Monday, October 7, 2013

ठूला नेताका प्रतिस्पर्धी को छन् ?

राजनीतिक ब्युरो/नयाँ पत्रिका
काठमाडौं, १८ असोज
आगामी संविधानसभा निर्वाचनमा प्रमुख तीन दलका सात शीर्ष नेता प्रत्यक्षतर्फ दुई ठाउँबाट चुनाव लड्दै छन् । दुई ठाउँमा उठेका एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालको एउटा क्षेत्र नयाँ छ । अन्य केही नेताहरू पनि नयाँ क्षेत्रमा चुनाव लड्दै छन् । उनीहरूका प्रतिस्पर्धा तीन ठूला दलका उम्मेदवारबीच नै हुने भएको छ । 

एकीकृत माओवादीका नेताहरूले गत संविधानसभा निर्वाचनभन्दा बाहिरी क्षेत्रबाट उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष प्रचण्डको एउटा र डा. बाबुराम भट्टराईका दुईवटा क्षेत्र नयाँ छन् । विगतको चुनावमा जितेको गृहजिल्लाकै क्षेत्रबाट पोष्टबहादुर बोगटीले उम्मेदवारी दिने भएका छन् । अघिल्लो निर्वाचनमा एमालेले जितेको रुपन्देही ४ मा डा. भट्टराईले उम्मेदवारी दिएर लुम्बिनी अञ्चलमै माओवादीकै पक्षमा माहोल बनाउँदै छन् ।
कांग्रेस सभापति कोइराला अहिले बाँके ३ र चितवन ४ बाट चुनाव लड्दै छन् भने वरिष्ठ नेता शेरबहादुर देउवा डडेल्धुरा र कैलाली ६ बाट भिड्दै छन् । उपसभापतिलगायतका शीर्ष नेताले एउटा क्षेत्रबाट मात्र उम्मेदवारी दिएका छन् । 
एमालेमा नेता केपी ओलीबाहेकका शीर्ष नेताहरूले दुई क्षेत्रबाट चुनाव लड्ने भएका छन् । अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम दुई–दुई क्षेत्रबाट चुनाव लड्न लागेका हुन् ।

शीर्ष नेताका प्रतिस्पर्धी कस्ता ?
१. प्रचण्ड
अहिलेको निर्वाचन क्षेत्र काठमाडौं १०
कांग्रेस : राजेन्द्रकुमार केसी
कांग्रेस महासमिति सदस्य केसी अघिल्लो निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रचण्डसँग पराजित भएका थिए । केसी कांग्रेसमा सक्रिय भएर लागेको ०४८ पछि मात्रै हो । 
एमाले : सुरेन्द्र मानन्धर
एमालेका सुरेन्द्र मानन्धर एमाले नगर कमिटीका प्रमुख हुन् । उनी पूर्व विद्यार्थी नेता पनि हुन् । एमालेको जिल्ला उपसचिव र राष्ट्रिय प्रतिनिधि परिषद् सदस्यमा पनि पराजित भएका उनी स्थानीय तहमा भने चर्चित छन् । उनी एलएलबीमा गोल्ड मेडलिस्ट हुन् ।
गत संविधानसभा निर्वाचनमा
माओवादीका प्रचण्डले २३ हजार दुई सय ७६ मत पाएर चुनाव जितेका
कांग्रेसका राजेन्द्रकुमार केसीको १२ हजार एक सय ५४ दोस्रो स्थान
एमालेका सानुकुमार श्रेष्ठको आठ हजार पाँच सय ६८ मत तेस्रो स्थान

