Saturday, March 7, 2015

बस फेरि गुड्न थाल्छ

‘फटाफट झर्नुस् ।’
खलासी र कण्डक्टरका आवाजसँगै यात्रु ओर्लन थाल्छन् । झोला, झिटीझ्याम्टा र कुम्लाकुटुरासहितका अनुहारका लाइन लम्बिन थाल्छ ।
अर्जुनखोला, भालुबाङ फेरि दोहोरिन थाल्छ ।
शाही डाक्टर आफ्नो जाँच्ने भाँडो बन्दुकले जाँच्न थाल्छन्ः
–मंगोल अनुहार । मुटुको धड्कन । अनुहार र शरीरका अंगमा खत । हात÷खुट्टा÷पाइताला÷कुहिना÷घुँडा गाँठा । मुलायम या कडा । झोला कुम्लाकुटुरा ।
संकटकालका डाक्टरले अस्पतालका सुइ लगाउने डाक्टरले जसरी सोधेका छैनन्ः
–खाना कत्तिको रुच्छ ? के दुख्छ ? के हुन्छ ? कतिखेर ज्वरो आउँछ ?
शाही डाक्टर सोध्न थाल्छन्– प्रचण्ड । बाबुराम । आतंककारी । कहाँ । को । कहिले । किन । कसरी ।
क्यै पनि सुनेका छैनन् । ‘बन्दुक’ झैं आफैं मात्र पड्किरहेछन ।
इमर्जेन्सी डाक्टरका आफ्नै भाषा छ । आफ्नै पारा छ । आफ्नै मर्जी । आफ्नै खुशी । आफ्नै मन ।

थप्न थाल्छन्– ढाँटिस् । पक्का होस् । ...नत्र को तेरो बाउ । ...देखाउँछु– परिचय पत्र । टावेल । फेर्ने लुगा । एउटा डायरी । बाटो खर्च । बसमा पढूँला भनी बोकेको सिमोन द बुवाको ‘दि सेकेण्ड सेक्स’ ।
‘दि सेकेण्ड सेक्स’ किताबको पाना फरर पार्दै डाक्टरसाप् जाँच्न थाल्छन् । मानौं किताबका पानामा अक्षर होइनन्, लाम लागेर आइरहेका प्रचण्ड र बाबुराम भट्टराई हुन् । सायद काफी नभएर हो कि ! डाक्टरसाप् सम्झी सम्झी सोध्न थाल्छन् ।
डाक्टसापलाई जचाउँदै मलाम हिंडेको मलामीझैं अगिअगि लाइन क्रमशः कमकम छोटिन थाल्छ । पारि (बस उभिएको ठाउँमा) पुग्न झरिरहेको झरीलाई घरी हत्केलाको छाता ओढाउँदै घरी सामान सम्हाल्दै घरी झोलाको चेन लाउँदै घरी कुम्लाकुटुरा सम्हाल्दै बस चढ्न थाल्छन् ।
‘जाऔं !’
खलासीले जाने संकेत गर्न बसमा दुई चोटि ढ्यापढ्याप पारेको आवाजसँगै बस गुड्न थाल्छ ।
‘पुसमा पनि कस्तो पानी परेको । मु ...पा ...’
निथु्रक्क भिजेको अनुहार हातले पुछ्दै खालि हुँदै जान थालेका सीट गन्न थाल्छ (कण्डक्टरले) – एक, दुई, तीन, ...!
‘आठजना राखेछ ।’
स्वाभाविक रुटिनझैं कण्डक्टरको मुखबाट बोली झर्छ ।
हेर्छु– सँगै बसेको एकजना गाउँले दाइ छुटेछन् । नजानिँदो अनुभूति हुन्छ । झन् निन्यास्रो लाग्न थाल्छ ।
भन्दैथे– ललितपुरको हरिसिद्धी जाने, इट्टा बोक्न । नाइके (काम गर्ने मान्छे लैजानेवाला, ठेक्दारजस्तै)बाट छ सय बयाना (अग्रिम पैसा लिनु, काम गर्न जानलाई पक्कापक्की गर्ने पैसा जो पैसा काम गरेर कटाउनुपर्छ) लिएका थिए रे । बसमा जाँदाजाँदै डाक्टरले राखे भने त्यो पैसा कसरी तिर्लान् ? केले फेर्न फर्काउने कपडा बनाउलान् ? के खालान् घर जहानले ?
