माया मार्न बल गरेका याद पनि किन फरक्क फर्कन्छन् हँ, स्मृतिमा? के हजुरसँग छ, यसको जबाफ?
(छार्दिम्। कसलाई फुर्सद छ र, यो जमानामा यस्ता बेतालका जबाफ खोज्नलाई।)
खासमा कुरा के भने नि, धेरै भो, ब्लग अपडेट नगरेको। किन हो कुन्नि, मन पनि छैन। कहिलेकाहीँ अराजक भइदिन्छ, आफ्नो भन्नलायक यो एउटा मन पनि। किन हँ ? थाहा छैन।
अँ, धेरै भो नलेखेको। रोटीकारितामा नअटेकालाई 'ब्लग'मा भनेर यो चौपारीको अनुहार कल्पेथेँ। मेरा दुई शव्दमा पनि यै लेखेथेँ। तर वचनमा अडिन सकिनँ। ' हटारु'मा दुईचार थान रोटीकारिताकै कुरा पारेर अन्याय गरेको छु।
पूर्णविराम दाइसित भेट नहुँदो हो त यति दुईचार कुरा पनि सायदै लेख्थेँहुला।
अराजक मन एक तालले बग्दैन। बेलगाम छ। जान खोजेको कहाँ, यो बगिदिन्छ कहाँ कहाँ, बर्खामासको खहरेजस्तो। त्यसलाई बाँध बाँधेर तह लाउने कला कहाँ छ र मसँग?
अँ, आइतबार। फागुनको अन्तिम दिन। साँझपख।
सुनधारानेरको भीडमा पूर्णविराम दाइसँग अनायास भेट भो। दुवैजना आश्चर्यचकित। भेटघाट त के फोनफान नै नभएको पनि वर्ष दिन काटिसकेको हुँदो हो भन्छु।
रोल्पाली गाउँतिर यसो बसेर दुईचार कुरा गर्ने बहानालाई 'एक चिलम कक्कर खाने' भनेजस्तै चियाको बहानामा बसियो। दुईचार बात मारियो, सुकमदुखमका।
साटिफिटिकको माया बोकेर कीर्तिपुर पस्दा, लेखकको तिर्खा बोकर काठमाडौं छिर्दा पूर्णविराम दाइ उस्तै चर्चामा थिए जस्तो दाङमा छँदा सुनेको थिएँ। उनी र उनका कविता उत्तिकै चर्चामा थिए। प्रगतिवादी कवितामा कृष्ण सेन इच्छुकसँगै थिए उनी। रोल्पा हुँदाखेरि नै म उनीहरुका कविताका जबर्जस्त फ्यान थिएँ।
काठमाडौं छिरेपछि दाइसँग हलो हाइ त भयो तर कहिल्यै पनि समीप भइन। भन्छन्, मन पर्ने मान्छेका नजिक नपर्नु, नालीबेली नै थाहा पाएपछि बितृष्णा बढ्छ। यै भनेर त होइन तर यस्तै संयोग परेर अहिलेसम्म पनि मैले मनु ब्राजाकीलाई भेटेको छैन। उनका तराई जनजीवनका बारेमा लेखिएका उनका कथाका साँच्ची म फ्यान हुँ।
अँ, पूर्णविराम दाइको समीप नभए पनि खै कसरी कसरी, ममाथि दाइको सद्भाव रहिरह्यो।
यसका कारणमध्ये एक थियो (मलाई यस्तै लाग्छ), एकै मौसममा मामाघर बसेका थियौं। प्रियजनका करबलले घर फर्किएथ्यौं। दाइकै निहुँले (मलाई यस्तै लाग्छ), मामाघरबाट फर्काउन मलाई पनि प्रियजनले बहुत करबल गरे।
ओ मेरा प्रियजन! धन्यवाद। (योबाहेक मसँग के छ र?)
