Monday, March 1, 2010

अनसनमा रहर


रहर, तिर्सना र सपना अनसनमा छन् । आफ्ना माग पूरा गराउन लामो समयदेखि अनसनमा ।  
थाहा छैन, कहिले तोड्छन् अनसन । र, सुमधुर सम्बन्ध होला मसित । 
रहर नलाग्दो हो त हुँदो मान्छे कस्तो ? मान्छेका जम्मै तिर्सना पूरा हुँदा हुन् त कति इखलाग्दो हुँदो हो मान्छेको जिन्दगी ? 
कहिलेकाहीँ बक्क पर्छु । 
छेपारो रहेछ रहर । भेष बदल्दै आउने । रंग बदल्दै आउने ।  
चरा रहेछ तिर्सना । पखेटा हाल्दै कहाँ हो कहाँ उड्ने । नजानिदो रहेछ, रहरको गन्तव्य । थाहा हुँदो हो त मान्छेको जात किन रहरको पछिपछि लागेर एकछाँगे भीरमा जाँक्किदो हो र है ? 
रुख रहेछ रहर । हाँगाबिंगा हाल्दै लहरिने । र, लहरिदैजाँदा रहर र रहरबीच नै टक्कर पर्दोरहेछ । कहिलेकाहीँ त दोहोरो भिडन्तमै पुग्ने । धावक रहेछ तिर्सना । कहिले कुन रहर अघि लाग्ने त कहिले कुन रहर । ठेलमठेल गर्दै रहर कुद्दारहेछन् । 
भाँतीभाँतीका रहर र सपनाका चालढाल देखेर आफै हलाक् पर्छु ।


