Wednesday, April 17, 2019

माओवादीमा एउटी यौनकर्मीको उजुरीपछि...

आठ बर्षपछि प्रचण्ड बालुवाटार फर्कन संसदमा चुनावी भाषण गर्दैथिए। आफ्ना सुप्रिम कमाण्डर देशको सबैभन्दा शक्तिशाली कुर्सीमा आसिन हुँदै गर्दा उनी भने देश छोड्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जापान उड्ने जहाज कुर्दैथिए। न्याय दिलाउँदै रोल्पाली वादी युवतीलाई जिल्ला निकाला गरेको १७ बर्षपछि कमरेड आफैँ नेपाल निकाला भएर जापान उड्दैथिए।
–––
ठीक त्यसैबेला मैले उनको फेसबुक रिफ्रेस गरेँ। फेसबुक वालमा लेखिएको थियो–
भत्किएको सपनाको खण्डहरमा टेकेर तुच्छ ठानिएको तर जिन्दगीले नयाँ स्विकारेको बाटो बढ्नेक्रममा सदा सहयोग गर्ने सहृदयी साढुदाइ नन्दबहादुर घर्तीमगर, दिदीसासू विश्व, प्यारो भतिज सागर र भतिजी शर्मिलाप्रति म साह्रै ऋणी छु। हृदयदेखि नै आभार प्रकट गर्छु।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज कुर्दै लेखिएको फेसबुक स्टाटस थियो जनमुक्ति सेनाको राजनीतिक कमिसार रोल्पाली श्यामकुमार बुढा मगर उर्फ चिन्तन।
त्यसपछि उनले पठाएको इमेलमा औँला दौडिए। 'ती आँधीमय दिनहरु' नामक उनको किताब तयार गर्दाका सामग्रीमध्ये एक ठाउँमा पुगेर आँखा अडिए। सामग्री सबै त होइन, धेरथोर किताबमा पनि राखिएको थियो।
–––
२०५६ ओरालो लाग्दा कमरेड चिन्तन रोल्पाको दक्षिण–पश्चिममा थिए। उनीजस्तै तन्नेरी माओवादी आफ्नो सांगठनिक काम र फौजी व्यवस्थापनमा जुटेका थिए। पूर्वी रोल्पाका उनी २०५४ को बर्षा सकिएलगत्तै दक्षिणपश्चिम क्षेत्रमा सरुवा भएका थिए। त्यसबेला उनी माओवादी रोल्पाको सदस्य थिए।
त्यसबेला एरिया समिति सदस्यकै ठूलो भाउ थियो माओवादीमा। जिल्ला समिति सदस्यको के कुरा।
लोकल नेताले पनि रनर भनिने बडीगार्ड पाउँथे। हतियारसहित सानतिनो दलबलसहित हिँड्थे। माओवादी देखेर एकथरीको सातोपुत्लो उड्थ्यो। अर्काथरीले भने माओवादी खोज्थे। समाज दुई भागमा बाँडिएको थियो। बीचमा बस्ने ठाउँ थिएन। कि राज्य पक्षमा लाग्नुपर्ने कि त विद्रोही अर्थात् माओवादी पक्षमा।
उसो त, रोल्पाली बनपाखा माओवादी उम्रनुअघि पनि दुई चिरामै विभक्त थियो। तर, राज्यसत्ता विरोधीको नेतृत्व गर्ने कोही अघि सरिसकेका थिएनन्। त्यसपछिको सेरोफेरोमा कमरेड चिन्तन सानतिनो दलबलसित नुवागाउँमा पुगेका थिए। बाह्रकुन्टेहुँदै दक्षिणतिर के लागेका थिए, एउटी युवतीसित भेट भयो।
कालीकाली। बाक्लो गाजल आँखामा। सस्तो दामको कुर्ता सुरुवाल। कपालमा रातो रिबन। अग्लीअग्ली। मंगोल र आर्य अनुहार एक ठाउँमा मिसाएजस्तो। ‘बाह्रकुन्टे काट्दा एउटी जवान केटीले आफू अन्यायमा परेको भन्दै न्याय दिलाउन उजुरी गरिन्,’ इमेल डायरीमा फेरि आँखा अल्झियो।