अँ, भन्दैथिएँ, भेट भयो पूर्णविराम दाइसँग। स्वास्थ्य, परिवारजनका हालचाल। यिनै जिज्ञासा थिए औपचारिकताका। त्यसपछि सिर्जनाकर्म र राजनीतिका।
'ठीकै छ। कहिलेकाहीँ जनयुद्धले बल्झाउँछ,' मामाघरको यातनाले पारेको बेसंचो दाइले सुनाए।
दाइले भनेपछि अनायास मामा घरको याद बल्झियो। मामा घरको कल्पनै नगरेका ती निर्दोष अनुहार, जो पलपल, एक मुठी प्राणको भीख माग्थे। नदेखेका तर सुनिएका ती अनुहारको आँखाभरि आए। हो त है, म त मामा घर जानलाई कमसेकम कसुरदार थिएँ। सबै नेपाली समान हुने कल्पनामा लेखेथेँ, दुईचार अक्षर। गाएथेँ दुईचार गीत। तर जो मामा घरको बारेमा बोल्ने त के कल्पनै नगरेका अबोध मान्छेहरु समेत मामाघरमा।
माओवादीको नाउँमा तिनलाई बोकाएका दुख, कष्ट, यातना कति महंगो होला? तिनका आँसुको भाउ कति चर्को होला? तिनका खुसी र रहरका मूल्य कति होला? के कल्पना गर्नुभएको छ? अहँ।
तिनका चित्कार, तिनका अनुनय र मामा घरका मान्छेका व्यवहार कहीनसक्नुका थिए। कल्पना पनि गर्न सक्नुहुन्न। को को आए मामा घरमा? को को गए। तिनलाई कस्तो कस्तो व्यवहार गरियो। तिनलाई व्यक्त गर्ने शव्द हतपति भेटिदैनन्।
पूर्णविराम दाइले भनेपछि मामा घर आँखामा बल्भि्कयो। मामाघरमा मारिएका, बेपत्ता पारिएका, अंगभंग पारिएका, बलात्कृत, ती सुनिएका अनुहार सम्झेर फेरि लल्याकलुलुक भएँ।
उच्चारण त के सपनासमेत नकल्पेकाहरुलाई समेत मामाघरमा सुन्दा र तिनका क्रन्दन सुन्दासुन्दा यस्तो भएछ कि अचेलसमेत कानले रि गरिरहन्छ। अहिले पनि उकुसमुकुस हुन्छु। कहालिन्छु।
तिनका अनुहार देख्न पाएको भए कस्तो हुँदो हो हँ? तिनका अनुनय, चित्कार, यातनाका आधारमा मैले कल्पेका अनुहारसित मिल्थे होला? कहिलीकसो कल्पन्छु। मामा घरबाट फर्केकाहरुसँग काठमाडौंको गल्लीमा भेट हुन्छ होला। साइड काट्ने बेला यसो धक्का पनि लाग्छ होला। कहिलेकाहीँ बाटो बिराउँदा सोधासोध पनि भएको होला। काठमाडौंको गल्लीमा यसो हिंड्दा कल्पन्छु। अनुहार देखेर, भेटेर यसो कल्पन्छु यिनै मान्छे त होइन जो साह्रै चिच्याएको थियो यातनामा। साह्रै रोएको थियो उसलाई अपमान गर्दा। यस्तै यस्तै। साँच्ची, तीमध्ये कति अनुहार, जो दाइजस्तै मामा घरबाट फर्कने अवसर पाए, तीसँग कुनै न कुनै बेला त भेट भएको होला। वा कुनै दिन होला। कहिलीकसो सोच्छु, आज त सोधम् क्या हो। तर हो कि होइन? दोधारमै अडिन्छु।
तर उसबेला? ती अनुहारलाई आँखाले के देख्न सक्थेँ हुँला र? कानले देखेर त भरंग हुने म। सुनेरै कहालिने म, देखेको भए?
एकवारको जिन्दगीमा तिनले खेपेका मामाघर कति साह्रो भो होला?