२. प्रचण्ड
अहिलेको निर्वाचन क्षेत्र सिरहा ५
कांग्रेस : रामपरीकुमारी यादव 
कांग्रेस महासमिति सदस्य यादव राष्ट्रियस्तरमा परिचित छैनन् । उनले प्रचण्डलाई कडा टक्कर दिनसक्ने सम्भावना कम रहेको कांग्रेस कार्यकर्ता नै बताउँछन् । 
एमाले : लीलानाथ श्रेष्ठ
राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य श्रेष्ठ सिरहा एमालेका अध्यक्ष पनि हुन् । ०३७ मा अनेरास्ववियुको जिल्ला सदस्य, ०४० मा ल क्याम्पसको स्ववियु सहसचिव भएका उनी ०४८ मा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको जिल्ला सचिव भएका थिए । ०५१ मा जिल्ला कमिटी सदस्य भएका उनी ०५४ मा सिरहा जिविसको उपसभापति भएका थिए । ०६० मा जिल्ला कमिटी उपसचिव भएका उनी ०६२ मा पार्टीको सिरहा जिल्ला सचिव, ०६७ मा एमालेको जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए । 
गत संविधानसभा निर्वाचनमा 
माओवादीमा महेन्द्र पासवानले १२ हजार एक सय १० मत पाएर जितेका
एमालेका धर्मनाथप्रसाद साह सात हजार दुई सय आठ मत पाएर दोस्रो स्थान 
जनमोर्चाका विश्वनाथ साह (हाल माओवादीमा) पाँच हजार ६ सय ६६ मत पाएर तेस्रो

३. डा. बाबुराम भट्टराई
अहिलेको निर्वाचन क्षेत्र गोरखा १
कांग्रेस : किरणबाबु श्रेष्ठ 
०२८ बाट नेविसंघबाट राजनीति सुरु गरेका श्रेष्ठ पहिलोपटक निर्वाचनमा लड्दै छन् । गोरखाका स्थानीय श्रेष्ठ जिल्ला सचिवसम्म भएका थिए । 
एमाले : रामशरण बस्नेत
एमाले गोरखाका अध्यक्षसमेत भएका बस्नेत राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुन् । ०५६ निर्वाचनमा उठेर पराजित उनी नेपाल राष्ट्रिय विद्यार्थी फेडेरेसनको केन्द्रीय सदस्य, गाविस महासंघको सदस्यसमेत भएका थिए । उनी यसअघि जिविस सभापतिमा पनि पराजित हुन् । 
गत संविधानसभा निर्वाचनमा 
माओवादीकी पार्वती थापाले ४० हजार ६ सय ६ मत पाएर जितेकी
कांग्रेसका चिरञ्जीवी वाग्लेले नौ हजार एक सय ४२ मत पाएर दोस्रो
एमालेका बाबुराम थापाले चार हजार तीन सय २९ मत पाएर तेस्रो

४. डा. बाबुराम भट्टराई
अहिलेको निर्वाचन क्षेत्र रुपन्देही ४
कांग्रेस : सूर्यप्रसाद प्रधान 
अघिल्लो संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट उठेर पराजित उनी कांग्रेसको महासमिति सदस्य हुन् । ०५६ को निर्वाचनमा रुपन्देही ३ बाट जितेका थिए । 

एमाले : विष्णुप्रसाद पौडेल
एमालेका केन्द्रीय सचिव पौडेल पार्टीका अधिकांश हस्ती नेताहरूले हारेको अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट विजयी भएका थिए । 

गत संविधानसभा निर्वाचनमा 
एमालेका विष्णुप्रसाद पौडेल १५ हजार आठ सय ८० मत पाएर जितेका
माओवादीका भक्तिप्रसाद पाण्डे १३ हजार चार सय २१ मत पाएर दोस्रो
कांग्रेसका सूर्यप्रसाद प्रधान १३ हजार एक सय ८२ मत पाएर तेस्रो

५.नारायणकाजी श्रेष्ठ
अहिलेको निर्वाचन क्षेत्र मकवानपुर २
कांग्रेस : जयराम लामिछाने 
नेपाल राष्ट्रिय निर्माण व्यवसायी महासंघका अध्यक्ष लामिछाने ७ भदौमा मात्र कांग्रेसमा प्रवेश गरेका हुन् । मकवानपुरको चित्लाङ घर भएका उनी पार्टीमा प्रवेश नगर्दै कांग्रेस सभापति सुशील कोइरालाबाट सम्मानित भएका थिए । 
एमाले : सुवासचन्द्र ठकुरी
एमाले मकवानपुरका उपाध्यक्ष सुवासचन्द्र ठकुरी पूर्वगाविस अध्यक्ष हुन् । काठमाडौं–हेटौँडा सुरुङमार्ग निर्माणको मुख्य अभियन्ता उनी जनस्तरीय कमिटीका प्रमुख हुन् । उनलाई स्थायीले विकासवादी नेताका रूपमा चिन्छन् । 

