Tuesday, March 1, 2011

'नेता काठमाडौं गए, मन्तरी भए हामी गरिबका दुःख उस्तै'


थवाङ जाने क्रममा दाहाल फल्याक झरेको झोलुङ्गे पुल तर्दै।

चुनाव जितेपछि राजधानी लागेका आफ्ना नेता पुष्पकमल दाहाललाई छेवैमा देखेपछि रोल्पा थवाङबासीका दिमागका रिल उल्टो घुम्न थाले। उनीहरूले सातुपानी खाँदै, जंगलमा लुक्दै, भाग्दै दाहालसँगै 'जनयुद्ध' लडेको सम्झिए, जितेर सहर गएपछि नेता मोजमस्तीमा अलमलिएको, आफ्नो जिन्दगी जस्ताको तस्तै रहेको सम्झेर उनीहरू भावुक बने।



मयाँ विक


१६औ जनयुद्ध दिवस मनाउन हेलिकोप्टरबाट फागुन १ गते थवाङ उत्रेका दाहाल भाषण गरिरहँदा दिलपुरा नेपाली (३०), तेजधन विक ( ५१) र मयाँ विक (४८) छेवैमा बसेर जनयुद्धयता आफ्ना उपलब्धि लेखाजोखा गर्दै थिए। जनविद्रोहको कार्यदिशा पारित भएपछि पहिलोपटक यहाँ आएका दाहाललाई उनीहरूले यहाँको विकास–निर्माणमा वास्ता नगरेको गुनासो गरे। रोल्पा २ मा पर्ने थवाङबाटै संविधानसभा चुनाव जितेका दाहाललाई उनीहरूले काठमाडौं गएर आनन्दसाथ बसेको, तर आफूहरूका दुःख नलगेको भन्दै दुखेसो पोखे।

दिलपुरा विक


'पहिले प्रचण्ड हामीसँगै हिँडे। जब उनी काठमाडौं गए, उतै आनन्दसाथ बसे,' तेजधनले मञ्चमा बसिरहेका दाहाल र अन्य माओवादी नेतालाई हत्केलाले छेको हालेर हेर्दै भने, 'हामी भने गाउँमा चङ्रङ्गै भइम्।'

तेजधन विक


दाहाललाई देखेपछि युद्धताका आफूहरूले पाएका दुःखहरूको उनीहरूले स्मरण गरे। मायाले एक–एक मुठी सातुको भरमा रातदिन जंगलमा बिताएको सम्भि्कइन्। सैनिक र पुलिसले लखेटेर जंगलमा बस्दा दोजिया उनका गाउँका साथीहरूले जंगलमै बच्चा जन्माएको समेत सम्भि्कइन्। आफ्ना घर तोडफोड भएको, लुटिएको सम्झँदै उनले मञ्चको छेउतिर जलाइएका घरका भग्नावेश देखाउँदै भनिन्, '१७ घर सेनाले जलायो। एउटा लाटोलाई माओवादी कमान्डर भनेर मार्‍यो। जंगल अपरेसन भनेर गाउँले पनि मारिए।' युद्धकालमा थवाङमा मात्र ३२ जना सेना–पुलिसबाट मारिए भने छजना अंगभंग भएका थिए।
बाँचिलएला र अहिले यस्तो अवस्था देखिएला भनेर आफूहरुले कल्पनासमेत नगरेको उनीहरुले बताए। युद्धताका थवाङबासीले जति कसैले पनि दुःख नखेपेको उनीहरूको दाबी छ।
'थवाङका त कुकुर पनि माओवादी रे, सुँगुर पनि। सबैलाई भुत्न (भुट्न) थालेपछि ज्यान जोगाउन जंगलमा लुक्न जान्थिम्। कसैलाई घरमै, कसैलाई जंगलमा मारियो,' तेजधनले भने। मायाले वर्षैपिच्छे जन्मने आफ्ना साना बच्चासित लुक्न गएको सम्झँदै भनिन्, 'म त स्यानस्याना सातवटा बच्चासित वनमा लुक्न जान्थेँ। अहिलेजस्तो बाचम्ला भन्ने आश पनि कहाँ थियो र? ज्यान बचाउन आङको लुगासित मात्र धेरै रातदिन भोकै जंगलमा बिताइम्।'

