Sunday, June 30, 2019

छोरी छाडी छापामार

२०७६ असार १४ शनिबार ०६:५९:००
यो एउटी ‘अभागी’ आमा–आलाप हो,  जो मातृत्व खन्याउँदै छोरीसँग लुकामारी खेल्नेयाममा अरूको काखमा छोरी (तीसमहिने छोरी) छोडी ‘वर्ग दुस्मन’सँग लुकामारी खेलिन् । १० वर्ष लामो ‘जनयुद्ध’मा छापामाररत दम्पतीमध्ये पति घाइते पनि भए । रगतको नाता नलाग्ने एउटी गृहिणीलाई जिम्मा छोडेकी छोरीले पछि आमा नस्विकारेपछि काखमा छोरी फर्काउन अर्को ‘जनयुद्ध’ पनि लडिन् । लोकतन्त्र र गणतन्त्र तिनै सयौँ पुष्पाहरूका त्याग–जगमा त उभिएको छ । भलै, तिनीहरू अचेल कि खाडीमा छन् कि कालापार (भारत), कि गाउँ/सहरमा हातमुख भेटको मेसो मिलाउन संघर्षरत ।

‘भट्टेडाँडा !’
ललितपुर प्युटारे कमरेड गोपाल न्यौपानेसँग भट्टेडाँडा पुग्दा ‘ड्रोन’ अकासिँदै थियो । पाकिस्तानी जहाज खसेनजिक पुगेपछि ड्रोनले कृष्णसेन इच्छुक खोज्न दुई–चार फन्का मार्‍यो । 
(माओवादीले भट्टेडाँडा पुलिसचौकी हान्यो । ‘जनादेश’ले समाचार छाप्यो । पुलिसले ‘जनादेश’ सम्पादक इच्छुकलाई पक्रियो । त्यसपछि मार्‍यो ।)
भट्टेडाँडा काटेर ड्रोन ठूलादुर्लुङ पुग्यो, जुन राजधानीमुन्तिरका कर्णाली ‘ट्याग’ लागेका ललितपुरे गाउँमध्ये एक थियो । 
ठूलादुर्लुङबाट पुलिसले कालेश्वरकी सानुमाया वाइवा (१४), ललिता गोले (१६) र काभ्रेकी सरिता दोङ (२०)लाई भट्टेडाँडा ल्याए । तिनलाई नाङ्गै हिँडाउँदै लगनखेल लगे । 
यति खिचेर ड्रोन पश्चिम लाग्यो । गोर्खाको मोहोरिया पुग्यो । एउटी मगर किशोरी पार्वती सपना पछ्याउँदै काठमाडौं हान्निइन् । त्यसपछि पुष्पालाई पछ्याउँदै धादिङ, चितवन, रौतहट, काभ्रे, दोलखा । मरक्क मोडिएर हनुमानढोका हुँदै केन्द्रीय कारागारभित्र पस्यो । 
मान्छे ‘सासले होइन, आसले बाँच्छ’ भन्छन् । त्यही भिडियो ‘आस’ खिचेर फर्कने गरी भट्टेडाँडाबाट एउटी युवतीले ड्रोन उडाइरहेकी थिइन् । मखमली रङको कुर्तासुरुवाल लगाएकी पाँच फिट पाँच इन्चजति अग्ली मंगोल अनुहारकी युवती उनै पुष्पा थिइन् ।
मोहोरियाली मगरकिशोरी
सदरमुकाम गोर्खा बजारबाट एक घन्टा पूर्र्व गुडे अश्राङको मोहोरिया (अहिले भीमसेन थापा गाउँपालिका) पुग्छ । भेटिन्छन्, हाराहारी संख्याका जैसी बाहुन र मगर । त्यसपछि नेवार र दलित । 
अश्राङ नचाउने मोहरियाली पञ्च बहुदल (२०४६) पछि कांग्रेस भए । स्थानीय चुनावमा उनका बा संयुक्त जनमोर्चा नेपालबाट वडा अध्यक्ष उठे । 
कांग्रेस–जनमोर्चा कार्यकर्ता झडप भयो । उनको बाका दाँत झरे । टाउकोमा १३ टाँका लागे । उपचार र न्याय खोज्न घाइते बालाई स्टेचरमा बोकी सदरमुकाम पु¥याए । कांग्रेसले पहिले नै घाइतेलाई पनि बाँकी नराखी मुद्दा दायर गरिसकेको थियो । 
गिरफ्तारीबाट बच्न घाइते बा भारत लागे । केही वर्षपछि फर्के । घाउमा क्यान्सर भएको थियो । घर फर्केको एक महिनापछि मरे । 
