Saturday, July 13, 2019

अब ‘हवा’ चल्छ, अब ‘हवा’ चल्दैन

कुइनेटो

नवीन विभास

२०७६ असार २८ शनिबार ०७:४१:०० | काठमाडाैं
अब ‘हवा’ चल्छ । धैर्य गरी बाटो हेर्नुहोला, अब हवा चल्छ । हो त, हवा नचली कसरी बाँच्छ मान्छे ? हवाविना आस र सास कुन मनडोरीमा अल्झिएर कुनजीवले जिन्दगी जिउला ?
०००
खासमा त्यस दिन चैते हवामा हल्लिँदै ‘मन्थनथलो’मा ‘हवा एन्टिमाटम’ हुँदै थियो– घना जंगल थियो । बथानका बथान वनकुखुरा (कालिज) चर्थे । चर्दै–चर्दै उचडिहवाछेउसम्म पुग्थे । स्थानीय थारूका बस्तुभाउ र वनकुखुरा एक–आपसमा बाजी लाग्दै चर्थे । हुलका हुल वनकुखुराका बथान देखेर बस्तुभाउ चराउने थारूले नाउँ राखिदिए, मुर्गिहवा ।
‘थारू उन्मूलन’ भयो(कोही आदिवासी अभियन्ता‘औलो उन्मूलन’लाई थारू उन्मूलन भन्छन्) । त्यसपछि रूख उभिएको मुर्गिहवामा पहारी(पहाडबाट ओर्लेका गैरथारू) उभिए । वनकुखुरा र बस्तुभाउ चर्ने मुर्गिहवामा पहारी बस्ती बसे । केही समयपछि सहर । मुर्गिहवामा बसेका पहारीले ‘मुर्गी’को ‘हवा’ झिके । हवा झिके त मुर्गी बाँच्ने कुरै भएन । मुर्गी म-यो । मुर्गीको ‘हवा’ झिकेर‘या’ हाले । ‘या’त ‘हवा’जसरी न उड्न हुन्थ्यो न गुड्न न त सास फेर्न । 
मुर्गिहवा थारू भाषाको अर्थ– गोडा टेकेर उभिएको थियो । त्यही गोडाले उभिएर आफ्नो ठाउँ र नाउँप्रति थारूले अपनत्वबोध गर्थे । शब्दको जीवन नै अर्थ हो भन्छन् । अर्थ नै गुमाएपछि ‘शब्द’त ‘शव’ भएन र ? हवा झिके के हुन्छ ?थारूले न सास फेर्न पाए, न आस हेर्न पाए न त सपना देख्न । थारू थला परे । थारू भाषामा मुर्गीको अर्थ कुखुरा हो भने हवाको अर्थ ठाउँ । कुखुरा चर्ने ठाउँ भनेर मुर्गिहवा नाउँ रहेको थियो । 
हो, मुर्गिहवा थारूले सास फेर्ने ठाउँ थियो । मुर्गीको हवा झिकेपछि मान्छे बाँच्नु कसरी ? मुर्गिहवा भयो मुर्गिया । संयोग ! हवा हराएको मुर्गियाछेउ उचडिहवा ‘हवा’ आजको मितिसम्म चालू थियो । त्यही हवामा हवा चिन्तनरत एक हुल तन्नेरी र केही वृद्ध (हवाविनाको मुर्गिया हेर्दै) उचडि‘हवा’ले नि कुन दिन हावा खाने हो भनेर शोकमग्न थिए । 
हवा एन्टिमाटमरत कोही पनि ‘मूलधारे’ मस्त मौलाना मूली मुुहार थिएनन् । ती त थिए, सिवाँली परेका सावँला अनुहार । गएको चैतमा लागेको थारू साहित्यिक मेलामा तिनै सावँला सहभागी उचडिहवामा मन्थन मग्न थिए । लेखक कृष्णराज सर्वहारीले उचडिहवामा थप मुर्गिहवा नियतिवाल समाचार सुनाउँदै थिए, ‘रै सङ्घारी ! बर्दियाको लवपुर भयो नयाँगाउँ ।’
अनुसन्धाता अंकलाल चलाउने फोनमा फुसफुसाउँदै थिए, ‘डोल्पाको हाम्रो रिग्मो दह त फोक्सुन्डो भयो । डोल्पाको दक्षिण–पश्चिमको लुहुँचाहिँ कालिका ।’
त्यसपछि चलाउने बोलीमा डोल्पाली लालीमान बुढाले लोली मिलाए, ‘मुको मुटु झिकेर मुकोट भयो । भार्बोङ भयो डाँडागाउँ ।’ लगत्तै, सोलु दूधकुण्ड नगरप्रमुख नाम्गेल जाङ्बु शेर्पाले सोध्दै थिए,‘सोलुखुम्बुको ताप्लो कसरी फाप्लु भयो र नाहुचे कसरी नाम्चे बजार ? हाम्रो च्यामोल्यांमोलाई कसले सगरमाथा लेखिदियो ?’