सपनाको याम खर्चेका, स्कुले किशोर, बदला लिन गएका पीडित, परिवारका सदस्य गुमाएका, खाइ नपाइ छाला टोपी लाएका... मामा घरमा सुन्दा कति दुख लाग्यो कति। मामा घरबाट फर्कने अवसर पाएका ती अबोध जनले सोचे होलान्,'बेकारमा दुख पाइयो। तर ती दुखको सावा ब्याज असुल्ने गरी एक दिन नयाँ नेपाल बन्ला। त्यै हेरेर चित्त बुझाम्ला।'
अचेल, नदेख्दा तिनका मन कति चिरा फाटेको होला? आफ्ना, रहर, परिवारका सदस्य, सपना, भविष्य नै सुम्पेकाका त झन के कुरा।
मेरो रोटीकारितापछि मेरो लेखनकारिताबारे सद्भावसाथ दाइको जिज्ञासा थियो। भूँडी भर्दाभर्दै दिलकर्मले 'बोली बारेको' दाइलाई सुनाएँ। उनी रिसाए। दाइको रिसानीमा माया मिसिएको थियो। उनको रिसानीमा एउटा अभिभावकको हकार थियो।
पत्रकारितामा लागेर सिर्जनकर्मलाई माया मारेका धेरै छन्,' दाइको आग्रह थियो,'त्यसो गर्न हुन्न।' दाइको आग्रह टार्नलाई यसपालि पनि चार पैसाको दाँत देखाएर ङिच्च गरेँ।
दाइको आग्रहसँगै सम्भिकएँ, घोराहीमा साथीभाइको आग्रह। घरबाट फर्कदा, यसै महिनाको दोस्रो साता, टीकाराम उदासीजीले घोराहीमा भेटघाटको मेसो जुराएथे।
धेरै समयपछि। सङ साथी, अग्रज र नयाँ साथीसँग देखभेट भो। सुखमदुखमका बात भए। दिल फुरुङ भो। के बोल्ने के नबोल्ने भन्ने मेसै नपाएर बिनापत्तै बोलेँ। बाइलो पो बोले कि जस्तो लाग्यो। सोध्नुपर्ने। सोधेको नि छैन।
अँ, साथीभाइहरुको आग्रह थियो, 'साहूकारिता होइन, सिर्जनकारिता गर्नू।'
कुनै याम थियो। एउटा याम। घोराहीमै सपनाको एउटा याम गुजारेथेँ। क्याम्पसको निहुमा दाङका सालघारीका सुखदुख पनि देखेथेँ। यसैले हो कि, किन किन मलाई जन्मघर रोल्पाजस्तै लाग्छ, दाङ पनि।
हो, घोराहीमा प्रियजनका आग्रहलाई टारेजस्तै पूर्णविराम दाइलाई पनि उही चार पैसाको दाँत देखाएर टारेँ।
दाइलाई भेटेपछि ६ महिनाअघि नयाँ दिल्लीमा भेटेका बरबर रावलाई सम्झिएँ। रावले कन्चनकुमारसँग नेपाल आउँदा सेन दाइसँग भेटेका, जनयुद्धबारेका केही मीठा स्मृति सुनाएथे। अहिले उनीसहित पाँचजनालाई देशद्रोहको मुद्दा लागेको छ,'काश्मिरको फैसला जनताले गर्न पाउनुपर्छ' भनेकाले।
राव र दाइको अनुहार नमिले पनि लेखनका भाँती मिलेजस्तो लाग्छ। रावलाई भेट्दा दाइलाई सम्झिएथेँ। आज दाइलाई भेट्दा रावलाई।
कस्तो सन्जोग।
विपदमा लेख्ने दाइ आज पनि उसैगरी लेखिरहेछन्। नेताका अनुहार फेरिए पनि देशको अनुहार नफेरिएको, गरिब जनताको सपना नफेरिएको भन्दै लेखिरहेछन्। हेर्दाहेर्दै हिजोका उनका केही आफन्त आज पराइ भएका छन्। लुखुरलुखुर सडकमा हिंड्दैछन् जस्तो हिजो युद्धकालमा काठमाडौंका सडकमा हिंड्थे। जसको नाउँमा हिजो लेखे उनी बरोबर उनैका नाउँमा लेखिरहेछन्। न उनको सपना फेरिएको छ न जनताका दिन फेरिएका छन्।
'त्रिपुरेश्वरबाट फर्केको। मेरो कविता अब डिभिडीमा आउँदैछ। यसकै तयारीमा छु। अहिले मसँग भए दिनेथिएँ,' यति भनेर उनले सम्झेजसरी भने,'ए, गुगलमा जानू। त्यही छ नि।'
(साहूको घर आएँ। गुगल क्लिक गरेँ। पूर्णविराम क्लिक गरेँ। युटुबमा उनी भेटिए।)
