Wednesday, May 6, 2020

कोरोनाः कसैलाई कोसेली, कसैलाई कहर

नवीन विभास 
२०७६ चैत २९ शनिबार ०९:५६:००

भन्छन्, विश्वको आधा जनसंख्या लकडाउनमा छ । खस नेपालीमा बन्दाबन्दीभन्दा कोरानावास पो सही हुन्छ कि ! कोरोनावास अर्थात् काराबास । फरक यत्ति हो, यो कोरोनावासमा बन्दुक बोकेका पुलिसको बदला कोरोना छ । 
कोरोनावास निहुँमा पारेर देशको सत्ता ‘करप्सन’लीन छ भने निम्न आयवाल मजदुर, गरिब, सुकुमबासी बस्तीका ‘सक्कली सुकुमबासी’ कोरोना कहरमा । विपन्न वर्ग एकसाथ दुई लडाइँरत छ–
एक, कोरोनासँग ।
दुई, भोकसँग । 
कोरोनाविरुद्ध लडाइँ जित्छन् या हार्छन् ? भन्न सकिन्न । तर, विपन्नका लागि कुनै राहत प्याकेजविनै थपिने कोरोनावासमा भोकविरुद्ध लडाइँ ? 


।।१।।
२४ मार्च, राति ८ बजे । मोदी टिभी स्क्रिनमा झुल्कन्छन् । मध्यरातदेखि लागू हुनेगरी ‘लकडाउन’ घोषणा गर्छन् । भोलिपल्ट महानगर र सहरले मजदुर गलहत्याउँछन् । परचक्रीलाई झैँ व्यवहार गर्छन् । कतिलाई घरबेटी तथा मालिकले खेद्छन् । लाखौँ भोकाएका, तिर्खाएका, युवा, पाका, पुरूष, महिला, बालबालिका, बिरामी, अपांगता भएका मजदुर घरसम्मको ‘लङ मार्च’ थाल्छन् । मार्चमा पाकाहरूले सन् १९४७ को जनसंख्या ‘स्थानान्तरण’ स्मरण गर्छन्, जहिले भारत विभाजित हुन्छ । त्यसवेलाको विभाजन धर्मको नाममा हुन्छ भने अहिले वर्गको नाममा । 
उद्धृत वाक्य अरुन्धती रोयका हुन् । भारतबाट खेदिने नेपाली मजदुर पनि हुन् । अरब उड्न पखेटा लाउन नसक्ने र उमेरले नमानेका नेपाली मजदुर । भारतीय पुलिस लाठी र बुट खाँदै मध्य तथा सुदूरपश्चिमेली मजदुर हुल आफ्नो नाभी गाडिएको ठाउँमै ‘बाँचे पनि मरे पनि’ भनेर सीमा नदी महाकाली किनार पुग्छ । आफ्नो देशले ढोका बन्द गरिसकेकाले
नाराबाजी गर्छन्, ‘सरकार आफ्ना नागरिक फिर्ता ले ।’ 
लकडाउनको लक लगाएको सिंहदरबार सरकारले मजदुरका हृदयविदारक चित्कार सुने पो ! बुझे पो ! घर फर्कन सीमामा पुगेका मजदुर आँखा उर्लंदो महाकालीमा ओर्लन्छन् । पौडन जानेका महाकालीमा हेलिन्छन् । जसै आफ्नो मुलुकको माटो टेक्छन्, नेपाल पुलिसले समाउँछ । भाइरलवाल तस्बिर बोल्छ– लाग्छ, महाअपराधीलाई नांगै सडकमा हिँडाउँदै फासीमा चढाउन लगिँदै छ ।