‘लाग्यो, कांग्रेस कारणले बाबा बिते,’ त्यसवेला आठ कक्षामा पढ्ने ती मोहोरियाली मगर किशोरीको माओवादी साइत कारण खोज्दै २०४६ आसपास पुगिन् । 
उनको घर पुलिसको ‘पानीपँधेरो’ भयो । 
०५२ माघमा एसएलसी परीक्षा दिइन् । फागुन १ गते जनमोर्चा माउ पार्टी माओवादीले ‘जनयुद्ध’ थाल्यो ।
पुलिससँग लुकामारी बढेपछि रात कि गोठमा बिते कि ओडारमा कि जंगलमा ।
योजना बुनिन्– एसएलसी फेल भए माओवादी डब्लुटी (पूर्णकालीन कार्यकर्ता) बन्ने । पास भए पढ्न काठमाडौं जाने । 
एसएलसी पास भइन् । 
२० वर्षीया किशोरी सुटुक्क काठमाडौं छिरिन् । बिहान पिके (पद्मकन्या) कन्या भइन् भने दिउँसो बोर्डिङ स्कुल मास्टर्नी । 
काठमाडौं पसेपछि बोध भयो, राजनीति रङले उनी त रंगिइसकिछन् । पिके अध्यक्ष हुँदै महिला र विद्यार्थीको काठमाडौं जिल्ला समिति सदस्य भइन् । 
दुई वर्षे पिके कन्या र मास्टर्नीसहित डेरा पनि छाडिन् । पार्वती थापामगर कमरेड पुष्पा भएर माओवादी ‘डब्लुटी’ भइन् । 
०००
आएको बिहे प्रस्ताव एक वर्ष टारिन् । टार्नुको कारण थियो, उनको नजरमा बिहे ‘राजनीति ब्रेक’ हो । त्यसवेला जवानी र राजनीति रङमा समानान्तर ‘लाली’ चढ्दै थियो । 
त्यसपछि भने यशोदा सुवेदी, रेखा शर्मा र लक्ष्मी श्रेष्ठ (रवीन्द्र श्रेष्ठपत्नी)ले बिहे गर्नुपर्ने ‘तर्क तलाउ’मा रामबहादुर थापा ‘बादल’ र पम्फा भुसालले ‘कक्कर’ खाएको ढुंगा पनि हाने । हिन्दू–पुरुषवादी नेपाली समाजमा महिलाको उमेर घर्केपछि बिहे ‘मुस्किल’जस्ता कुरा छुट्ने कुरै भएन । 
माओवादी गढ रोल्पा र रुकुमतिर ‘यौनकाण्ड’मा मुछिए ‘कक्कर खाएको’ र ‘अंग्रेजी लागेको’भन्थे । 
फकाउँदा तिनले यो पनि थपे, ‘बिहेपछि राजनीतिक क्षमता बढ्छ ।’
आखिरीमा २४ वर्षीया कमरेड पुष्पा र उनकै गोर्खाको बगुवावासी चन्द्रमान श्रेष्ठ (कमरेड विनोद)को ‘जनवादी’ बिहे भयो । यो थियो, २०५६ मंसिर ८ गते ।
एक वर्षपछि पाटन अस्पतालमा पुष्पा प्रकृति (छोरी) पाएर आमा बनिन् । 
त्यसपछि छापामार
चन्दा उठाएको अभियोगमा पुष्पासहित ६ महिला पक्राउ परे । नौ महिने छोरीसहित उनलाई बालाजु पुलिस चौकी हुँदै राति १० बजे हनुमानढोका लगे । 
त्यसवेला सरकार–माओवादी वार्ता चलिरहेको थियो ।
पुलिसले आमाछोरी समाएको फोटो पत्रिकामा छापियो । थाहा पाएर घरबेटीको सातोपुत्लो उड्यो । पुष्पा परिवारलाई मात्र निकाल्दा ‘खतरा’ देखे, सायद । भाडामा बसेका सबलाई निकाले । निकालिनेमा घरबेटीकी साली पनि परिन् । साली थिइन्, शान्ता लामा । 
०००
पुष्पा दम्पती कहिले बिहानै निक्लन्थे भने कहिले मध्यराततिर फर्कन्थे । 
शान्ताले सुकाइएका प्रकृतिका लुगा समयमै राखिदिन्थिन् । पुष्पाले नभ्याएका वेला लिटो खुवाउँथिन् । सुताउँथिन् । शान्तापुत्रसित प्रकृति रमाउँदै खेल्थिन् । 
‘ल ल खुब स्याहार गर्नुस्,’ वेलावेलामा पुष्पाले छड्के हान्थिन्, ‘यो छोरी तपाईंकै हो ।’
शान्ता भन्थिन्, ‘अँ दिन्छ, प्याउलीजस्तो छोरी । ...दिए त कस्तरी स्याहार गर्थेँ । दिन्छ खुब !’
