Wednesday, April 17, 2019

‘म त दिनदिनै आमा भएको अनुभूत गर्छु’

भृकुटीमण्डपस्थित शारीरिक पुनस्थापना केन्द्रमा नक्कली गोडा बनाउदै गरेकी २६ बर्षीया रमिला गोले एक क्षण रोकिइन्। एक झमट उनका आँखा दराज र र्याकमा राखिएका नक्कली गोडामा नाँचे। र, फेरि बोल्न सुरु गरिन् उनी। ‘मैले बनाएको गोडाले कुनै अपाङगता भएको व्यक्ति हिँडेको देख्दा जहिल्यै मेरी छोरीले नै पहिलो पाइला चाले जस्तो लाग्छ।’
लोअर लिम्ब प्रोस्थेटिक्स टक्नोलिष्टको रुपमा पाँच बर्षदेखि कार्यरत छोरीकी आमा गोलेले अहिलेसम्म धेरैको गोडामा आफ्नै छोरीको पहिलो पाइला देखेकी छिन्। उनले बनाएको गोडाले पहिलो पाइला नाप्दै कति त खुशीले रोएका पनि छन्, उनकै अगाडि। ‘उनीहरुको धन्यवाद र आशिर्वाद मेरा लागि लाखौं लाख हो’ उनले भनिन्, ‘कुनै कुनै काम अलग हुन्छन् तर सन्तुष्टि दिन्छन्।’
उनले भारतको बंगलोरमा नक्कली गोडा बनाउने शिक्षा लिएकी हुन्। पढाइ सकेलगत्तै नेपाल फर्केर केन्द्रमै गोडा बनाएर हिँडाउनमै उनको समय बित्छ। गत बर्षको भुइँचालोले उनको व्यस्तता थपेको छ।
हिँडाएका थुप्रै मान्छेका अनुहार आँखामा उन्दै आफूले बनाएको पहिलो गोडाले हिँडेका ७२ बर्षीय एम. डी. मुनिलाई सम्झिइन् उनले। दुर्घटनामा गोडा गुमाएका भारतीय नागरिक मुनीको गोडा दुईचोटि बनाएपछि बल्ल फिट भएको थियो। कृषक मुनीले नक्कली गोडामा हिँडेपछि भनेका थिए, ‘तिमी मेरी छोरीजस्तै हौ। छोरीले बनाएको गोडाले हिँड्न सक्ने भएँ म। तिमी त अर्को देशकी रहिछौँ। नेपाल फर्केर मजस्ता धेरैका सेवा गर्नु है।’
नेपाल फर्केपछि पहिलोपालि २५ बर्षीया मनमाया श्रेष्ठका लागि गोडा बनाएकी थिइन् उनले। डाइबेटिजले गोडा गुमाएकी काठमाडौंकी मनमाया गोडाले हिँड्दा धेरै रोएकी थिइन्। ‘आफ्नो गोडा त गइसक्यो, यसले (नक्क्ली गोडा) के हुने हो र? भन्दै रोइन्,’ गोलेले मनमाया सम्झिइन्।
गोडा गुमाएपछि फेरिएको जीवनशैलीबाट आत्तिएका प्रायः सबै रुन्छन्। आफ्ना कुरा भन्दै रुन थालेपछि तिनलाई हस्तक्षेप गर्नु हुँदैन। रोएर आफ्ना बह पोखेपछि मात्र गोले र र उनका साथीहरु बल्ल सम्झाउँछन्। ‘दुनिया हेरी मन बुझाउनुपर्छ। सबै सामान्य बन्दैजान्छ’ गोलेले यस्तै यस्तै भाव र शब्दमा पीडितहरुलाई सम्झाउँछिन्।
उनले सम्झाउँदा र बिकलांगका कुरा सुनेर मन पग्लिएका अरु घटना पनि सम्झिइन्।
घरको वातावरणले पनि उनलाई नक्कली गोडा बनाउँदै बिकलांगसित कुराकानी गर्न र तिनका अनुभूतिलाई आत्मसात गर्न सहयोग गरेका छन्। १० बर्ष लामो द्वन्दमा उनकी बहिनी नमूना र पति चित्रबहादुर घर्ती मगरले आफ्ना एक–एकवटा हात गुमाएका छन्।