गत संविधानसभा निर्वाचनमा 
माओवादीका प्रेमबहादुर पुलामीले १६ हजार ९ सय ७६ मत ल्याएर जितेका
एमालेका वीरबहादुर लामाको १० हजार २ सय २१ मत
जनमोर्चाका ज्योति रायमाझी ३ हजार ४६ मत पाएर तेस्रो

६. पोष्टबहादुर बोगटी
हालको निर्वाचन क्षेत्र नुवाकोट ३
कांग्रेस : बहादुरसिंह तामाङ
कांग्रेस नुवाकोटका सदस्य तामाङ निर्माण व्यवसायी हुन् । जनजाति, पार्टीलाई आर्थिक सहयोग गर्ने भएकाले उनले टिकट पाएको एक जिल्ला नेताले बताए । 
एमाले : नारायण खतिवडा

गत संविधानसभा निर्वाचनमा 
माओवादीका पोष्टबहादुर बोगटीले १६ हजार सात सय ३५ मत पाएर जितेका
कांग्रेसका बहादुरसिंह तामाङ १५ हजार ९५ मत पाएर दोस्रो भएका
एमालेका महेन्द्रबहादुर पाण्डे ६ हजार तीन सय ५३ मत पाएर तेस्रो स्थानमा 

एमालेका ठूला नेता

१. झलनाथ खनाल
अहिलेको निर्वाचन क्षेत्र इलाम १
माओवादी : युवराज पौडेल
स्थानीय रूपमा स्थापित युवा नेता पौडेल माओवादीको लिम्बुवान राज्य सचिवालय सदस्य तथा इलाम जिल्ला कार्यालय सदस्य हुन् । ०५७ देखि माओवादीमा रहेका पौडेल जनयुद्धको चरणमा झापाको सेक्रेटरी थिए । 
कांग्रेस : हिमाल कर्माचार्य 
कांग्रेस महासमिति सदस्य कर्माचार्य दुईपटक इलाम कांग्रेसका सभापति भएका हुन् । ०४३ देखि ०४६ सम्म इलाम नगरपालिकाको मेयर भएका उनी पहिलोपटक संविधानसभा निर्वाचनमा लड्दै छन् । आफूले जित्ने उनको दाबी छ । 

गत संविधानसभा निर्वाचनमा
एमालेका झलनाथ खनाल १७ हजार ६ सय ५५ मतले निर्वाचित
कांग्रेसका बेनुपराज प्रसाईं १३ हजार सात सय ७४ मतका साथ दोस्रो
माओवादीका सूर्यप्रकाश वाला (राई) १० हजार नौ सय १७ तेस्रो 

२. झलनाथ खनाल
अहिलेको निर्वाचन क्षेत्र सर्लाही १ 
माओवादी : शम्भु श्रेष्ठ
श्रेष्ठ केही समयअगाडि कांग्रेस परित्याग गरी माओवादीमा प्रवेश गरेका थिए । ०५६ र ०६४ को निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बन्न सो क्षेत्रबाट सिफारिस भए पनि उनले उम्मेदवार बन्न पाएका थिएनन् । सामाजिक रूपमा स्थापित श्रेष्ठ व्यापारिक पृष्ठभूमिका हुन् । 

कांग्रेस : सुशीला कार्की
कांग्रेस जिल्ला सदस्य कार्की नेविसंघ हुँदै पार्टीको जिम्मेवारीमा आएकी हुन् । गत संविधानभामा पनि उनी यही क्षेत्रबाट उम्मेदवार बनेकी थिइन् । 

गत संविधानसभा निर्वाचनमा
एमालेका प्रकाश पाख्रिन १२ हजार सात सय २६ मत ल्याएर विजयी 
माओवादीका लक्ष्मीप्रसाद धिमाल १० हजार तीन सय ३७ मत ल्याएर दोस्रो
तराई मधेस लोकतान्त्रिक पार्टीका रामचन्द्रसिंह कुसवाह सात हजार दुई सय २३ मत ल्याएर तेस्रो 