‘आफ्नै देश छिर्नसमेत रोक लाग्दा कटक्क मन काट्यो । जे होला भनेर महाकाली तरेँ,’ महाकाली तर्ने कालापारेहरू भन्छन्, ‘पौडन सक्ने तरेर आयौँ, नसक्ने सयौँ भारतीय क्षेत्रमै अलपत्र छन् ।’ महाकालीपारि नेपाली मजदुरका हृदयविदारक तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल हुन्छ । अन्य देशले आफ्ना नागरिक लाने चार्टर जहाज आकाशमा उड्दा नेपाली मजदुरका चित्कार महाकाली भेलजस्तै चर्कंदो छ । 
।।२।।
जिल्ला प्रशासन कार्यालय, ललितपुरको चैत १६ देखि १८ गतेसम्मको सवारी पासवाल मिनीट्रक (बा.४ख ७१३२ र बा.५ख १६२१) काठमाडौं उपत्यकाबाट मध्यरातमा रोल्पा गुड्छ । १४ घन्टा गुडेपछि रोल्पा पुग्छ । 
लाग्ला, अत्यावश्यक स्वास्थ्य सामग्री बोकेर ट्रक रातारात गुडेको हो । यस्तो कोरोना कहरको वेला ट्रकले लाने स्वास्थ्य सामग्रीबाहेक अरू के होला ! तपाईंको अनुमान गलत । स्वास्थ्य सामग्री होइन । हुन्, इँटाभट्टामा काम गर्ने ४९ रोल्पाली मजदुर । ललितपुरस्थित केसी इँटाभट्टामा काम गर्ने रोल्पा त्रिवेणी गाउँपालिका ७ र रोल्पा नगरपालिकाका ४२ गरी ४९ मजदुर ।
‘मानिस’ उद्धार गर्न कम्तीमा ‘सामान्य बस’ हुन्छ । तर, ती त इँटाभट्टामा काम गर्ने मजदुर हुन् । रोल्पाली मजदुर (?!) नहुँदा हुन् त सरकारले ट्रकमा लान अनुमति दिँदो हो ?!
।।३।।
रुकुम (पूर्व) चुनबाङका झुपु नेपाली (४३) कुबेत कोरोनावासरत छन् । झुपुसँग भिसा छैन । तलब नपाएको पाँच महिना नाघेको छ । कम्पनीले न भिसा लगाइदिएको छ न दिएको छ तलब । झुपुहरूको चित्कार न दूतावासले सुनेको छ न त म्यानपावरले ।
कोरोना र भोकविरुद्ध मजदुर, सुकुमबासी र गरिब कसरी लड्लान् ? पहिले कोरोनाले मर्ने कि भोकले भनेर गाई कि त्रिशूल गर्नुपर्ने भएको छ । 
कुनै वेलाका झुपु कमरेड सुनील हुन् । जनमुक्ति सेना भएर ‘जनयुद्ध’ लडेका ‘जन’योद्धा । झुपुका १४ वर्ष साउदी र कतारमा बितेको छ भने तीन वर्ष कुबेतमा । दुईतले घरको २४ कोठामा छन्, झुपुहरू । झपु कोठामा ६ जना सुत्छन् । 
कोरोनाले कोरे के गर्ने ? न कम्पनीले केही भनेको छ न त स्वास्थ्य जाँच तयारी । कोरोनाबाट बच्ने उपाय आफ्नै तरिकाले अपनाउँछन् । मोबाइलमा समाचार हेरेरै झुपुहरूका कोरोनावासे दिन र रात बित्छन् । झुपु काम गर्ने कम्पनीमा ४९ नेपाली छन् । झुपुका साथीहरू कसैलाई ६ महिनाको तलब दिएको छैन भने त कसैलाई तीन महिनाको । कोरोनावासमुक्त कहिले हुने हो ? कहिले घर फर्कने ? झुपुहरू अनविज्ञ छन् । 
।।४।।