उजुरी गर्दा उनको साथमा स्थानीय अर्थात् नुवागाउँ एरिया इन्चार्ज पनि थिए। जसले गर्दा युवतीबारे थाहा पाउन र उनले किन उजुरी गरिन् भनी बुझ्नलाई सजिलो भयो।
उनको उजुरीको अनुहार उनका इमेल डायरीमा हेरेँः
‘सर मलाई ...ले ...महिनाको ...गते दुईपटक ...(यौन सम्पर्क) गरेको पैसा दिएन। सरले पैसा दिलाउनु पर्‍यो।’
–––
उजुरी सुनेर उनका कमरेड अक्क न बक्क परे। उनी पनि परे। तर, उनका कमरेड त रिसाएर युवतीमाथि खनिन थाले। त्यसपछि कमरेड आफै अघि सरे। गाली नगर्न भन्दै थामथुम पारे।
हुन्छ भनेर उनी दलबलसहित बाटो लागे। उनलाई बाह्रकुन्टे काट्दासम्म पनि आशाको नजरले हेरिरहेकी थिइन्। मानौं माओवादीले नै उनको कुरा सुन्छ।
जति टाढा गए उति नै उनी गम्भीर हुँदै गए। किन ती युवती आइन्? के सम्झेर माओवादीकहाँ आइन्?
उनी युवतीको उजुरीले तलदेखि हल्लिन थाले।
गरिबी र सामाज व्यवस्थाले यौनलाई पेशा बनाउन बाध्य बनाएको नेपालकै एउटा समुदायकी युवती थिइन्। र, परम्परागत समाजले बेश्या नाम दिएको ती समुदायको भाषा राज्यसत्ताले बुझ्दैनथ्यो। सत्ताले चिन्दैनथ्यो। र, तिनलाई सुन्दैनथ्यो।
आफूलाई परेको अन्यायबिरुद्ध पहिलोपालि उनले कुनै ठाउँमा उजुरी गरेकी थिइन्। पुस्तौंदेखि अन्यायको भुमरीमा पेलिदैआएका लागि कति अग्लो होला उजुरीको चाङ? उनले उनका जिजुबराजुको पालामै उजुरी हाल्नुपर्ने हो। तर उजुरी हाल्नु कहाँ?
उनले धेरैअघि माओवादी सुने पनि केही समयअघि मात्र माओवादीका उजुरी गर्नेबारेमा योजना बुनेकी थिइन्। र, उनको उजुरी सुन्ने कोही आएको छ भन्ने पनि सुनेकी थिइन्। र, उनी माओवादीकहाँ पुगेकी थिइन्।
कमरेड चिन्तन हिँड्दाहिँड्दै ती युवतीका अनुहार फेरि सम्झिए।
उनको आँखामा लज्जा थिएन। संकोच थिएन। तर, गाजलले जति ढाके पनि उनका आँखा भने असाध्यै तिर्खाएका थिए। पुस्तौं पुरानो तिर्खा थियो, न्यायको।
त्यसबेला माओवादीले यस्ता मुद्दा आउलान् र हल गर्नुपर्ला भनी सपनामा पनि चिताएका थिएनन्। तर, चुनौतीकै रुपमा आएका यस्ता मुद्दालाई हल नगरी माओवादीलाई सुक्खै थिएन।
माओवादीले जनयुद्ध थालेको दुई तीन बर्षपछि बिस्तारै माओवादीमा यस्ता मुद्दा आउन थालेका थिए। यसअघि त राज्य सत्ताको आडमा कैयन् सामाजिक मुद्दा दबाइएका थिए। सबैलाई थाहा हुन्थ्यो तर दोषी नै राज्य सत्ताको हालीमुहाली गर्ने भएकाले चुपचाप हेर्थे। कसैले बोल्ने आँटसमेत गर्दैनथे। अदालत पनि सर्बसाधारणका पहुँचमा थिएन। त्यसैले नजित्ने लडाइँ किन लड्नु भनी अन्यायलाई टुलुटुलु हेर्दै बसेका थिए।
‘मुद्दा नसुनौँ त माओवादीले केही गर्न नसकेको प्रचार हुने डर थियो। सुनौं त अनावश्यक झन्झटमा फसिने अर्को डर थियो। अन्ततः मुद्दा सुन्ने निर्णय भयो,’ उनको इमेलमा फेरि आँखा अडिए। मुद्दा किनारा लाउन माओवादीले अनुसन्धान थाल्यो। उसो त उनीसित स्थानीय कमरेड पनि थिए। थाहा भयो, छिमेकी जिल्ला सल्यानमा ती युवतीको बिहे भएको छ। र, नुवागाउँस्थित स्थानीय बादीपुत्री हुन्। परम्परागत नेपाली समाजमा वादी पुरुषले माछा मारेर बेच्ने र वादी महिलाले देह बेच्थे। नेपाली समाजले बादी जातिको लागि यसैलाई ‘पेशा’ बनाइदिएको थियो।
–––
केही समयपछि माओवादीले आरोपित युवकलाई पक्राउ गरे। केरकार गरे।
अन्ततः आरोपित युवकले युवतीलाई पैसा नदिई ठगेको स्विकारे।
कसरी हल गर्ने?
यस्तो प्रकृतिको मुद्दा माओवादीले न यसअघि हल गरेको थियो न त यस्तो अबस्थामा के गर्ने भनेर कुनै नियम नै बनाएको थियो।
‘दुबैतिर बयान लिएपछि कमरेडहरु झन् अलमलमा पर्नुभयो। प्रश्न उठ्यो –केटीलाई पैसा दिलाउँदा बेश्यावृत्तिलाई प्रोत्साहित गरेको ठहर्ने। नदिलाउँदा युवतीलाई अन्याय हुने। युवतीको त अभावको बाध्यता थियो। तर, सही समाधानको लागि विकल्प दिने स्थिति हाम्रो (माओवादीको) थिएन,’ इमेल डायरीका अक्षरमा मेरा आँखा फेरि अडिए।