०००
रुकुमका भागिन्ते बुढामगरले गत वैशाखको मुसिकोट साँझमा अठार मगरातको संस्कृति सिलुक सुनाएथे । उनको गाउँ कारी कसरी र कसले बनायो काँक्री ? सिलुक सुनाउँदै भागिन्ते ‘हलाक्’ भएथे । मगर खाम भाषामा राखिएको रुगुम त रुकुम भएको थियो । बँदेल खेल्ने ठाउँ भनेर खामभाषीले दिएको उनाम नाम त हुकाम भएको थियो । 
उनामले त खामभाषी मगर संस्कृति, मगर जीवनशैली र पहिचान बोकेको थियो । हुकामले? संसद्–कलामा चल्तापुर्जा ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’को गाउँ मानडीबाङ त माडीचौर भएको थियो । अनुसन्धाता बमकुमारी बुढामगरको ‘पो ओल्जा छेङा’मा सयौँ मानडीबाङ लिस्ट लामो थियो ।
अठार मगरात खाम भाषामा बाङको अर्थ चौर हो, सम्म ठाउँ हो । अप्ठ्यारो ठाउँमा पानीले भरिपूर्ण ठाउँ भनेर मगरले नाउँ दिए, धौलासिरी । सरकारी कागतमा लेखियो, धवलागिरी । रिडीभन्दा पश्चिम अठार मगरातमा खाम र काइकेभाषी मगर छन् भने रिडीभन्दा पूर्व बाह्र मगरातमा ढुटभाषीमगर । एक दिन, अनुसन्धाता विष्णु सिंजाली मगरले ढुट भाषाबाट मुर्गियाकरण भएका स्याङ्जाली स्थान नाम पेसेथे । उनका अनुसार त राम्डी बग्दै–बग्दै बेग्लिएर ‘राम’नदी भएको थियो । छाङछाडीछुरीले छ्याक्क छप्काएर छायाँक्षेत्र जगत्रदेवी भएको थियो । आङ्डी अलप भएर आँधीखोलो । 
सञ्चारकर्मी उपेन्द्रराज पाण्डेले सिंजाली मगरले पेसेको सूचीमा थप्दै थिए– प्रकृतिपूजक मगरले खोलानाला पुज्थे । तिनले पुज्ने आरुङखोला त ‘अरुण’खोला भएको थियो । आरेकभन्ज्याङ भएको थियो ‘आर्य’भन्ज्याङ । कहाँ आरेक कहाँ आर्य ! सञ्चारकर्मी सन्त गाहामगर गला भिजाउँदै भनेथे, ‘पाल्पाको मोचाबारी त केराबारी भएछ भने नवलपरासीको बोचखोला बगेर सेतोपानी ।’मगर ढुट भाषामा मोचाको अर्थ केरा हो । 
छवान भए छक्कबहादुर 
कुरो उहिलेको हो । जहिले, ३० वर्षे ‘हावापानी सुहाउँदो’ पञ्चायत भर्खर चार वर्ष लाग्दै थियो । हो, उहिलेको कुरो हो । राजधानीका एकजना मान्छे नेपालगन्जबाट २१ दिन पैदल हिँडेर हुम्ला पुगे । (त्यसताका कर्णाली अञ्चलमा कहीँ पनि एअरपोर्ट थिएन ।) बसे, सदरमुकाम सिमकोटबाट करिब चार किलोमिटर पूर्व त्यस भेगमै ‘बयान्नेका’ तोत्पाली लामा घरमा । 
तोत्पा निमभ्यालीमा छ । दक्षिणबाट निमभ्यालीमा खाद्यान्न पुग्थ्यो भने उत्तर भोटबाट भोटे नुन । भरमार व्यापार चल्थ्यो । खुबै चल्तीको व्यापारिक केन्द्र त्यो भ्याली त्यसपछि गुमनाम भयो जब भारतको नुन पुग्यो । ती मानिस ‘सशस्त्र’ थिए । झोलामा वेद थियो । दिल–दिमागमा ‘सामन्तवाद’ सामेलिएको महेन्द्रीय राष्ट्रवाद । 
