Tuesday, February 25, 2020

बेपत्ताकी डाई

नवीन विभास

छोरो ‘टुप्लुक्क’ आइपुग्ला कि भनी १८ वर्षदेखि बाटो हेरिरहेकी एउटी आमा आफूले खानुअघि छोरालाई खाना पस्केर अङ्नामा राखिदिन्छिन्  । रातदिन छोरा–खोजरत उनै दाङ सिस्सन्याकी ६९ वर्षीया आमाको एक दिनको दैनिकी हो यो  । त्यो एक दिन अर्थात् २०७६ पुस २८ को ।

बिहान १०ः५७ बजे

सिस्वागँन्ज्रिनेर पुगेपछि उनका खुट्टा एकाएक ‘मूर्ति’ बन्छन् । लगत्तै उनको मुखबाट झर्छ, ‘गँन्ज्री ओराइल ट के भ्युरा फुलैल बा !’
आज त भ्युरा फुलाएको सिस्वागँन्ज्रीमा थारू बस्ती माछा मार्न निक्लनुपर्ने हो । तर, सिस्वागँन्ज्री त तालमा परिणत भइसकेको छ ।
हिँड्न आनाकानी गर्नेदाया खुट्टानेर कालो कुकुर लुट्पुटिन्छ । त्यसपछि ‘कुइँकुइँ’ गर्छ ।

‘कहाँ जैना हो मच्छी मार ? आब डेउटन का चर्हैना, का खवैना पहुनन् ? टलवक मच्छी खरिडना पैसा नै हो,’ देउतालाई चढाउने र पाहुनालाई खुवाउने माछासँगै थारू सामूहिक जीवन गँन्ज्री यादमा बतासिन्छिन् ।

सिर्गोट्या स्वरमा ‘सक्ख्या’ सुसेलेको कहाँनेर ? बलदेव उपाध्यायको कमैया ठगुसँग ‘पिरम’ मा पर्नुअघि मन माझेको बाँसघारी कहाँनेर ? परिवार, गोत्यार र टोलले भ्युरा फुलाएको कहाँनेर ? ठम्याउन झन् मुस्किल हुन्छ– कहाँनेर हो, दिल दिएको ठगुलाई भेटेको ?

कुकुर भुकेपछि सिस्वागँन्ज्री सेकुरिटीरत सिसौ डालीबाट काग भुर्र उड्दै अर्को डालीमा सर्छन् ।

‘भ्युरा फुलाएको गँन्ज्रीमा भोलिपल्ट माछा मार्न जान तयार’ उही भयानक रात आँखामा फर्केपछि करिब १०० मिटर दक्षिणमा अवस्थितघर जान उनका खुट्टा धान कुटिरहेको ढिकीजसरी पुकुलढ्याक पुकुलढ्याक गर्न थाल्छन् ।

उनको साथी अर्थात् कालो कुकुर घरी अघि लाग्छ त घरी पछि ।
बिहान ११ः१३ बजे

अङ्नाबाट एक हूल गिउँरा भुर्र उड्छन् । पछ्याउँदै एकजोर बुर्‍या–आँखा गिउँरासित लिची डालीमा लक्कु खेल्छन् । ठीक त्यसैबेला सिर्गोट्या सिसौडालीमा सुसेल्छन्, ‘स्याऽऽऽस्याऽऽऽ स्याऽऽऽस्याऽऽऽ ।’

कुकुर एकदुई आखर भुक्छ ।

सिर्गोट्याबाट तिनका आँखा फर्केर अङ्नाका थाल, कचौरा र गिलासमा बस्छन् ।

अग्ली र पातली । तर,धेरै फल्दा कुप्रिएको आरु हाँगा भएकी उनको साँवलो अनुहारभर च्याउ उम्रेका छन् । पिडौला र पाखुराका मयूरसमेत जाडोले ‘झाँक्री’बसिरहेछन् ।