खाडी, भारत र नेपालकै विभिन्न सहरमा काम गर्ने मजदुर, सुकुमबासी बस्तीका ‘सक्कली सुकुमबासी’ले कोरोनावास कडा कहर काटिरहेछन् । अरुन्धती रोयका अनुसार मूल सडक खाली छन्, तर गरिब जनतालाई सुकुमबासी बस्तीका साँघुरा छाप्रामा कोचिएको छ । मानिसहरू भाइरसलाई लिएर चिन्तित छन् । तर, प्रहरी ज्यादती, बेरोजगारी र भोकमरीजति वास्तविक र प्रत्यक्ष भाइरस थिएन ।
झुपु, इँटाभट्टाका रोल्पाली मजदुर, सुकुमबासी र विपन्न वर्गबारे ओलीजीलाई कसैले भनेन वा भुले वा बुझ पचाएका हुन् ? 
रामजाने !
।।५।।
गाउँमा गहुँ, जौ घरभित्र पस्न हतारिन थालेको छ । तिनै गहुँ र जौबारी समाएर उभिएका केराउ र मसुरो बारीमै वास बस्ने सुरमा छन् । मकै र धानबालीका लागि सुरसार गर्नुपर्ने । उसो त, पहाडी गाउँ पनि गाडीले बोक्ने चामलमा भर पर्न थालेपछि परम्परागत ‘बहुबाली’ दुब्लाएको छ । तैपनि, कोरोना कारणले कालापार र खाडी घर फर्केका वेला कोरोना शोक र भोक एकसाथ लडाइँ अझ चर्कने देखिन्छ । 
खाडीवाल र भारतबाट महाकालीहरू तरेर कालापारे घर पुगेका छन् । तिनीहरूसँगै ‘कोरोना कोरस’ पनि । आपद्मा जन्मघर फर्केका खाडीवाल र कालापारेलाई हेर्ने नजरिया भने कर्के भएको छ । परम्परागत बाहुनले परम्परागत दलितलाई हेरेजस्तो । खासमा कोरोना आँखा सन्काउँछन् । 
।।६।।
कोरोनावासमा साबुन र पानीले हात धुने, पौष्टिक आहार खाने आदि ‘कोरोना कल्चर’ बसाउन ‘कोरोना कोरस’ जारी छ । चर्को छ, कोरोना कोरससँगै चीनबाट खरिदेको स्वास्थ्य सामग्रीमा गरेको सरकारी ‘कोरोना करप्सन’ । करप्सनले २०७२ को भुइँचालोपछि भूकम्पपीडितका जस्ता र त्रिपाल पचाएका घटना सम्झाएको छ । 
कोरोनाविरुद्ध लड्न ‘आवश्यक स्वास्थ्य सामग्री’ अभाव छ । सरकारले ‘विश्वको नम्बर वन अमेरिकामा भेन्टिलेटर अभाव छ भने हाम्रो के हब्बा’ भनेर लाज छोप्ला । नोम चोम्स्कीका अनुसार ‘कोभिड–१९ महाव्याधी सामनामा संयुक्त राज्य अमेरिकाको असफलतापछाडि नवउदारवादी पुँजीवाद’को असफलता भनेका छन् । नवउदारवादवाल अमेरिकाहरूका लागि प्राथमिकतामा ‘बजार’ हो, जनस्वास्थ्य होइन । 
अरुन्धती रोय लेख्छिन्, ‘यदि साँच्चिकै युद्ध हुन्थ्यो भने अमेरिकाजति तयारी अवस्थामा को हुन्थ्यो होला र ? फ्रन्टलाइनका सिपाहीलाई मास्क र पन्जा नभएर बम, बन्दुक, ‘बंकर बस्टर’, पनडुब्बी, युद्धक विमान र आणविक बम चाहिने भएको भए यस्तै अभाव हुन्थ्यो र ?’
।।७।।
भन्न त, कोरोना कोर्राले राजकुमारी र प्रधानमन्त्रीसमेत बाँकी राखेन भन्छन् । तर, नोम चोम्स्कीका अनुसार ‘कोभिड–१९ महाव्याधी विशेषतः गरिब र सबभन्दा कमजोरमाथि निर्मम र सम्भवतः ज्यादै त्रासदीपूर्वक समय बनेको छ ।’ 