उनले महेन्द्र जागृति पाठशाला खोले । दौरा–सुरुवाल लगाएर भोटेबस्ती पुगेका उनले स्कुल र भोट गाउँमा ‘बाहुनवादी’ कडा ‘नियम’ बनाए । र, लागू गरे ।
त्यस भेगमा नाउँ दिने लामा थिए । उनै लामालेआफ्नो पुत्रलाई नाम दिएका थिए, छवान । लामा नपढाएर तिनले पुत्र छवानलाई महेन्द्र पाठशाला पठाए । 
लामापुत्र छवानको नाउँ फेरिदिए, छक्कबहादुर लामा । लामापुत्रको नामसमेत फेर्न सक्नेले अरूका के कुरा ! पेमा छिरिङ भए प्रेमबहादुर । याङ्क्या भए लेकेनबहादुर । कर्माअङ्दु भए अंगबहादुर ।  धन्न सर नेम ‘लामा’ भने फेरिदिएनन् । 
छवानको नागरिकताले लेख्यो, छक्कबहादुर । त्यसपछि ? सदाका लागि छवान छक्कबहादुर भए । जसरी पेमा भएथे प्रेमबहादुर ।भान्सामा सँगै खान नपाए पनि उनले खाएका भाँडाकुँडा भने छक्कले मस्काउँथे । छक्कलाई आफूले खाएजसरी खान सिकाए । आफूले लगाएजसरी लगाउन सिकाए । आफूले बोलेजसरी बोल्न सिकाए । र, उनकै ‘आँखा’ले देश–दुनियाँ हेर्न सिकाए । हुम्लामा हिउँ जति जमे पनि समय भने वरपर बगाउँदै बग्यो । हेर्दा–हेर्दैै लामापुत्र छवान छक्क छलाङिदै ‘पण्डित–प्रिय’ भए । छक्क त महेन्द्र पाठशालाका नम्बर ‘वन’विद्यार्थी भए ।
गिलो माटोजस्ता छवान मनमतिष्कमा छक्कबहादुर भएर ‘राम’ले पो घरजम गरे । त्यसपछि छक्क मनमा सरकारी ‘रामसंस्कृति’ ‘मोह’ मौलायो ।छक्क भनेर बोलाउँदा मक्ख परेर ‘हँ’ भन्न थाले । छवान नामले बोलाउँदा नसुनेजस्तो गर्न थाले । छक्कले ‘पण्डित आँखा’ हालेपछि भोट समुदायले खाए/लाएको, उठेको, बसेको, हिँडेको, बोलेको, गाएको र प्रेम गरेको ‘असभ्य’ देख्न थाल्यो । राम आँखाले हेर्दा त छक्कलाई‘पाखे’ लाग्न थाल्यो । पुर्खा भाषा अर्थात् भोट भाषा बोल्दा लाज लाग्न थाल्यो भने संस्कृत वा खस नेपाली गर्व । ‘पश्चिमा’ले ‘पुर्विया’लाई ‘इमोस्नल’, ‘इरास्नल’, ‘बार्बरियन’ आदि ट्याग लाएर असभ्य भनेजसरी ‘सत्ता संस्कृतिइतर’कालाई लगाइने असभ्य ट्यागले छक्कलाई छपक्क छोप्यो ।
‘गुरु(पण्डित)ले हिन्दू संस्कृतिअनुसार हामीलाई बनाउनुभयो,’ छवानबाट छक्कबहादुर भएका लामापुत्र (अहिले हुम्लाबाट संघीय सांसद)ले गत हप्ता भावुक भएर भन्दैथे, ‘नेपाली(हिन्दू खस आर्य) पाराको सुसु र दिसा गर्न पनि सिकाउनुभयो । गुरुले सुसु गर्नसमेत बाहुनपारा सिकाएपछि बाँकी के रह्यो त ?’ 