चिया गफमा माओवादीमा केन्द्रीत रह्यो। उनीहरुले देखाएको सपना र अहिले उनीहरुको चालामाला। माओवादी नेतृत्वप्रति जति उनको गुनासो थियो त्यति नै धेरै आदर र सद्भभाव थियो जसले युद्धमा रहर, खुसी र यौवन चढाए।
'सेनजी (कृष्ण सेन) खेर जानुभयो,' दाइले चुरोटको धुँवा आकाशतिर फाल्दै भने, 'यस्तो देख्नु रहेछ र बाँचिएछ।' चुरोटको धुँवा जति माथि पुग्यो उनका आँखाले त्यै धुँवालाई पछ्याउँदै गयो। मानौं सेनको सपना त्यै धुँवासँगै उडिरहेछ, माथिमाथि।
कुनै याममा प्रचण्डलाई नेपाली जनताले देख्न पाउनुपर्छ भनेर कविता लेख्ने दाइका नजरमा प्रचण्ड उही आदर गर्ने ठाउँमा अडिएका थिएनन्। माओवादीले गरिखाला भन्ने उनलाई एकरत्ति पनि लागेन।
'कतिपयले किरणलाई (मोहन बैद्य) क्रान्तिकारी मानेको सुन्दा अचम्म लाग्छ,' उनले भने। उनको नजरमा प्रचण्ड, किरण र बाबुराम भट्टराई अठार/बीस मात्र हुन्।
स्वाभाविक गुनासा थिए, दाइका । जुन सपना उनेर स्कुले किशोर हिंडे, जुन रहरको तिर्खा बुनेर गाउँका गरिब हिंडे, तिनले केही पनि पाएनन् न सपना र न रहर। नेताले कुर्सी पाए त्यसबाहेक आम जनताका जीवनशैली के फेरियो र? कुर्सीसँग निर्दोष जनताका सपना, रहर, तिर्सना साटेकोमा उनको घोर आपत्ति थियो।
'ज्ञवाली (ईश्वरचन्द्र)जी, बरालजी (ऋषिराज) सित पनि भेट हुँदैन। 'अलपत्र परेको युद्धको नतिजा यस्तै छ' भन्ने कविता लेखेपछि माओवादी टाढिए,' उनले भने।
शान्तिप्रक्रियापछि माओवादीको सत्तोसराप हाल्नेहरु अघिअघि थिए भने तिनका पछिपछि जिन्दगीका सम्पूर्ण घामपानी धरेकाहरु। नेताका अनुहार मुस्ताङी स्याउजस्ता भने कार्यकर्ताका अनुहार खपटे लागेको गाईको अनुहारजस्ता।
कत्रो विरोधाभास !
न उनलाई मणि थापाले गरिखालान् जस्तो लागेको छ न त मातृका यादवले नै। ती दुईका चालामाला पनि उनलाई गतिलो लागेन।
एमालेले संवैधानिक राजतन्त्र मानेपछि जाने ठाउँ थियो एकताकेन्द्र। तर यसपालि ? उनले कतै देखेका छैनन्।
कतै भेटिएलाजसरी हेरे। भने, 'अब कहाँ जाने ?'
झमक्क साँझ पर्न थाल्यो।
उही झोला। उही क्याप। उही चश्मा।
'दाइ सधैं यै क्यापमा किन' भनेर एकपालि कोही साथीले सोधेको सम्झिएँ। उनको जबाफ सुनेर तीनछक्क परेका थियौं । उनको जबाफ थियो, 'मनले नखाएका खराब मान्छेलाई हेर्नबाट यसले बचाउँछ।'
साँच्ची, क्याप नहुँदो हो त केले छेक्थे होला, हँ?
उनी बाटो लागेपछि साहूको घरतिर लागेँ, सोच्दै कि 'कहिले भेट्लान्, दाइले उनको कविताजस्तै आदर्श पार्टी ?'
जति साहूको घरनजिक पुगेँ उति नै मामाघरको याद बल्झियो। जहाँ संसारका सबैभन्दा विकट, सायद है, अनुभव बटुल्न पाएँ।
धन्य, मामाघर। धन्य, पूर्णविराम दाइ।
कहाँ मामाघर कहाँ साहूको घर। कहाँ पेटको नाउँमा समाचार, कहाँ देशको नाउँमा सिर्जना।
दिल र पेटबीच कत्रो विरोधाभास है ?
बेतालसित बग्ने मनलाई दवाली मारेर पेटको नाउँमा लेख्ने समाचार र पसिनाको नाउँमा सिर्जनाबीच कहिले होला मेल ? पूर्णविराम दाइको कविताको अनुहार र नेपाली जनताका अनुहार कहिले फेरिएलान्?
Kison Thapa
ReplyDeleteoh...nice. naveen, read the book? finished?