विपन्न वर्गसँग त कोरोनाविरुद्ध लड्ने आधारभूत हतियार साबुन र पानी नै ‘पर्याप्त’ छैन । पिउने पानीसमेत नपाएर छटपटाउनेले कहाँबाट पाउनु साबुन र पानी अनि हात धुनु ! आजको कमाइले आजको छाक टार्ने विपन्न वर्गका मानिसले लकडाउनमा लक हुन कसरी दुई बोरा चामल र दुईवटा ग्यास सिलिन्डर जगेडा राख्लान् ? 
स्वास्थ्य कारण देखाएर सरकार प्रमुखले आँखा–कान लुकाउन पाउँदैन भनेर आलोचना भएपछि प्रधानमन्त्री ओली मंगलबार झुल्कन्छन् । विपन्न वर्गलाई राहत–प्याकेजविना घरभित्र बस्न भन्छन् । त्यसपछि धम्की भाषामा जनतालाई रोज्न भन्छन्, ‘जीवन कि वैयक्तिक स्वतन्त्रता ?’ जीवन र स्वतन्त्रता ‘छनोट’ विषय नै होइनन् । मान्छेले दुवै रोज्छन्, ‘जीवन’ पनि ‘स्वतन्त्रता’ पनि । 
कोरोना र भोकविरुद्ध मजदुर, सुकुमबासी र गरिब कसरी लड्लान् ? पहिले कोरोनाले मर्ने कि भोकले भनेर गाई कि त्रिशूल गर्नुपर्ने भएको छ । 
सरकार आस मारेर होला, सुदूरपश्चिमतिर धामीकहाँ पूजाआजा थालेका छन् । अरुन्धती रोयले ‘चरम निराशाका बीच यो संकटले हामीलाई आफ्नै अस्तित्वको अन्त्य गर्न हामीले बनाएको मेसिनबारे पुनर्विचार गर्न आग्रह गरेको’ भनेकी छिन् । थपेकी छिन्, ‘अब यत्तिकै सामान्य अवस्थामा फर्किनुभन्दा खराब केही हुनेछैन ।’
ठीक यसैवेला उभिन्छन्, विनोदविक्रम केसी कविताका लालबहादुर । 
दूरीका निम्ति यति धेरै चिन्ता गर्नुपर्दैन
सदियौँदेखि हुने र नहुनेबीच
विकराल छँदै छ दूरी
लालबहादुरसँग कसले हात मिलाउँछ ?
कसले अंकमाल गर्छ उसलाई ?
तर, वेला–वेला
जुलुसमा हिँडिरहने नसा छ उसको
अरूका निम्ति मरेर
इतिहासमा नाम लेखाउने पाराको
शक्तिशाली देश र मान्छेले प्रकृतिप्रति गरेको अन्याय र ज्यादती सारा मानव समुदायले आज चुकाउँदै छ । अन्य महामारीले जसरी कारोनाले पनि ‘कोरोना क्लास’ पाठ गराएको छ । 
ढुक्क हुनुस्, कोरोना पनि जान्छ । मानव इतिहासको पछिल्लो ५० हजार वर्षमा आएका सयौँ महामारीले मानव इतिहास बदलेका छन् । तर, यतिवेला कोरोनावासमा एउटै चासो चर्को छ, ‘कोरोनाले लालबहादुर, झुपु, इँटाभट्टावाल रोल्पाली मजदुर, महाकाली तरेर घर फर्कने कालापारे जीवन बदल्ला ?’
 
जो होला सो होला, युवल नोभा हरारी तर्कमा तरंगित होऔँ, ‘कुनै बिन्दुमा पुगेर कोरोना तुफान पक्कै थामिनेछ । मानवजाति पक्कै जीवित रहनेछ । आउने पुस्ताका लागि एउटा फरक संसार छाडेर जानेवाला छ ।’
from nayapatrika

No comments:

Post a Comment