जमानसरी बुढामगर (दाँया)


भूमे नाच्न मगर पहिरनमा सजिएकी जमानसरी बुढामगर, ६२ ले मारिएका आफ्ना आफन्त र लुटिएका सम्पत्ति सम्झँदै भनिन्, 'धेरै मानिस मारिए, घर जलाइए, सम्पत्ति लुटिए। अब हामी शान्ति चाहन्छम्। विकास चाहन्छम्।'
'गाडी आउला–आउला भन्दाभन्दै मरिजाने भइम्। कहिले पो आउँथ्यो र? झट्टै आए एकपालि हेरेर त मरिन्थ्यो,' उनले भनिन्, 'भारी बोकीबोकी जिन्नकी (जिन्दगी) गयो।' आफूहरुले गाउँमा विकास र रोजगार खुलेको हेर्ने आशैआशैमा जिन्दगी बित्न थालेको बताइन्। उनीसहित तेजधन, मया र दिलपुराले थवाङले युद्धमा जति रगत र पसिना बगायो त्यसअनुसारको बिकास नपाएको दुखेसो गरे। माओवादी नेतृत्व सरकारको पालामा उसले थवाङ गाउँलाई नमुनाका रूपमा विकास गर्न ५० लाख बजेट दिएको थियो। अहिले नमुना गाउँको रूपमा बाटोमा ढुंगा बिछ्याउनेबाहेक केही भएको छैन।
'दलितले निःशुल्क पढ्न पाउने, हेपाइ नपाउने भनेर आवाज उठाइम्। नेता काठमाडौं गए, कोही मन्तरी पनि भए तर हामी गरिब र दलितका दुःख उस्तै रहे,' तेजनधनले भने, 'हाम्रा दुख फेरिएनन्।' उनले यत्तिभरि भने, 'एउटा सकारात्मक काम भएको छ, त्यो हो यो थबाङमा दलितलाई हेप्ने हेप्न छाडिएको छ।' ६ सय घरधुरी रहेको थबाङमा मगर जातिको बाहुल्यता छ भने ठूलो गाउँको रुपमा चिनिने थबाङ गाउँमा दुई सय पचास घरधुरी छन्।
थबाङबासी सभासद् सन्तोष बुढा मगरले माओवादी नेतृत्व सरकारको पालामा नमूना गाउँ बनाउन बजेट छुट्याए पनि त्यसले निरन्तरता पाउन नसकेको बताए। आफूले थबाङको बिकासमा जति पहल गरे पनि सरकारले ध्यान नदिएको आरोप लगाए। माओवादीले मगरात राज्यको सदरमुकाम प्रस्ताव गरेको थबाङको बारेमा दर्जनौं कविता, गीत र खोजमूलक किताब मात्र लेखिएका छैनन्, अमेरिका र भारतका विभिन्न विश्वविद्यालयका विद्यार्थीहरु विद्यावारिधिमा शोधरत रहेको स्थानीय पूर्व शिक्षक रेशम शाहले जानकारी दिए। माओवादी जनयुद्ध चर्केपछि देश तथा विदेशका थुप्रै कम्युनिष्ट विचारधारा मान्नेका लागि मुश्लिम धर्मालम्बीका लागि मक्का मदिना गएजस्तै मानेर आउने गरेको स्थानीय उच्च माविका प्राचार्य धनबहादुर रोका मगरले बताए। २०३६को जनमत संग्रहमा थबाङबाट बहुदल पक्षलाई मात्र भोट हालेपछि सैनिक मेजर अपरेशन गरिएको थबाङ जनयुद्धको आधार क्षेत्रको रुपमा चर्चित छ।

No comments:

Post a Comment