सबका आ–आफ्ना जरुरी काम–राजधानी जानुका । कोही विरामी कोही काम गर्न, कोही केही काम कोही केही....।
जति बस गुड्दै जान्छ उति गुञ्जदै आउन थाल्छ । डाक्टरसित गरेको गाउँका अबोध अनुहारका अनुनय– म त गौ परानी साप् ! मेलापात, उकालीओरालाी गर्नुपर्दा यी कुइना, घुँडागाँठा, पाइताला, शरीरमा खत बसे । .... अहँ जिउ ‘मयालो’ (मुलायम) हुने रै’न छ साप् । मयालो शरीर, घाउ, खतबिनाको जिउमा बाँच्ने रहर त यो ‘चाँनो’ (निधार)मै काँ लेख्याँ रै’छ र भावीले (भगवान्) !
फेरि हेर्छु बसमा – भयले ढलेका आँखा बोल्न थाल्छन् –बसको गुडाइसँगै ।
यी डाक्टरले आफ्नो मर्जीअनुसारको तक्मा भिराउँछन् ।
यी डाक्टरले मर्जीअनुसारको प्रेसक्रिप्सन लेख्छन् ।
डाक्टरका मर्जी नै संविधान । मनमा जे लाग्यो उही कानुन । ........।
हेरिहेछन् संत्रास र भयका गोलीले ठहरै भएका आँखाले एकअर्कालाई निरन्तर । मानौं यसरी कहिल्यै भेटिइन र हेर्न पाइने छैन ।
(यस्ता दृश्य छन् बसमा –मानौं एउटा पल्टन छ – हारुवा सिपाहीका । जोसित न हतियार न .....। केही छैन । तर जितेको सिपाहीले लगिरहेछन् – (थाहा छैन कसैलाई पनि) मार्नलाई हो या युद्धबन्दी बनाउन । र, अब के हुने हो भन्ने भय र त्रासले थला परेका छन् हारुवा सिपाही । अझ यस्तो पनि लाग्छ – मानौं मनले हारिसकेको कुनै लडाइँमा गइरहेछन् (तर सिपाही होइनन्) । फेरि फर्किएला या नाईं । फेरि भेट होला कि नाईं । मारिएँ भने घरमा कति बिचल्ली होला । आदिआदि कल्पनामा चुपचापचुपचाप डुबेका निरीह सिपाही निरन्तर गुडिरहेछन् । तिनका जम्मै अधिकार खोसिएको छ । सिर्फ मान्छेको आकृति उभिएका छन् । तर न यो कुनै अठारौं शताब्दीको देश र त्यहाँका जनता न त .....! छाम्छु – एक्काईसौं शताब्दीको देश नेपाल र नेपालको प्रजातान्त्रिक शासन प्रणालीका शेरबहादुर देउवाको शासनमा शासित ‘सार्वभौम सत्तासम्पन्न नेपाली’ ।)
– तलमाथि भइफाल्यो भने के होला घरमा ?
– इट्टाभट्टामा पुगिन भने कसले देला यो बयना ?
घरमा कस्सैगरी भए नि सनिस (खबर) पठाइ दिए है ।
केले ?
बसमा बत्ती ननिभ्दासम्म आशंकाका आँखाले यसैगरी भनिरहे ।
पुसको महिना । बादल निरन्तर रोइरहेछ ।
झरीले भिजे या चिसोले या भयले ?
निदाएका छैनन् । निदाएको स्वांग मात्र पारेका छन् ।
निराशाको एक पाथी सास फालेको सुनिन्छ बसको गुडाइसँगै । चिसो झरीमा झरेको अँध्यरी रातमा बससँगै गुड्न थाल्छु ।
‘ल, झर्नुस् !’
