Saturday, March 7, 2015

पूर्णविराम दाइ

धेरै भो, ब्लग अपडेट नगरेको पनि । किन हो कुन्नि, मन पनि छैन । कहिलेकाहीँ अराजक भइदिन्छ आफ्नो भन्नलायक यो एउटा मन पनि ।
किन हँ ?
थाहा छैन ।
अँ, धेरै भो नलेखेको । रोटीकारितामा नअटेकालाई ब्लगमा भनेर यो चौपारी कल्पेथेँ । तर वचनको पक्का हुन सकिनँ । ‘हटारु’मा दुईचार थान रोटीकारिताकै पारेर अन्याय गरेको छु ।
सो सरी है, मेरा प्रियजन । माफ पाम् ।
पूर्णविराम दाइसित भेट नहुँदो हो त सायदै लेख्थेँहुला । र, भेट सायदै हुन्थ्यो ।
ठुस्सिएको यो अराजक मन एक तालले बग्दैन । बेलगाम छ । कहाँ खोजेको कहाँ बगिदिन्छ, बर्खामासको खहरेजसरी । त्यसलाई बाँध बाँधेर तह लाउने कला मसँग छैन ।

अँ, फागुनको अन्तिम आइतबार साँझपख ।
सुनधारानेर भीडमा पूर्णविराम दाइसँग अनायास भेट भो। दुवैजना आश्चर्यचकित। भेटघाट । फोनफान नै नभएको वषदिन पनि काटिसकेको हुँदो हो भन्छु।
रोल्पाका गाउँघरतिर एक चिलम कक्कर खाने बहानाजस्तै चियाको बहानामा बसियो। दुईचार बात मारियो, सुकमदुखमका।


अंग्रेजीको तिर्खा बोकेर कीर्तिपुर पस्दा, लेखक भइटोपल्ने सपना बोकेर काठमाडौं छिर्दा पूर्णविराम दाइ दामा रहदा सुनेजस्तै चर्चामा थिए। उनका कविता चर्चामा थिए। काठमाडौंका प्रगतिवादी कवितामा कृष्ण सेन इच्छुकसँगै थिए। म उहाँहरुका फ्यान रोल्पादेखि नै थिएँ नै।
काठमाडौंमा छिरेपछि पनि दाइको कहिल्यै पनि समीप भइन। भन्छन्, मन पर्ने मान्छेका नजिक नपर्नु। न्जिक परेपछि उसका सबैथोक थाहा पाइन्छ र बितृष्णा बढ्छ। यै भनेर त होइन तर यस्तै संयोग परेर अहिलेसम्म मनु ब्राजाकीलाई भेटेको छैन, उनका तराई जीवनका ती पुराना कथाका म जबर्जस्त फ्यान हुँ।
समीप नभए पनि खै कसरी कसरी ममाथि दाइको सद्भाव रहिरह्यो।
यसका कारणमध्ये एक थियो (मलाई यस्तै लाग्छ है), एकै मौसममा मामाघर बसेका थियौं। प्रियजनका करबलले घर फर्किएथ्यौं। दाइकै निहँुले (होला), मामाघरबाट फर्काउन मलाई पनि प्रियजनले बहुत करबल गरेछन्।
ओ मेरा प्रियजन! धन्यवाद। (योबाहेक के छ र दिनलाई मसँग?)
अँ, भन्दैथिएँ, भेट भयो पूर्णविराम दाइसँग। स्वास्थ्य, परिवारजनका हालचाल। औपचारिकताका जिज्ञासा थिए। त्यसपछि सिर्जनाकर्म र राजनीति।

