२०७७ बैशाख २० शनिबार ०८:५७:००
छुट्टीमा घर फर्केका अरबेले छिमेकीलाई एउटा गुन्यु वा कमिज दिन्छन् । जुन उपहारको नाउँ दिइएको छ, अरबे पाहुर । दुई–चार दिनमै अरबे घरमा आउँछ, आमा समूह । डेकमा घन्कन्छ, बजारिया दोहोरी गीत । अरबे युवा ५० डिग्री चर्को खाडीमा रगत, पसिना, रहर र खुसी बग्दा निक्लने सुुुस्केरा भुल्न प्रयत्न गर्छन् ।
कालापार तनक्क तन्केर पुगेको हो, खाडी र मलेसिया । भारतको हिमाचल प्रदेशका काला पहाडमा कमाइकाज गर्न जानुलाई ‘कालापार’ भन्दाभन्दै भारतमा मजदुरी गर्न जानु ‘कालापार’ र जाने नेपाली ‘कालापारे’ भएका छन् ।
तन्नेरी नहुँदासम्म छोटु भएर काम गर्छन्, कालापारमा । घर फर्केर उमेर बढाएर नागरिकता बनाउँछन् । त्यसपछि पासपोर्ट । पखेटा लगाएर खाडी या मलेसिया उड्छन् । कालापार तन्केर खाडी पुगे पनि पखेटा लाग्न नसकेका र उमेरले नेटो काटेका गरिब नेपाली कालापारमा ‘गोर्खा बहादुर’बाट ‘गोर्खे बाँदर’ बन्ने कालापार जारी छ ।
कालापार नतन्कदै जुगको कुरा हो । कालापारे घर फर्केको भोलिपल्ट भन्टाङभुन्टुङ छिमेकी घर जान्छन् । भँगेरा टाउकोजत्रो गुर (भेली) र सिद्रा हात पार्छन् । निम्तो दिन्छन्, ‘कालापारे पाइला अचेटेको जाँर खान आऊ गरे ।’
जाँड तालमा हाँस्छन् । रुन्छन् । नाच्छन् । कालापार तन्केपछि कालापारे र अरबे सरोबर हुन्छन् । कालापार र अरबमा रगत र पसिनासँग साटेको अक्सिजनले विपन्न परिवारले सास फेर्छन् । तिनकै खुसीसँग साटिएको अक्सिजनले ‘सामन्ती राज्यसत्ता’का पार्टपुर्जा भइटोपलेका केपी ओली, पिके दाहाल, शेरबहादुर देउवाहरू मस्तमगन छन् ।
चालीस वर्षयता नेपालको अर्थतन्त्र खाडी र भारतमा काम गर्ने मजदुर ‘रेमिट्यान्स गोडा’ले उभिएको छ । रेमिट्यान्स भिœयाउने मजदुरलाई वैदेशिक रोजगारविज्ञ डा.गणेशमान गुरुङ भन्छन्, ‘इकोनोमिक हिरो ।’
।१।।
खोटाङ, बुइपाका मनकुमार गजमेर (२६) कुवेत कोरोना लकडाउनमा ‘लक्ड’ छन् । ६ महिना भयो, भिसा सकिएको र तलब नपाएको । स्कापफोल्डिङ काम गर्ने गजमेरसहित कम्पनीमा ४७ नेपाली छन् । तिनलाई दुईतले घरको २४ कोठामा राखिएको छ । गजमेरसहित ६ जना एउटा कोठामा बस्छन् । करिब चार हजार पाँचसय मजदुरको एउटै भान्सा छ । एकै ठाउँमा छ, ट्वाइलेट बाथरुम । औषधोपचार कुनै व्यवस्था गरेको छैन ।
‘कोरोनाले कोरे के गर्ने ? ठेगान छैन,’ गजमेर सामाजिक सञ्जालमार्फत चिन्ता चिन्तन्छन् । कतारमा दुई वर्ष र साउदीमा डेढ वर्ष काम गरेका गजमेरको कुबेतमै तीन वर्ष बितेको छ । उनका दाजु मलेसियाबाट भर्खरै फर्केका छन् भने भाइ कतारबाट । गजमेर पाँच कक्षा पढेका छन् । कुवेत कमाइमै गजमेर परिवार चलेको छ ।