३. माधवकुमार नेपाल
अहिलेको निर्वाचन क्षेत्र काठमाडौं २
माओवादी : लीलामणि पोखरेल
माओवादीका पूर्व स्थायी समिति सदस्य पोखरेल अघिल्लो संविधानसभामा सिन्धुली क्षेत्र नं. ३ मा जनमोर्चाबाट पराजित भएका थिए । नेकपा एकताकेन्द्र मसाल र माओवादीबीच एकता भएको हो । प्रखर वक्ताका रूपमा स्थापित उनी ०४८ को संसदीय निर्वाचनमा प्युठानबाट र ०५६ मा सिन्धुली ३ बाट जनमोर्चाको तर्फबाट विजयी भएका थिए । उनको स्थायी घर प्युठान हो ।
कांग्रेस : प्रतिमा गौतम
नेविसंघकी पूर्वमहामन्त्री प्रतिमा गौतम कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री प्रकाशमानसिंहको लबिङमा उम्मेदवार भएकी हुन् । क्षेत्रीय समितिको सिफारिसलाई बेवास्ता गर्दै उनलाई टिकट दिइएपछि क्षेत्रीय समितिले उनलाई बहिष्कार गर्ने चेतावनी दिएको छ । उनी काठमाडौं ४ की बासिन्दा हुन् । 
अघिल्लो निर्वाचनमा
एकीकृत माओवादीका झक्कुप्रसाद सुवेदी १३ हजार आठ सय ५८ मत ल्याएर विजयी
एमालेका माधवकुमार नेपाल १२ हजार तीन सय २५ मत ल्याएर दोस्रो स्थानमा
कांग्रेसका दीपकप्रसाद कुइँकेल ११ हजार पाँच सय ४४ मत ल्याएर तेस्रो स्थानमा

४. माधवकुमार नेपाल 
अहिलेको निर्वाचन क्षेत्र रौतहट १ 
माओवादी : राजकिशोर यादव
यादव माओवादीको स्थानीय कार्यकर्ता हुन् । उनी दुई महिनाअघि एमालेबाट माओवादीमा प्रवेश गरेका थिए । उनी अघिल्लो निर्वाचनमा सो क्षेत्रमा एमालेबाट उम्मेदवार थिए । 
कांग्रेस : सन्तलाल शाह
महासमिति सदस्य शाह मजदुर पृष्ठभूमिबाट राजनीतिमा आएका हुन् । सुगर फ्याक्ट्रीमा काम गर्दादेखि उनले नेविसंघबाट राजनीति सुरु गरेका थिए । यो क्षेत्रमा अघिल्लोपटक कांग्रेस चौथो भएको थियो । 
गत संविधानसभा निर्वाचनमा
स्वतन्त्रबाट उठेका बबन सिंह नौ हजार दुई सय एक मत ल्याएर विजयी
सद्भावना पार्टीका अजय गुप्ता ६ हजार पाँच सय ८८ मत ल्याएर दोस्रो
फोरम नेपालका अमरप्रसाद यादव ६ हजार चार सय ३४ मत ल्याएर तेस्रो

५. केपी शर्मा ओली
अहिलेको निर्वाचन क्षेत्र झापा ७ 
माओवादी : गोपाल किराती
एकीकृत माओवादी केन्द्रीय सदस्य किराती कोचिला राज्य समिति इन्चार्ज हुन् । अघिल्लो निर्वाचनमा उनी सोलुखुम्बुबाट विजयी भएका थिए । किराती संविधानसभापछि दुईपटक संस्कृतिमन्त्री बनेका थिए । किराती भरिया, ट्रेकिङ गाइड हुँदै राजनीतिमा प्रवेश गरेका नेता हुन् । उनी जातीय अधिकारको सवालमा अडिग छन् । सोलुखुम्बुमा जन्मिएका किरातीको कुनै सम्पत्ति छैन । उनी आर्थिक मामिलामा पारदर्शी देखिन्छन् । अहिलेसम्म उनको नाममा बैंक खातासमेत छैन । 

कांग्रेस : सुरेश सुब्बा 
सुब्बा कांग्रेसका महासमिति सदस्य हुन् । विद्यार्थी राजनीतिबाट कांग्रेसमा सक्रिय उनी पहिलोपटक उम्मेदवार बनेका हुन् ।