घरबेटीले निकालेपछि शान्ता र पुष्पाका डेरा फरक ठाउँमा भए । 
पुष्पाले कलंकीस्थित सुनार गाउँमा डेरा लिइन् । केही समयपछि डेराबाट राति १२ बजे छोरी र भान्जा (फोटो पत्रकार दिनेश श्रेष्ठ)सहित उनलाई पुलिसले पक्रियो । पति विनोद अर्को ठाउँबाट पक्राउ परे । 
हिरासत हुँदै प्रकृति पनि जेल पुग्दा निभा र जेलिसा पनि थिए । लक्ष्मी श्रेष्ठले जेलिसालाई जेलमै जन्माएकी थिइन् । जेलिसा–पिता शालिकराम जमकट्टेल जेलमै थिए । निभा आफ्नी आमा जयन्ती लुइँटेलसित थिइन् । निभा–पिता पवनमान श्रेष्ठ भने समातिएका थिएनन् ।
०००
पुष्पा–पति विनोद वार्ताताका छुटे । त्यसपछि भान्जा दिनेश र पुष्पा । 
छोरीलाई कसको जिम्मामा छाड्ने ?– पुष्पा दम्पतीले छलफल गरे । 
विनोदको तर्क थियो– आफन्तले पो ‘दुःख दिए पनि’ झिझ्याट सहलान् । अरूले ?
पुष्पालाई भने शान्ताकहाँ नै छोरीको लालनपालन र शिक्षादीक्षा राम्रो हुन्छ भन्ने लागिरह्यो । 
नातेदारले ‘हिम्मत’ नगरेपछि विनोद पनि शान्ताकहाँ छोरी छोड्न मञ्जुर भए ।
भूमिगत हुनैपर्ने परिस्थिति सिर्जिएपछि एक साँझ छोरी छाड्न गए । 
काइँली र ठाइँली सँगै थिए । शान्ता ठाइँली थिइन् । दुई दिदीबहिनीका एकेक छोरा थिए । तिनीहरूसँग प्रकृति रमाउँदै खेल्न थालिन् । अघिल्लो डेरामा सँगै बस्दा तिनीहरूबीच चिनजान छँदै थियो । 
सल्लाह गरेः 
एक– शान्ताले प्रकृतिलाई ‘मितिनी छोरी’ भनेर चिनाउने । भन्ने– मितिनी दम्पती डिभी परेर अमेरिका उडे । 
दुई– छोरी निदाएको मौका पारी पुष्पा उज्यालो नहुँदै जाने । 
भुइँमा ओछ्यान लगाए । ओछ्यानमा पल्टेपछि छोरीले आमालाई अँगालोमा चपक्क पारी समाइन् । भनिन्, ‘दुःख दिन्नँ । छाडेर नजानु । ...अघि तपार्इंंहरूले कुरा गरेको थाहा पाइसकेँ ।’
बच्चाबच्चीसामु प्रकृतिलाई कसरी छाड्ने भनेर सल्लाह गरेथे । 
छोरीवाक्य पूरा नहुँदै पुष्पाले आफूलाई थाम्न सकिनन् । ‘आमा–हिक्का’ छुट्यो । 
यो थियो, २०६० असार ५ गते रातिको कुरा । 
त्यसवेला प्रकृति ३० महिना लाग्दै थिइन् । 
काखे छोरी र आमा त्यस्तो याममा अलग भए जसवेला आँधी चलेको थियो । आमा उही आँधीगीत गाउँदै निक्लेकी थिइन्, सुदूरयात्रामा । त्यसैले ‘फेरि भेट होला कि नहोला’ भन्ने ‘सन्त्रास’ पनि थपिएको थियो । के भर आँधी चलेको वेला ?
०००
काखे छोरी र आमा त्यस्तो याममा अलग भए जसवेला आँधी चलेको थियो । आमा उही आँधीगीत गाउँदै निक्लेकी थिइन्, सुदूरयात्रामा । त्यसैले ‘फेरि भेट होला कि नहोला’ भन्ने ‘सन्त्रास’पनि थपिएको थियो ।
के भर आँधी चलेको वेला ?
शान्ताको काखमा छोरी छाडी पुष्पा धादिङे गाउँ पुगिन् । छोरीको बोली सुनेर ‘छोरी तिर्खा’ मेट्नलाई गाउँमा फोन थिएन । 
भदौमा चितवन पुगिन् । त्यसपछि बल्ल छोरीसँग फोन सम्पर्क भयो । छोरीले सोधिन्, ‘मलाई अइया भयो । कहाँ गएको ?’ 