नेपाली मजदुरले विदेशमा सिकेका मजदुर सीप राज्यले देशको मुहार फेर्न प्रयोग गर्ला कि फेरि सस्तोमा आफ्ना नागरिक बेच्न अन्य देश खोज्ला ? हेर्न बाँकी छ ।
कम्पनी, राजदूतावास र पठाउने म्यानपावरमा जतिपालि समस्या दर्साए पनि सुनुवाइ भएको छैन । गजमेरसँगै लकडाउनमा छन्, महोत्तरी, रामगोपालपुरका मनोजकुमार राय यादव (३२) । साउदीमा साढे ६ वर्ष र कतारमा चार वर्ष काम गरेका यादवले सात महिनाको कमाइ साउदीमै छाडेर कुवेत गएका हुन् । कुवेतमा तलब नपाएको तीन महिना पुगेको छ । अहिलेसम्म कम्पनीमा कोरोना संक्रमित छैनन् । तर, अन्य कम्पनीमा काम गर्ने नेपालीसमेत कोभिड–१९ ले समातिएका छन् ।
बाग्लुङ ढोरपाटनका गामबहादुर बिक गगन दुबई लकडाउनमा छन् । उनी कार्यरत होटेलमा ७२ नेपालीमध्ये १५ जनालाई बिदा दिइसकेको छ । बाँकीलाई पनि ४५ दिन बेतलबी बिदा दिएको छ । कोरोना लकडाउनपछि नेपाल फर्केर के गर्ने ? चिन्तित छन् ।
‘कोरोनाले पर्यटन तत्काल हुन्न होला, ढोरपाटनमा आलु र स्याउजस्ता कृषिकर्म गर्ने कि भन्ने सोच्दै छु,’ ९ वर्षयता दुबईको होटेलमा कार्यरत गगन भन्छन् । दुबई लकडाउनमै छन्, प्युठानका विशाल खड्का, रोल्पाका देव डिसी र पन्चराम पुन ।
दुबईमा करिब तीन लाख सात हजार नेपाली छन् । ‘गल्फ पिकनिक स्पट’जस्तो मानिने बहराइनमा नेपाली मजदुर होटेल, रेस्टुरेन्टमा काम गर्छन् जो कोरोनासँगै बन्द भएका छन् ।
रुकुमका जयन्द्र ओली ज्योतिप्रकाश साउदी अरेबिया लकडाउनमा छन् । साउदीमा तीन लाख १५ हजारभन्दा बढी नेपाली छन् ।
ओलीका अनुसार कम्पनी बन्द हुने भयोे भन्दै मजदुर निकाल्दै छ । जसमा नेपाली मजदुर पनि परेका छन् । कतार लकडाउनरत रोल्पाका मिलन पुन नेपाल फर्कने पर्खाइमा छन् । जहाँ तीन लाख ५१ हजार नेपाली मजदुर रहेको त सरकारी तथ्यांकले भन्छ ।
विश्वकप फुटबलका लागि रंगशाला बनाउन, मजारा (प्राइभेट फार्मिङ), रेस्टुरेन्ट आदिमा नेपाली मजदुर काम गर्छन् । कतारले धेरै मजदुर हटाएको छ । कतिलाई हटाउँदै छ । जसमा नेपाली मजदुर पनि परेका छन् ।
रोल्पाका दीपेश रोकामगर, झापाका पूर्णप्रसाद राजवंशी, दाङका राजेन्द्र चौधरी मलेसियामा सेक्युरिटीमा काम गर्छन् । तिनका काम जारी छ । तीन लाख २५ हजारभन्दा बढी कामदार मलेसियामा छन् ।
दिल्लीस्थित होटेलमा काम गर्ने नुमेश घर्तीमगर र ओबाराम बोमरेल कोरोना लकडाउनमा छन् । भारतको विभिन्न भागबाट घर फर्कन भनी दिल्ली पुगेका मजदुर लकडाउनमा अलपत्र छन् । सीमामा छन् । भोकभोकै छन् । कहिले नाका खुल्छ भनी कुरिरहेका छन् । दिल्लीस्थित कान्तिपुरकर्मी सुरेश न्यौपानेका अनुसार नेपाल लान नेपाल सरकार र दिल्ली दूतावासले कुनै गृहकार्य गरेको छैन । सहयोग अपेक्षा गरेका नेपाली मजदुरलाई सरकार र दूतावासले भन्छ, ‘जहाँ हो त्यही बस । कहिलेसम्म कस्तो कसरी भन्ने केही भन्दैन ।’