‘ठीकै छ। कहिलेकाहीँ जनयुद्धले बल्झाउँछ,’ मामाघरको यातनाले बेसंचो दाइले सुनाए ।
मेरो रोटीकारितापछि दाइले मेरो लेखनकारिताबारे सद्भावसाथ दाइको जिज्ञासा थियो । भूँडी भर्दाभर्दै दिलकर्मले‘बोली बारेको दाइलाई सुनाएँ । रिसाए । दाइको रिसानीमा माया मिसिएजस्तो लाग्यो । एउटा अभिभावकको हकारजस्तो जस्तो लाग्यो ।
पत्रकारितामा लागेर सिर्जनकर्मलाई माया मारेका धेरै छन्, त्यसो गर्न हुन्न,’ दाइको आग्रह टार्न यसपालि पनि चार पैसाको दाँत देखाएर ङिच्च गरेँ ।
दाइको आग्रहँगै सम्झिएँ, घोराहीमा साथीभाइसँग भएको भलाकुसारी । घरबाट फर्कदा, यसै महिनाको दोस्रो साता टीकाराम उदासीले घोराहीमा भेटघाटको मेसो जुराएथे ।
धेरै समयपछि । संसाथी, अग्रज र नयाँ साथीसँग देखभेट भयो । सुखमदुखमका कुरा भए । दिल फुरु भो । के बोल्ने के बोल्ने मेसै नपाएर बिनापत्तै बाइलो पो बोले कि जस्तो लाग्यो । सोध्नुपर्ने । सोधेको पनि छैन ।
अँ, उनीहरुको आग्रह थियो –साहूकारिता गरेर हुन्न, सिर्जनकारिता गर्नु ।
घोराहीमै सपनाको एउटा याम गुजारेथेँ । क्याम्पस पढ्ने बहानामा दाङका सालघारी र फाँटका सुखदुख देखेथेँ । किन किन दाङ मलाई जन्मघर रोल्पाजस्तै लाग्छ ।
हो, घोराहीमा प्रियजनका आग्रहलाई टारेजस्तै पूर्णविराम दाइलाई पनि उही चार पैसाको दाँत देखाएर टारेँ ।
६ महिनाअघि नयाँ दिल्लीमा बरबर रावलाई भेटेको थिएँ । रावले कन्चनकुमारसँग नेपाल आउँदा सेन दाइसँग भेटेका, जनयुद्धबारेमा मीठो स्मृति सुनाएथे । अहिले उनीसहित पाँचजनालाई देशद्रोहको मुद्दा लागेको छ, काश्मिरको फैसला जनताले गर्न पाउनुपर्छ भनेकाले । राव र दाइको अनुहार नमिले पनि लेखनका भाँती मिल्छ । रावलाई भेट्दा दाइलाई सम्झिएथेँ । आज दाइलाई भेट्दा रावलाई । कस्तो मज्जा ।
हिजो विपदमा लेख्ने दाइ आज पनि उसैगरी लेखिरहेछन् नेताका अनुहार फेरिए पनि देशको अनुहार नफेरिएको, गरिब जनताको सपना नफेरिएको भन्दै। ऋनुहार नफेरिदै फेरियो भन्ने उनका हिजोका आफन्त आज पराइ भएका छन् । सचो बेसंंचो सोध्नेको घेरा पातलिएको छ। सबै शक्तिका पछि दौडेका छन् । उनी एक्लै लुखुरलुखुर हिंड्दैछन् जस्तो हिजो युद्धकालमा काठमाडौंका सडकमा हिंड्थे । जसको नाउँमा जसमाथि भर परेर लेखे उनीहरु फेरिए तर उनका लेखन फेरिएको छैन । उनको विश्वास फेरिएको छैन ।
त्रिपुरेश्वरबाट फर्केको । मेरो कविता अब डिभिडीमा आउँदैछ । यसकै तयारीमा छ ु। अहिले मसँग भए दिनेथिएँ,’ यति भनेर उनले के सम्झेजसरी भने, ‘ए, गुगलमा जानु । त्यही छ नि ।’
(साहूको घर आएँ । पूर्णविराम क्लिक गरेँ । भेटेँ ।)
चिया गफमा माओवादीको चालामालाप्रति गुनासो गरे ।
‘सेनजी खेर जानुभयो । यस्तो देख्नु रहेछ र बाँचिएछ,’ दाइले चुरोटको धुँवा आकाशतिर फाल्दै भने । चुरोटको धु्ँवा जति माथि पुग्यो उनको आँखाले त्यै धुँवालाई पछ्याउँदै गयो। मानौं सेनको सपना त्यै धुँवासँगै उडिरहेछ, माथिमाथि आकाशमा ।
कुनै याममा प्रचण्डलाई नेपाली जनताले देख्न पाउनुपर्छ भनेर महान् बनाएर कविता लेख्ने उनका नजरमा प्रचण्ड उसैगरी अडिएका थिएनन्। प्रचण्डको जीवनशैली, विचारमा आएको परिवर्तनलाई उनले स्खलन माने। माओवादीले गरिखाला भन्ने एकरत्ति पनि विश्वास देखिएन ।
‘कतिपयले मोहन बैद्य किरणलाई क्रान्तिकारी भनेको सुन्दा अचम्म लाग्छ,’ उनको गुनासो थियो । उनको नजरमा प्रचण्ड, किरण र बाबुराम भट्टराई एउटै ड्याङका मूला हुन् ।
उनका स्वाभाविक गुनासा थिए । जुन सपना उनेर स्कुले किशोर हिंडे, जुन सपना देखाएर गरिब हिंडे, नेताले कुर्सी पाउनेबाहेक तिनका जीवनशैलीमा के फेरियो र ? कुर्सीसँग निर्दोष जनताका सपना, रहर, तिर्सना साटेकोमा उनको घोर आपत्ति थियो ।
‘ज्ञवाली (ईश्वरचन्द्र)जी, बरालजी (्ऋषिराज) सित पनि भेट हुँदैन । ‘अलपत्र परेको युद्धको नतिजा यस्तै छ’ भन्ने कविता लेखेपछि सबै टाढिएका छन्,’ उनले भने ।
शान्तिप्रक्रियापछि माओवादीको सत्तोसराप हाल्नेहरु अघिअघि देखे । तिनका पछिपछि युद्धकालमा आफ्ना खुसी धरेका, रहर लुटाएका, परिवारका सदस्य गुमाएका, सबथोक सुम्पेकाहरुलाई देखे । नेताका अनुहार मुस्ता स्याउजस्ता र कार्यकर्ताका अनुहार उस्तै खपटे लागेको गाईको अनुहारजस्तो देखे । उनका आँखाले देखेको कत्रो विरोधाभास ।
न उनलाई मणि थापाले गरिखालान् जस्तो लागेको छ न त मातृका यादवले नै । चालामाला ती दुईका पनि देखेनन् गतिलो ।
एमालेले संवैधानिक राजतन्त्र मान्दा जाने ठाउँ एकताकेन्द्र थियो । तर यसपालि उनले कतै पनि देखेनन् । कतै भेटिन्छजसरी हेरे । भने, अब कहाँ जाने ? कहाँ छ र ?
साँझ पर्दैथियो ।
उही झोला । उही क्याप । उही चश्मा ।
दाइ सधैं यै क्यापमा किन भनेर एकपालि कोही साथीले सोधेको सम्झिएँ । उनको जबाफ सुनेर तीनछक्क परेका थियौं । उनको जबाफ थियो, ‘मनले नखाएकालाई देख्नबाट यसले छे्क्छ ।’
साँच्ची क्याप नहुँदो हो त केले छेक्थे होला हँ ? उहाँ बाटो लागेपछि साहूको घरतिर लागेँ सोच्दै कि कहिले आउला दाइको कवितालाई सलाम गर्ने पार्टी ? सलाम गर्ने नेता। र, जो जस्तो सपना देखायो त्यसलाई पूरा गर्न लाग्ने एउटा स्वप्निल यात्रा ।
जति नजिक पुग्दैगएँ साहूको घर, उति नै मामा घरको याद आयो । कहाँ मामाघर कहाँ साहूको घर । कहाँ पेटको नाउँमा समाचार कहाँ देशको नाउँमा सिर्जना । यो दिल र पेटबीच कत्रो विरोधाभास । बेतालसित बग्ने मनलाई थुनेर पेटको नाउँमा लेख्ने समाचार र सपनाका लागि लेख्ने कविताबीच कहिले होला मेल ? पूर्णविराम दाइको कविताको अनुहार र नेपाली जनताका अनुहार कहिले फेरिएलान् ?
जति साहूको घरनजिक पुगेँ उति नै मामाघरको याद बल्झियो । जहाँ संसारका सबैभन्दा विकट, सायद है, अनुभव बटुल्न पाएँ । धन्य, मामाघर ।

