Tuesday, February 25, 2020

‘चुपचाप’ पर्खेर पीडितले न्याय पाउलान् ?

 नवीन विभास | माघ १५, २०७६ बुधबार |

बूढीकुलो पुलछेवैमा ढेब्ली थापेर गया बसेका छन् भने लोटन मंगलपुरस्थित आफ्नै घरमा संगिनीहरुसँग कलमा लुगा सिलाउँदै । गया आँखा न्याय पाउने बाटो हेर्दाहेर्दै पहेलिएका छन् भने लोटन लोचन बेपत्ता पति र न्याय पर्खेर ।   जागिर पकाएर अस्ताएका सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता आयोग नयाँ पदाधिकारीसहित गतसाता उदाएका छन् । शान्ति सम्झौता भएको ६ महिनामै गठन गर्ने भनिएको आयोग नौ वर्षपछि गठित आयोग न्याय नदिई सकिएको हो । गयासहित पीडितका सत्यनिरुपणमा साठी हजार उजुरी परेका छन् भने लोटनसहित पीडितका बेपत्ता आयोगमा तीन हजार ।   आयोगमा यसपालि पनि सत्तारुढ र विपक्षी दल ‘निकट’ छन् । पीडित ‘प्रतिनिधि’ छैनन् । सायद यसैले होला, आयोगप्रति पीडित ‘आश’ त छ तर ‘भर’ छैन ।
 ‘श्रीलङ्का’बासी गया लोटनहरुसहित सम्पूर्ण पीडितले न्याय पाउने दिन के नआउने नै हो ?  १ गया न राम्ररी सुत्न सक्छन्, न बस्न न त उभिन । उनका आँसु र उनकै आफन्त हाँसो बगाउँदै बग्ने गेँहु्रवा (कर्णालीको एउटा भँगालो) उसैगरी बगिरहेछ । उनको गाउँ मुरैया नजिकैबाट बेतालले बगिरहेको कर्णालीलाई उसैको संगीतमा गुनगुनाउँछन्– थारु गीत । सरकारले नसुने नि, कर्णालीले त सुन्ला कि भन्दै जति गाए पनि दुखाइ बीसमा उन्नाइस भएको छैन । ज्यान सहिसलामत हुँदा त धेरीमजुरी गर्न दिल्ली पुगेकै हुन् । मसुरी र बम्बईमा चौकीदारी गर्न र शिमलामा स्याउका पेटी बोक्न पनि गएकै हुन् ।   कुरो २०६० पुस २ गते बिहानको हो । ढेब्लीमा एकाबिहानै कोही उनलाई लिन आउँछन् । ती हुन्छन्, गाउँछेवै मोर्चा कसेका राजापुर बेस क्याम्पका सुरक्षाफौज ।   गयालाई बेस क्याम्प लानुअघि गयाको ज्याकेट खोल्छन् । गयाकै अनुहार छोपिदिन्छन् । नबोले माओवादी ठान्लान् भन्ठानी स्पष्टीकरण दिन खोज्छन् । ‘बढी बोल्छ, कमाण्डर नै रहेछ’ भन्दै अलग्गै कोठामा राख्छन् । फननन तीन फन्का घुमाउँछन् । फलामको पाइपले कुट्छन् । १५ र २० मिनेटपछि गया बेहोस हुन्छन् । ‘कुटाइ सहन नसकी मलाई मार भनेँ । मलाई मृत्यु दिएनन्, यातना मात्र दिए,’ ढेब्लीमा अप्ठेरोगरी उभिएका गयाले यति भन्दा गयापत्नी कृपालीदेवीका आँखा भिजिसक्छ ।   