Tuesday, April 9, 2019

चिहानभित्र चलिरह्यो घडी

चिहानभित्र चलिरह्यो घडी
author-image
नवीन विभास
फुर्सद
 ०२ भदौ २०७५ १६:५५:००
  • change font
  • change font
  • change font

कुइनेटो

पुलिसचौकीमा तारिख थाम्न गएर पूर्वी रुकुमका एक युवा घर फर्केनन्। माओवादी ‘जनयुद्ध’ उकालिन थालेको त्यो याममा उनको ‘जिउँदो’ वा ‘मरु’ खबर पाउन नै परिवारले ९ महिना कुर्नप¥यो। गलिसकेको हाप्पेन्ट र चलिरहेको घडी उनलाई चिनाउने साक्षी बचेका थिए।

ती युवा थिए, पूर्वी रुकुमको चुनबाङस्थित गोर्जलेपाखाका भैरम दमाई (छिनाल), ३६। उनलाई तारिख लगाएको थियो, लाखर पुलिसचौकीले। र, त्यो घटना थियो, २०५५ असोज २६ गते।
‘काइँलाबाइ (भैरम) तारिख थाम्न गएको राति दुईचारपालि बन्दुक पड्केको स्थानीयले सुनेका थिए रे। त्यसबेला नै मारो कि भने,’ भैरम भतिजा झुपी उर्फ सुनील कान्छाले मेसेन्जरमा कुबेतबाट भने, ‘तैपनि जिउँदो पो भेट्छम् कि भनी चारैतिर खोजिम्।’
भैरम मारिएपछि उनको परिवार बिचलित भयो। गरिबीले लखेटेर भारत र खाडी खेदिए। भैरमका तीन छोराका परिवार एउटै घरमा असजिलोगरी बसेका छन्। चार छोरालाई नै एकएकवटा बनाउन भनी घर छाउने ढुंगा बोकाएका थिए। घर नै नबनाई भैरम मारिए। जेठा छोरा रमेश पिताको बदला लिन भनेर कमरेड ‘बदला’ नाउँ राखी माओवादी सेना भए। फर्केपछि अरब गए। त्यसपछि भारतको शिमला गए। शिमलामा मरे। उनका छोराछोरी र पत्नी शिमलामै छन्। बाँकी तीन छोरा खाडीमा छन्।
पति र छोरो गुमाएपछिको वियोगमा थपिएको गरिबी र गाउँघरमा काटिने कुरासित लड्न सकिनन्, भैरमपत्नी। भैरम मारिएको १७ बर्षपछि भैरमपत्नी सुङर्नीले दोस्रो घरजम गरिन्।
कान्छो छोरालाई भैरमको सरकारी राहत दिने सहमति बन्यो। तर, यसले भैरम परिवारमा झगडा रोप्यो।
घरमूली नै मारिएपछि एउटा परिवारको लय कसरी भत्क्यो भन्नलाई भैरम परिवार नै काफी छ। यस्ता भैरम देशैभर छन्।
ठाट सुत्न छिमेकी घरमा गएका भैरमसहित तीनजनालाई लाखर पुलिसचौकीबाट आएका पुलिसले असोज २४ गते राति ११ बजे लगेका थिए। मान्छे मरेको घरमा राति सुत्न जानुलाई रोल्पा÷रुकुमतिर ठाट सुत्ने भन्छन्।
तिनैजना भोलिपल्ट अर्थात् २५ गते छुटे। तर, यातनाले मुस्किलले हिँड्नसक्ने अवस्थामा। भैरमलाई भने २६ गते तारिख थाम्नेगरी छोडिएको थियो।
तारिख थाम्न गएका भैरम घर नफर्केपछि २७ गते बिहान भैरममाता र पत्नी खाना लिएर पुलिसचौकी पुगे।
गोर्जलेपाखास्थित भैरम घर र पुलिचौकीबीच १०–१५ मिनेट पैदल दुरी थियो।
पुलिसले ‘भैरम त घर फर्किसक्यो’ भन्यो। खाना नलिएपछि ‘मारेको आशंका गरेर’ रुँदै सासूबुहारी घर फर्के।
सरकारी बन्दुकबाट चुनबाङमा मात्रै ३६ जना मारिएका छन् भने विद्रोही माओवादीबाट चार। सरकारी सिकार भएका गोपी, तुलबहादुर र कलसिंह पनि भैरम खलककै थिए। तुलबहादुरको शव अझै भेटिएको छैन।
आफ्नो कब्जामा लिई मारिएका भैरमजस्ता र दोहोरो मुठभेडमा परी देशभर १५ हजारभन्दा बढी मारिएका छन्। १० बर्ष लामो माओवादी ‘जनयुद्ध’मा एक हजारभन्दा बढी बेपत्ता छन्। राज्य (सेना र पुलिस) र विद्रोही (तात्कालीन नेकपा माओवादी)बाट अंगभंग हुनेका संख्या हजारौँ छ।