छोरीको बोली सुनेर ‘आमा–स्वर’ आँखाभन्दा पहिले नै भिज्यो । 
‘आमाकान’ हुँदै छोरी बोली मनमा रेकर्ड गरिन् । छोरी आवाजलाई फारु–फारु गर्दै साँची–साँची सुनिन् । सुन्दै–सुन्दै पुष्पाले छोरी–तिर्खा मेट्ने प्रयास गरिन् । 
‘फोन बाटो’ समाएर पुगेको छोरी बोलीकै आधारमा हातले छोरी अनुहार र आकार बनाइन्– कहिले यति ठूली कहिले यति अग्ली भनेर । 
चितवनबाट मकवानपुर, बारा र पर्सा सरुवा भयो । बसाइ त कहिले गाउँमा हुन्थ्यो भने कहिले जंगलमा । गाउँमा फोन थिएन । बजार ‘दुस्मन’को कब्जामा थियो । 
केही महिनापछि काभ्रे सरुवा भयो, जुन जिल्लामा उनका पति विनोद पनि थिए । विनोद महाभारततिर रेडियो÷पत्रिका चलाउँथे । एउटै जिल्लामा भए पनि पति–पत्नी कार्यक्षेत्र अलग–अलग थियो । 
काभ्रेबाट फोन गरिन् । छोरीले सोधिन्, ‘कहिले आउने हो ? कति पैसा कमाउनुभयो ?’
अन्टी बनेर छोरी भेटिन् 
इन्चार्ज देवी खड्काले दिएको पाँच हजार रुपैयाँ लिइन् । चैचापबजार पुगिन् । चुरापोते, ब्लाउज र सारी किनिन् । परम्परागत हिन्दू चेलीको रूप धारण गरिन् ।
माइत जाने चेली चहलपहल चर्को थियो । दरखाने दिन तिजेचेली भएर पुष्पा सिंगटीबाट दिउँसो १ बजे काठमाडौंको गाडी चढिन् ।
त्यसवेला पुष्पाको काभे्रबाट दोलखा सरुवा भएको थियो । 
मच्छेगाउँ पुग्दा पानी परिरहेको थियो । गाडीबाट ओर्लेर पानी पर्वाह नगरी सुइँसुइँ हिँडिन् । 
छोरी भेट्नुअघि दुई आमाले निर्णय गरे, छोरीलाई ‘अन्टी’ भनेर चिनाउने । 
‘अन्टी !’ 
‘आमामन’ त भकभकी उम्लेको पानीमा हालेको ‘पिँडालु पात’ भयो । ‘आमागोडा’ तीव्र बेगमा गुडिरहेका वेला एक्कासि ब्रेक लागेको 
गाडी भयो । 
शान्ता र शान्ता परिवारको सुरक्षा संवेदनशीलता ‘आमा–मन’ले 
कसरी बुझ्नु ?
‘जानेबित्तिकै नानीलाई च्याप्प च्यापिहालेँ,’ त्यो साँझ सम्झेर पुष्पा नोस्टाल्जिक भइन्, ‘मानी पनि ।’
आमा–हात र आमा–आँखा छोरीमा बसेजसरी लामो अन्तरालपछि गुँडको बचेराकहाँ आमा पुग्छे । आमा हातले सुस्तरी छोरीका हातगोडा र जिउ सुमसुम्याइन् । औँला छामिन् । त्यसपछि छोरीका कपाल, नाक, मुख, कपालमा ‘आमाआँखा’ दगुरे । 
छोरीको अनुहार र उचाइ फेरिँदै थियो । 
हलक्क हुर्किरहेकी प्रकृति त शान्ताकी स्वीकृति भएकी थिइन् । शान्ता पति सुरज । छोरा सुजित । ‘स’बाट आउने गरी शान्ताले नाउँ दिएकी थिइन्, स्वीकृति । 
प्रकृतिलाई स्वीकृति सुनेर पुष्पा झस्किइन् । तत्काल मनन गरिन्– नाउँ दिने ‘आमा हक’त कर्म दिने शान्तालाई पनि छ । 
छोरीले पुष्पालाई सारी लगाएको यसअघि देखेकी थिइनन् । त्यसैमाथि छोरीलाई ‘अन्टी’ हुँ भनेर चिनाएपछि ‘आमा’ भन्नु कसरी ?
छोरी भन्न नपाएर आमा आत्तिइन् । बारबार ‘छोरी’ शब्द निस्केर जिब्रो टुप्पोमा पुग्यो । बल गरी एक मनले भन्यो, ‘छोरी भनी बोला ।’ अर्को मनले भन्यो, ‘खबरदार ! खतरा हुन्छ ।’
छोरीकहाँ पुग्दा पुष्पा आकाशे झरीले निथ्रुक्क भिजेकी थिइन् । झरीले भन्दा नि भिजेकी थिइन् ‘छोरी मायाझरी’ले ।
मच्छेगाउँ नउठ्दै पुष्पा उठिन् । 
छोरीलाई सुमसुम्याउन मन थियो । म्वाइ खान मन थियो । आमामन त के थियो के थियो ! सब थाती राखी ‘आमामन छोरीकहाँ छाडी’ तन मात्र लिएर पुष्पा निक्लिइन् । 
गाडी चढेर मच्छेगाउँ छाडिन् कि हिँडेर ? उनलाई याद छैन । भन्दै थिइन्, ‘छोरी, म तिम्री आमा हुँ भन्न मन थियो । भन्नुस् त, त्यसवेला मैले कसरी थामेँ हुँला ?’
