२१ फागुन, २०६७।
शनिबार मध्याह्न।
झापाको भद्रपुर विमानस्थलमा रुक्स्याक झोला बोकेको एउटा समूह टोलाएर बसिरहेको छ। समूहमा केही तन्नेरी छन्। केही बालक छन्। केही अधवैंसे र केही बूढाबूढी। घरबाट विदावारी भएर हिँडेका हुन् ती, टाढैको साइत पारेर। दसैंमा जस्तो निधारभरि रातो अक्षता लगाएका छन् कतिले। केहीले मालाधरी भिरेका छन्, भाइटिकाको झझल्को दिनेगरी।
समूहमा सबभन्दा अगाडि छन्, ह्विलचेयरमा बसेकी वृद्ध महिला। उनी फेरि कहिल्यै यो धर्ती टेक्न नपाइएला र कहिल्यै यो परिवेश देख्न नपाइएला जस्तोगरी घरि यता पुलुक्क हेर्छिन्, घरि उता। एकछिन आफ्नै पछिल्तिर लामबद्ध सन्तानहरूलाई नियाल्छिन्, अनि फेरि एकछिन विमानस्थलमा यताउति दगुरिरहेका अनुहारहरूलाई।
उनको नाउँ सोधेँ।
चन्द्रमाया खनाल। उमेर ८६।
एकछिन थामिएँ। उनी अझै आँखा डुलाइरहेकी थिइन्, यतैकतै छुटेका बचेखुचेका सपना खोजेजस्तै। घरि मैलाई पुलुक्क हेर्थिन्। कहिले टाढाटाढा टोलाउन पुग्थिन्।
'छोरी–ज्वाइँले पालेटाले। उनैले जाम् भने,' मसिनो स्वर निस्कियो, मेरा कान ठाडा भए, 'पाल्नेटाल्ने नै हिँडेपछि यता एक्लै के गर्छु र!'
उनी सुँक्सुँकाउन थालिन्।
'आँखाभरि भरेर लान्छु यो देशलाई, फेरि फिर्न पाइने हुन् कि होइन।'
बूढीआमैको बिलौनाले समूहका सबैको ध्यान तान्यो। सायद मनभरि खैलाबैला मच्चियो, सब एकअर्कालाई हेर्न थाले। अन्जान भविष्यतिर बढ्न खोजेका तिनका पाइला भित्रभित्रै काँपिरहेका हुँदा हुन्। किनकि, तिनका आँखा खिन्न देखिन्थे।
आफ्नो जातीय पहिचान, सांस्कृतिक मान्यता र भाषिक पहुँचको निम्ति आवाज उठाउँदा आफ्नै देशबाट लखेटिइएका उनीहरू एक देश (भारत) वारिको नेपालमा शरणार्थी जीवन बिताउन आइपुगे। आज सात समुद्रपारिको अमेरिका नयाँ गन्तव्य बनेको छ।
जहाँ जाँदैछन्, त्यहाँ उनीहरूको जातीय पहिचान, सांस्कृतिक मान्यता र भाषिक पहुँच भनेको नाममात्रको हो।
न त दसैं, न तिहार।
त्यही भएर होला, यिनका आँखा रसाएका छन्। देश झन्झन् बिरानो बन्दै गएको अनुभूतिले बर्सिएका दुःखका आँसु हुनसक्छन्।
वा, अमेरिकी सपनाले छचल्किएका खुसीका आँसु।
यिनी हुन् भुटानी शरणार्थी।
• • •
चन्द्रमायाको आँखामा न अमेरिका उड्ने खुसी छ, न त विस्मात। खाली छट्पटी छ। आफ्नो थातथलोबाट उठिबास लगाइएपछि दोस्रो देश (नेपाल) छाड्न पनि किन यस्तरी मनले अटेर गरेको होला, उनी आफैंलाई थाहा छैन।
प्रविधिको विकासलाई नै सबथोक ठान्नेहरू अमेरिकालाई सपनाको देश भन्छन्। त्यहाँ जान हत्ते हाल्छन्। चन्द्रमायामा भने अमेरिका–आसक्तिको नामनिसान छैन। बरु चिन्ता छ।
'अमेरिका बिरानो हुने हो कि आफ्नो, थाहा छैन,' बायाँ आँखाको कुनातिर अडिएको कचेरा सारीको फुर्कोले सरक्क पुछ्दै उनले भनिन्, 'बिरानै भएछ भने पनि केही छैन, आफ्नै देश त आफ्नो भएन। त्यो त परदेश हो।'
बाउबाजेले नटेकेको त्यही परदेश टेक्न पाइने भो भन्ने खुसीचाहिँ उनमा कताकता छ रे। 'खुसी छु अलिअलि,' भन्छिन्, 'यहाँ पनि आफ्नो के थियो र ? उता नातिनातिनाको भविष्य बन्ला। म बूढीलाई अरू के चाहियो!'