फेरि ओर्लन्छौं –झरी र चिसोमा निंदनिदै ।
यतिखेरसम्म छ÷सात ठाउँमा डाक्टरले जाँच्दाजाँच्दै एक चौथाइजति सीट खाली भइसके । बचेका पनि काठमाडौं पुग्ने नपुग्ने दोसाँधमा ढल्दैउठ्दै रोइरहेका बच्चा उठाउँदै निस्कन थाल्छौं ।
यसैबीच आवाज झर्छ –झोला पर्दैन । खाना खानलाई हो ।
ओर्लेर पानीलाई पन्छाउन हत्केलाको छाता ओढ्दै हेर्छु । रहेछ – गोरुसिंगे । घडी हेर्छु – रातको पौने एक !
उसैगरी झरिरहेछ बादलको आँसु । झन् चिसो । यात्रु खाना खाने टेबलवरिपरि छरिए । भात टेबलमा छ । तर मान्छे ? झोक्राइरहेछन् ।
झरीमा लाइन लाग्दालाग्दै निथ्रुक्क भिजेका छन् । झरीले हो या डरले लगलग काँपिरहेछन् ।
‘आज रेडियोले कतिजना मारेको फुक्यो हँ ?’
इशाराले सोधासोध गर्दै स्वाभाविक प्रश्न टेबलमा खसाल्छन् ।
निंदनिँदै रोएका बच्चाका चित्कारले फेरि वातावरण फेरि नजाँनिदो गरी असजिलो भइदिन्छ ।
‘ढ्याऽऽऽ ढ्याऽऽऽ’ खलासीले ‘जाऔं’ भनेको इशारा आवाजसँगै बस गुड्न थाल्छ– झरीमै ।
हाम्रो नाइट बस । घोराही–काठमाडौं ।
फुटेर सिसाको झ्याल ‘पौने’ मात्र बचेको छ । हावाको थोरै आग्रहले नि पुसको पानी सीटमै भेट्न आइरहेछन् । चिसो मौसम । उसैमाथि झरी ।
नाइट बसको यात्रा –संकटकालमा । चिसोले घुँडागाँठा पनि पसाङ्गिएको छन् ।
‘मानिसले भरिभराउ भए नि अलि तातो हुन्थ्यो कि !’
विडम्बना ।
डाक्टरले जति धेरै ठाउँमा जाँच्छन् जति अस्पताल आउँछ उति झन् झन् रित्तिन थालेको छ बस ।
पुसको आकाश झनै दर्केर रुन थालेको छ । तर ती जम्मै चिसोले भन्दा पनि भय र सन्त्रासको गोलीले ढलेका छन् यात्रु ।
र, बससितै भय र आतंकको झरीमा गुड्न थाल्छौं फेरि ।
गाडीभित्र बत्ती बल्छ । अनायास आँखा झोलामा पुग्छ । चेन त बिग्रिसकेछ । प्रत्येक ठाउँमा झोला खोल, कुम्लाकुटुरा लथालिंग पार, शरीरभर नै जचाऊ । यसरी खोल्दाखोल्दै कामै नलाग्ने गरी विग्रिसकेछ चेन पनि ।
सम्झन्छु – कुन्साङ काका (खगेन्द्र संग्रौलाको मुखपात्र)को झोलाको चेन र झोला यसैगरी बर्बाद भयो होला । तर थाहा छैन । यसरी झोला र चेन बर्बाद हुँदाखेरि कति धेरै चेलीको मन फाटे होलान् । कति धेरै बहिनीको सिउँदो उजाडिए होलान् ? कति आमाका काख उदासिए होलान् ? कति प्रियजनले बेकसुरै अस्पताल (!?) मा गोली खाइरहेका होलान् ?
कुन्साङ काका पो राजधानीमा थिए । गनिएका लेखक थिए । पहुँच थियो । र, पो पत्रिकामा लेखें । अनि थाहा भयो ।
तर सर्वसाधारणका ?
निश्छल गाउँका बहिनीहरु, निर्मल गाउँका संगीहरु कति कहाँ बेखबर होलान् ! ती अबोध नाम जप्दाजप्दै चिसो झरीको संगीतमा मन पनि कठांग्रिन्छ ।
बसको ब्रेकसँगै झस्कन्छु – बत्ती निभिसकेको छ । यात्रु निदाएका छन् या निदाएको स्वाङ पारिरहेछन् ? थाहा छैन । तर आकाश रोएको आवाज भने निरन्तर आइरहेछ ।
‘ल, आ–आफ्ना सामान लिएर फटाफाट !’