गत संविधानसभा निर्वाचनमा
माओवादीका विश्वदीप लिङदेन लिम्बू १६ हजार ९९ मत ल्याएर विजयी
एमालेका केपी ओली १४ हजार नौ सय ५९ मत ल्याएर दोस्रो स्थानमा
कांग्रेसका महेन्द्रकुमारी सुब्बा ११ हजार ६ पाँच मत ल्याएर तेस्रो स्थानमा

६. वामदेव गौतम 
अहिलेको निर्वाचन क्षेत्र प्युठान १
माओवादी : नवराज सुवेदी
एकीकृत माओवादी केन्द्रीय सदस्य सुवेदीले ०५१ र ०५६ को निर्वाचनमा राष्ट्रिय जनमोर्चाको तर्फबाट प्युठान क्षेत्र नं. २ बाट जितेका थिए । उनको घर सोही जिल्लाको बिजुवार गाविस हो ।

कांग्रेस : हुकुमबहादुर विष्ट 
कांग्रेस महासमिति सदस्य विष्ट ०५६ पछि कांग्रेसमा सक्रिय भएका हुन् । उम्मेदवारी बन्न पाउने भएपछि शिक्षकबाट राजीनामा दिएका उनको टिकट ०५६ को आमनिर्वाचनमा २१ दिनपछि खोसिएको थियो । यसपटक पनि विष्टको सट्टा उनकी श्रीमतीलाई दिन खोजिएको थियो । 
अघिल्लो चुनावमा
माओवादीका दीपकबहादुर केसी १२ हजार आठ सय ५७ मत ल्याएर विजयी 
राष्ट्रिय जनमोर्चाका बोमबहादुर खत्री १० हजार चार सय ११ मत ल्याएर दोस्रो स्थानमा
एमालेका रमेशप्रसाद राजभण्डारी आठ हजार नौ सय ७५ मत ल्याएर तेस्रो स्थानमा 

७. वामदेव गौतम 
अहिलेको निर्वाचन क्षेत्र बर्दिया १ 
माओवादी : भुवनकुमार थारू
थारू माओवादीको राज्य सचिवालय सदस्य हुन् । उनी बर्दियाका पूर्वसेक्रेटरी पनि हुन् । त्यसअघि उनी जनसेनाको कमिसार थिए । 
कांग्रेस : भुवनेश्वर चौधरी
पहिलोपटक चुनाव लड्न लागेका चौधरी कांग्रेस महासमिति सदस्यसमेत हुन् । उनी दुईपटक गाविस अध्यक्ष भइसकेका छन् । 
गत संविधानसभा निर्वाचनमा
माओवादीकी सरला रेग्मी १७ हजार नौ सय ५५ मत ल्याएर विजयी
एमालेका वामदेव गौतम १३ हजार सात सय ७३ मत ल्याएर दोस्रो स्थानमा
कांग्रेसका मालती सोडारी ६ हजार आठ सय ३१ मत ल्याएर तेस्रो स्थानमा

कांग्रेस
१. सुशील कोइराला 
अहिलेको निर्वाचन क्षेत्र बाँके ३
माओवादी : दामोदर आचार्य
आचार्य माओवादीको थारुवान राज्य समिति सदस्य हुन् । उनी व्यापारिक पृष्ठभूमिका हुन् ।
एमाले : विजया धिताल
एमाले जिल्ला कमिटी सदस्य धिताल बाँके ३ नं. क्षेत्रको इन्चार्ज हुन् । महिला संगठनमा काम गरेकी उनी अनेमसंघको अञ्चल सदस्य पनि छन् । 
गत संविधानसभा निर्वाचनमा
फोरम नेपालका सर्वदेव ओझा १४ हजार नौ सय मत ल्याएर विजयी
माओवादीका परमानन्द कुर्मी ६ हजार नौ सय ७० मत ल्याएर दोस्रो स्थानमा
कांग्रेसका सुशील कोइराला पाँच हजार नौ सय ६९ मत ल्याएर तेस्रो स्थानमा