आफ्नो भाग्य लेख्ने विधिप्रति उनको एउटै गुनासो छ, 'सधैं हामीले एउटा देशबाट अर्को, अर्कोबाट अर्को किन खेदिनुपरेको? भुटानबाट लखेटिँदा लाग्थ्यो, सबै चिज उतै छोडेर आएँ। आज नेपाल छाड्दा पनि यही ठाउँमा जम्मै चिज छाडेर जान लागेकी छु भन्ने लागिरहेको छ।'
'शरणार्थी भइएला, नेपाल आइएला र फेरि अमेरिका गइएला भन्ने सपनामा पनि चिताएको थिइनँ। यहाँ त गाली गरेको पनि बुझ्छु। माया गरेको पनि बुझ्छु। आफ्नैजस्ता अनुहार देख्छु। आफ्नो माटो नभए पनि यिनै अनुहार हेरेर आफ्नो देशको तिर्खा मेटेकी थिएँ। आफ्नो माटो नभए पनि भाषा थियो। आफ्नो जाति र संस्कृति थियो। अब यो पनि पराइ भो।'
पुराना दिनहरूको सम्झना एकएक गर्दै उनका आँखामा बल्भि्कएर आउँछ।
जन्मघर छाडेर कर्मघर आइन्। छोरी जन्मी। उनका खसम बनारस लागे। केही समयपछि उनी उतै बितेको खबर आयो। उनले छोरीको निम्ति आफैंलाई सम्हालेर राखिन्। छोरीको बिहे भयो। छोरी–ज्वाइँकै भरमा उनको नयाँ जिन्दगी सुरु भयो।
एकदिन यस्तो आयो, नेपालीभाषीहरूलाई भुटानबाट धपाइयो। झोलातुम्ला बोकेर भाग्न बाध्य भए उनीहरू। चन्द्रमाया पनि त्यही हुलमा मिसिइन्। आफूले रगतपसिना बगाएको, जन्मेको, खुसी र रहर रोपेको ठाउँलाई एकपालि फर्केर हेर्ने मौका पनि नपाई रातारात भुटानको सीमा काटिन्। शरणार्थी बनेर नेपाल छिरिन्। खुदुनाबारी शिविरमा छोरी–ज्वाइँकै साथ उनको जिन्दगीको दोस्रो अध्याय सुरु भयो।
र, आज तेस्रो अध्याय, सम्भवतः अन्तिम अध्याय बाँच्न उनी अमेरिका उड्दै छिन्।
उनलाई हिजैजस्तो लाग्छ, ममः बनाउन काठमाडौं लगिने राँगाको बथानलाई जस्तै भारतीय ट्रकले नेपालीभाषी भुटानीहरूलाई मेची पुल कटाएर छाडिदियो। अनि यति ठूलो काँडेतार लगायो, पुल तर्ने कल्पनासमेत भारत सरकारले गर्न दिएन। भुटान सरकारले 'जन्मजात अपराधी' भनेर खेद्यो, र त्यही अपराधका नाममा भारत सरकारले नेपालमा हुलेर फर्कने बाटो थुनिदियो।
'पुल कटाएर भारतले हामीलाई कहिल्यै पुल तर्न दिएन,' पुराना घाउ कोट्याउन मन छैन भन्दाभन्दै पनि उनले आफ्नो सारा नालीबेली कहिन्।
अमेरिकाको कुन ठाउँ जाने? त्यो ठाउँको अनुहार कस्तो छ? उनले त्यसको कल्पनासम्म गरेकी छैन। उनलाई अंग्रेजी बोल्न आउँदैन। बुझ्दा पनि बुझ्दिनन्। उनका लागि हिजो पनि छोरी–ज्वाइँकै भर थियो, आज पनि। अन्तिम सास भुटानमै फेर्न पाए हुन्थ्यो भन्नेचाहिँ मनमा छ।
'ऐसेलु काँडामा अल्भि्कएको पछ्यौरीसित मेरो मन पनि भुटानमै अल्भि्कएको छ। तर, अब यो त सब आशामात्रै हो। भन्छन् नि, जहाँ लान्छ कर्मले उहीँ मेरो घर।'
उनले विरह गीत सुनाइन्, भाका नहाली–
'चरीको कहाँ छ र घर...'
