Thursday, March 5, 2015

गुगल सर्च

सन्च  हिर्ने  करणालीय  धम्की हिर्ने बबई
परानी  गैजाने रैछ मनको जस्तो नभई
मनकलाको कानमा बज्यो । यसो कान थापिन् । फेरि कहीँ पनि सुनिएन । आफ्नो पालामा रोल्पाका वनपाखामा फुल्ने यो स्यानीमाय गीत थियो । अहिले त वनपाखामा कहाँ फुल्नु यस्ता गीत !
‘कोजानी  कान भैयो  कि के हो’, उनले भनिन् ।
हाट  जाने र चाँखी पिस्ने चलनसँगै गाईबाख्रा लिएर बर्खामास लेकतिर उकालिने चलन हराएपछि यी गीत पनि बूढाबूढीसितै डाँडामाथि हात हल्लाइरहेका थिए । अनुहार फेरिँदै थियो गाउँको । फेरिँदै थियो वनपाखाको । गाउँबाट तन्नेरी सब कालापार र जनयुद्धमा लाग्ने याम सरेर साउदी अरब र मलेसिया पुगेपछि गाउँको जीवनशैली नै फेरिएको थियो ।
बारी पनि बाँझा थिए । बाँझा थिए्, आलु लाउने खोर्रे पनि ।
मनबारीका के कुरा ।

गाउँमा अचेल यस्ता समाचारचाहिँ सुनिन्थ्यो:
फलानो हिजो मात्र अरबबाट गाउँ आइपुगे वा उनलाई राखिएको बाकस आइपुग्यो । सुनिन्थ्यो, फलानोको अरब उड्ने पखेटा पलाएछ । फलानो तीन वर्ष उमेर बढाएर नागरिकता बनाउन गए, अरब उड्न । लडाइँमा मारिएका फलानोका पत्नी फलानीले आत्महत्या गरी । फलानो सहिदका बाआमा माखा हाक्छन् । यस्तो खासखुस पनि चल्थ्यो ः फलानो अरबेको जोईको चक्कर फलानो ब्यारेक वा पुलिसचौकीको लाहुरे (सेना वा पुलिस) सित वा फलानो ठाउँको तोरीलाहुरेसित चल्दैछ ।
...
‘काँ जान लागिऊ ठूल्जी ?’, वैशाखी छेउमा राखेर झिँगा धपाउँदै गरेका कमरेड बलब अर्थात् लालधनले मनकलालाई सोधे ।
बेनी आक्रमणमा बायाँखुट्टा गुमाएपछि वैशाखीको भरमा तलमाथि गरिरहेका बलबलाई न पार्टीले जिम्मेवारी दिएको थियो न घरले ।
‘अर्रे कि भनिस् कि हँ कमारा ? न कान सुन्ने न आँखा देख्ने । खँजा भया ज्यान’, बोलाएजस्तो लागेपछि मनकलाले कमरेड बलबलाई सोधिन् । अलि ठूलो आवाजमा अघि भनेकै कुरा बलबले फेरि दोहो¥याए ।
‘...म ता ठूलपाखा बस्न जान लाछु’, मनकलाको मुखबाट यस्सै निस्कियो, दिसा गर्न जान लागेको भनेर । गाउँमा चर्पी बनेपछि पाखामा दिसा गर्ने चलन हराएको थियो ।
बाटोछेवैमा थियो बलबको घर । भत्कन लागेको । उनको घरसितै जोडिएको थियो, ईश्वरीप्रसाद उर्फ कमरेड चट्याङको घर । पार्टी इन्चार्ज भएपछि उनको घरले प्रधान दीर्घराज र जिल्ला सभापति सुरेन्द्रको घरलाई सिधै टक्कर दिएको थियो ।
‘जुङ्रा मार्न लाग्या छौ, परेमकी जेई’, एकोहोरिएर जुम्रा मारिरहेकी प्रेमकी आमा बिनसराले सुनिन्् । मनकलाले त सुन्ने भए पो ।