आफूले गोडा बनाएर हिँडाएका भुकम्पपीडित ५२ बर्षीय गुल्मेली गोपाल अर्याललाई पनि कहिल्यै विर्सन सक्दिनन् उनी। पढेलेखेका अर्याल मोटाघाटा थिए। चार छोरी र आठ÷नौ बर्षका एक छोराका पिता थिए। सधैँ उपचार गर्नुपर्ने रोगबाट छोरा ग्रसित भएको बेला गोडा गुमाएपछि विक्षिप्त गोपाललाई सम्झाउन हम्मे परेको थियो उनलाई।
उनले हिँडाएका मध्ये सबैभन्दा बढी कम उमेरका थिए, भुकम्पमा गोडा गुुमाएका निमा रुम्बा। स्वयम्भु घर भएका १६ बर्षे रुम्बालाई बचाउन जाँदा उनका दाजु किचिएर मरेका थिए। ‘दाइ त मरे, म किन बाँचे र मैले किन उपचार गर्ने भन्दै एक्साइज गर्न नै मान्दैनथे,’ बिस्तारै उनले हिँड्ने अभ्यास पनि गर्न थालेपछि सुधार भएको र यसपालि एसएलसी पनि पास गरेको सम्झेर खुसी हुँदै उनले भनिन्।
उनले ४६ बर्षीय तेम्बा तामाङको पनि गोडा बनाइन्। रसुवाली तामाङले जति सम्झाए पनि मान्दैनथे। सर्जरी गर्दा धागो छुटेकाले उनको गोडा नैै पाकेको थियो। पछि राम्ररी हिँड्न सक्ने भएर घर फर्किए।
पाँच बर्षको अवधिमा गोले चालीस भन्दा बढी गोडा बनाउन सलग्न भइन् जसमध्ये पाँचसातवटा त उनी आफैँले बनाइन्।

नक्कली गोडाले बिकलांगलाई हिँड्न सघाए पनि समाजमा हिजोको ‘स्टाटस’ नदिएको गुनासो उनले सुनेकी छन्। ‘बाहुन, क्षेत्री र नेवार समुदायमा नक्कली गोडा लगाएपछि टीका लगाउन र पुजामा जान नदिएका गुनासा सुनेकी छु’ गोडा गुमाएपछि घर परिवारको सहयोग त परै छ, जीवनसाथीले समेत छाडेर हिँडेका खबरको सन्दर्भ जोड्दै उनले भनिन् ‘ यस्ता गुनासाहरु साह्रै नमीठा लाग्छन्, सुन्न नपरोस्।’
गोडा बनाउन आउँदा पुरुषलाई देखाउन र भन्न सकस भोगेका थुप्रै बिकलांग महिलालाई उनले भेटेकी छन्। ‘शरीरका अंग देखाउनुपर्ने र भन्नुपर्ने हुन्छ। यस्तो ठाउँमा यस्तो भएको छ भनी भन्न र देखाउन पनि हाम्रा दिदीबहिनी लजाउँछन्,’ महिलाले आफूसित आफ्ना कुरा भन्न सजिलो अनुभूत गरेको प्रसंग सुनाउँदै उनले भनिन्।
कतिसम्म लाज मान्छन् र महिला सेवाबाट बन्चित हुन्छन् भन्ने उदाहारण दिन उनले गोर्खाकी भूकम्पपीडित दुर्गादेवी गुरुङको प्रसङ्ग सुनाइन्। ५७ बर्षीया गुरुङले उनीजस्तै महिला रमिलालाई समेत गोडा काटेको भाग देखाउन र आफ्ना कुरा भन्न अप्ठेरो मानिन्। ‘कपडा अलिकति माथि सार्न पनि अप्ठेरो मान्नुहुन्थ्यो जब कि उहाँको घुँडाभन्दा लुगा नलग्दासम्म गोडा गएको नै थाहा हुँदैनथ्यो,’ साडी र लुंगीबाहेक अन्य लुगा कहिल्यै नलगाएकी गुरुङलाई हाप्पेन्ट वा कुर्ता सुरुवाल लगाए सजिलो हुने सुझाव दिँदा नमानेको स्मरण गर्दै गोलेले भनिन्, ‘महिला नहुँदा महिला विरामीले आफ्ना कुरासमेत भन्न सक्तैनन्। त्यसैले पनि सही सेवाबाट बन्चित हु्न्छन्। तर महिला नै भए आफ्नो गोपनीयता सुरक्षित भएको महसुस गर्दारहेछन्।’

    प्रकाशित २ मंसिर २०७३, बिहिबार | 2016-11-17 18:24:53

    No comments:

    Post a Comment