२. सुशील कोइराला
अहिलेको निर्वाचन क्षेत्र चितवन ४ 
माओवादी : चित्रबहादुर श्रेष्ठ 
माओवादीका केन्द्रीय सदस्य श्रेष्ठ अखिल नेपाल किसान संघ (क्रान्तिकारी)का अध्यक्षसमेत हुन् । 
एमाले : दिलकुमारी (पार्वती) रावल
चितवन जिल्ला कमिटीकी सहसचिव रावललाई जिल्लामा चर्चित महिला नेतृका रूपमा लिइन्छ ।
गत संविधानसभा निर्वाचनमा
माओवादीका चित्रबहादुर श्रेष्ठ २३ हजार नौ सय ४२ मत ल्याएर विजयी
कांग्रेसका टेकप्रसाद श्रेष्ठ १८ हजार ९० मत ल्याएर दोस्रो स्थानमा
एमालेका दिलकुमारी रावल (थापा) ६ हजार एक सय ४० मत ल्याएर तेस्रो

३. शेरबहादुर देउवा
अहिलेको निर्वाचन क्षेत्र डडेल्धुरा 
माओवादी : खगराज भट्ट 
माओवादीका केन्द्रीय सदस्य तथा सेती–महाकाली राज्य संयोजक भट्ट जनयुद्धकालदेखि नै सोही क्षेत्रमा खटिरहेका छन् । सो क्षेत्रमा पहिलेभन्दा जनाधार सुधार भएको माओवादी दाबी छ । 
एमाले : ताराप्रसाद जोशी
एमाले डडेल्धुराका जिल्ला अध्यक्ष जोशी राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुन् । सानैदेखि पार्टीमा संगठित भएका उनी बीचमा पढाइका लागि राजनीतिमा निष्क्रिय थिए । 
गत संविधानसभा निर्वाचनमा
कांग्रेसका शेरबहादुर देउवा २० हजार पाँच सय २९ मत ल्याएर विजयी
माओवादीका खगराज भट्ट १९ हजार एक सय ६१ मत ल्याएर दोस्रो स्थानमा
एमालेका विक्रमबहादुर शाही सात हजार नौ सय ८२ मत ल्याएर तेस्रो

४. शेरबहादुर देउवा
अहिलेको निर्वाचन क्षेत्र कैलाली ६
माओवादी : लीला भण्डारी 
माओवादीकी वैकल्पिक केन्द्रीय सदस्य भण्डारी अघिल्लो संविधानसभामा सभासद् बनेर शिक्षा राज्यमन्त्रीसमेत भएकी थिइन् । उनका भाइ जनयुद्धमा मारिएका थिए । जनयुद्धका वेला उनी माओवादीको कञ्चनपुर जिल्ला सेक्रेटरी थिइन् । 
एमाले : महेश्वर पाठक 
अञ्चल सचिव पाठक राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुन् । ०५१ मा सांसद भएका उनी शिक्षकबाट सक्रिय राजनीतिमा आएका हुन् ।
गत संविधानसभा निर्वाचनमा
माओवादीका लीलाकुमारी भण्डारी १४ हजार आठ सय २६ मत ल्याएर विजयी
कांग्रेसका टेकबहादुर चोखाल ११ हजार दुई सय ८४ मत ल्याएर दोस्रो स्थानमा
एमालेका दीपकप्रसाद देवकोटा नौ हजार तीन सय १५ मत ल्याएर तेस्रो 

५. रामचन्द्र पौडेल
अहिलेको निर्वाचन क्षेत्र तनहुँ २
माओवादी : ओमराज आले
माओवादीका राज्य समिति सदस्य आले अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवसमेत हुन् । उनी मदन आलेले चिनिन्छन् । त्यस क्षेत्रमा आलेमगरहरू बाहुल्य रहेकाले माओवादीले उनलाई उठाएको हो । 
एमाले : कृष्णकुमार श्रेष्ठ 
एमाले संगठित सदस्य श्रेष्ठ व्यवसायी हुन् ।

गत संविधानसभा निर्वाचनमा
कांग्रेसका रामचन्द्र पौडेल १८ हजार नौ सय ७० मत ल्याएर विजयी
माओवादीका डम्बरबहादुर विश्वकर्मा ११ हजार ५० मत ल्याएर दोस्रो स्थानमा
एमालेका प्रतापलाल श्रेष्ठ आठ हजार आठ सय ९२ मत ल्याएर तेस्रो
 from Nayapatrika

No comments:

Post a Comment