सूर्य ठीक माथि देखापरेपछि हुस्सुले होस हराउँछ । चिउडोमा बायाा हात टेको लगाई कम्तीमा १० मिनेट अङ्नामै घाम ताप्छिन् । २० मिनेटपछि कलेजी–रङे गट्या भुइँमा राख्छिन् । आँखा अल्झन्छ—सेतोरङे गोन्याबाट एक्लाएक्लै बाहिरिएका त कतिले बाहिरिन साइत कुरिरहेका धागोमा ।

कौरा खाइरहेका ल्हौरा र ल्हौरिया–गुनगुन गायब हुन्छ । के सम्झेर कुन्नि ? सुनसान भकारामा पुग्छिन् । झोक्राइरहेको मेवा–बोट हेर्छिन् । भकारामा न गाई/गोरु छन् न तिनका जीउमा बसेर झिँगा र किर्ना खाँदा ससिल्याउने सिर्गोट्या । ‘च्याङ्फा’ दाङ पसेपछि भकारा सुनसानिन थालेका छन् ।

‘ख्वाइएऽऽऽ !’

खोकेको आवाज पछ्याउँदै उनको दाया हात गोभन्नामा पुग्छ । सास फेर्दासमेत ‘गोभन्ना चुँडिए केले गोन्या अड्याउने’ भनेर ‘हेक्का’ राख्नुपर्ने बेला खोक्दाखेरि छाम्ने नै भइन् ।

एक छिनपछि भकाराबाट घरभित्र जान्छिन् । एकतले घरको छानोमा ढुंगा खसेजस्तो आवाज आएपछि झस्कँदै हेर्छिन् । खपटाले आउने बर्खा धान्लाजस्तो छैन । तर, छानो फेर्ने हब्बा छैन ।

उत्तर–दक्षिण फर्केको परम्परागत थारू घरभित्र पसेपछि डेहरीनेर पुग्छिन् । अस्टिम्की चित्र नाच्छन् । पूर्वोत्तर कुनाको डेहुरारमा ठिंग उभिन्छिन् । लगत्तै डेहरीनेर ।

दलिनमा भौका तुर्लुंग झुन्डिएको छ ।

भौकामा आँखा जुध्नेबित्तिकै दाया हात छातीमा पुग्छ । त्यसपछि खुट्टामा । बन्दुक कुन्दाको चोटले छातीमा रगत जमेको छ भने खुट्टा हिँड्न अन्कनाउँछ । बलात्कारपछि गुप्तांगबाट बग्न थालेको रगत–कुलो जारी छ ।

आमा–मन भन्छ, ‘मतलमाथि भए,मेरो रोइनालाई कोले खाना पस्किदेला ?’
दिउँसो १२ः३७ बजे

खुबै फलेको आँप–बोटनेर टोलाउँदै छिमेकीले समेत ‘रोइनाले कति खाँदो हो’ भनेका हुन् । रोइनाले रोपेको आँपघर अगाडि आमालाई सम्झाउँदै ठिंग उभिएको छ । भित्रबाहिर गर्दा रोइना सम्झेर उही आँपको बोटमा अडेसिन्छन् । आँप–बोटमा अडेसिएर अङ्नामा खाना पस्केको थाल हेर्दै पुरानो याद बल्झन्छ—करिब ६९ वर्षअघिको कुरो हो ।

बतासको सुइँसुइँमा सुत्केरी व्यथावाल आमा चिच्याहट खापिन्छ । करिब अढाई घण्टापछि नवजात शिशु रुवाइ ।
अनि ?