दोस्रोपटकको खारा आक्रमणमा बलवीर मारिएपछि बिनसरा फुकीढल भएकी थिइन् । सरकारमा गएपछि उनको घर र छोराछोरीलाई माओवादीले पक्कै सम्झनेछ भन्ठानेकी बिनसरा माओवादी नेतृत्वमा दुईपालि नै सरकार बनेपछि बिसोर भइन् । बरु युद्धकालमा कमरेडहरू आएर बाली लगाइदिएका थिए, घर छाइदिएका थिए । बिनसराले वास्ता नगरेपछि लौरो टेक्दै मनकला दिसा गर्ने ठाउँ चोयाबारीतिर लागिन् । मल नहाले पनि यसै हल्कने चोया गाउँमा चर्पी बनेपछि दुब्लाएका थिए ।
ठाउँठाउँमा ढुङ्गा थिए जसमा टुक्रुक्क बसेर गाउँलेले दिसा गर्थे ।
ढुङ्गामा टुक्रुक्क बसिन् । त्यतिबेलाजस्तो दिसा गर्दागर्दै कोही आउला कि भन्ने जगजगी थिएन । ढुक्कले बसेर लाखरखोले कक्कड सुल्पामा घान हालिन् । छड्केले चारे र झुलोमा हिर्काएर आगो सल्काइन् अनि झुलो सुल्पामा भरेको कक्कडमाथि बसालिन् ।
लामो सर्को तानिन् । कक्कडको धुवाँ निस्क्यो ।
के सम्झेर कुन्नि, नजर यसो घुमाइन् । उनका आँखा चुनबाङखोलामा पुगेर अडिए । कुनै बेला बेतालले हिँड्ने चुनबाङखोला पनि दुब्लाएथ्यो उनीजस्तै । बर्खामा पनि खोला मोटाउन छाड्यो भन्थे गाउँले । तर सुसाइरहेथ्यो आफ्नै तालमा । दुब्लाए’नि धर्म छाडेको थिएन ।
उनका आँखाले खोला धमिलो देख्यो । खासमा खोलाको पानी धमिलो थिएन । उनका आँखा धमिलिएका थिए । रगत बग्न छाडे पनि रगतले बल्झाएका आँसु थामिएका थिएनन् गाउँ र वनपाखामा । उनका आँखामा आए अन्तरघरे सुर्माली, घारीघरे भुरा, फारुलाबोटे, भीरपाटे काइँला, बाख्राकोटे र ट्याम्के । तीमध्येका कोहीलाई घरमा, कसैलाई भारी बोकाई लगेर मारेका थिए । कति चाहिँ छोराछोरीले बलिदान गरे भनेर गर्व गर्ने बेला पार्टीले पनि माया मार्दा बिसोर हिँडिरहेका जिउँदा मान्छे थिए ।
‘आँ, के सम्झनु दुःखका कुरा’, उनले प्रसङ्ग मोड्न सुल्पा टकटक्याएर बासा  मा राखिन् ।
त्यसपछि उनका आँखामा आए आफ्नो बैंसयामका उकालीओराली । लाकुरचौर, ओबाङ, लाकुरीबाङ, स्यानगोरी र ठुल्गोरी । कैयौँ दिनरात मस्तराम नाचे–गाएका पल उनका आँखामा बल्झिए ।
लुपलुपे पाला फालो  दाङघारी सालैले
कि लैजा मनैको साइ ले कि लैजा कालैले
उनले वनपाखा र मेलामा गाएको यो गीतसित उनको मन कहाँ हो कहाँ उड्यो, चराजसरी ।
कुङ्रीपोकमा थकान बसेको सम्झिइन् । गुन्यूचोलो र भारेडोको  चिनो पाएको सम्झिइन् । बदलामा तन्नेरीलाई खिर पकाएर दिएको, टोपी र बोल्लाको गादो चिनो दिएको पनि ।
‘थकान बस्ने चौपारी ?’