सम्झन्छु–
प्रावि स्कुले याममा सेतो टेरिकटमाथि रातो रिबनको धर्सा हालेको गेम कट्टु लाउने रहर । जुन बेला हाइस्कुलका तन्नेरी दाइ त्यस्तै गेम कट्टु लगाएर स्कुलका वार्षिकोत्सवमा भलिबल खेल्थे । दौडन्थे । हाइजम्प र लंगजम्प खेल्थे । तीनवटा रातो धर्सा भएको सेतो टेरिकनको गेम कट्टु लगाएर आफू पनि खेल्न पाए संसारै जित्थेँजस्तो लाग्थ्यो । र, गाउँका भलिबल ओल्र्डकपजस्ता लाग्थे, कल्पदै कि एकपालि छुन पाए कति गति परिदो हो । भुरा याममा मोजाका बाल खेलेर तिर्सना मेट्न कोशिस गथ्र्यौं ।
सेतो टेरिकनमाथि रातो रिबनको धर्सावाल गेम कट्टुको रहर नफुलिकनै मुर्झायो । अचेल त त्यो गेम कट्टुसँगै पारिजातको उपन्यास पर्खालभित्र पर्खालबाहिरको पात्र रमेश अर्थात् माष्टरसाब् र उनकी श्रीमती बाटुली आउँछन् सम्झनामा । जेलबाट निस्केपछि एक रात बाटुलीलाई उनको ‘रहर’को बारेमा रमेशले सोधेको साँझमा पुग्छु । बाटुली भन्छे, ‘त्यस्तो विधि त केही छैन, भए एउटा सानो छाप्रो होस्, सानो टुक्रा वारी माटो खेल्नलाई अनि भए एउटा दुइटा छोराछोरी चकचक गरिरहेका ।’
सुनेपछि अनौठो लाग्छ माष्टरसाब्लाई । भन्छन्, ‘कठै ! ११ बर्षको एक्लोपनामा उसले पनि यति सपना र रहरको जोरजाम गरिछ ।’ माष्टरसाब् सोच्न थाल्छन्, ‘कति ससाना सपनाहरू छन् यी । यति सहज सम्भावनाहरू पनि सपना र रहरका बस्तुहरू भइदिए बाटुलीका निम्ति । यी अधिकारका कुराहरू पनि ।’
आफ्नो रहर सम्झेर आफै बक्क पर्छु । 
घाम देखे घाम राम्रो जून देखे जून राम्रो लाग्ने याममा गायकको सपना देखेँ । लिबाबाट हान्निएर नुवागाउँ पुगेँ । र, पढाइलाई बैंकलमा फालेँ । जाँच पनि दिन नपाएर भागाभाग भयो । पढाइ र संगीतको तिर्खा घोराही पुगेपछि मुर्झाउन खोज्यो । झण्डै एक वर्ष शास्त्रीय संगीत सिकेँ । सिक्दासिक्दै घरको हैसियत र मेरो रहरबीचका साँधसीमा हेरेँ । देखेँ । 
(आज पनि सपनामा लखेट्ने सगीतसित प्यार त छ तर बिहे भएन भनेजस्तो । एउटा अपूरो प्रेमजस्तो ।)
मान्छेका जातअनुसार, समयअनुसार, परिवेशअनुसार रहर, सपना र तिर्सना हुन्छन् होला । तर कहिलेकाहीँ किन असंभव रहर पनि आएर सताउँछन् हँ ? थाहा छैन । यसै त कहाँ गाए होलान् रोल्पाका बनपाखामा हाम्रा पुर्खाले, ‘नलाग मलई कल्पनाय नफल्ने डालीको ।’ तर, त्यै नफल्ने डालीको कल्पनाले लखेटिरहन्छ । पछि लागेको लाग्यै गर्छ । अनि उही नजिकनजिक भएर आउँछ र मनको कुनामा घाउ लगाइरहन्छ । र, बल्झाउँछ उही रोल्पाली बनपाखाको पुरानो लोकगीत, लो लारे कर्ममै छैन उइले लाउन्या खाँती । 
आज पनि दुईवटा रहर समानान्तररुपमा हिंडेका छन् । कहाँ लगेर थान्को लाउने ? अलमलमा छु । 
यी कहिले रहर भएर आउँछन् कहिले तिर्सना भएर कहिले सपना भएर त कहिले आवश्यकता भएर । र, चार पैसाको दाँत देखाएर तिनका सामु ङिच्च गर्छु ।
पत्रकारिताको बाटोमा लागेपछि समानान्तर हिंड्न थालेका सपना छन् एउटा एसएलआर क्यामरा र एउटा ल्यापटप । कहिले क्यामेरा अगाडि लाग्छ त कहिले ल्यापटप ।
एक्लाएक्लै भए नि स्वागत् गरौं न त भनेर योजना बुन्न थालेको पनि वर्षांै लागेछ । चार पैसाको जागिर । छाम्दाछाम्दै कता हराउँछ कता । यता ग¥यो उता ग¥यो । फुस्स । कहाँ पाएर स्वागत् गर्नु रहरलाई ? सम्हाल्नु कसरी तिर्सनालाई । र, माया गर्नु कसरी सपनालाई ?
कहिलेकसो झोक चल्छ, ‘यसै रिन उसै रिन बूढी भैसी किन भनेर लाग्छु गरौं कि क्या हो भनेर । भन्छन् नि तातो पानीले कहाँ घर जल्छ र ? 
एसएलआर क्यामरा र ल्यापटपका लागि कम्तिमा लाख माथिको पैसा रहेछ । रोटीकारिता गरेर त्यति जम्मा गर्नु भनेको आकाशको फल रहेछ । महिना नढल्दै ठूलाठूला भ्वांग परिसक्छ, ग्यास, चामल, दाल, तरकारी, कापी, कलम, शर्ट, कटु, घर भाडा ...। 
भन्नु हुँदो हो, रोटीकारिता नाउँको नोकरी त छ । तपाईंलाई थाहै छ नि, दायाबाया खेतबारी नहुने रोटीकारिता गर्ने खेतालाको दशा । उही त हो । अरु नोकरी जस्तै त हो नि लामो हात नगरी नफल्ने । लामो हात गर्ने न पुर्खाले सिकाए न त आत्माले । 