आमा चिच्याहट रोकिन्छ ।

बतास चलिरहेको बेला जन्मेकी नवजात शिशु नाउँरहन्छ, ‘बटासी ।’

ढिकी कुटेजसरी छोरा–खोजमा बतासिइरहेकी उनै आमा त हुन्, बटासी ।

जहाँ गँन्ज्री त्यहाँ थारू बस्ती । चिरामा पानी, बाँसघारी, काँसघारी, खर्सेट्टी झाँडी, रूखपातवाल भूभागलाई थारूले गँन्ज्री भन्छन् त ‘पहारी’ ले सोता । सिस्वागँन्ज्रीमा साना–ठूला कदे चिरामा पानी बास बस्छ । पानी–बासी माछा छन् । तिनै चिरामा दसैँलगत्तै सेउला, सोत्तर, बेश्रम्मा, मकैडाँठ, पराल, घाँसलाई ढुंगाले अचेट्छन् । दुई–चारकिला ठोक्छन् । गँन्ज्रीमा भ्युरा फुलाउँछन् । परिवार, गोत्यार र टोलले भ्युरा फुलाएको ‘चिनो’ लाउँछन् । माघ लाग्नुभन्दा दुई दिनअघि डुक्नीले पानी फाल्दै हेल्कामा चरिङ्ङे, गुइँटना, बाम जातका माछा र गंगटा मार्छन् । माघ १ गते एकाबिहानै नुहाइ–धुवाइपछि माछा र अक्षतासाथ मटवाँकहाँ पुग्छन् । देउतालाई माछा चढाउँछन् ।

जिम्दार परशुराम उपाध्यायको कम्लरीलाई ल्हौरिया भन्छन् । बिस्तारै परशुराम तीनपुस्ते ‘जिम्दार आँखा’ ले डस्छन् । भन्न थाल्छन्, बठिनिया ।

एक दिनको कुरा हो ।

दिल दिएको ‘ठर्‍या’ ठगुसँग बठिनियाले घरजम गर्छिन् । तीन–चार थारू महिलाले दुई–तीनवटा सियो टुप्पाले पिडौलामा एकसाथ खोप्छन् । खोपेको भागमा चिनी, गोबर, कोइला घोलेर दल्छन् । त्यसपछि ? पिडौलामा मयूर बस्छन् । पिडौलामा झाँक्रीजसरी काँपिरहेका ती मयूर त्यसै बेला बास बसेका हुन् ।

पिडौलामा मयूर बसेपछि बटासीलाई ‘जन्नी मनै’ भन्छन् त बटासी–पति ठगुलाई ‘ठारू मनै’ ।

बटासी चार छोरा र तीन छोरीका आमा बन्छिन् । कान्छा साउदीबाट ‘बाकस’ मा फर्कन्छन् । कान्छी बुहारीले दुई वर्षपछि अर्को घरजम गर्छिन् । अहिले नातिनी उनै बुहारीसँग छिन् ।

माइली छोरीको लक्ख्वारमा बिहे भएको छ ।

साइँला बेपत्ता । बाँकीमध्ये कति बच्पनमै त कति तन्नेरिन थाल्दा मास छर्छन् ।
दिउँसो ३ः११ बजे

घरदेखि दुई सय मिटर पूर्व पुगेलगत्तै बटासी–खुट्टामा ब्रेक लाग्छ । ठीक त्यसैबेला चारतला घरको छतबाट टाउकोमा कुनै जिनिस फुट्ट खस्छ । कागे हग्यो भनेर छाम्छिन् । चिसो लाग्छ । घरको चौथो तलामाथि टाइसुट र दारीवाल अधबैंसे पान चपाउँदै छन् ।
गट्याले पुछ्दै भएभर गाली गर्छिन् । तर, भुइँबाट त्यति माथि त्यो गाली टाइवालाकहाँ कसरी उक्लन सक्नु !