०२१ सालमा ती हुम्ला पुगेका थिए, राजा महेन्द्रले पठाएका पाटनवासी खाँट्टी दरबारिया चिताराम पौडेल । पृथ्वीनारायण शाहको ‘एक धर्म, एक भाषा र एक संस्कृति’ नीति लागू गर्न ‘राष्ट्रियकरण’ नामको डोकोमा ‘महेन्द्रीय राष्ट्रवाद’ बोकेर रामहरू कुना–कुना पुगेका थिए । महेन्द्र मोडल हिन्दू सामन्तवादी राष्ट्रवादले ‘बहुरंगी’ नेपाली समाजको अनुहार ‘एक रङे’ बदल्नलाई चितारामहरू राम र चिता दुवै बोकेर कुना–कुना पुगेका थिए । त्यसरी नै पश्चिमाहरू संसारभर पुगेका थिए, एउटा हातमा बाइबल र अर्को हातमा तरबार बोकेर । 
छवानहरूले थाहै नपाई उनको गाउँ तोत्पात तोर्पा भएको थियो भने ताम्सी भएको थियो, सिमिकोट । ‘किराँत स्थान नाम ः प्राग्ऐतिहासिक एवम् भाषिक अध्ययन’ बजारमा ल्याउन लागेका डा. तारामणि राई र भोगीराज चाम्लिङले भन्दै थिए,‘रामहरूले आदिवासीका भाषाबाट राखिएका ठाउँ–नाउँजति रामकरण गरिसके ।’ 
राई भन्दै थिए, ‘कुलुङ भाषाबाट बनेको ठाउँको नाउँ फुक्सतेल त शिवटार भयो । हुलु भयो कृष्णटार । हेर्दाहेर्दै चाम्लिङ भाषाको दिनुवा भयो भण्डारीडाँडा ।’
सुनाउँदा सुनाउँदै राईको ‘आदिवासी गला’ अवरुद्ध भयो, ‘थुलुङ भाषाको हुङ्मा भयो देवीथान ।’लिम्बू भाषाको फाक्तालुङलाई रामहरूले फालेर कञ्चनजंघा बनाएथे । 
००० 
भागिन्ते बुढामगर, भोगीराज राई, छवान लामा, छम गुरुङहरूका न लिखित साहित्य थियो न त लेखिएका ठाउँ नाउँ । मौखिक न थिए ।  ‘राम’ दर्शनअनुसार ‘गैरराम’हरूलाई‘रामाकरण’ गर्नुलाई भारतीय समाजशास्त्री एमएन श्रीनिवासले नाम दिएका छन्, ‘संस्कृतकरण (संस्कृताइजेसन)’ । नेपालमा पृथ्वीनारायण शाहले ‘राज्य विस्तार’सँगै थालेको संस्कृतकरण राजा महेन्द्रले तीब्र पारे । महेन्द्रीय राष्ट्रवादको दोस्रो ‘संस्करणरत’ ओली ‘राष्ट्रवाद’ जो,आजभोलि घिचिरहेछौँ । त्यसताका न यातायात सुलभ थियो, न त प्रविधि । त्यसैले, चितारामहरू एउटा हातमा राम र अर्को हातमा चिता बोकेर कुनाकुना पुगेथे । ‘गैरराम’का दिलदिमागमा ‘राम’ हाले भने तिनका आदिवासी पहिचान चितामा । रोल्पाली बूढापाकाले भन्दैथिए, ‘मगर मुक्खे तिरो बुझाउन प्युठान जान्थे । फर्कंदा तिनका झोलामा रामायण हुन्थ्यो ।’ यसरी, उनै जुगमा, ‘राम’हरू वेद लिएर कतै आफँै पुगे त कतै रामायणमार्फत ।