मामा घरको कल्पनै नगरेका ती निदोष अनुहार जो पलपल एक मुठी प्राणको भीख माग्थे ती नदेखेका तर सुनिएका अनुहारको याद आयो । म त मामा घर जानलाई कसुरदार थिएँ रे । तर जो मामा घरको कल्पनासमेत गरेका थिएनन् तिनले समेत पाए । माओवादीको नाउँमा तिनले खेपेका मामाघर कति महंगो होला ? तिनका कष्ट कति महंगो होला ? तपाईं कल्पना गर्न सक्नुहुन्छ ? अहँ । तिनका चित्कार तिनका अनुनय र मामा घरका मान्छेका व्यवहार ठीक विपरीत थिए । तपाईं कल्पना मात्र गर्न सक्नुहुन्छ मामा घरमा को को आए र त्यहाँ कस्तो व्यवहार गरिन्थ्यो । दाइले भनेपछि मैले मामा घर झलmभली सम्झिए । मामाघरमा मारिएका, बेपत्ता पारिएका, अगभंग पारिएका, बलात्कृतका सुनिएका अनुहार सम्झेर भरंग भएँ ।
उच्चारण त के कल्पनासमेत नगरेकालाई मामाघरमा सुन्दा र तिनका क्रन्दन अहिले पनि उकुसमुकुस हुन्छु । एकवारको जिन्दगीमा तिनले खेपेको मामाघर कति गाह्रो भयो होला ? सम्झेर पनि कहाली लाग्छ ।
सपना देख्ने याम खर्चेका स्कुले किशोर, बदला लिन गएका पीडित, परिवारका सदस्य गुमाएका जस्तै खाई नपाई छाला टोपी लाई भनेजस्ता मामा घरमा सुन्दा कति दुख लाग्यो कति । मामा घरबाट फर्कने अवसर पाएकाले सोचे होलान् बेकारमा दुख पाइयो, तर त्यो दिन देख्न पाइएला नि । तर आज नदेख्दा ती बेफ्वाकमा मामाघर जानेका मन कति चिरा फाटेको होला ? आफ्ना, रहर, परिवारका सदस्य, सपना, भविष्य नै सुम्पेकाका के कुरा ।
बेपत्ता पारियौं । रिहा भयौं । हाम्रा लागि पो केही मागेका थिएनौं तर देशले ? उनको कुरा सुनिइरह्यो ।

No comments:

Post a Comment