स्वीकृति उठ्दा ओछ्यानमा पुष्पा थिइनन् । आमाको धमिलो छाया छोरी आँखामा बाँकी रहेछ क्यार ! उठेपछि स्वीकृतिले भनिन्, ‘त्यो अन्टी त कस्तो है, मेरो ममीजस्तो !’
काखमा लिन नसके पनि आँखा र मनमा छोरी बोकेर पुष्पा दोलखा पुगिन् । सम्झिइन्, ‘सबैभन्दा पीडा त छोरी भनेर भन्न नपाएको र आमा चिनाउन नपाएकोमा भयो । आमा म हुँ भनेको भए छोरीले आफ्नो कुरा भन्थी होला नि !’ 
‘जनयुद्ध’का जगजगी रात गाउँमा बिते । जंगलमा बिते । भीरपहरामा बिते ।
उकाली–ओराली गर्दा पाइला–पाइलामा बाँदरसँग भेट हुन्थ्यो । बाँदर आफ्ना बच्चासँग हुन्थे । तिनले बच्चा छातीमा च्यापेर हिँड्थे । रूखका डालीडालीमा या भीरपहरामा बच्चासँग खेलिरहेका हुन्थे कि हिँडिरहेका कि त दौडिरहेका । 
बाख्राका पाठा बुरुक–बुरुक उफ्रिरहेका भेटिन्थे । नखरा पारेर आमालाई जुरुक्क उचाल्दै टाउकोले भुक्कभुक्क हान्दै दूध चुसिरहेका पाठासँग आँखा जुध्थे । 
गाउँको धुलौटे बाटोमा नांगो पाउले टेकेका पाइलाका डोब भेटिन्थे । जताबाट नापे पनि पुष्पालाई छोरीकै पाइला लाग्थे । 
‘त्यसवेला मलाई एकदमै पीडा हुन्थ्यो,’ फरक्क फर्केका पुराना दिनले लछप्प भिजेको बोली झर्‍यो, ‘मलाई त पशुजत्तिको पनि भइएन भन्ने ‘फिल’ हुन्थ्यो !’ 
काठमाडौं खाल्डोमै बच्चा छाडेर गएका थिए, कमला थाम्सुहाङ, रुपा महर्जन र नारायणदेवी श्रेष्ठ । कमलापति निश्चल नकर्मी, रूपापति सुचेन्द्र श्रेष्ठ, नारायणदेवीपति वासुदेव सुवाललाई शाही सेनाले बेपत्ता पारेको थियो । नकर्मी, श्रेष्ठ र सुरेश श्रेष्ठ माओवादी खोज्न हिँडेका काठमाडौंका रैथाने नेवार युवा थिए । 
नारायणदेवीकी बहिनी रुवी श्रेष्ठले भने दुधे छोरी निजलालाई साथमै लिएकी थिइन् । रुवीपति राजेन्द्र मालीलाई पनि शाही सेनाले बेपत्ता पारेको थियो ।
छोरीकहाँ पुग्दा पुष्पा आकाशे झरीले निथ्रुक्क भिजेकी थिइन् । झरीले भन्दा पनि भिजेकी थिइन् ‘छोरी मायाझरी’ले । छोरीलाई सुमसुम्याउन मन थियो । म्वाइ खान मन थियो । सब थाती राखी ‘आमामन छोरीकहाँ छाडी’ तन मात्र लिएर पुष्पा निक्लिइन् ।
छोरी भेटेर झ्यालखाना 
विनोदले भनेथे, ‘आन्दोलन चर्कंदै छ । भेटे शान्ता दिदीलाई झन् अप्ठेरो हुन्छ ।’
दोलखाबाट काठमाडौं सरुवा हुँदा पुष्पाले छोरी नभेट्ने वाचा गरेकी थिइन् । 
यो थियो, ०६२ पुस । 
काठमाडौंमा जति जगजगी जंगिदै थियो उति नै पुष्पा आमामन छोरी भेट्न जिद्दी गर्दै । ‘आमा तर्क’ले ठाउँको ठाउँ एम्बुस थाप्यो, ‘म काठमाडौं आएको कुनैवेला छोरी र शान्ताले थाहा पाउनेछन् । त्यसवेला छोरी नभेटी मर्ने कस्ती आमा हो भनेर मलाई थुक्नेछन् ।’
जगजगीमा ‘दुस्मन’को ‘हेडक्वार्टर’ काठमाडौं सरुवा भएकी थिइन् । 
कमरेड खगेश्वर केसी सुनाउँदै थिए, ‘बार्दली भएको, सेतो र अग्लो घरलाई ‘सेल्टर’ रोज्ने नेता÷कार्यकर्ता र नेता/कमाण्डरसित चोंचोमोंचो मिलाउन माहिरहरू नै बाँचे । तिनले नै रोजेका कार्यक्षेत्र र पद पाए । ‘क्रान्तिले मागेको कोटा पूरा गर्ने’ भन्ने क्रान्तिकारीजति त धेरैजसो जनयुद्धमा घाइते भए । बेपत्ता पारिए । मारिए ।’ 
पति बेपत्ता पारिएपछि दुधे बच्चासाथ हिँडेकी रुवी भिडियोमा बोल्दै थिइन्, ‘पार्टीमा यस्तो विभेद भोगेँ भनेर (पति राजेन्द्र मालीलाई)भन्छु भन्ने अन्तिमसम्म पनि थियो । तर, भेट भएन ।’
काठमाडौंमा रात जति छिप्पिँदै थियो त्यति नै पुष्पालाई यक्ष प्रश्नले अक्करमा पारे, ‘हीँ
(काठमाडौं) आएर पनि छोरी नै नभेटी कसरी मर्ने !’