समय फेरिन्छ । जिम्दार जग्गामा झन्डा गाड्ने पार्टी नै सरकारमा पुग्छ । पुलिस पठाउँछ । अँधियावाल थारू खेदेर जिम्दार, जग्गा दलाल र झन्डा गाड्नेवालले ‘प्लटिङ’ गर्छन् ।

‘कठ्ठें हो, ठगुक जोट्लक ? कठ्ठें रगेड रगेड मुँस मर्लक ? लाल झन्डा गर्लक कठ्ठें हो,’ पति ठगुले जोतेको, खेदीखेदी मुसा मारेको, हसियाँ हथौडा–अंकित रातो झन्डा गाडिएको अँधिया खेत कहाँनेर हो भनेर सम्झन कोसिस गर्छिन् ।

ठगुले जोतेको खेतमा अग्लाअग्ला घर उभिएका छन् त कति उभिन तर्खरिंदै । झन्डा गाड्ने ‘कमरेड’ बोली कानमा ‘रिप्ले’ हुन्छ, ‘जग्गा कसको ? जोत्नेको । घर कसको ? पोत्नेको ।’
दिउँसो ३ः२९ बजे

‘डाई, भुँख लागल ।’

जुँगा उस्तै । आँखा उस्तै । कपाल उस्तै । बस्, कमैया छाडी फर्निचरमा काम थालेका रोइना ‘आमा, भोक लाग्यो’ भनिरहेछन् ।
भात पस्केर दिँदा अडेसिएको आँपको फेदमा हात ठोक्किएपछि बटासी ब्युँझन्छिन् ।

लामो अन्तरालपछि रोइना आमा सपनामा आउँछन् । पहिले सपनामा ‘धेरै देखेर’ होला, आमा सपनामा रोइना आउन छाडेको ।
आँपको फेद अडेसिएर घाम ताप्दा झमक्क निदाएकी हुन् ।

आँखा मिच्दै बटासी जुरुक्क उठ्छिन् ।

भित्र पसेर बरीनेर उभिएर भन्छिन्, ‘टुऽऽऽरटुऽऽऽर टुऽऽऽर टुऽऽऽर ।’

‘कोट्कोट्’ गर्दै जवाफ दिने भाले बरीमा छैनन् ।

दिवंगत नाति र बुहारी सम्झन्छिन् ।

सरासर तुर्लुंगिएको ‘भौका’नेर जान्छिन् ।

कमान्डर कासन कानमा फेरि बज्छ, ‘फायर !’

बन्दुके गोलीले कालिज भुइँमा भुट्ट खसेजसरी भौका भुइँमा खस्छ । एकपालि होइन । सयौंपालि । डेहरी फुटाएर धान रेल्लाएको नि सयौँपालि ।

हो, उही भौका झिकेर हेर्छिन् । छन्–खुट्टामा लाउने सिल्टीका कारा, चिर्‍वा, पैरी । खुट्टाको औंलामा लाउने भिछा । हातमा लाउने ककनी रटर्‍र्या । कानमा लाउने झिल्मिलिया । रोइनाको जिन पाइन्ट र प्लास्टिकले बेरेको बिजोर चप्पल । कोन्टीभित्र पसेको ‘दुब्लो उज्यालो’ मा रोइनाको पाइन्ट र चप्पल–बाटो भएरआमा–मन भक्कानो भएर ओरालिन्छ ।
१.
कुरो २०५८ पुस २७ गते मध्यरातको हो । अर्थात् सबभन्दा ठूलो पर्व ‘माघ’ मनाउन थारू गाउँ नै भोलि माछा मार्ने, पर्सि सुँगुर काट्ने र निकुर्सि ‘सखी ए हो, माघक पिली गुरी जाँर’ गाउने ।

मध्यरातमा ‘ढ्याङ्ङ ऽऽऽ’ आवाजसँगै बन्दुकभित्र पस्छन् । ‘भरेभोलि’ भएकी बुहारी कोन्टीमा चिच्याउँछिन् । लगत्तै छोरा रोइना ।
सानो छँदा धेरै रोएकाले साइँला–पुत्रको नाउँ राखिदिएका हुन्, रोइना ।

मध्यरातमा बुहारीको इज्जत र छोराको ज्यान जोगाउन अनुनय गर्छिन् । एकपालि होइन, सयपालि । त्यही अनुनय दुई वर्षपछि पति बचाउन दोहोर्‍याउँछिन् । तर, उनको छातीमा तेर्सिएर बन्दुक सर्त सोझिन्छ, ‘...दिन्छस् भने तेरो पोइ बच्छ ।