आदिवासी गाउँ र कुना–कुनामा रामहरू पुगेपछि ‘हवा’ले हावा खायो । हवा बन्द गरे पनि समय बन्द नहुँदो रहेछ ! याम फेरियो । अब चितारामहरू आफैँ पुग्न जरुरी छैन । रामकरण गर्न राम संस्कृतिअनुसारको राज्यसंयन्त्र काफी छ । रामको ठाउँमा छवान भए नि काम गर्ने रामकै हो । जस्तो कि अचेल अमेरिका, भारत राजनीतिक/सांस्कृतिक साम्राज्य र उपनिवेश बनाउन/कब्जा गर्न तिनले आफ्ना सेना पठाउन पर्दैन । बहुराष्ट्रिय कम्पनी, हलिउड÷बलिउड, मिडिया, इन्टरनेट नै काफी छन् ।
०००
कवि छम गुरुङ तमु भाषाबाट राखिएका तमुवान क्षेत्रका ठाउँ नाउँ यादमा नोस्टाल्जिक हुँदै थिए । त्यसपछि, गोर्खाबाहेक लमजुङ, कास्की र पर्वतका ठाउँ नाउँ हर्क गुरुङकृत ‘जनजाति सेरोफेरो’, डिल्लीजंग तमु र इन्द्रबहादुर गुरुङको शव्दकोष र अमरबहादुर लेम तमुलाई उनले यसरी उद्धृत गरे– ०७२ को भुइँचालो इपिसेन्टर पारा थियो, तर रामकरण भएर बारपाक भयो । याङकाङ याँकिएर यामगाउँ भएको थियो भने काल्लुङ/कार्चेलुङ काटेर माछाखोला ।
संस्कृतकरण गरिएका ठाउँका केही नामहरू
भोटेलामा नेपाली भाषा– खस नेपाली भाषा
रिग्मो दह – से–फोक्सुन्डो ताल 
मु – मुकोट 
भार्बोङ –डाँडागाउँ 
स्ह्याङ – घ-याङ 
शेर्पा नेपाली भाषा – खस नेपाली भाषा
च्यामोल्याङ्मो – सगरमाथा
गोली –गोल्ला 
नाहुचे –नाम्चे 
थारू नेपाली भाषा – खस नेपाली भाषा
मुर्गिहवा – मुर्गिया 
लवपुर – नयाँगाउँ 
नमही – लमही
मगर (खाम) नेपाली भाषाबाट खस नेपाली भाषा
कारी – काँक्री 
मई – मैकोट 
रुगुम – रुकुम 
मान डी बाङ – माडीचौर 
धौलासिरी – धवलागिरी
मगर (ढुट) नेपाली भाषा – खस नेपाली भाषा
डुँडी – दुधेचौर 
राम्डी – रामनदी 
छाङछा – छायाक्षेत्र जगत्रदेवी 
ढोलडी – पाखापानी 
बोगाङ – बमभन्ज्याङ 
ल्हाडाँडा – लोकडाँडा 
ड्याङ्थुङ – पँधेरा
भालुथुङ – भालुथुम 
दारसिङ् – दहथुम 
आङ्डी – आँधीखोला 
आरेकभन्ज्याङ – आर्यभन्ज्याङ 
आरुङखोला – अरुणखोला 
मोचाबारी – केराबारी 
राई (दुमी) नेपाली भाषा – खस नेपाली भाषा
जरंखा – सप्तेश्वर 
ससर्का – जाल्पा 
राई (याख्खा) नेपाली भाषा – खस नेपाली भाषा
ओक्खरेन – मूलगाउँ 
याहारेन – डाँडागाउँ 
लिम्बू नेपाली भाषा – खस नेपाली भाषा
माङ्पारे – मंगलबारे
फिक्कल – सूर्योदय
फाक्तालुङ – कञ्चनजंघा 
तमु नेपाली भाषा – खस नेपाली भाषा
लाम्रा – लाप्राक 
पारा – बारपाक 
कोर्क – गोरखा 
पँजु – घलेगाउँ 
कोँड – घान्दु्रक 
थोङ्सु – थाक 