वाचालाई आमामनले जित्यो । त्यसपछि छोरीका लागि पिंक कलरको ज्याकेट र ट्राउजर किनिन् । जेठाजु घरमा शान्तालाई छोरी लिएर आउन अनुरोध गरिन् । 
यो थियो, ०६२ पुस १३ गते । 
दिउँसो २ बजेतिर शान्ता छोरी लिएर पुगिन् । चार महिनापछि आमाछोरी भेट भयो । 
‘छोरी’ भनेर बोलाइन् । जुन शब्द अघिल्लो भेटमा व्यक्त गर्न पाएकी थिइनन् । अव्यक्त त्यो शब्दले उनलाई पिरोल्नु पिरोलेको थियो ।
तर, छोरीले आमा भनिनन् । 
आमालाई लाग्यो, ‘एक रात नै सही, छोरीसित सुतौँ ।’
तर, छोरीले बस्न मानिनन् । 
शान्तासँग फर्कन रुन थालिन् । त्यसपछि पुष्पा पनि रुन थालिन् ।
रुँदारुँदै पुष्पाको काखमा छोरी निदाइन् । त्यस रात छोरीलाई छातीमा च्यापेर सुतिन् । तर, माओवादीको ‘वर्ग दुस्मन’को अन्तिम अखडा काठमाडौंको त्यो रात ‘आमा–धित’ नमर्दै ढल्यो । 
भोलिपल्ट शान्ता पुगिन् । 
छोरीलाई गाडीमा चढाएर जेठाजुको घर फर्किइन् । 
त्यसै रात पुष्पासहित जेठाजु, जेठानी दिदी र भतिजीलाई पुलिसले पक्रेर लगे । केही समय पुष्पालाई पुलिसले बेपत्ता पारे । त्यसपछि जेल लगे । 
...
०६२ पुस १४ गते पक्राउ परेकी पुष्पा ०६३ जेठमा रिहा भइन् । जुनवेला शान्तिप्रक्रिया सुरु भइसकेको थियो । 
पाँच महिनापछि आमाछोरी भेट भयो । 
‘छोरीसँग बस्ने सोच नै बनाएनौँ,’ पुष्पाले ती दिन सम्झेर भावुक भइन्, ‘क्रान्ति पूरा गर्न हाम्रो पार्टीले फेरि लडाइँ थाल्छ भन्ने कुरामा ढुक्क थियौँ । पार्टीले क्रान्ति पूरा गर्छ भन्नेमा दुविधा थिएन ।’ 
काखमा छोरी फर्काउने ‘जनयुद्ध’ 
‘स्वीकृति ! तिम्रो ‘ओर्जिनल’ आमाबाबा भेट्न आउनुभएको छ,’ एक दिन पुष्पा दम्पती भेट्न जाँदा सुजितले सुनाए । 
आमाबा पनि डुब्लिकेट र ओर्जिनल ! सुनेर स्वीकृति ट्वाँ परिन् । 
पहिले–पहिले दुई आमाबा हुन्छन् भनेर सहज रूपमा लिएजस्तो लाग्थ्यो । यसपालि भने ‘ओर्जिनल’ र ‘डुब्लिकेट’ हुन्छन् भनेर स्वीकृति एकाएक सुर्ताइन् । 
हेरिन्, सामुन्ने दुई आमा र दुई बा उभिएका थिए । सुजितले भनेजस्तो साँच्ची उनै हुन् असली आमा र बा ? उनको मनले अहिलेसम्म मानेका आमाबा डुब्लिकेट ! को असली हुन् को नक्कली होइनन् ? दुविधा दुगुना भयो जस्तो शेक्सपियरको ‘ह्याम्लेट दुविधा’ । 
पुष्पा पहिलो संविधानसभा चुनावमा ‘हेबीवेट चिरञ्जीवी वाग्ले’ हराएर गोर्खा–१ की सभासद् चुनिइन् । क्रान्ति धकेलियो भन्ने लागेपछि छोरीलाई आफूसित राख्ने योजना बुने । 
डेरामा हरेक शनिबार ल्याए । तर, बस्न मानिनन् । 
शान्ताले एक दिन भनिन्, ‘माने लानुस् ।’
एक बेलुकी छोरी लिन मच्छेगाउँ पुगे । 
सामान झोलामा ठीक पारे । त्यसपछि शान्ता खाटमा घोप्टो परिन् । घरभरि आमामन पोखियो । हिउँ आयो निहुँ पायो भनेझैँ छोरीले रुँदै ‘जान्नँ’ भनिन् । 
उपाय खोजे– शान्ता घरछेवैमा डेरा सर्ने । सरे । दुई परिवारले पालोपालो सँगै खान थाले । 
यस्तो क्रम डेढ वर्ष चल्यो । 
स्वीकृतिको पढाइ बिस्तारै ओरालो लाग्यो । 
शान्ता र उनकी दिदीपुत्रले स्वीकृतिलाई एकेक हात समाएर स्कुल लगेथे । नर्सरीपछि एलकेजी नै नपढी युकेजी चढेकी स्वीकृति पढाइ रफ्तारमा उकालिँदै थियो । 
