Wednesday, November 4, 2009

अनिश्चित पर्खाई

कार्तिक १७ अर्थात् नोभेम्बर ३ । हेरिरहेछु, आइबीएन७ च्यानल । मोटो किताब टिभीमा देखाउँछ । कभरमा इन्दीरा गान्धीको फोटोमाथि लेखिएको छ, ‘१९८४ ।’
अँ, एक केटी छ, स्टुडियोमा कार्यक्रम संचालिका । छेउमा बसिरहेका छन्, अधबैसे शिख महिला ।  
संचालिका अक्क न बक्क परेकी छ । बक फुटेकै छैन सोध्नलाई ।
‘त्यसदिन कस्तो थियो ? के भयो ?’ मुश्किलले सोध्छे ।
अधबैशे र बूढी महिला बोल्दैजान्छन् । बोल्दाबोल्दै थामिन्छन् । र, घटना सुनाउन आँसुबाहेक अरु बचेको छैन । तर चाहिएको छ, बोली । कार्यक्रम संचालिकाले गर्नुपर्ने हो, प्रश्न । प्रश्नकर्ता आफै भक्कानिएर डाको छाड्छेजस्तो छ । उसेको अनुहारले भन्छ, थाम्न १२ बजेको छ ।

विज्ञापन पनि सकियो । सोध्नु पर्ने छ । र, भन्नुपर्ने छ ।
घटना भन्न बोली होइन आँसु झर्न थाल्छ ।
आङ सिरिड्ड गर्छ ।
४० टेके जतिकी महिला । कहानी भन्दै जान्छे, ‘थिए, मिलिटरीमा मेरा बा । तर, पुलिसले लिएर गए । जिउँदै जलाए ।’
सेनामा कार्यरत उनको श्रीमान्लाई पनि मारे ।
त्यसपछि ?
कोही बचेनन् ।
अनि ?
भन्छे, ‘मात्रै म बचेँ । हजुरआमा थिइन्, गइन् ।’
पुलिसकहाँ गई । न्याय दिएन । सरकारकहाँ पुगी । सुनुवाई भएन । बदला लिन खोज्ने ठाउँ चहार्दै गई । भेटी एकजना । र, घरजम गरी उसैसित । अन्डरओल्र्डको मान्छे भन्ने थाहा पाएपछि पक्राउ परी । ९ वर्ष जेल सजाय काटेर भर्खरै निस्की । भनी, ‘जसरी जलाए मेरा बाबालाई, मेरा पतिलाई उसैगरी जलाउन चाहन्छु । मलाई तीन घण्टा भए पुग्छ ।’
उसको भनाइसँगै आँखाभरि आए, अनगिन्ती नेपाली अनुहार ।
कमरेड हिमाल । उनका सोल्टी ।
मुसिकोटबाट चुनबाङ आउँदैगरेका पुलिसले हिमालको दाजुभाउजू र दिदीभिनाजुलाई एकै चिहान पारे । केही समयपछि  हिमाल र उनको दिदीको देवर दुवै माओवादी सेना भए ।
अहिले ?
कमरेड हिमाल बटालियन भिसी छन् भने उनको सोल्टी वाइसीएल । यसैगरी माओवादीले मारेका परिवारका सदस्य पनि पुलिस र नेपाली सेना भएका छन् ।
स्क्रिनमा आइन् एक अधबैसे महिला । भन्न थालिन्, ‘खाना खाँदैथियौं...।’
त्यसपछि ?
नबोली चुपचाप बस्छिन् ।
‘मसँग त्यसदिनको सम्झनाबाहेक अरु केही पनि छैन । न तस्वीर बच्यो न त,’ यति भनेपछि थप बोल्न सकिन ।
रोल्पाको सिंजाखोलाको घटना सम्झिएँ । जेठा छोराबुहारीको बिहे भएको दुई साता पनि भएको थिएन । छोरीज्वाइ भर्खरै कालापाबारबाट आएका थिए । घटना थियो, २०५६ को । ती माओवादी थिएनन् । सर्वसाधारण थिए । टाटेडाँडाभन्दा पर जंगलमा सोत्तर लिएर फर्कंदैथिए । पुलिसले चारैजनालाई सोत्तरको रांगेसँग लग्यो, जंगलछेउको घरमा। माओवादीलाई खाना पु¥याएको आरोप लगायो । श्रीमान्का सामुन्ने पुलिसले बलात्कार गरे । दाम्लोले बाँधे । सिस्नोपानी लगाए । घरवालाको घर फोडेर आलु पकाए । खाए । र, जानुअघि चारैजनालाई एउटै खाडलमा पुरे ।
‘एउटा फोटो थियो दाजुको । लुकाउँदालुकाउँदै मधुरो भइसकेको थियो । बचेको त्यै एउटा फोटो पनि सहिदका फोटो पत्रिकामा निकाल्ने भनेर माओवादी नेताले लगे । तर, लग्ने नेता नै भागेछन् । न पत्रिकामा छापियो न त फोटो नै बच्यो । दाजुको फोटो मनमा बाहेक अन्त छैन,’ सिंजाखोलामा मारिनेकी बहिनी सीताले भनेकी थिइन् । उसका भाउजू त भर्खरै विहे भएको थियो । गाउँमा न हो, बिहेमा फोटो खिच्ने चलन पनि त थिएन । माइतमा छ होला तर उनीहरुले ल्याएका रहेनछन् । कालापार हिंड्ने दिदीभिनाजुको पनि फोटो थिएनन् । सीताले भन्दैथी, ‘कोही बचेनन् । तपाईंलाई देखाउने तस्वीरसमेत जलाए । अब हामीसित दिदीभिनाजुको नासो त यो नानी छ । यो नानी पनि जलेर विरुप भई ।’