पोख्र – पोखरा 
तोम्ले/धम्लेँ – धम्पुस 
भाँडो – देउपुर 
तामाङ नेपाली भाषा – खस नेपाली भाषा
लङघङ – लाङटाङ
आमाछोडिङ्मा – पार्वतीकुण्ड 
काभ्रेका मावर – महाभारत 
फलङ्गु – वेत्रावती 
नेपाल नेपाली भाषा – खस नेपाली भाषा
जाः ह्वला ख्यः (भात छर्ने चौर) – जावलाखेल 
थं बही (माथिल्लो ठाउँ) – ठमेल 
असं – असन 
लगं – लगन
खिचापुखुः – खिचापोखरी
लमजुङेपँजु परिवर्तन भएर घलेगाउँ भएको थियो भने कास्कीको कोड कोतरेर घान्दु्रक । गुरुङ भाषाको पोख्र पोखिँदै पोखरा परेको थियो । यसरी ‘संस्कृतकरण’गरिएका ठाउँ नाउँ स्थापित गर्नसरकारी ‘राम’हरू राम दर्शन, राम संस्कृति र राम मिथ सहारा लिएर व्याख्या गरिरहेका छन् । नाम फेर्ने पनि ती आफैँ छन् भने यसरी बनेको हो ठाउँ नाउँ भनेर व्याख्या गर्ने पनि ती आफैँ । छवान, भागिन्ते, भोगी र छमहरू ट्ँवा !
०००
शोकमग्न छन्, राजधानीका रैथाने कवि स्नेह सायमी । नेपाल भाषाबाट संस्कृतकरण गरिएका ठाउँ नाउँ सायमी सूची लामो थियो– भात छर्ने चौर भनेर नेपाल भाषामा राखिएको जाः ह्वला ख्यः भयो जावलाखेल । जोशी खलकले बनाएको देवता मन्दिर भनी राखिएको नेपाल भाषाको जोशी देगः भयो जैसीदेवल ।
नेपालमा ‘गैरराम’हरू पनि छन् । तिनको पनि यो देश हो । र, तिनको पनि यो देशमा हिस्सा छ भनेर ‘अस्तित्व’ चेतत ‘जनयुद्ध’ले बल्ल–तल्ल दिएको थियो ।
आदिवासी गाउँ र कुना–कुनामा रामहरू पुगेपछि ‘हवा’ले हावा खायो । हवा बन्द गरे पनि समय बन्द नहुँदो रहेछ ! याम फेरियो । अब चितारामहरू आफैँ पुग्न जरुरी छैन । रामाकरण गर्न राम संस्कृतिअनुसारको राज्य संयन्त्र काफी छ । रामको ठाउँमा छवान भए नि काम गर्ने रामकै हो ।
त्यसपछि न गैररामहरूले पनि लेख्ने चलन चलाउने कोसिस भएको छ । नलेखिएका आफ्ना मौखिक इतिहास चिहानबाट निकाल्दै उत्खनन थालेको कति नै भएको छ र ? सीमान्तकृतले आफ्ना साहित्य आफैँले लेख्न कोसिस गरेको धेरै कहाँ भएको छ र ? खोजराज गोले राजधानी घेरेका तामाङ थातथलोका फेरिएका नाउँ सुनाउँदै हावाकावा हुँदै थिए–रसुवाको बकोङ्ल विनासिएर भयो बाहुनडाँडा । लङघङलाई लघारेर बनाए लाङटाङ÷लाम्टाङ । आमा छोडिङ्लाई पारे पार्वतीकुण्ड । फलङ्गु फेरेर भने, वेत्रावती ।
०००
हिलोको तलाउबाट निस्केको
भैँसीको ‘भै’
तावाको छुटेर जलेको रोटीको ‘र’
गालीजस्तो नरमाइलो तातो
हावाको ‘हवा’
भैरहवा !