सम्झन कोसिस गरिन् । भत्किसकेका थिए । कति भत्कन लागेका थिए ।
खेतीपातीको यामबाहेक महिनाका १, ५, १०, १५, २५ थकानका लागि रोज्जा गते थिए । टाढाटाढाका आफन्त र तरुण–तन्नेरी आफ्ना घरदेखि बीचमा पर्ने ठाउँमा भेट हुन्थे । चौपारी वा ओडार या रुखको बोटमुनि सन्चो–बेसन्चो र सुखदुःख साटासाट गर्थे । चिनजान नभएका चिनजान गर्थे । तरुण–तन्नेरी माया गाँस्थे ।
कुङ्रीपोकको थकानबाट नै मनकलाले घरबार जोडेकी थिइन् ।
‘लहनाले यता जुराइछ र !’, यति भनेर उनका आँखामा पोहोर मात्र माथि लागेका श्रीमान् आए, ‘पापी एक्लै गए । अझैै बोलान्नन् । आफू माथि गएर हाइसोके  भैगे ब ।’
चोयाबारीमा अलिछिन बसेर घर फर्किइन् । भकारो रित्तोजस्तो थियो । भकाराका एकछेउमा थिए, दुई थान गाई । एक थान पाडी । दुई थान बाख्रा । यति थोरै बस्तुभाउ पनि खान नपाएर दुब्लाएका थिए ।
‘जाङ्ङरपाङ्ङर सक्किए, आफ्ना दिनसितै’, बस्तुभाउलाई नल्ठा  राखिदिएर भनिन् । त्यसपछि मान्छे नबस्दा थोत्रिएर आफैँ ढल्न थालेको घरभित्र पसिन् । पस्दा उनको टाउकोमा माकुराको जालो लपेटियो । भुइँभरि धुलो थियो । घरको थाममा धमिरा लागेको थियो । बाटो लाग्न साइत गरेका खाँबा उनीजस्तै बूढा भएका थिए ।
‘घर नध्वाँएसी ता घर त्यस्सै थोत्रिजान्छ के र’, मनमनै भनिन् । परिवारका तन्नेरी सदस्यजति अरब उडेपछि उनी पनि बुहारीसित अर्को घरमा बस्थिन् ।
कता जाम् के गरौँ भयो । त्यसपछि उनी बाहिरिइन् । घंघारुको दुब्लो लौरो टेक्दै सुस्तरी पँधेरातिर लागिन् । पानी लिन होइन, पँधेराछेवैको चौपारीमा गाउँका बूढाबूढीसित गफिन ।
चुङचुङे, चुन्बाङेनी, माइली धमिनी, ट्याम्के, भीरपाटेनी, जुुम्लीबस्ने, हलहले, बाठाकोप्चे, किम्बोटेमध्ये कोही पुगिसकेका थिए त कोही पुग्दै ।
‘लौ आमाजू, एक चिलम कक्कर खाऊ ।’
‘तम्रो कक्कर ता स्यानो कर्रो रैन्छ बाल ।’
‘यो खाऊ, लाखरखोले कक्कर । अस्ति चार माना बेसाईकन लिइछन् ब । कान्छा हलहल्या छोरी माइत जाने बेला मगाया रै’छन् ब ।’
पुरानगाउँले बादीले बनाएको सुल्पामा कक्कडको घान हाले । त्यसपछि सुल्पाबाट निस्केर माथिमाथि उडेका धुवाँसित उड्दै तिनका कुराकानी पनि बाटो लागे ।
‘होइन किउ बुद्या जेई त पुलिससत प सल्क्या छन् गरे भन्छन् हे । अस पुइले अरबबट पठाया पैसा काँ फुक्किलो गरे ब’, मनकलाले बुदेकी आमा पुलिससित लागेको र अरबबाट श्रीमानले पठाएको जम्मै पैसा सकेको सुनाइन् ।
‘जोख्या बाबै ता बिल् छकालदेखि जरो आइकन कस्टे भया छन् गरे ।’
‘हामी लुजा–लङ्राले बोक्न सक्तैनम् ब । तन्नेरी छैनन् ।’
‘माइत गएँ भन्यौ नाना ? हो तो मेर्ता कोइ भए प । घर हुल्ला  पार्कन साइँलोको प¥याल  कालापार गया छन् ब, जेठाका अरब ।’
‘मासी परान सक्किगे । हित्ति पनि धौधौ प आएँ । अब ता मानो सक्किगो के र ।’
‘आब ता धने पन् अरब गैजाने हो गरे ब । लिबाङ गईकन उसको के हो तो पासफोटो  बनाईकन आयो । काटमुन्नु भिक्सा  हान्न जान्छ गरे । हो तो नजा भनेको मान्दैन । उसका सङसत  गयो । चौधको घरमा गया छैन ब । उम्मिर बढाईकन नार्गितासार्गेता  बनायो गरे ।’