स्वीकृति सात कक्षामा पुगिन् । जिल्लास्तरीय आठ कक्षापछि थर फेर्न गाह्रो हुन्छ भने ।
नाममा शान्ताको ‘आमा–भावना’ जोडिएको छ भन्दै ‘थर’मात्र फेर्ने निचोड निकाले । 
विद्यालय प्रशासनले मात्र थाहा पाउने गरी ‘श्रेष्ठ’ बनाए । तर, थर फेरेको भोलिपल्ट स्वीकृति स्कुल जान मानिनन् । 
‘माओवादीले दुई जातबाहेक अरू छैन भनेको होइन ? ...जुनवेला आमाबा चाहिने हो, त्यसवेला मलाई छाडेर जानुभयो, अहिले थर किन चाहियो,’ छोरी त ‘आँसु प्लाटुन’ लिएर आमाबासँग धावा बोलिन्, ‘श्रेष्ठ लेख्न त सकिन्छ । तर, किन लेख्ने श्रेष्ठ ? लामा लेखे के फरक पर्छ ?’
सायद शान्ताले रुँदै यी ‘जब्बर’ तर्क–पंक्ति स्वीकृतिलाई सुनाएकी थिइन् कि ! 
‘थर श्रेष्ठ लेख्न नि सकिन्छ । तर, किन लेख्ने श्रेष्ठ’ यी लाइन त बंगाली कवि शोक्ति
(नेपालीमा शक्ति) चट्टोपाध्यायको जेते परी किन्तु केनो जाबो ?(आइ क्यान बट ह्वाई सुड आई गो ?) कविता नाउँसित दुरुस्त थियो । 
काखमा छोरी फिर्ता ल्याउने कसरतमा कसर बाँकी राखेनन् । विवाद परेको केही हप्तापछि आमाछोरीबीच संवाद भयो । पुष्पाले फकाइन्, ‘तिमीले जे भने पनि भन्ने तिम्रो अधिकार हो ।’ 
स्वीकृति–मनलाई ‘आमा शान्ता’ र ‘थर लामा’बाहेक अरू आफ्नो लागेन । किनकि, लेख्न जानेपछि लेखेको थर नै लामा थियो । रातदिन आमा भनेर बोलाएको मान्छे नै शान्ता थिइन् । 
‘सेभेन इयर्स इन तिबेत’का हेन्रिक हरेरले छोरोलाई बाबुत्व मसीले चिठी लेखेथे । ‘चिठी पठाएर डिस्टर्ब नगर्न’ आग्रह गर्दै पुत्रत्व कलमले जवाफ फर्काएथे, ‘तपाईं मेरो बा होइन, मेरो बा मसँगै छन् ।’ कारण थियो, पुत्रमनले हेन्रिकलाई पिता मानेको थिएन, जस्तो पुष्पालाई स्वीकृति मनले आमा मानेको छैन । 
छोरी काखमा फर्काउन पुष्पाले भन्थिन्, ‘जन्मदिने आमा म हुँ । कर्म (लालनपालन) दिने आमा शान्ता दिदी ।’ तर, स्वीकृतिलाई लागेन । जस्तो कुन्तीले तेरी आमा भनेर चिनाउँदा पनि कर्णलाई विश्वास लागेन । स्वीकृतिलाई ‘कर्ण कम्प्लेक्स’ भयो । कर्ण आमा मझिनीजस्तै स्वीकृतिकी आमा शान्ता थिइन् । प्रकृति आमा पुष्पाको काख त स्वीकृति आमा शान्ताकहाँ सरिसकेको थियो । 
लामो छलफलपछि एक रात स्वीकृति पुष्पासँग सुतिन् । त्यो पहिलो रात, आमाछोरीले एक घन्टा सुख–दुःख साटे । त्यसपछि राति आमाछोरी एक घन्टा कुराकानी गर्ने ‘रुटिन’ बन्यो । रुटिनले बिस्तारै स्वीकृति मनमा पुष्पा सार्न थाल्यो ।
एक दिन स्वीकृतिले एउटा ‘दराज’ किन्न भनिन् । स्वीकृतिका लुगा दराजमा वास बसे । त्यसपछि मात्र छोरी काखमा फर्काउने पुष्पाको ‘दोस्रो जनयुद्ध’ टुंगियो । छोरी छाडेर पुष्पा दम्पती लडेको ‘पहिलो जनयुद्ध’ पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईलाई बालुवाटार र केही दर्जन नेता÷कार्यकर्ता ‘वर्ग उत्थान’ गरेर सकिएको थियो । 
यो थियो, ०७० पछिको कुरा । 
स्वीकृति अहिले इन्जिनियरिङ गर्दै छिन् ।
मान्छे सासले होइन, आसले बाँच्छ
‘वाइबा, गोले र दोङ के गर्दै होलान् हँ ?’