नत्र ...।’ उनले तुलामा ‘इज्जत’ र पति ‘प्राण’ राख्छिन् । पति प्राण भारी लाग्छ ।

त्यसलगत्तै डेहरी दायातिर रक्तमुछेल ठगु ढल्छन् त बायातिर बलात्कृत बटासी ।

‘म्वार ट साँस किल बा, का कर मुव नै डेल्या !’ बन्दुक बाटो लागेको डेढ घण्टापछि मुस्किलले निक्लेको ठगु–बोली बन्दुकजसरी पड्कन्छ । उपचार–अभावले एक महिनापछि ठगु ‘माथि’ लाग्छन् ।

त्यो मध्यरात लुगासमेत लाउन नदिई बन्दुकले रोइना लान्छन् । भोलिपल्ट गँन्ज्रीमा माछा मार्न तयारिएका डुप्का र हेल्का तितरबितर भएका छन् ।

कोन्टीमा चिच्याउने रक्तमुछेल बुहारी र नाति चार दिनको अन्तरमा नफर्कने बाटो लाग्छन् ।
२.
‘चप्पल !’

भौनी आवाजसँगै हुस्सुले हुस्सिएको खर्सेट्टी झाँडीतिर दगुर्छन् ।

‘रोइनाको चप्पल ।’

बन्दुकले रोइना लगेको भोलिपल्ट झाडीनेर एउटा चप्पल हिलो र रगतले लटपटिएको भेटिन्छ । रोइना नै भेटिएजसरी उत्तानो परेको बाया चप्पल नियाल्छन् । एक साताअघि घोराहीमा साठी रुपैयाँमा किनेको भोटाक्या चप्पलको दाया पनि खोज्छन् ।
रोइना खोज्दै बन्दुक–खाना पुग्छन् ।

बुट्कामा ‘बेरी’ लिएर छोरा–खोजमा निक्लेकी बटासी बन्दुक–खानामा ‘छोरा भोकायो होला’ भन्दै अनुनय गर्छिन्, ‘छावा भँखाइल हुई ।’

‘मा...बूढी, निक्लिइस् कि उडाइदिम् ।’

बन्दुक नाल छातीमा सोझ्याएपछि बेरी बन्दुक–खानामै छोडेर निक्लन्छिन् ।

भोलिपल्ट फेरि पुग्छिन् । भन्छन्, ‘फोटो लिएर आ बूढी । फोटो नहेरी कसरी चिन्ने, तेरा छोरो ।’

नागरिकता बनाउँदा खिचाएको एउटा पानीफोटो हात पार्छिन् । वल्टाइपल्टाइ पारेर भन्छन्, ‘ह्याँ छैन, बूढी ।’

‘कहाँ जाई ?’

‘तेरो छोराको हाम्ले ठेक्का ल्याछम् ?’

थचक्क बस्छिन् ।

बटासीलाई फुटबल बनाएर बन्दुकले गेट निकाला गर्छन् ।
३.
भौकामा राखिएका रोइना सामानमा आमामन ओरालो झरिरहेको बेला ‘बडाई’ भन्दै भतिज खुसे ख्वास्स पस्छन् ।

खुसे र रोइनासँगै हुर्केका हुन् । कमैया बसेका हुन् । खुसे बन्दुकबाट संयोगले बाँचेका हुन् । अहिले त बन्दुक यति ‘थारू–फोबिया’ छ भने त्यो जुगको के कुरा !