झन्डै एक घन्टाजति बूढाबूढीका बोली एकमाथि अर्को ओभरल्याप भएर बहे । कुराकानीसित कक्कडको धुवाँ हावाको दिसासँगै कहिले उत्तर र कहिले दक्षिण बहे । धारोको टुटी बिग्रेर चौबिसै घन्टा बहिरहने चौपारीछेवैको धारोको आवाजसित गाईबाख्रा चराउन लान थालेको कोलोको धुन मिसिएर चर्कन थाल्यो ।
‘होइ आमाजू, तम्ले के भनिऊ हँ ? मल्ता नाम्रोसत पज पाइन  हे’ भन्दै एकअर्काले के भनेको हो भन्ने ठीक तवरले नदेखे पनि नसुने पनि आ–आफ्ना कुरा भने । कान र आँखाले पनि माया मार्दै गरेका ती बूढाबूढीले एकोहोरो भए पनि कुरा गरे । आ–आफैँले सुनाए । नथाक्दासम्म आ–आफ्नै तालमा कुरा गरे अनि बाटो लागे ।
मनकला सिधै बारीमा गइन् ।
वनमारा हल्केको थियो बारीमा ।
‘यै कम्द मौलाबोटे मुक्खेबाट एउटा बोके , आठ धार्नी रक्सी र दुुइटा चवानी माला दिएर लिएको हो । अड्डा गईकन पास गरेको । इज्यार खनेको’, बनमारा पन्छाउँदै थचक्क बसिन् ।
जनयुद्धमा बचेको उमेर बोकेर उनको छोरा, नाति र नातिनी साउदी उडेका थिए ।
बाँझो बारी हात राखिन् । ढुङ्गाजस्तै कडा थियो । माटो पनि रिसाएजस्तो लाग्यो ।
चारैतिर नजर डुलाइन् ।
‘आब काँ थकान्ने होला यो मन ?’
चिउँडोमा हात लगाएर गमिन् । यताउति हेरिन् । छेउटुप्पा त युद्धकालमै कमाउन छाडेका थिए भने अब घरबारीसमेत बाँझा हुनेक्रम बढेको थियो ।
मनकलाले सम्झिइन्, छोरा, नाति र नातिनी अरब उड्दा लिएको रिन । कहिले तिर्ने हुन् र फर्कने हुन् अरबबाट ? तैपनि फोनमा छिटो फर्कन भनेकी थिइन् । मनले जाम भने पनि पखेटा भए पो आऊन् । जुँगाका रेखीसमेत नबसेका केटाहरू उमेर बढाएर पासपोर्ट वनाउँदै अरब उड्दै थिए ।
‘के सधैँ यस्तै भइरहला तो ?’
बाँझो बारीमा हल्केको वनमारासित उनले भनिन् । त्यहाँ सुन्ने अरू त को थिए र ?
‘मौभादी ले ता गर्छ कि भन्या थेँ । काटमुन्नु गएपछि उतै सन्नमन्न  भो । गरिबका लागि कोही नआने भो । कसो गरिबको दिन नआला भनी लागेर मारिएका परिवारले र घाइतेले गौनु माखा हाक्छन् । के लुल भो कोजानी ?’
सास रोकिएलाजस्तो टुपुक्क भयो उनलाई । त्यसपछि अनायास चिच्याइन्, ‘रणे ए रणे ! छिटो आइज कमारा । काँ थकान्ने मन ? रहरबारी र घरबारी कहिले होला हराभरा ?’
बदलामा चुनबाङखोलाको प्रतिध्वनि मात्र आयो, ‘र...णे ...आइ...ज...।’ प्रतिध्वनिसँगै बाजी लागेर माओवादी नेता ईश्वरीप्रसाद, प्रधान दीर्घराज, जिल्ला सभापति सुरेन्द्रका रेडियोले एकै स्वरमा भने ः
सिंहदरबार केटाकेटी र बूढाबूढीलाई पनि बेच्ने नयाँ साउदी अरबको खोजीमा गुगलमा सर्च गर्दैछ । ...बचेजतिलाई पनि नयाँ अरबतिर खेदे न रहन्छ बाँस न बज्छ बाँसुरी ।
रेडियो जति चर्कंदै गयो, उति मनकलाको भोल्युम बढ्न थाल्यो, ‘के सत् हर्रिगो र ?’
मनकला बोलेको भोलुम जति बढ्दैगयो उति नै उनको कानमा उनकै पालाको गीतले ओभरल्याप गर्न आयो ः
हाईगौलीको गावैसिरान  साई र चले बाज
मरिजाउँ त आन्न  काल भागी जाउँ त लाज

No comments:

Post a Comment