Saturday, July 23, 2016

मन पोल्ने डरले डा.केसीलाई आमाले भेटेकी छैनन्

स्वेच्छा राउत
बुढेसकाल लागेर होला, टाउकोमा केही मात्र झर्न बाँकी कपाल थिए। चाउरिएको अनुहार। निधारमा भगवानप्रतिको आस्था प्रष्ट झल्कने चन्दन। सानो कद त्यसमाथि कुप्रिएको शरीर। यस्तै देखिन्थिन् मित्रकुमारी खत्री, १४ दिनदेखि आमरण अनसन बसिरहेका डा. गोविन्द केसीकी आमा। बस्दाबस्दा घुँडा कुँजियो रे। त्यसैले हामी पुग्दा उनी घरको छतमा बिस्तारै हिँड्दै थिइन्।

अनसन बस्नु दुई दिनअघि डा. गोविन्द केसी पनि आमालाई भेट्न धुम्बाराहीस्थित आफ्ना कान्छा भाइ सुरेश केसीको घर गएका थिए। ‘आमा, फेरि अनसन बस्न पर्ने अवस्था आएको ,' यति भनेर डाक्टर केसीले टाउको फर्काएर निकै बेरसम्म आँसु पुछे। , थप केही नबोली उठेर हिँडे।

आमालाई सञ्चो नहुँदा हेर्नुपर्नेमा आफै थला परे सरह भएर बस्न पर्ने भयो भनेर छोराको मन दुखेको होला,', त्यो क्षण सम्झेर आमा एकछिन् भावुक भइन्। भनिन्, ’सानैदेखि डाक्टर बन्छु भन्थ्यो। बन्न बन्यो नि। तर डाक्टरले मान्छे जँचाएर मात्र नहुँदो रैछ।
-
आमा, गोविन्द सर किन अनसन बस्नुभएको थाहा ?

प्रश्न सोध्दा निकै ढुक्क भएर जवाफ दिइन्था नि किन नहुनु।‘ उनले बुझाइन्, ' देशको सबैको उपचार राम्रो होस्, कसैले पनि उपचार नपाएर मर्न नपरोस्, भ्रष्टाचार नहोस् भनेर।
छोरा भोको बसेको खबरले दुखाउँछ
अहिलेको अनसन आठौँ हो। पहिलो पटक डा. गोविन्द केसी अनसन बस्दा आमा गाउँ दोलखामै थिइन्। समाचारमा छोरा भोको बसेको खबरले खुब मन दुखाउँथ्यो। तर अब छोराको मागको महत्व बुझिसकिन्। उनलाई छोराको स्वास्थ्यको पिर लाग्छ, तर यसो नगर बाबु भन्नै सक्दिनन्।

सुनाइन्, ’उसले आफ्नो लागि मात्र होइन। मेरो लागि पनि हैन, सबै जनताको लागि राम्रो होस् भनेर बसेको। मलाई केको पिर? उसले चिताएको कुरा चाहीँ पूरा होस्, मेरो कामना यति।‘ 
आमा, हजुर नरुनु है
डा. केसीले पनि  ‘मलाई केही हुँदैन, हजुर नरुनु हैभनेर आमालाई धेरै पटक सम्झाइसकेका थिए।उनलाई छोरा भेट्न जान मन लाग्छ। तर फेरि छोराकै मन पोल्ला भन्ने डरले जान सक्दिनन्।

चरिकोट जिरीमा स्कूल पढेका गोविन्द केसीको सानैदेखि डाक्टर बन्ने लक्ष्य थियो। एसएलसीपछि काठमाडौं आएर पढ्न थाल्दा उनकी आमा निकै खुशी भइन्। त्यसको वर्षपछि हुर्किँदै गरेको छोरो बाङ्गलादेश जाने कुराले उनी अलिकति आत्तिइन् पनि। तर नेपालमै हुँदा पनि छोरा घरमा बसेन, १२ वर्ष मामाघर बस्यो। झन् यो पटक डाक्टर पढ्न बाहिर जाने। उनको चाह थियोछोरा डाक्टर बनोस् भन्ने।

भनिन्, ’जाओस्, आँटेको काम पुगोस् भनेर सधैं कामना गरे।
ज्योतिषको भविष्यवाणी गलत 
आमाले गोविन्द केसी सानो छँदाको निकै रमाइलो घटना हामीलाई सुनाइन्।

गाउँमै एकजना ज्योतिष थिए। सबैले उनलाई हात देखाएर भविष्य बारे सोध्थे। एकदिन गोविन्द केसीले पनि देखाए। उनलाई ज्योतिषले भने,'पढ्न यो केटाले कोसिस गर्छ। तर सक्दैन।'

 
त्यति भनिसक्दा उनले रिसाएर भने,'यो मान्छेले पढ्न जानेको भए किन केही नगरी अरुको हात हेरेर बस्छ? पढ्छु यो भन्दा ठूलो मान्छे बनेर देखाउँछु।'

नभन्दै केही वर्ष अघि उही ज्योतिष घुँडाको समस्याका कारण टिचिङ अस्पताल आए। उनको उपचार उनैले गरेर पठाए। गाउँमा गएर भने रे, ’त्यो केटोले डाक्टर बनेर देखायो।

डाक्टर केसीकी आमालाई पनि पाठेघरको रोगले समातेको रहेछ। उनलाई धेरै पटक छोरा डाक्टर हो, मेरो उपचार गर्छ जस्तो लागेको थियो। तर आमाले पछि मात्र बुझिन् छोराले पढेको विषय अर्कै हो आफूलाई जँचाउन मिल्दैन भन्ने। तर हरेक पटक आफ्नो उपचार गर्न जाँदा छोराले पहिले नै फोन गरेर अरु डाक्टरलाई आफू चिनाएको सम्झेर आमा निकै दङ्ग परिन्।
मेरो जेठो छोरोले जित्छ
आमा खुशी छिन्, छोराले अरुको लागि गरेको त्यागको लागि। उनी छोराको अनशनलाई तपस्या मान्छिन्। आमा आशा गर्छिन्, माग चाँडै सम्बोधन हुन्छ भन्ने। १४ दिन भइसक्यो छोरो भोकै भन्ने सम्झँदा आफूले सानो हुँदा त्यही छोरोलाई ख्वाएको सम्झिन्छिन् उनी।

आमालाई लाग्छ राम्रो काम गर्नेको जित हुन्छ। निकै भावुक भएर उनले भनिन्, ’मेरो जेठो छोरोले पनि जित्छ। आफ्नो लागि मात्र होइन, सबैको लागि। सबै बिरामीको लागि। मेरो छोरो जस्तै डाक्टर बन्ने सपना देखेकाको लागि।'
 from philopost

No comments:

Post a Comment