भौकासँग भक्कानिएकी बटासीलाई सम्झाउन खुसे कोसिस गर्छन् ।

जिन्दगीमा खिचाएको उही नागरिकतावाल पानीफोटो पनि बन्दुक–खानामा गायब भएपछि आमाले खुसे हेर्दै रोइना–तिर्खा मेट्छिन् ।
भौकामा सामान राखेर दलिनमा झुन्ड्याउँदै खुसे सोध्छन्, ‘बडाई ! काठमान्डुसे कहिया अइली ?’
‘परौं ।’

छोरा–खोजमा काठमाडौं पुगी बटासी फर्केकी हुन् ।

काठमाडौंको बेपत्ता परिवारको कार्यक्रममा बटासी देख्छिन्, ‘दौरासुरुवाल’ वाल प्रधानमन्त्री, जिम्दार जग्गामा लालझन्डा गाड्ने कमरेडका सुप्रिम कमान्डर र आफ्नो छोरा बेपत्ता पार्ने सरकार नाइके । काँटीकुटी ‘जिम्दार’ का पनि जिम्दार लाग्छ । आफ्नो छोरा बेपत्ता पार्ने, आफ्नो र बुहारीको इज्जत लुट्ने ‘बन्दुक’ जस्तो लाग्छ ।

त्यसपछि ?
बटासीलाई भन्कारा छुट्छ ।

त्यसपछि ?

दुई छोरा बेपत्ता पारिएकी आमाले माइक खोसेर बोलेको बोलीबाहेक अरू उनको कानमा बज्दैन–‘छोराछोरीका मोबाइल आधा घण्टा मात्रै ‘स्विच अफ’ हुँदा ‘कहाँ गए होलान्’ भनेर कति चिन्ता लाग्छ, आमाबालाई ? २०/२२ वर्षसम्म छोराछोरी बेखबर हुँदा हामी कसरी बाँचेका छौँ ? सुत्नुअघि आधा सेकेन्डमात्र भए नि तपाईंहरूले हाम्रो ठाउँमा आफूलाई राखेर हेर्नुहोला ।... कहिलेसम्म पर्खने ? न्याय कहिले पाउने ? अहिल्यै जवाफ चाहियो ।’
बेलुकी ६ः१३ बजे

स्टिल गिलासमा पानी, थालमा भात र कचौरामा दाल । छोरोलाई भनेर अङ्नामा राख्छिन् । त्यसपछि रोइनाले खाइरहेछन्, जसरी फरक्क फर्केर हेर्छिन् ।

१८ वर्षदेखि लगातार अङ्नामा राख्दा थाल थोत्रिएछ । कचौरा कुच्चिएछ ।

भित्र पस्नुअघि पतिको किरिया नहुँदासम्म बाटोमा खाना राखिदिएको सम्झन्छिन् । सम्झन्छिन्, चोखिएको दिन ‘आब जिन अैहो’ भनेर बाटो बन्द गरेको पनि । रोइना ?

न जिउँदो, न मरु खबर छ । १२ वर्षमा त खोला पनि फर्कन्छ भन्छन् । तर, १८ वर्ष बिते पनि रोइना फर्केका छैनन् । छोरा–खोजमा घाइते बटासी–गोडा अझै थाकेका छैनन् । एकदिन छोरो ‘टुप्लुक्क आउनेछ’ भनेर ‘आमामन’ पलाइरहन्छ, ‘डाई ! निके बा ? मै ट अइलुँ, कहटी एक रोज रोइना घुमी ।’ छोरालाई अङ्नामा खाना राखिदिएपछि बल्ल आफूले खान्छिन् । तर, आज ? नखाई ओछ्यानमा घोप्टो पर्छिन् । कुखुरा बस्ने बरीनेर कुकुर कुइँकुइँ गर्छ । ठीक त्यसैबेला जिम्दार–टीभीले कुकुर कुइँकुइँलाई ओभरल्याप गर्छ, ‘प्रधानमन्त्री ओली रसत्तारूढ दल अध्यक्ष दाहाल उपचारार्थ सिंगापुर उडे भने प्रमुख विपक्षी दल नेता देउवा अमेरिका भ्रमणरत छन् ।’
प्रकाशित : माघ २५, २०७६ ११:३६

No comments:

Post a Comment