कण्डक्टरले आवाजले झस्कन्छु । हेर्छु –बत्ती बलेको छ । झरी उसैगरी झरिरहेछ । सुइसुइको संगीतमा हावा पनि हुइकिरहेछ ।
बिरामी, बुढाबुढी, बच्चाहरु निंदनिदै चिसोमा रोएको नमिठो अनुभूतिसितै ओर्लन्छ ।
पुसको झरीमा लाइन लम्बिदै छ । अगि पनि पछि पनि बसका ताँती छन् । झरीका चिसोले रोएको बच्चाबच्चीका, बुढाबुढीहरुका रुवाइले वातावरण झन् असहज भएको छ । जंगलबीच लेखिएको छ – चेकपोष्ट । चितवन ।
घडी हेर्छु– रातको अढाइ बज्न लागेको छ ।
पुसको झरीमा लाइनमा छौं । निथु्रक्क भिजेको छ जिउ । फेरि भिज्न थालेको छ ।
‘बम बोकेर माओवादी यसरी बसमा आउँदो हो त ?’
‘यसरी किन दुःख दिएको होला ?’
‘यसरी पनि आतंककारी भेटिन्छ ?’
‘इमर्जेन्सी डाक्टरले आतंककारी भेटे ?’
(अनुत्तरित ।)
मनका खसखस बाहिर पोख्न हुँदैन । सोध्न हुँदैन । आफैसित पनि सुस्तरी सोध्नुपर्छ ।
फेरि दोहोरिन्छ – अर्जुनखोला, भालुबाङ, बर्दघाट ....।
अनुहार नापिसकेपछि, झोला र शरीर जाँचिसकेपछि पनि फेरि डाक्टरसाप् सोध्छन् –
के छ झोलामा ?
टाउको ।
मनमनै भन्छु ।
पचास लाख ।
भय र संत्रासबीच नै झोला र सामान सम्हाल्ने असफल प्रयास गर्दै बस भेट्न हिंड्न थाल्छु – त्यै झरीमा ।
बस गुड्छ ।
कण्डक्टर गन्न थाल्छ –...आठ, नौ, दस, एघार ।
‘एघार जान राखे छ ।’
कण्डक्टरको स्वाभाविक आवाजसँगै हेर्छु असहज भएर ती खालि सीट ।
के यी गाउँका अबोध नाम बाबुराम नै हुन् ? प्रचण्ड नै हुन् ?
निथु्रक्क भिजेको कमिज निचोर्छु । कपाल पुस्छु । बत्तीको उज्यालोमा झोला र बिग्रेका चेन हेर्छु ।
झोलामा टाउको लिएर आउनु, त्यै झोलाभरि पचास लाख लिएर जानु ।
गृह राज्यमन्त्री देवेन्द्रराज कँडेल नाउँमा जारी फुरमान रेडियोले भनेको सम्झन्छु ।
पचास लाखमा टाउको किनेर सुन्दर शान्त नेपाल बनाउने सुन्दर सपना ।
झोला नियाल्छु – झोलामा टाउको । पचास लाख ।
सम्भव छ ?
आर्फैलाई सोध्छु – साँच्ची यस्तो खोले झोला जहाँ टाउको राख्न सकिन्छ । पचास लाख राख्न सकिन्छ । त्यति कीमती झोला कसको, कुन, कहाँ, पसलमा पाइएला हँ ।
गम्छु ।
एक्काईसौं शताब्दीको आइडिया हो यार । उहिलेको हो र ?
स्वघोषित प्रजातान्त्रिक राज्यसत्तालाई धन्यवाद दिन्छु ।
बस झरीमै गुडिरहेछ । चितवनदेखि बसको ताँती हेरिनसक्नु गरी लम्बिएको छ । बस जति गुड्दैछ उति सिट रित्तिन थालेको छ ।
के भो ? किन ? कसरी ?