भारतमा १६ नेपाली संक्रमित छन् । जसमा सातजना निको भएका छन् । भन्छन्, ‘भारतमा १५ लाख हाराहारीमा नेपाली मजदुर छन् । करिब एकचालीस लाखभन्दा बढी नेपाली नेपालबाहिर रोजगारका लागि गएका छन् ।’
अहिलेसम्म कति नेपाली, कुन देशमा कुन काम गर्न गएका छन् ? कति जेलमा छन् ? कति गैरकानुनी रूपमा काम गरिरहेछन् ? सरकारसित तथ्यांक छैन । कति नेपाली कोरोना कहर काटिरहेछन् ? सरकार बेखबर छ ।
लामो समय वैदेशिक रोजगार बिटमा काम गरेका पत्रकार रोशन सेढाईंका अनुसार २०५० तिरबाट जान थालेका हेर्दा ५० लाखभन्दा बढी छन् । सरकारले तीमध्ये कति फर्के कति उतै छन् भन्ने कुनै लगत राखेको छैन ।
नेपाली मजदुर सुरुमा दलाल, म्यानपावरबाट ठगिएका छन् । त्यसपछि मजदुरविरोधी राज्यसत्ताले थोरै श्रममा बेचेको श्रमसम्झौताबाट । त्यसैमाथि वैदेशिक रोजगाररत नेपाली मजदुर कोरोना कहरले थला परेका छन् । अभिभावक ठानेर सरकारबाट सहयोग अपेक्षा गर्छन् । न सरकार प्रतिनिधि दूतावास श्रमिक पहुँचमा छन् न त एनआरएन । सबै ठाउँको ठाउँ ठप्प भएपछि मजदुर कसरी बसेका छन् ? तिनका वास्तविक अवस्था कस्तो छ ?
दूतावास र एनआरएन बेखबर छन् । नेपालबाट मुख्यतः साउदी, कतार, मलेसिया, युएई, बहराइन, कुवेत, ओमान, कोरिया, जापान, साइप्रसलगायत मुलुकमा नेपाली ठूलो संख्या छ । अन्य भिसामा युरोप अमेरिका पुगेर कामदारकै रूपमा कार्यरत पनि ।
।।२।।
मनकुमार, मनोज, पन्चराम, देव अर्थात् लाखौँ युवा स्वदेश फर्कंदै छन् । खुसीको कुरा हो, आफ्नो देश फर्कदै छन् । दुःखको कुरा हो, ठूलो संख्यामा बेरोजगार हुँदै छन् । ‘रोगजारीको गन्तव्य बदलिँदा अहिले गल्फ र अन्य देशमा काम पाइरहेका अधिकांश नेपाली बेरोजगार हुनेछन् । यसको पहिलो असर निम्न र मध्यमवर्गीय परिवारमा देखिनेछ । किनकि ६० प्रतिशत रेमिट्यान्स निम्न र मध्यमवर्गीय परिवारमा पुग्छ । रेमिट्यान्सको प्रवाह रोकिनासाथ यी परिवारको जीवनयापनमा प्रत्यक्ष असर पर्छ । बिस्तारै राष्ट्रिय अर्थतन्त्रमा देखिन्छ । एउटा घरमा देखिएको यो समस्याले अन्ततः हाम्रो अर्थतन्त्र नै ‘कोल्याप्स’ हुन सक्छ,’ डा.गुरुङ भन्छन् ।
।।३।।
