Tuesday, November 6, 2012

थबाङमा 'प्रचण्डलाई बास छैन'

दुर्गालाल केसी , थबाङ (रोल्पा), कार्तिक २१ - कुनै समय थबाङका हरेक घर माओवादीका सेल्टर हुन्थे । पुष्पकमल दाहाल 'प्रचण्ड' भनेपछि खाना खुवाउन तँछाडमछाड गर्नेहरूको लाइन लाग्थ्यो । तर अहिले थबाङका कुनै घर उनलाई बास दिन तयार छैनन् । बरु उनी आए कालोझन्डा देखाउने भन्दैछन् ।
माओवादीले युद्धकालमा राजधानी मान्दै आएको थबाङमा अहिले एमाओवादीका गतिविधिमा अघोषित प्रतिबन्धजस्तै छ ।

थबाङका सर्वसाधारणसमेत दाहालप्रति तीव्र आक्रोश व्यक्त गर्छन् । युद्धकालमा लामो समय दाहाललाई खाना खुवाएका, बास दिएका र आफ्नो जीवन धरापमा पारेर पनि नेतालाई बचाएका जनता अहिले निराश छन् ।
'नेताहरूलाई बचाउन हरेक थबाङवासीले घरबास छाडेर ६ महिना जंगलमा जीवन बिताएका छौं,' स्थानीय श्रम रोकाले भनिन्, 'तिनै नेताले धोका दिए । अब प्रचण्डलाई यहाँ बास छैन ।' २०५८ चैतमा गाउँमा सेना पुगेपछि सबै मानिस पूरै गाउँ खाली गरेर लडाकु र नेताहरूको पछि-पछि जंगलतिर लागेको उनले सम्झना गरिन् । सात महिनापछि असोजमा फकर्ंदा घर, बारीको मकै, घरभित्रका अनाज, गाईबाख्रा केही बाँकी थिएनन् । घरबाससँगै सबै जलेको उनले बताइन् ।
प्रचण्डविरुद्धको आक्रोश यहाँ एक वर्षअघिबाटै सुरु भएको हो । पार्टी विभाजनअघि स्थानीय अजम्बरी जनकम्युनले वृक्षरोपण कार्यक्रम उद्घाटनमा बोलाएका दाहालविरुद्ध सबैले कालोझन्डा देखाउन खोजेपछि लडाकुहरूले जबर्जस्ती थामथुम गरेर रोकेका थिए । दाहाल सत्तामा गएर सुख सुविधाभोगी भएको, क्रान्तिको लक्ष्य अलपत्र पारेको, गरिब जनतालाई केही नहेरेको र आर्थिक लाभको पछि लागेको थबाङका बासिन्दाको आरोप छ । त्यही कारण अहिले थबाङवासी दाहाल र उनको पक्षका नेतालाई प्रवेश नै नदिने तयारीमा छन् ।
दाहाललगायत उच्च माओवादी नेताहरूप्रति यति धेरै आक्रोश हुनुका धेरै कारण छन् । थबाङवासीले दाहाल र उनले थालेको युद्धका लागि पूरै गाउँ जल्न दिएका छन्, ३३ जनाले ज्यान गुमाएका छन् अनि सात महिनासम्म पूरै गाउँ खाली गरेर जंगलमा कठिन जीवन बिताएका छन् । माओवादीको बैठकका लागि घर दिने फुन्टीबाङका सत्यप्रकाश बुढा हुन् वा दाहाललाई पटक-पटक खाना खुवाएकी ठूलो गाउँकी श्रम रोका, अहिले सबैका मनमा निराशा र आक्रोशबाहेक केही बाँकी छैन ।
यो सबै बलिदानी आफूहरूजस्तै निम्न वर्गको जीवनमा परिवर्तन ल्याउन गरेको नेकपा-माओवादी थबाङ गाविसका इञ्चार्ज जयप्रकाश रोकाले बताए ।
'हिजो हामीले घरबार बर्बाद पारेर भए पनि प्रचण्डलाई बचायौं, सकी नसकी खाना खुवायौं, बास दियौं । जंगलमा भागी-भागी उनीहरूको सुरक्षाका लागि खट्यौं । आज उनीहरू काठमाडौं पुगेर महल बनाउन र गाडी चढ्न व्यस्त भए,' उनले भने, 'एक/दुई जना नेतालाई करोडपति बनाउन लडेका होइनौं । हामीले सबैको मुक्ति चाहेका थियौं तर केही भएन । अब प्रचण्डलाई थबाङमा बास छैन । प्रवेश निषेध छ ।' अहिले थबाङमा दाहाल पक्षले बैठकैसमेत गर्न नसक्ने अवस्था रहेको उनको भनाइ छ । दाहाल पक्षले भने गतिविधि गरिरहेको दाबी गरेको छ । पूर्वशिक्षक तथा जिल्ला सदस्य गिरीश पुनलाई गाउँ कमिटीको संयोजक तोकेर २१ सदस्यीय समिति गठन गरिसकेको दाहाल पक्षका जिल्ला संयोजक राजबहादुर बुढा अविनाशले दाबी गरे । 'वैद्य पक्षको आफ्नै खाले दाबी भए पनि पूर्वलडाकुहरू हाम्रो पक्षमा छन्,' उनले भने, 'हामीले एक दिन भेला गरेर समिति गठन गरिसकेका छौं । सन्तोष बुढा र जयप्रकाश रोकाजस्ता केही अगुवा नेताहरू म्ाात्रै वैद्य पक्षमा छन् । अरू हाम्रै साथमा छन् ।'
from Kantipur 

No comments:

Post a Comment