अघिल्लो दिन अर्थात् २०६० पुस १ गते उनको गाउँनजिक बम बिस्फोट हुन्छ । बिस्फोटनमा मारिएका दुई सुरक्षाफौजका बदला लिन भोलिपल्ट एकाबिहानै राजापुर बेस क्याम्पबाट सरकारी सेना गया गाउँ पस्छ ।  त्यसबेला गया २४ बर्षका हुन्छन् । ‘खाँदा पनि घुँडा टेकेर खान्छु । खुट्टा सुक्यो । देब्रे हात सुक्यो । दाहिने खुट्टामा चिमोट्दा नि थाहा पाउँदिनँ । चप्पल निस्केको पनि थाहा हुन्न । बस्न, उभिन र सुत्न पनि सक्तिनँ । पिसाब पनि आफैं चुहिन्छ । बाँच्न गाह्रो भएकाले मर्न पाए हुन्थ्योजस्तो लाग्छ । मर्न पनि सकेको छैन,’ गया बग्दाबग्दै आफैं थामिन्छन् । त्यसपछि सम्झन्छन्, भोजलाल थारू । भोजलाल उनीसितै पक्राउ परेका आफन्त हुन् र रिहा भएको केही महिनामै बितेका हुन् ।   रिहा भएका गया गाउँले पनि सामान्य जीवनयापन गर्नसक्ने अवस्थामा छैनन् । कोही ढाड दुख्यो भन्छन् त कोही जिउ दुख्यो । ‘एकै गाउँका ३०÷३५ जना थारू समातिएका थियौं । समातिएका एकजना पहारीलाई त तुरुन्तै छोड्यो,’ धेरै समयपछि तारिखमा छाडिएको सम्झँदै गया भन्छन् । बस्, गया रिहा हुन्छन् तर ‘न गरिखाने न मरिजाने’ अवस्थामा ।   सुखदुःखमा साथ दिने पत्नी पनि उनीजस्तै छिन् । पत्नीको एउटा मात्र मिर्गौला छ । रिन गरेर पतिपत्नीले औषधि खान्छन् । गयापत्नीले पनि सामान्य मानिसले जसरी काम गर्न सक्तिनन् । दुई छोरा छन्– सुमन (२७) र रामजनम (२५) ।  ‘मलाई पनि अरुजस्तै बाँच्ने रहर त छ,’ उनले सग्लो जिउ हुँदाखेरि मनमा साँचेको तिर्सना पोख्छन्, ‘मेहनत गर्ने मान्छे हुँ । कुनैबेला सोच्थेँ, ४०÷५० जनालाई काम दिन सक्छु । तर अहिले ? आफ्नो एक्लो जीवन पनि बचाउन नसक्ने भएँ ।’ गया सुन्न न राजनीतिक दल पुगेका छन् उनको गाउँमा न त सरकार । गया गम्छन्, ‘सरकारले हामीजस्ता सर्वसाधारणलाई, स्कुल जाने बच्चालाई मारेर र यातना दिएर माओवादीको बदला लियो । कसले छानबिन गर्ने ? कसले न्याय दिने हामीलाई ?’ २ लेखक छविलाल कोपिलाले नयाँ मुलुक अर्थात बर्दियासित २०५८ मा चिनजान गराउँदा एकातिर ‘माओवादी जनयुद्ध’ तन्नेरिदैथियो त अर्कोतिर बर्दिया ‘मिनी रोल्पा’ नाउँले परिचितिदै । त्यसबेला श्रीलङ्का नपुगी फर्केका थियौँ । गया लोटन थलो श्रीलङ्कासँग चार वर्षअघि परिचय हुँदा अलजजिरावाल सैफ खालिद, ज्ञानु अधिकारी र प्रभात झा पनि थिए । दोस्रोपालि ‘बुलेट एण्ड ब्यालेट बक्स’वाल आदित्य अधिकारी । बर्दियासहित कैलाली, कन्चनपुर र बाँकेलाई नयाँ मुलुक भन्छन् । सुगौली सन्धिमा गुमाइएका यी भूभाग ४२ वर्षपछि नेपाल फिर्ता भएका हुन् । अंग्रेजविरुद्ध सैनिक विद्रोह दबाउन राणा शासकले सैन्य सहयोग गरेकाले ती भूभाग नेपालले पाएको थियो ।  थारुले गुल्जार बनाएका उब्जाउ र सामरिक महत्वको बर्दियामा राणाकालमा मौजा र बिर्तावाल ‘राज’ चल्यो । मौजावाल छोटे राजा बिगबिगी बेहोरेपछि जिम्दार राज । भूमिपति र भूमिपुत्र थारु आफ्नै भूमिमा कमैयाँको रुपमा बँधुवा मजदुर भए । बर्दियाका छोटे राजा र जिम्दारले थारु समुदायलाई गरेका ज्यादतीबारे बोलिसाध्य छैन । भौराटप्पा(राजापुर)ले भोगेको ‘छोटे राजा’ दमन र शोषण कसरी बयान गर्नु ! बर्दियाको कुल जनसंख्याको आधाभन्दा बढी थारु छन् । दाङ र देउखुरीबाट ‘भुरान’ जाने भन्दै कति खेदिएर त कति आफन्तसँगै बर्दिया पुगेका थिए । दाङ, देउखुरीदेखि बर्दियासम्मका तिनका दारुण यात्रा सुनिनसक्नु छन् ।  ‘शव्द संग्राम’वाल सुशील चौधरीले बर्दिया बयान गर्दै आफ्नो जिल्ला बर्दियालाई ‘दुखारी’ जिल्ला भनेका छन् । सुशीलकृत निबन्धकिताबका अनुसार राज्यले, शासक खलकले खक्रक्क पारेको बर्दिया जिउको घाउमा प्रकृतिसमेत नुनचुक छर्कन्छ । बबई र गेह्रुवा(कर्णाली)लाई प्रकृति प्रतिनिधि ठान्दै बर्खामास बर्दियाको सुखदुःख सबै हरेको तर्क गरेका छन् ।  बर्दियाको पनि श्रीलङ्का छोटे राजापछि जिम्दारको चर्को पेलानमा पर्छ । राज्य र प्रकृति पेलानमा पेलिएका अभागी श्रीलङ्कन हुन्, गया लोटन ।  बर्दियाबासीले गया लोटन थलो भौराटप्पा(राजापुर)लाई श्रीलंका नाउँ दिएका छन् । यसको कारण छ– राजापुर नगरपालिका र गेँह्रुवा गाउँपालिका अवस्थित ती भूभाग दुई भङ्गलामा बाँडिएको कर्णाली र गेँह्रुवाबीचमा छ । अर्थात् भौराटप्पा त श्रीलङ्काजस्तै टापु छ ।   राज्यसत्ताले सधैँ सौतेलो व्यवहार गरेको बर्दिया जिल्लाको पनि भौराटप्पा अर्थात श्रीलङ्का सरकारी चर्को दमनमा पर्छ । जनयुद्धमा सबभन्दा बढी बेपत्ता पारिएको बर्दियाको पनि भौराटप्पामा सबभन्दा बढी बेपत्ता पारिएका छन् ।   लोटन सोध्छिन्, ‘किन हाम्रालाई मात्र लगे ? किन हामी र हाम्रा मात्र बेपत्ता पारिए ?’ आफूले पाएका यातना सम्झेर गया गम्छन्, ‘किन थारू नै बेपत्ता पारिए, मारिए, कुटिए, हेपिए, चेपिए ?’  बर्दिया नै किन सत्ताको आँखाको कसिंगर हुन्छ ? किन बर्दिया मिनी रोल्पा बन्छ ? किन थारुलाई सधैँ विद्रोही बिल्ला भिराउँछ ? किन माओवादीले बर्दियालाई आफ्नो आधारभूमि बनाउँछ ? भौराटप्पा किन मुख्य तारो बन्छ ?   सुशील लेख्छन्, ‘राज्यले गरेको विभेदविरुद्ध बर्दियाले गरेको विद्रोह थियो ।’   इन्सेकअनुसार बर्दियामा २२० बेपत्ता छन् भने अपांगता भएका ३६ । जुन संख्या सबभन्दा बढी हो अर्थात सबभन्दा बढी बेपत्ता पारिएको जिल्ला बर्दिया हो । बर्दियाको पनि टापु जिन्दगी जिइरहेको थारू बाहुल्य भौराटप्पाबाट सबभन्दा धेरै बेपत्ता पारिएका छन् । इन्सेक भन्छः बर्दियामा बेपत्ता, मारिने र अंगभंग ८४ प्रतिशत अर्थात् १३५ जना थारु छन् । जसमा १२३ पुरुष छन् भने १२ महिला र २१ बालबालिका । पीडित महिला र बालबालिका सबै थारु समुदायका छन् । ३ टिनछाने पुरानो एकतले घरमा सिलाई मेसिनमा कपडा सिलाउँदासिलाउँदै लोटन लोचन नबनेको घरमा ठोक्किन्छ । पति पतिरामलाई अनचिनारले रातमा लगेका सम्झेर झस्किन्छिन् । ‘छोराले जागिर खाएपछि बन्ला कि । कहिले बन्छ ? थाहा छैन,’ निर्निमेष टोलाउँदै लोटन भन्छिन् ।   कहिले पढ्ने, कहिले जागिर खाने र घर उभ्याउने ?  पतिराम बेपत्ता भएपछि अलमल छ ।   लोटनपतिलाई किन पक्रेका हुन् ? कहाँ लगेका छन् ? जिउँदै छन् कि मारिसके ? पत्ता नलागेकोमा हैरान हुँदै हार लोटन खान्छिन्, ‘बाँचेका भए त चिठी लेख्थे होलान् । सिएमए पढेका थिए ।’ पतिसँगै लगिएका गाउँकै तीनजना पनि बेखबर छन् । तैपनि श्रीलङ्कावासी लोटन श्रीमान् कसो नफर्केलान् भनी कुरिरहेकी छिन् ।  ४ संकटकालीन एक रातको कुरा ।  कसैले भन्छ, ‘कमरेड ढोका खोल्नुस् ।’ चार बर्षीय छोरासहित पतिपत्नी गहिरो निद्रामा हुन्छन् । कमरेड भनी बोलाउने को होला भनी आशंकाका डिलमा उभिएर उनले ढोका खोल्छिन् । त्यसैबेला हो लोटनले ‘कमरेड’ सुनेको पनि ।  ढोका खोल्नेबित्तिकै तीनजना भित्र पस्छन् । पतिरामलाई समाएर एकजनाले हत्तपत्त फोन लगाउँछन् । फोनमै ‘पतिरामलाई भेट्यौँ’ भन्छन् । त्यसपछि दुबै हात पछिल्तिर बाँध्छन् । त्यसैबेला छोरा उठेर रुन थाल्छन् ।   ‘कहाँ र किन’ भनी लोटनले सोधेको जवाफमा भन्छन्, ‘सोधपुछको लागि हो ।’ घरभित्र पसेका तीनमध्ये दुईजना कम्ब्याट ड्रेसवाल हुन्छन् ।   त्यसरात अर्थात् २०५८ चैत २९ गते रातको तीन बज्दा नेपालमा संकटकाल तन्नेरी हुन्छ ।   रात उनको आँखामै ढल्छ । उज्यालो हुनेबित्तिकै हान्निएर राजापुर पुग्छिन् ।   शाही सेना भन्छ, ‘ल्याछैन ।’ रित्तै फर्कन्छिन् । टीकापुर पुग्छिन् । सेनाले सशस्त्रको क्याम्पमा पठाउँछ । ‘ल्याछैन, आफ्नै जिल्ला (बर्दिया)मा नगई किन यहाँ’ भन्दै सेना र पुलिसले उल्टै सातो खान्छन् ।  लोटन धुरुधुरु रुँदै फर्किन्छिन् । ५ पति पतिराम टुप्लुक्क आइपुगिहाल्छन् कि भनी लोटन लोचन हरपल तिर्खाउँछन् । सपनामा पनि बिपनामा पनि पतिलाई पछ्याएरै रात ढल्छन् । दिन ढल्छन् । पतिलाई शाही सेनाले लग्दा छोरा सागर भर्खर चार बर्षका हुन्छन् भने लोटन २१ वर्षकी । काखे छोरासँगकी लोटन एक्लो यात्रा जोरजुलुममै सही, अहिलेसम्म जारी छ । रिन गरी छोरा पढाउँदैछिन् ।   ‘हाम्रो समूह छ । समूहबाट ५० हजार र बहिनीबाट २९ हजार रिन लिएको छु,’ लोटन भन्छिन् ।   तीन महिना सिलाइ तालिम लिएपछि टिनले छाएको एकतले घरमा आफूजस्तै दिदीबहिनी मिलेर लुगा सिलाउँछन् । पुग्दो छैन । तैपनि खेतीबाट आउने धानलाई सिलाइ मेसिनले सघाउँछ ।   बेपत्ता नपारिदासम्म त सिएमए पढेका पतिरामले गाउँमै औषधि पसल थापेका हुन्छन् ।   १५ कट्ठा खेत छ । लोटन माइतीले जोतखन गरिदिन्छन् । ६ १७ वर्षयता लोटन लोचन चिसै छन् ।  आँसुले भिजेको लोटन बोली प्रश्न भएर निक्लन्छ, ‘मेरो श्रीमान् कहाँ लगे ? मारेको भए हड्डी देखाउन परो । बाँचेको भए जिउँदो लिनु परो ।’ बिभिन्न संघसंस्थाले घाउ कोट्याउँछन् । इन्सेक र रेडक्रसजस्ता संस्थाले त पत्ता लगाउने आश्वासनसमेत दिएका हुन् । बेलाबेलामा बिकासे संस्थाले बाख्रा, बंगुर पाल्न पनि भन्छन् ।   न माओवादी नेता न त सरकारी अधिकारी नै गया लोटनलाई भेट्न गएका छन् । शान्तिप्रक्रियापछि दल कार्यकर्ता र सरकारी मान्छेले द्वन्द्वपीडित राहत पाएका छन् । उनकै गाउँका जिम्दारले पनि जग्गा फिर्ता पाएका छन् । राहत पाएका छन् ।   न लोटनपति कुनै दलका हुन् न त गया ।  लोटन त गाउँका आफूजस्तै दिदीबहिनीसँग कुरिरहेकी छन् । उनका दिदीबहिनी कोही पतिलाई त कोही बाबालाई र कोहीले छोरा वा छोरी पर्खिरहेका छन् । यातनापीडित गयाहरु पनि न्याय पर्खिरहेका छन् ।  ‘म त यातनाको कारणले मर्छु । हुन त हरेक मान्छे मर्छ । मरे भने बल्ल सरकारले राहत दिने हो त,’ गया सोध्छन् । ७ पर्खनु छ । पर्खनुपर्ने पो कति हो ? न गयालाई थाहा छ न त लोटनलाई । कहिलेसम्म गया लोटनहरुले यसरी चुपचाप पर्खेलान् ? यसरी चुपचाप पर्खेर गया लोटनहरूले न्याय पाउलान् ? गयाप्रसाद चौधरी (४०) र लोटनकुमारी चौधरी (३७) भन्दैछन्, ‘मरेपछि केको न्याय ? केको स्याय । नमर्दै पाए पो न्याय !’
Read more at: https://dainikonline.com/story/23866/2020/1/29/nabin-bibhas

No comments:

Post a Comment