भूपि शेरचनकृत यो भैरहवामा आजको मितिसम्म ‘सुस्तरी’हवा चलेको छ । बाँकी तौलिहवा, पक्लिहवा, निक्लिहवा, उचडिहवा, बग्नहवा, सोरहवा बिलकुल गुमनाम छन् । अरू ‘हवा’त उनै जुगमा उनै खोलैखोला बगिसके । भगवान भरोसे यी ‘सिला हवा’ हावा हुनबाट जोगाउने कसरी ?हवा हराएर हावाकावा आदिवासी ‘हवा’को बीउ नै मासिए कसरी बाँच्लान् ? ‘आस’ हेर्नु कसरी जब ‘सास’ फेर्ने हावा नै नरहे ? सास नफेरी सिंगो जीव–जगत् कसरी जिउला ? 
‘ट्रम्प टेम्परेचर’ ‘लु’मय छ, जस्तो छ, मोदी मौसम । काकताली हो कि नेपाली खप्पर नै यस्तो हो, कुन्नि ? नेपालमा पनि ट्रम्प र मोदी अनुहारकै ‘ओली मौसम’छ । जात्तेरी ! भूमण्डलीकरण घडीमा ट्रम्प, मोदी र ओली एकै खलककीय मौसम ! स्मरणीय छ, नेपालसित जोडिएको उत्तर प्रदेश मुख्यमन्त्री योगी आदित्यनाथले उर्दूबजारलाई हिन्दीबजार बनाए भने अलीनगरलाई आर्यनगर । 
हो, ‘लु’ लाग्ने ‘अनुदार’ मौसम छ । जुन मौसम ‘मान्छे अनुकूल’ होइन । त्यसैले कुनाकानीका र भुइँमान्छे झन् उकुसमुकुसिएका छन् । यति साह्रो अनुदार गर्मीमा हवा नचले कसरी बाँच्लान् मान्छे ?जगत्मा जीव अस्तित्व नै अब के होला ? जुगदेखि यहाँ ‘हवा’को ‘हवागिरी’मा रोक छ । हवा हावा भएका छन् । सानाका सारा संसार सन्त्रस्त छन् । भन्नुहोला, गृहमन्त्री रामबहादुर थापा बादल छन् । मुख्यमन्त्री शेरधन राई छन् । ओनसरी घर्तीमगर यसअघि सभामुख थिइन् । भन्नुहोला, यस्तो वेला हवा नचली सुख ?
उसो भए त, पद्मसुन्दर लावती, बालाराम घर्तीमगर, फत्तेसिंह थारू हुँदा पञ्चायतमै ‘हवा’ चलिहाल्थ्यो नि ! कुरा मान्छेको होइन, हवाको हो । मान्छेले सास फेर्ने हवाको । आस गर्ने हवाको । सपना सजाउने हवाको । हवा नै रामकरण भएका वेला हवा चल्दैन । मान्छेमात्र होइन, सम्पूर्ण जीवन बाँच्नलाई हवा चाहिन्छ । पानी चाहिन्छ । खाना चाहिन्छ । स्वतन्त्रता चाहिन्छ । उसो भएपछि त ‘हवा’ नाशक रामकरणप्रति मानिस चिन्तित हुने नै भए । ब्रेख्तले उनै जुगमा एउटा कविता छाडेर गएका छन्ः
उनीहरू तयार छन्
जे गर्न पनि 
कानुनका किताब उनीहरूकै 
हतियारका कारखाना 
पादरी र प्रोफेसर उनीहरूकै 
जज र जेलरसमेत उनीहरूकै 
सबै हाकिम उनीहरूकै 
तपाईं अब त ढुक्क हुनुभयो होला, अब हवा चल्दैन । 
हवा नचली मानिससहित सम्पूर्ण जीव कसरी बाँच्छ ? हवाविना जीवका जीवन नै धरापमा पर्ने भएपछि अब ‘हवा’ नचली हुन्छ त ?अब हवा चल्छ । बाटो हेर्नुहोला, अब  हवा चल्छ ।
(बाटो पो कहिलेसम्म हेर्ने ? यसको जवाफ भने कुर्नैपर्ने देखिन्छ ।)
from nayapatrika

No comments:

Post a Comment