• • •
चन्द्रमाया आमैसँगै एउटा भर्खरको केटो हातमा जहाजको टिकट र पिठ्यूँमा रुक्स्याक बोकेर पालो कुरिरहेको छ। ऊ शिविरमै जन्मियो। जन्मनासाथ शरणार्थीको टिका निधारमा लाग्यो। भुटान नदेखे पनि भुटानको मायामा अल्भि्कएको उसको मन अमेरिकामा 'पढ्न राम्रो पाइएला' भन्ने आसमा भित्रभित्रै पिङ खेल्दैछ। पिङले कहिले उत्साह बढाउँछ, फुर्ति ल्याउँछ, कहिले बिबिरो आएजस्तरी जीउभरि काँडा उमार्छ।
अजय सुब्बा। उमेर १५।
उनी निधारमा टलक्क टल्किएको टिकालाई हत्केलाले बल गरेर थिच्छन्। झर्न खोजेछ कि!
'आफ्नो देश नभए पनि आफू जन्मेको ठाउँ छोड्दा मन दुख्दो रैछ,' उनले भने, 'उता गएपछि राम्रो पढाइलेखाइ होला। भविष्य राम्रो होला कि भन्ने आस छ।'
आठ कक्षा पढ्दै गरेका उनका लागि भुटान फर्कने दिन आउँछजस्तो लाग्दैन। उनले आफ्ना बाबाआमा र पाका शरणार्थीहरूको मुखबाट सुनेको भरमा भुटानको काल्पनिक चित्र बनाएका छन्। भन्छन्, 'आस गरेर मात्र के गर्नु, लानेले नलगेपछि। लान्छजस्तो पनि लाग्दैन। अब अमेरिका नै हाम्रो कर्मभूमि हो।'
केही महिनाअघि भारतको नयाँदिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयमा भेटिएका भुटानी विद्यार्थीले 'भुटानमा छिट्टै लोकतन्त्र मात्र होइन गणतन्त्र नै आउने' तर्क गरेका थिए। भारतीय संस्थापन पक्षले 'शरणार्थी समस्या र राजतन्त्रलाई काँध हालेको' र 'भुटानलाई दोहन गरेको' उनीहरूको दाबी थियो।
• • •
कुलबहादुर सुब्बा। उमेर ३७। यिनी अजयका बाबा हुन्।
उनका लागि अमेरिका बाध्यता हो। अनिश्चित बसाइ, जहाँ न उमंग छ, न हर्ष। छोराछोरीका खुसीकै लागि हो भन्छन् उनी, जसले उनलाई अमेरिकातिर डोर्यायो। नत्र त उनलाई शरणार्थी शिविरै भए पनि नेपाल छाड्न नपरे हुन्थ्यो भन्ने लागिरहेको छ रे।
'बस्न त यहीँ मन थियो, तर यहाँ बसेर पनि के गर्नु? क्याम्पमा केही पनि छैन। न त देश फर्कने परिस्थिति नै छ,' सुरक्षाजाँचलाई पालो कुरिरहेका कुलबहादुरले भने, 'अमेरिकामा नानीहरूको भविष्य बन्ला कि?'
टिकट हातमा लिएर पालो कुर्दाकुर्दै उनले सम्झे, भुटानबाट खेदिँदा १८ वर्षका रहेछन्। सपना देख्ने याममा खेदिँदाको बखत सम्झेर उनको अनुहार मलिन भएर आयो। आज शिविर छाडेर जाँदा आफ्नै मुलुक छाडेजस्तो लागिरहेको छ भन्छन् उनी।
'यहीँ माया बस्यो। यहीँ बिहे भयो। यहीँ छोराछोरी भए। मास्टरी पनि यहीँ गरेँ। त्यहाँ त केही छैन, जो आफ्नो भन्ने होस्,' नेपाली भाषा र जाति मात्र आफ्नो रहेको बताउँदै साम्दुजोंखर जिल्लाको ब्लगबकुलेका कुलबहादुरले थपे, 'यसैको नाउँमा खेदिएपछि यसको अझ बढी माया लाग्दो रैछ।'
कुलबहादुरको परिवार र उनीसँगै जाने ३० जनाको समूहमा धेरैजसो मेरील्यान्ड राज्यको बाल्टिमोर सिटी जाँदैछन्। भुटानको सत्ता नफेरिँदासम्म स्वदेश फर्कने उनीहरूले कल्पनासम्म गरेका छैनन्। भन्छन्, 'कानुन धेरै कडा छ।'
उनकी पत्नी भीममाया, ३२, ले पनि भुटान फर्कने आस मारिसकेकी छन्। 'यति नजिक (नेपाल) बस्दा त फर्कन सकिएन भने सात समुद्रपारि गएपछि कहाँ पाएर फर्किइएला र?' उनले भनिन्। दुई कक्षासम्म पढेकी भीममायाले भुटान छाड्दा १४ वर्ष लागेको बताइन्।
र, संयोग कस्तो भने, उनकी छोरी निर्मला आज १४ वर्षकै उमेरमा नेपाल बसाइ छाडेर अमेरिका उड्ने तर्खरमा छिन्। 'टिभीमा समेत नदेखेको अमेरिका' उड्न कुनै खसखस नलागेको उनी बताउँछिन्। 'गएर पढ्छु,' भन्छिन्, 'टिभीमा पनि नदेखेको ठाउँ राम्रै होला।'
कुलबहादुरलाई भुटान नभए पनि एकफेर नेपाल फर्कने इच्छा छ। पैसा कमाएर आफूले शरणार्थी जीवन बिताएको ठाउँ, बिहेबारी गरेको ठाउँ र दुःखका बेला आश्रय पाएको ठाउँ चटक्कै छाड्न उनको मन मानेकै छैन।
'बाँचिएछ भने १५, २० वर्षपछि एकखेप आउँछु,' उनले टिकट हेर्दै भने, 'नानीहरूलाई पनि एकफेर नेपाल फर्कनू भनेर ज्ञान दिन्छु।'
• • •
आफन्त र शिविरका छिमेकीले सुब्बा परिवारको विदाइ गर्न गएराति ११ बजेसम्म लोकदोहोरी कार्यक्रम गरेका रहेछन्।
शिविरमा अन्तिम रात के सपना देखे होलान् यिनले?
