नवीन विभास
२०७६ फाल्गुण ३ शनिबार ०८:४५:००
कुइनेटो
जेई जेठी भाउजू र माहिली भाउजूले कति माओवादीलाई खाना खुवाए ? रोल्पाको पश्चिम कुनामा उभिएको त्यो घरमा कति माओवादीले ‘सेल्टर’ लिए ? लेखाजोखा छैन । ठुल्दाजु कृष्णबहादुर महराका विद्यार्थी, गाउँको मास्टर र गाउँ अगुवा भएकाले मात्र होइन, हाम्रो गाउँबाट रुकुम, सल्यान र थबाङ जानलाई बाटो पर्ने भएकाले पनि हाम्रो घरलाई माओवादीले सेल्टर बनायो । बर्कोले छोपी आफूले मात्र देख्ने गरी टर्च बाल्नुपर्ने र आफूले नै मुस्किलले सुन्ने गरी फुस्फुसाउने अनौठो मौसमको कुरा हो । अर्थात् माओवादीले ‘जनयुद्ध’ थाल्नुअघि र थालेको सुरुवातीयामको कुरा हो यो ।