विश्वको आधा जनसंख्या लकडाउनमा छ । सिर्जनशील र मजदुरमैत्री राज्य र सरकारले लकडाउनमा ‘राम्रा’ काम गरेका छन् । केपी ओलीहरूजस्ता असक्षम र मजदुरविरोधी सरकारका लागि लकडाउन बहाना भएको छ । जहाँ जुन ठाउँमा हो त्यही बस भनेको छ । लकडाउनलाई कमाइखाने भाँडो बनाएको छ । स्वास्थ्य सामग्रीमै ओली सरकार त भ्रष्टाचार गरिरहेको छ ।
उसो त, सामन्तवादी नेपालको राज्य चरित्र कहिल्यै मजदुरमैत्री भएन । खाडी र भारतमा काम गर्ने मजदुरविना नेपालको अर्थतन्त्र चलायमान हुन्न । बितेको ४० वर्षयता नेपालको अर्थतन्त्र रेमिट्यान्सले चलाएको जुन रेमिट्यान्स खाडी र भारतमा काम गर्ने मजदुरले पठाएका हुन् ।
मजदुरमैत्री नभएकैले त केपी ओलीहरूले जहिल्यै इकोनोमिक हिरोहरूलाई ‘तुच्छ कामदार’ मात्रै ठान्छ । राज्य मजदुरमैत्री हुँदो हो त आफ्ना नागरिकका सक–असकमा सहभागी हुँदो हो । सीमामा पुगेर घर फर्कन गरेको चित्कार सुन्दो हो । अरब र मलेसियाबाट फर्कन रोइकराइ गरेको सुन्दो हो ।
इकोनोमिक हिरोलाई महामारीका वेला ओली सरकार ‘तिमीहरू चाहिँदैन’ भन्छ । सीमामा आएर बसेका र खाडीमा फसेका मजदुरलाई भन्छ, ‘कोरोना हुन सक्छ । त्यतै बस ।’
बोर्डरमा फसेका, खाडीमा फसेका हाम्रा नेपाली नागरिक ठानेको छैन । खाडी वा अन्यत्र भएका नेपाली मजदुरलाई न प्लेन चार्टर गरेर तत्काल ल्याएको छ न त सीमामा आएका मजदुरलाई स–सम्मान नेपाल ल्याएर क्वारेन्टाइनमा राखेको छ ।
जोखिम मोलेर महाकाली तरेर वा ट्युबमा तरेर नेपाल फर्केका नागरिकलाई सरकारले त नांगै सडकमा डुलाएको छ । मजदुरमैत्री हुँदो हो त सरकारले भन्नुपर्ने, ‘तपार्ईंहरू पनि यही देशको नागरिक हो र फर्कने हक छ । आउनुस्, खाने, बस्ने र उपचार गर्ने व्यवस्था गर्छौं ।’
।।४।।
अरबे पत्नी, अरबे छोराछोरी, अरबे घर, अरबे पाहुर ...कालापारेजस्तै गाउँमा संस्कृति रूपमा मौलाउन थालेको अरब संस्कृति र अरब किस्सा फेरिनेछ । कोरोना भाइरसले ल्याएको कोरोना कल्चर जरुर संस्कृति र जीवनशैली अनि देशको अनुहार फेर्नेछ ।
नेपाली मजदुरले विदेशमा सिकेका मजदुर सीप राज्यले देशको मुहार फेर्न प्रयोग गर्ला कि फेरि सस्तोमा आफ्ना नागरिक बेच्न अन्य देश खोज्ला ? हेर्न बाँकी छ ।
राज्यले जे गरे पनि अब भने नागरिक बेचेर मस्तमगन केपी ओली, पुष्पकमल दाहाल, शेरबहादुर देउवाहरू आजजसरी मस्तराम हुन पाउने छैनन् । ‘ओली, दाहालमैत्री’ राज्य रूप नफेरी न वैदेशिक रोजगार गुमाएर फर्केका मजदुर बाँच्नेछन् न त गरिबका दिन फर्कनेछ । ढिलो वा चाँडो एक दिन विद्रोह हुनेछ, जसरी भोकले मर्न लागेपछि कोरोना लकडाउन पर्वाह नगरी काठमाडौंबाट मजदुर ‘लङ–मार्च’ सुरु भएको छ ।
तपाईंले सुन्नुभएको छ, ‘मरता क्या नहीँ करता !’
from nayapatrika
No comments:
Post a Comment