लामो छलफलपछि माओवादीले समाधानको पाटो निकाल्यो। त्यो थियो, आरोपित युवकले ती युवतीलाई श्रीमती अपनाउने।
त्यसैअनुसार माओवादीले दबाब दियो। तर, ती युवकले मरेकाटे पनि मानेनन्।
युवकले नमानेपछि अब के गर्ने?
माओवादीभित्र फेरि गम्भीर छलफल भयो।
माओवादी स्थानीय जनताकहाँ पुग्यो। जनतासित परामर्श गर्‍यो।
त्यसपछि माओवादीले फैसला गर्‍यो–
१.युवकको अंशलाई नगदीकरण गर्ने। र, युवतीको भागमा परेको रकम दिने।
२.जनतामाझ युवकले गल्ती गरेँ भनी माफ माग्ने र पश्चाताप गर्ने।
३.युवतीलाई रोल्पा जिल्ला निकाला गर्ने।
३.आइन्दा त्यस्तो हर्कत गरे र युवती रोल्पा छिरेपछि माओवादीले ‘भौतिक कारबाही’ गर्ने।
माओवादीले यो फैसला लागू गर्‍यो।
युवतीलाई कति नगद दिलायो?
इमेल डायरीमा भेटिएन।
फैसलाबाट खुसी भए वा बेखुसी? तिनका प्रतिक्रिया के थियो?
इमेल डायरीमा खोजेँ। भेटिनँ।
माओवादी फैसलाले न्याय दियो कि दिएन?
इमेल डायरीमा फेरि खोजेँ।
‘त्यो घटनाले समस्या हल गर्ने वैज्ञानिक विधि र विचार पनि बिकास नगरी नहुने बनायो। सामाजिक अन्तरविरोधको जटिलताभित्र लुकेका यस्ता कैयौं समस्याका वैज्ञानिक समाधान राज्यस्तरबाटै नसोची नहुने रहेछ भन्ने बोध पनि गरायो,’ इमेल डायरीको बिट मार्दै लेखेको ठाउँमा फेरि आँखा अडिए, ‘ती युवती र उनको समुदायले बेश्याबृत्ति अंगाल्नु रहर थिएन। परम्परागत समाज व्यवस्थाले नै तिनलाई बाध्य बनाएको थियो। यसर्थ पनि आमूल परिवर्तन ती समुदायको लागि झन कति जरुरी रहेछ भन्ने कुरा यसले पनि देखाउँछ।’
अहिले ती युवक र युवती कहाँ छन्? के गर्दैछन्? रोल्पा निकाला गरिएकी ती युवती माइती गाउँ कहिल्यै फर्किइन् कि फर्किनन्?
कमरेड चिन्तन बेखबर छन्। बिलकुल बेखबर ।
युद्धको चापसँगै उनी जनमुक्ति सेनामा सरुवा भए। त्यसपछि सामाजिक कामबाट उनी पूर्णरुपले कटे।
तैपनि उनको आँखामा ती युवती आइरहन्छिन्। कालीकाली। बाक्लो गाजल लगाएकी। सस्तो तर सफा कुर्ता सुरुवाल लगाएकी। अग्लीअग्ली युवती। र, तिनका जीवनमा आमूल परिवर्तन ल्याउन नसकेको थकथकीले उनलाई पलप्रतिपल झस्काइरहन्छ। के सपना उनेर हिँडेको कहाँ पुगियो भन्दै बेलाबेलामा आफूलाई चिमोट्न्छन्।
उनको इमेल डायरीबाट आँखा झिकेर बिसाउन फेसबुक रिफ्रेस गरेँ। त्यसबेला प्रधानमन्त्री प्रचण्ड बालुवाटार पुग्न आधाबाटो काटिसकेका थिए। र, फेसबुक वालमा पत्नी भीमकुमारी बाठामगरसहित विदाइको बेला खिचेको उनको फोटो अपलोड गरेर लेखेका थिएः
मनै त हो
यसो गरे होला कि
उसो गरे होला कि
जति गरे नि
यस्तै हो उस्तै हो भन्ने रे के।
    प्रकाशित ३२ साउन २०७३, मंगलबार | 2016-08-16 16:28:50

    No comments:

    Post a Comment