तीन तामाङ किशोरीसहित ११ निःशस्त्र माओवादी ठूलादुर्लुङमा वास बसेका थिए । पुलिसले गोली हाने । रीता लामा, झलक दर्लामी र रुक्मिता लामाबाहेक गोलीले चुम्न चुकेका सातजनालाई समाते । 
यो थियो, ०५५ असार ३१ । 
पत्रकार संगीता खड्काले ‘युद्धका ती दिन’मा सरिता दोङलाई उद्धृत गरेकी छन्, ‘मारिएका कमरेडहरूको रगतको आहाल घरभरि थियो । आहाल सोहर्न लगायो । अञ्जुलीमा लिएर सोहोर्दा रगतमा हाम्रा आँसु पनि मिसिए ।’
लगत्तै, आँखाभन्दा बढी भिजेको पुष्पा बोली लर्बराउँदै झर्‍यो, ‘भट्टेडाँडाबाट पुलिसले नांगै हिँडाउँदै लगनखेल पुर्‍याएछ । त्यसपछि हामी बसेको जेल ।’ 
हामीले फेर्ने लोकतन्त्र–गणतन्त्र सासमा सयौँ सरिता र पुष्पाहरूका समर्पण थियो । र, सयौँ रीता र इच्छुकहरूका बलिदान । 
‘सम्झेर पनि आङ सिरिङ्ग हुन्छ,’ अचेल छोरी छाडेर छापामार भएको याम सपनाजस्तो लाग्ने सुनाइन्, ‘कुन मुड, कुन सपना र कुन आँटले गइयो । अब चारपालि सोच्न पर्छ ।’
समर्पणले उभिएको लोकतन्त्र–गणतन्त्र घरमा ‘सामन्त’ कमरेड, ‘नवसामन्त’ कमरेड, ‘जिम्दार’ कमरेड गोडा हल्लाउँदै बसेका थिए । आश्चर्य ! ‘गणतन्त्र कुरा गर्नु बयलगाडा चढेर अमेरिका जानु हो’ भन्नेहरूका हातमा ‘लोकतन्त्र र गणतन्त्र चाबी’ थियो । 
‘आखिर संसद्मा नौजना (२०४८ को संसद्मा संयुक्त जनमोर्चा नेपालका सांसद् संख्या) थिए नै । राम्रो काम गरे ठूलो दल बन्न कसले रोक्थ्यो र,’ पुराना ‘आस’ याद गरिन्, ‘हाम्रा त्याग र १७ हजारको बलिदान केका लागि थियो ? आखिर फर्कने उही ‘संसद्’ रहेछ ।’
‘मान्छे बचाउने ‘आस’ले नै किन यसरी ‘आस मा¥यो ?’ नेपाली समाजमा यस विषयमा मन्थन हुन अबेला हुँदै थियो । 
पुष्पाले भिडियो फेरि नियालिन् । ड्रोनले खिचेको फुटेजमा भुइँमान्छेका आङमा न ‘लोकतन्त्र–गणतन्त्र घाम’ लागेको थियो न त आस कतै बाँकी । 
ड्रोन फेरि उड्यो । 
...
भट्टेडाँडाबाट उडेको ड्रोन अझै फर्केको छैन । हावा चाप बढ्दो छ । कमरेड पुष्पा ‘मन–ड्रोन’ कहिले ‘मान्छे बाँच्ने आस’ खिचेर फर्कने हो ? चिन्ता र खसखस ड्रोनसित समानान्तर उड्दै छ ।
from Nayapatrika

No comments:

Post a Comment