अँ, रोटीकारिताबाट आउँछ, महिना मरेको पाँच गतेतिर । कहिलेकाहीँ यो महिना लम्बिन्छ । धन्न टीभी र रेडियोका रोटीकारिता गर्ने साथीका जति महिना तन्किएर असी नब्बे र सय दिन पुगेको छैन । 
अनि ? जति लम्बिए पनि महिना सकिदा पसलमा नुन, तेल, चामल, भतिजा विमल र गणेशका कमिजका गोजी भ्वाङ परिसकेका हुन्छन् । घरमा कोही विरामी भए अर्को महाभारत सुरु हुन्छ । 
यताको भ्वाङ टाल । उताको टाल । टाल्दाटाल्दै भ्वाङैभ्वाङ रहन्छ । 
अनि ? 
रहर, सपना र तिर्सना उतातिर ट्वाँ पर्छन् यतातिर म ।
अनि ?
तिनका सामु मेरो एउटै विकल्प हुन्छ, ‘आत्मसर्पण ।’
चोर्न, ढाँट्न, छल्न न जातले दियो न त आत्माले । भोलि के भन्ला समाजले ? कसरी मुख देखाउने भन्दाभन्दै मन नौ ठाउँमा मुच्र्छा पर्छ ।
साथीभाइ हेर्छु कोही रोटीकारितामा अल्झेका कोही अन्यमा । मजस्तै कमैया हुन् । कोहीका मेरो भन्दा पनि तनखा कम छ त कोहीका बढी । तर, सेरोफेरो उही हो । कोही मजस्तै हरितन्नम छन् त कोहीको फुर्ति हेरिनसक्नु छ । मोटरसाइकलमा सररर छन् । कोही गाडीमा । कोहीले घडेरी किनेका छन् कोहीले घर बनाएका छन् । तिनकै हातमा एसएलआर छन् किलिक्क किलिक्क पार्छन् । झोलामा ल्यापटप बोकेर कुदेका छन् । दिन बिराएर बिजुपानीमा पौडन पनि भ्याएकै छन् । चेली लिएर नगरकोट पनि पुगेकै छन् । 
तिनले यै चार पैसे जागिरले कसरी किने ? 
बक्क पर्छु । 
कल्पेर दंग पर्छु ।
सायद तिनका विकासे खेत होलान् । जहाँ डलर फल्छ । आफ्नो त न खेत मालिकसँग चिनजान छ न त खेती लाउने कला नै । 
के ती सबैका खेत होलान् ?
खेत नभएका कहाँबाट ल्याउँछन् ? के हो तिनका स्रोत ? 
कहिलेकाहीँ सम्झन्छु । फेरि कहिलेकाहीँ भन्छु, ए जेकै गरुन् । नजाने गाउँको के बाटो सोधिरहनु र ? 
तिनका फुलेका सपना देखेर झन् रहस्यको तालमा फस्छु । 
जब रिपोर्टिङका लागि जान्छु यसो खिच्न खोज्छु तब अर्काको मुख ताक्नुपर्ने हुन्छ । अर्काले किन दिन्छ, आफ्नो नसकाएर ? त्यसपछि एसएलआर क्यामेरा आउँछ रहर भएर । जब समाचार फाइल गर्नु पर्ने हुन्छ फिल्ड रिपोर्टिगमा गएको बेला तब आउँछ ल्यापटप । अनि एसएलआर क्यामेरा र ल्यापटप रहर होइन, सपना होइन, तिर्सना नभई आवश्यकता परिणत भएर उभिन्छन् । 
अनि ?
एम्बुसमा पार्छन् । 
बस्, लामो समयदेखि केही सीप नचलेपछि अनसन बसेका छन् । एम्बुसमा पारेका छन् । 
रहर, सपना र तिर्सना आधारभूत आवश्यकतामा परिणत भएपछि मन चरक्क चर्केको छ । 
सपना देख्न त पैसा तिर्न पर्दैन नि । यसैले हाम्रा फोटो पत्रकार साथीका क्यामेरा वल्टाइपल्टाइ गर्छु । ख्यालख्यालैमा कस्तो क्यामेरा अच्छा भनेर पनि सोध्छु । यसैगरी सोध्छु, ल्यापटप पनि । यस्तैमा आलु क्यामेरा र एसएलआर क्यामेरा भनेर कतै ब्लगमा लेखेको पढेर मेरो एकजना लाहुरे साथीले अनलाइनमा भने, ‘पठाइदिन्छु । कस्तो भनेर मलाई इमेल गर्नु ।’
यो कुरा केही साथीसँग भनेँ । सबले भने, ‘माग्ने माग्ने के नराम्रोमा जात फाल्छस् । माग्, गतिलै ।’ 
खुसुखुसु लेखिदिएँ । 
भोलिपल्ट अनलाइनमा भेट भयो । साथीहरुले लेखिदिएको पठाएँ । साथीहरुको लहलहैमा लागेर गतिलै मागेछु । त्यसपछि साथीसँग अनलाइनमा भेट हुन छाडेको छ । साथीले पक्कै पनि उखान सम्झ्यो होला, ‘गरिबलाई दिन्छु नभन्नु, ....लाई लिन्छु नभन्नु ।’ 
मागेर पनि रहर, सपना र तिर्सना पूरा हुन्छ र ? यदि पूरा गराए पनि अनैतिक नै भयो है ?  
अचेल, एसएलआर क्यामेरा र ल्यापटप अनसन बसेका छन् । एउटा रेकर्डर पनि अनसनमा सामेल हुने धम्की दिइरहेको छ । 
औंकात र रहर, सपना र तिर्सनाबीच पानी बाराबार छ । लामो समयदेखि जारी झगडा हात हालाहालमा पुगेको छ । 
र, अचाक्ली भएर होला क्यार, सपना, रहर र तिर्सना अनसनमा बसेका छन् । थाहा छैन, कहिले पूरा हुन्छ र तिनले तोड्छन् अनसन । र, स्थिति सामान्य अवस्थामा आउला । 
बस्, मेरो औंकात र मेरो रहरबीच झगडा जारी छ । र, तिनका अनसन जारी छ । 
कहिलेसम्म जारी रहला अनसन ? के अनसनको हद म्याद हुँदैन ? 
तपाईंलाई थाहा भए खबर पाम् ।