प्रश्न गायब छन् ।
धादिङमा पुनः दोहोरिन्छ । उही झरीमा ।
उज्यालो हुन थालेको सिर्सिरे हावाको संगीतमा नागढुंगाको उकालो चढ्न थाल्छ– बसले । चिसो झरी, भय, संत्रासले ठहरै भएका बचेजति हामी पनि गुडिरहेन्छौं– बसको पांग्रासँगै ।
दाङको बस रुक् ।
बाहिरबाट आएको डाक्टरको आवाजसँगै हडबडाएर बोल्छ– लौ फटाफट !
खलासीको आवाजसितै बचेजति ओर्लन्छौंं ।
पुसको झरीमा बिहानपखको थानकोटको चिसो बतासमा । चिसोले मुटु नै हल्लिरहेछ । रातभरको चिसो झरी र भयले ठहरै भएको जिउ ठहर्न सकेको छैन । बच्चाबच्ची र बुढाबुढीका रुवाइले फेरि वातावरण नजानिँदोगरी भावुक भएको छ ।
फेरि दोहोरिन्छ– उही प्रक्रिया ।
त्यसपछि ?
हेर्छु, बढेछन खाली सीट ।
साँच्ची छुटे जति जम्मैले घर फर्कने मौका पाउलान् ?
गम्दैगम्दै चिसोमा गुड्छु बससँगै
ू१ू
पुस ३ । इमर्जेन्सी । इमर्जेन्सी डाक्टर । इमर्जेन्सी अस्पताल ।
बस चढ्छु, दाङ फिर्न ।
–कमसेकम काठमाडौं आएर मैले त आफ्नो जरुरी काम गर्न पाएँ । तर दाङ पुगिन्छ कि नाइँ ?
मनमा भय र संत्रासभित्र अपसगुन सोंच पनि धुम्धुम्ती उभिएको छ । अस्पतालबाट छुटेका या मरेका कुनै पनि नाम पढेको छैन, रेडियोले । सायद रेडियोबाट ‘नाम’सम्म फुक्ने सौभाग्य पनि पाएनन् कि ।
सायद संकटकालको आकाश पनि मलाम गइरहेछ या उसको प्रियतम मारिएको छ । त्यसैले भक्कानिएर रोइरहेछ ।
अस्ति दाङबाट आउँदाखेरि पनि झरी थियो । आज फर्कंदा पनि ।
आफैलाई सोधिरहेछु– साइत प¥यो कि कुसाइत हँ ?
बसमा चढेको यात्रुका अनुहार उस्तै पढिनसक्नुका छन् । (थाहा छैन, कस्तो छ मेरो अनुहार ?) उसैगरी ढलेका अनुहार । बिग्रेको झोला । संत्रासले उदासिएका बनपाखा । कहिलीकसो अनुहार हेर्ने खोला र पोखरी पनि रक्ताम्यै छन् ।
– ल, फटाफट सामान लिएर ...।
फेरि आवाज आउँछ खलासीको ।
दोहोरिन्छ उही प्रक्रिया ।
फेरि आवाज आउँछ ।
उही दोहोरिन्छ ।
फेरि आवाज आउँछ ।
फेरि ।
क्रमशः सीट खालि हुन थाल्छन् ।
– आँखा पनि नभएका कान पनि नभएका डाक्टरले जाँचिरहेछन्÷नापिरहेछन् ।
सँगै बसेको यात्रु सुस्तरी भन्छन्, आफैले मात्र सुन्नेगरी ।
–के भर यो सीट पनि खालि हुन । डाक्टरको मर्जी भए काफी ।
झस्कन्छु, मुसोले बोलेजसरी झरेको उनको बोलीसँगै ।
फेरि बस गुड्न थाल्छ ।
पुसको झरीमा । भयावह रातमा । जिन्दगीको बस भयावह कुहिरोमा अत्तालिएर कहाँ गुडिरहन्छ र ? एउटा नयाँ यामको आशमा बससँगै गुडिरहेछु पुसको झरीमा । सोच्दै कि– कतिखेर फेरिएला हाम्रा अनुहार खुसी, उमंग र नयाँ जिन्दगीका अनुभूति फुलेका नयाँ मुहारमा जहाँ मान्छेले जस्तै बेरोकतोक हिंड्न पाइयोस् ।
from Rat Pani Eithan Pareko Rat [Nibandh Sangrah]

No comments:

Post a Comment