नयाँ संविधान बन्यो। सरकार पनि बन्यो। तर, शान्तिप्रक्रियाको एउटा अंग सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगले अझै आफ्नो काम सकेको छैन। भैरमजस्ता पीडितलाई न्याय दिलाउने भन्दा पनि सरकारले यसो गरेन र उसो गरेन भनेर रोनाधोनामै आयोगका समय बितेको छ। मंगलबार सत्य निरुपण तथा मेलमिलाप आयोगले ‘सरकार संक्रमणकालीन न्याय व्यवस्थापनमा गम्भीर नभएको ठहर’ गर्दै ‘स्थिति थप जटिल हुन नदिन’ प्रधानमन्त्री ओलीलाई ध्यानाकर्षण गराएको छ।
त्यसैले आयोगप्रति पीडितले ‘आश’ त गरेका छन् तर ‘भर’चाहिँ परेका छैनन्।
आयोगमा दर्ता भएका ६० हजार उजुरीमा भैरम परिवारको परेको छ या छैन ? भैरम परिवार बेखबर छ।
पुलिसचौकी सदरमुकाम मुसिकोट गएपछि बेपत्ता परिवारले लाखर वरपरका जंगल, खोला, झाडी र बारीमा खोजेका थिए।
आखिरीमा पुलिसचौकीदेखि यस्तै ६० मिटरको दुरीमा रहेको घट्टमुनि भैरम र अर्का स्थानीय किसान हर्कबहादुर बुढा मगरलाई खपाएर गाडिएको अवस्थामा भेटे।
घट्ट स्थानीय कांग्रेस नेता वीरभान बिष्टको थियो भने उनकै घरमा पुलिसचौकी थियो। त्यसबेलाको राज्यको आँखामा दलित र तिनका बस्ती माओवादी थिए। त्यसमाथि गोर्जलेपाखाको दमाई बस्ती माओवादी प्रभावित थियो।
गाउँमा सबैभन्दा बढी पढेका र समाजसेवी भैरम त्यसै साँझ रुकुम सदरमुकाम मुसिकोटबाट घर फर्केका थिए। उनी खानेपानी उपभोक्ता समितिको काम लिएर सचिव भीमबहादुर बिष्टसित फर्केका थिए। बिष्ट स्थानीय शिक्षक थिए।
माओवादी समर्थक भैरम बन्दुक बोकेर हिँडेका माओवादी थिएनन्। परिवारका सदस्य र आफन्तले तारिख थाम्न नगई भाग्न सुझाएका थिए।
त्यसताका गाउँले राति जंगलमा सुत्न जान्थे भने बिहान फर्केर आउँथे।
माओवादी प्रभावित रोल्पा र रुकुम थियो नै, त्यसमाथि पूर्वी रुकुमको चुनबाङ माओवादी गढ मानिन्थ्यो। चुनबाङसँग जोडिएको रुकुमकोटमा माओवादीले आक्रमण गरेको थियो भने अर्कोतिरको सिमामा जोडिएको महतमा आक्रमण गरी (त्यसबेलासम्मको सबैभन्दा ठूलो पुलिस अधिकारीलाई कब्जा) डिएसपी ठूले राईलाई कब्जा गरेको थियो।
घना जंगलको छेउ र रोल्पासँग जोडिएको भैरमको गाउँ गोर्जलेपाखादेखि आधा घण्टाको पैदल दुरीमा रहेको भेरिडाँडामा माओवादी केन्द्रीय समिति बैठक बसेको थियो। त्यही बैठकबाट माओवादी ‘संसदीय साइत’ गरेको थियो।
चुनबाङलगायत रोल्पा र रुकुमका गाउँघरमा माओवादी रोपेका थिए, हालका गृहमन्त्री रामबहादुर थापा उर्फ कमरेड वादलले। उनलाई सघाएथे, लोकेन्द्र बिष्ट मगरले। त्यसबेला कृष्णबहादुर महरा, बर्षमान पुन, हेमन्तप्रकाश ओली, जनार्दन शर्मा र गणेशमान पुनहरु केन्द्रमा पुगेका थिएनन्। पुलिसचौकी रहेको गाउँका हुन्, पाँच प्रदेश सभामुख पूर्णबहादुर घर्ती मगर।
रोल्पा र रुकुममा सत्तारुढ दल कांग्रेससहितको पुलिस र माओवादीबीच जनयुद्ध थालनीअघि नै झडप सुरु भएको थियो। माओवादीले यसलाई ग्रामीण वर्गसंघर्षको नाउँ दिएको थियो। खासमा वादलले यसलाई प्रतिक्रियावादी राज्य सत्ताका ‘आँखा र कान’ फोर्ने संज्ञा दिँदै अभियान नै चलाएका थिए। त्यसबेलाको चर्चित अभियान थियो, सिज (सिस्ने र जलजला) मितेरी अभियान। आँखाकान फोर्नेको अर्थ थियो, राज्यसत्तालाई गाउँबाट पुरै सम्पर्कविच्छेद गराउने।

No comments:

Post a Comment