरुको जग्गा खोस्ने काम भएको छ । काम हेर्दा आत्मसमर्पणको झल्को देखिन्छ । त्यसैले हामीले यसको बिरोध गरेका हौं ।
शान्ति र संविधान निर्माणमा एउटा प्रकृया शुरु हुने बित्तिकै फेरि बिरोध हुने गर्छ । यसलाई तपाईंहरुले निरन्तरता किन दिइरहनुभएको ?यो बिरोधको कुरा नै होइन । यो त नयाँ नेपाल, सेनाको नयाँ संरचना बनाउने भन्ने सहमति कार्यान्वयन गर्ने नगर्ने भन्ने बहस हो । लागू भयो भने संघर्षको उदेश्य अनुसार हुन्छ, नत्र जनताले धोका पाउँछन् भन्ने कुरा हो । हामीले यही कुरा उठाएका हौं । हामीले कुनै आग्रह र पूर्वाग्रहको आधारमा यस्तो गरेका होइनौं । बाबुराम जी प्रधानमन्त्री हुने बित्तिकै अरु दलहरुसँग आन्दोलनको भावना बिपरीतका कामहरु हुँदैछन् भनेर नै हामीले खबरदारी गरेका हौं ।

तपाईंहरुले सहमतिको बिरोध गर्नुभएको छ, तपाईंहरुको कुरा अनुसार जनसेनाको भविष्य के हुन्छ ?जनमुक्ति सेना सुरक्षित रहन्छ । जनमुक्ति सेनाको औचित्य, गौरव, बलिदान र समर्पण नेपाली जनताको अधिकारसँग जोडिएको छ । जनताले अधिकार नपाएसम्म जनमुक्ति सेनाको औचित्य रहन्छ । प्रचण्ड र बाबुरामजीलाई प्रधानमन्त्री बनाउनु र अरु दलसित सहमति गर्दामै जनमुक्ति सेनाको औचित्य सकिंदैन । जनमुक्ति सेनाको औचित्य समाप्त भएको छैन । जनताको अधिकार सुनिश्चित भैसकेको छैन । जनअधिकार सुनिश्चित नहुँदासम्म जनमुक्ति सेनाको औचित्य कायम रहन्छ । हामीले अरु दललाई समेत भनिसकेका छौं, प्रचण्ड र बाबुराम जीसित सहमति गर्दैमा शान्ति प्रकृया टुंगिदैन । जनतालाई एकातिर छाडेर कुर्सीको हानथापको लागि गरिएका सहमतिको औचित्य समाप्त हुन्छ । यो बहस पार्टीभित्रको अन्तरसंघर्ष मात्रै होइन सिंगै नेपालको राजनीतिक बहस हो । जनमुक्ति सेना कसरी रहन्छ भन्ने कुरा चाहिं पछिको कुरा हो ।

तपाईंहरुको विचार मान्ने लडाकु पुनस्र्थापनामा जाँदैनन् त्यसो भए ?जनमुक्ति सेनाका योद्धा पैसाको लागि लडेका होइनन् । यसले लडाकुलाई दुखित बनाएको छ । अहिलेको सहमतिले बिसर्जनको बाटो डोहोर्याउँदैछ । लडाकूलाई बिसर्जनको बाटोमा लैजाने सहमतिलाई हामी कार्यान्वयन हुन दिंदैनौं । हामी छलफल गर्दैछौं । यो गम्भीर विषय हो । सम्मानपूर्वक समायोजन हुने या आफ्नो रक्षा गर्ने यो विकल्प बाहेक जनमुक्ति सेना अरु बाटोमा जाँदैन । सम्मानपूर्वक नहुँदासम्म सेना समायोजन हुँदैन ।

पार्टीभित्र त अल्पमतमा हुनुहुन्छ । तपाईंहरुको कुराले कत्तिको मान्यता पाउला ?अल्पमत र बहुमत ठूलो कुरा होइन । अल्पमत हुन्छ भनेर सही कुरा उठाउन छोड्नुहुन्न । हामीले यही गरेका हौं । अहिले संख्या थोरै देखिएपनि आखिरमा जित सत्य र इमान्दारिताकै हुन्छ । अल्पमत त फेरि बहुमत भैहाल्छ नि ।

सहमति नसच्चिए के गर्नुहुन्छ ?यति मात्रै भनौं जनता र इतिहासको आवाज नसुन्ने नेताहरु आफैं पाखा लाग्छन् । यो कुरा माओवादी नेताहरुको जीवनमा लागु नहोस् भन्ने कामना मात्र गर्न सकिन्छ । सत्तामोहले नेताहरुलाई जिम्मेवारीबाट बाहिरिएको जस्तो देखिन्छ ।

जग्गा फिर्ताको सहमति कार्यान्वयन हुन त अवरोध गर्नुभयो नि ?हामी गर्न दिंदैनौं । धेरै जमिन भएकाहरुको जग्गामा सुकुम्बासी गएर बसेका छन् । उनीहरुलाई हटाउनु कत्तिको न्यायोचित हुन्छ ? त्यसैले जनताको अधिकार कुण्ठित हुने कामको पक्षमा हामी छैनौं । तपाईंहरु क्रान्तिको कुरा गर्नुहुन्छ ।

सबैले शान्तिको पुकार गरिरहेको बेला तपाईको क्रान्ति कसरी सम्भव छ ?क्रान्ति भनेको लहड होइन । जनताको अधिकार सुनिश्चित गर्ने कुरा हो । अहिले पनि जनता भेदभाव र उत्पीडनमा छन् भने क्रान्ति सफल हुन्छ । तर हतियार नै बोक्ने कुरा हामीले गरेको छैनौं । जनताको अधिकारको लडाईं त अवश्य हुन्छ । अहिलेको सहमतिले जनअधिकार कुण्ठित गरेको छ । 

from Onlinekhabar.com

No comments:

Post a Comment