'देश त छाडियो भने अब भाँच्चिसकेको मन कति ठाउँ होला र भाँच्चिन बाँकी,' कुलबहादुरले भने, 'सपना पनि देख्न छाडिएछ क्यार।'
पाँच वर्षसम्म शिविरमा मास्टरी गरेका कुलबहादुरले १२ कक्षा पास गरेका छन्। उनले मास्टरी छाड्दा महिनाको १६ सय रूपैयाँ पाउँथे। उनका अनुसार शिविरबाट ३५ हजार उडिसके। बाँकी ८५ हजार उड्ने क्रममा छन्। १८ हजार रहेको उनको बेलाडाँगी–२, क्याम्पबाट मात्रै ३ हजार उडिसके।
'पढेलेखेकालाई अमेरिकामा केही हल्का छ रे, नपढेकालाई भने बाहिर निस्कनै मुस्किल छ भन्ने सुनेको छु,' उनले भने, 'पैसाको समस्या हुन्छ रे।'
सुनेको यत्ति हो, बुझेको पनि यत्ति। अमेरिका पुगेर के गर्ने, कुनै योजना छैन। जस्तो शिविरिमा थियो, उस्तै अनिश्चितता बोकेर उनीहरू अमेरिका उड्दैछन्।
कुराकानीको बिट मारेपछि क्यामरातिर आँखा लगाउँदै बाबुछोराले बिजुलीठेगाना टिपाए। र, भने, 'फोटो यसैमा पठाइदिनू– kbchamjung@yahoo.com, ajaya_anjan2002@yahoo.com ।'
हेर्दाहेर्दै अमेरिका उड्न पखेटा हालेका तीसजनाको सुरक्षाजाँच लाम छोट्टियो। भीममाया र निर्मला आमाछोरी महिलाको लाइनबाट भित्र छिरे। बाबुछोरा पुरुषको लाइनमा। पहिला अजय छिरे। त्यसपछि पालो आयो, कुलबहादुरको।
सुरक्षा कोठाको ढोकाभित्र आधा
जिउ छिरिसकेपछि टाउको पछिल्तिर
फर्काउँदै कुलबहादुर भने, 'हामी त जसो
भइम् भइम, तर भुटानमा बचेका नेपालीले
देश छाड्न नपरोस्।'
यति भनेर उनले आफूले छाडेको शिविरको ठेगाना पनि सम्झाए, 'बेलडाँगी २, सेक्टर बी, हट नम्बर ३६।'
Parshuram Kaphle
ReplyDeleteVery painful story !! Thisis very real and unfinished story of the misfortune created by the conspiracy of Bhutan and India . The Bhutanese in exile will never forgive then socalled rulers of India and Bhutan............
Prasant Azad
ReplyDeleteके को देश खोजने कुरा हो. देश ता येते छ नि. देश पानी हरौच र
डिल्ली मल्ल जीन्दगी ...........???????????????????????????????????????????
ReplyDeleteBhupendra Oli
ReplyDeleteramro cha
Mgr Samjhana Gharti
ReplyDeletestory ramro 6 lagyo man vitra derai kura khele sabai pade budi amaiko kurale man ruwayo
Nisha Shah
ReplyDeleteDai, yo kurakani garda kati thamnasanubho man ani aashuko bhel...........?!........ani feri tyaslai shabdmautarda...? Hamilai padhna gahro bho.......