6 comments:

  1. ओ हो दाई हजुरको पनि यस्तो बेथा ? मेरो जस्तै, मैले त यसरी लेख्न नजानेर पो............. हजुरलाई त बरु साथीले आश्वासन त दिएको रहेछ न आफूत झन् सुन्ना । मान्छे नमरुन्जेल सम्म एउटा न एउटा कुराको रहरले सताइरहेको हुन्छ रे चाहे त्यो करोडपति नै किन नहोस् । रहर नै सकियो भने त फेरि मानिसको चोला नै सकिएला नि । dai lekh 1dam man paryo. i like 2 much.

    ReplyDelete
  2. Indra Dev Rai
    Khoi Bibhasg tapaile ke bhanna khojnu bhayako ho maile ta bujhnai sakina yar?

    ReplyDelete
  3. भदौरे भेलले बगाएका आधा आधी रहरहरु फेरि पनि पलाएका छन् दाई, ख्वै के गर्नु ? सपनाका त कुरै नगरौं, सपनाहरुको हुलले आँखा चिम्लन दिए पो.............। सम्झन्छु, कहिलेकाँही सपनाका थाङ्नामा सुतेका उज्याला रातहरु.....
    रहर र सपना काखी च्यापेर, सास छउन्जेलको आश गर्नु भन्दा ख्वै अरु केही बाँकी छ र ?

    ReplyDelete
  4. aafno ta aalu kamera ko sapana pani patak patak mari ra 6, dai k garnu ra yo magne ka santan jasta ko katha betha kasale dekhos ra ?????

    ReplyDelete
  5. सपना देख्नु कुनै अपराध हैन भनेर हाम्लाई कुनै नेताज्युले भनेका थिए, उहिल्यैका कुरा । सााच्चै ? अपराध हैन भने देखिहालुा न त भनिकन यसो गतिलै खालको सपना देखियो पनि । शायद यो हाम्रो बालशुलभपना ? या लाक्षीपना Û? जे होस त्यो परिभाषित गर्ला समयले ।
    तर....तर सपना मात्र सबथोक त कहाा रहेछ र ? सपनालाई त जीवन पनि चाहिादो रहेछ, प्रेमिकालाई प्रेमी जस्तै । हामी आˆनो सपनाको असली प्रेमी भईकन पनि सपनालाई प्रेम दिन सकेनौा, जीवन भर्न सकेनौा । सााचो अर्थमा हाम्रो सपना हाम्रै रहेन, अथवा हाम्रो भाग्यबिधाता कसैको हातको सााचो भएर गएपछि कसरी खोल्नु सपनाको ताल्चा ? दाईको कुरोमा समर्थन गर्दै यति कुरो गरुा मैले पनि ।

    ReplyDelete