अँ, स्क्रिनमा भन्दैथिइन् । बच्नलाई के नै बाँकी राखिएन । भन्दै गइन्, ‘सबै छोराका कपाल छोरीको जस्तै बनाइदिएँ । (कारण शिख पुरुष भनेर चिन्छन् भनेर।) तर कोही पनि बचेनन् ।’
उनीहरुका अनुहार नै काफी थियो । के सुनिसक्नु थियो र उनीहरुका बयान ।
कार्यक्रम संचालिकाले भनी, २५ वर्षदेखि तिनका आँखामा लगातार आँसु बगिरहेछ । अझै सकिएको छैन ।
साँच्ची आँसु सकिएको दिन के होला हँ ? कल्पेर पनि अत्यास लाग्यो ।
अर्की एक बूढीआमा आइन् । उनको अनुहारमुन्तिर लेखियो, ‘भागी कौर ।’
भन्न थालिन्, ‘उनीहरु (पुलिस र हिन्दू) ले छोरालाई पनि आगोमा हाले ।’ उनले छोराको पुकारा गरिन् रे । पाउ छोइन् रे । तर मानेनन् रे । भनिन्, ‘पति बचाउन पनि खबै कोशिस गरेँ । सकिनँ । उनीहरुले सबलाई जिउँदै आगोमा हाले ।’
उनले यसो भनिरहँदा जनयुद्धताका जिउँदै आँखा झिकेर जलाइएकी रोल्पाकी कुमारी बुढा आँखाअघि उभिइन् । पुलिसले जिउँदै उनको आँखा झिके । र, जिउँदै जलाए । उनका छरछिमेकका बालबालिकाका सामुन्ने यी सब हर्कत गरे । अहिले पनि त्यस घटनाबारे बताउन छिमेकीसमेत असमर्थ छन् । परिवारका सदस्यले झन् कसरी सक्थे ?
अर्की एक अधबैसे आइन् । उनको अनुहारमुन्तिर लेखियो, ‘पप्पी कौर ।’
उनको परिवारका १० जना मारिएछन् । सबलाई जिउँदै जलाइएछ । भन्दैगइन्, ‘न्याय मिल्ला र परिवार सदस्यका सपना कतै भेटिएला भनेर पर्खदापर्खदा २५ वर्ष बित्यो। मिलेको छैन ।’
कौर बोल्दैथिइन् । उनको मनसाय बुझी क्यार, संचालिकाले। अर्की बूढीआमैलाई सोधी । बूढीआमै बोल्न थालिन्, ‘क्या कहुँ बेटा । न उपरवालेले सुना न इन्सानोने ।’
परिवारजन गुमाउने र शरीरका अंग गुमाउनेका सपना र आँसु डलरमा बिक्री हुन्छ । जनयुद्धमा परिवारजन गुमाउनेका आँसु डलर खेती गर्नेका लागि गनारी खेत भए । डलर फलाउन देशभित्र र बाहिरका डलर खेतालाका रासोबासो नै रोल्पामा छ ।
सेना पुलिसले मारेका होऊन् या माओवादीले । तिनका परिवारका आँसु एउटै छ । जुन सपना बोकेर मारिएका भए पनि तिनलाई गुमाउने परिवारजनको आँसु उस्तै छ । उनीहरुको पीडा उस्तै छ । आँसु जसको आँखाबाट झरे पनि आँसु नै रहेछ । र, तिनलाई बुझ्ने मन पनि ।
नेपालमा हजारको हाराहारीमा बेपत्ता छन् । जिउँदा छन् या मारिए ? अत्तोपत्तो छैन । सत्र हजारको हाराहारीमा ज्यान गुमाए । र, हजारौं घाइते छन् ।
तिनले कहिले पाउँलान् न्याय ?
प्रश्न अनुत्तरित छ, नेपालमा पनि । कारण –भारतको जस्तै छ, नेपालको सरकार । सत्ता । भनाइ छ, ‘वगकतष्अभ मभबिथ ष्क वगकतष्अभ मभलष्भम।ु

6 comments:

  1. Nice article. great effort.
    keep it up

    Dness

    ReplyDelete
  2. Mero sathi kati maan chune harf haleko timile. Sambad, paribesh ra lekhan ko dhar le ma pagliya . Aanshu ko kunai mool hundaina ....

    Suresh

    ReplyDelete
  3. 1dam ramro political event Comparison of nepal and India. visual dardnak ra pidadayak lagyo ani nepalko political policyprati nirasa ra aashaharu thakit bhayara aayo. Pidit nepaliko ghau ma malam patti kahile hola????????????

    ReplyDelete
  4. Binu Rijal
    nice write up nabin sir.it touched me.nice write up nabin sir.it touched me

    ReplyDelete
  5. thanks Nabinji for your creative activity . I am so much happy to see this blog . Hope You will contribute for Nepali literature as well . Mitra From Poland

    ReplyDelete
  6. gr8 article ,so heart touching.

    ReplyDelete