Friday, July 29, 2011

रोल्पाका माओवादी भन्छन् -- भुलियो एजेन्डा

काशीराम डाँगी
रोल्पा, श्रावण १३ -
माओवादी केन्द्रीय तहमा गुटबन्दी र बेग्लै भेला भए पनि युद्धको उद्गम रोल्पाका माओवादी कार्यकर्ता पार्टी नफुटी एक ढिक्का भई मुलुकको समस्या हल गर्नुपर्ने पक्षमा रहेका छन् । केन्द्रीय तहका नेताले विवाद गरेकामा स्थानीय नेता तथा कार्यकर्ताहरू चिन्तित भएका छन् । 

विगतको लामो युद्धका बेला बनाएका योजनाहरूको कार्यान्वयन नभएको र बरु यसका लागि एकीकृत आन्दोलनका रूपमा यसलाई आन्तरिक विवादमा पार्टी फसेकोमा जिल्लास्तरका कार्यकर्तासमेत चिन्तित

छन् । जिल्ला इन्चार्ज मानबहादुर बुढामगर 'विकल्प' ले पार्टीमा सामान्य विवाद भए पनि फुट्ने अवस्थामा नलैजानुपर्ने धारणा व्यक्त गर्छन् । 'यो कुनै सैद्धान्तिक विवाद नभई प्रवृत्तिगत विवाद हो । यसको समाधान हुनुपर्छ' उनी भन्छन्, 'यो लामो समय कायम भयो भने वर्गीय आन्दोलन र कम्युनिस्ट राजनीतिकै लागि दुःखदायी समय हुनेछ ।'

संक्रमणकालमा सबै समस्या समाधान गर्न एकजुट हुनुपर्ने यहाँका माओवादी कार्यकर्ताको धारणा छ । माओवादीले विगतको लामो परिवर्तकारी आन्दोलनको नेतृत्व गरेकाले यसको जिम्मेवारी पनि माओवादी स्वयंले लिनुपर्ने उनीहरूले बताएका छन् । जनताको परिवर्तनप्रेमी चाहनामा अहिलेका दलहरूले चासो बढाउनुपर्ने जिल्लाका अधिकांश नेता-कार्यकर्ताको धारणा छ ।

माओवादीका अर्का नेता सुरेन्द्र घर्तीमगर भन्छन्, 'व्यक्तिगत स्वार्थ बढेकाले यस्तो देखिएको हो । तर राष्ट्रिय स्वार्थलाई चासो दिनुपर्छ ।' उनका अनुसार पार्टीले सर्वहारा र राष्ट्रियताको नाराबाट राजनीति छाडेको खण्डमा पार्टी समाप्त हुने सम्भावना पनि हुन्छ । पूर्वजिल्ला सचिवसमेत रहेका उनले जनताको आधारभूत परिवर्तनलाई आत्मसात् गरेमा मात्र जनताको इच्छा पूरा हुने बताए ।

माओवादी संविधानसभाको निर्वाचनमार्फत संसदीय प्रणालीमा प्रवेश गरे पनि यसबाट खासै परिवर्तन हुन नसक्ने उनको धारणा छ । 'संसदीय प्रणालीमा गए पनि जनताका समस्या सम्बोधन गर्न सकेको अवस्था छैन ।' जिल्ला नेता सुन्दरकुमार वली भन्छन्, 'अहिलेको जस्तो अवस्था हो भने, 'जनता र देशको भलाइ कहिले पनि हुने छैन ।'

विगतमा जनतासामु गरेका प्रतिबद्धताहरू पूरा भएको देख्न जनताहरूले चाहेको यहाँका नेताहरूको तर्क छ । खासगरी जनताले गाँस, बास, शिक्षा, स्वास्थ्य र आर्थिक उन्नति चाहेको बताउँदै वली भन्छन्, 'विगतको सबै भावनालाई सम्बोधन गर्न सक्नुपर्छ ।'

माओवादी जिल्ला सचिव चूडामणि वली 'आदर्श' भन्छन्, 'दलहरूको अहिलेको कार्यदिशाले जनताको भावना परिवर्तन गर्न र देशको विकास गर्न सकिन्न । त्यसैले आन्दोलन गर्न अझै बाँकी छ ।' नेताहरू ठेकेदारी प्रथामा भुलेका र जनताको भावनामा कुठाराघात गरेको उनको आरोप छ ।

वर्गीय समानता, वर्गीय मुक्ति, आर्थिक उन्नति, अधिकारमा समान पहुँच, ठेकेदारी प्रथाको अन्त्य, कृषिमा आधुनिकीकरण, स्वास्थ्य सुविधालगायतका नारा बोकेर माओवादीले विगतको युद्ध सफल बनाएको हो । तर परिवर्तन भएको लामो समयमा पनि कुनै परिवर्तनको खाकासमेत देखिएको छैन । त्यसैले परिवर्तन गर्न अहिलेको गतिविधि पर्याप्त नभएको नेता सुन्दर वलीको भनाइ छ । माओवादी जिल्ला सहइन्चार्ज राजकुमार कक्षपतिले माओवादीले मात्र चाहेर विकास गर्न सकिने वातावरण नभएको बताए । 'मानिसहरूले विकास गर्न वातावरण पाउनुपर्छ । जनप्रतिनिधिहरूको अनुपस्थितिमा दलका नेताहरूले विकास गर्ने अवस्था आएको छ ।'

तर जनताले खोजेजस्तो परिवर्तन गर्न अहिलेको यात्राले पूरा नहुने नागरिक समाज प्रतिनिधि जनाउँछन् । पत्रकार खेम बुढाका अनुसार माओवादीबाट परिवर्तनको अपेक्षा गरेका जनता यतिबेला निराश भएका छन् । 'माओवादीले हिजो जनतासामु गरेका वाचा भुलेको, आन्तरिक विवादमा फसेको, सांस्कृतिक विचलन आएको र जनतासँग नियमित सम्पर्क बाहिर रहेकाले विगतका आश्वासन पूरा हुने सम्भावना कम छ ।'

प्रकाशित मिति: २०६८ श्रावण १४ ०९:०४

1 comment: