Tuesday, February 25, 2020

हरायो पति भित्र्याउने चलन

कुइनेटो

नवीन विभास

२०७६ माघ १८ शनिबार ०९:४५:००
रापती ‘हब’ मानिने घोराहीदेखि करिब पाँच किलोमिटर दक्षिणपूर्वमा अवस्थित थारू गाउँ । बर्गद्दी । जिम्दार खलिहानमा ११ ‘ठारू मनै’ धान दाउन मस्त छन् । एकजना खलिहानबाहिर पराल बाँध्न । घोराहीबाट गुडेको संकटकाले ‘सरकारी बन्दुक गाडी’ खलिहानमा घचक्क रुक्छ । अनि ? ‘गोर्खा’ पर्छ । दसैँमा थुनिकोट र राङ्कोटमा राँगा ढलेजसरी खलिहानमै थारू ढल्छन् । संयोगले पराल बाँध्ने ठगु थारू भाग्न सफल हुन्छन् । 
पृथ्वीनारायण शाहले थालेको ‘गोर्खा’ विस्तारताका गोर्खाली सेनाले गरेको ‘हत्या’सँग तुलना गर्दै पश्चिमतिर ठूलो रक्तपात भए ‘गोर्खा पर्‍यो’ भन्छन् । बन्दुकखाना लगेपछि थारू शवलाई थोत्रा बन्दुक भिराउँछन् । मिडिया बोलाउँछन् । तिनले फोटो खिच्छन् । फोटोसहित सञ्चारमाध्यमले समाचार प्रवाह गर्छन्, ‘आतंककारीसित भएको दोहोरो भिडन्तमा एघार आतंककारी ठाउँको ठाउँ ठहरै !’ 

ती ११ थारू न माओवादी हुन् न खाओवादी । आतंककारी झन् कसरी हुनु ? 
जिम्दार खलिहानमा धान दाउने थारू काँधले कसरी बन्दुक भिर्नु ! तर, शाहीराजमा गरिब, निरीह, थारू, दलित ‘शव’ले पनि बन्दुक बोक्नु ‘नौलो’ होइन । घटना हो, सुरुवाती संकटकाल अर्थात् २०५८, मंसिर १६ गतेको ।
११ मध्ये एक हुन्, खुसीराम । बाँकी दुईजना हुन्, खुसीरामका सहोदर भाइ र ठूलाबा ।  मार्नेले मार्छ । मर्ने मर्छ । माम्ला चट् ! सकस त सास फेर्न नभुलेका परिवारका ‘बाँकी’ सदस्यहरूलाई पर्छ । मारिनेका पत्नी, छोराछोरी र आमाबालाई पर्छ । सानी छोरी मीना र छोरा विनोदसाथ गधापच्चीस नै नलागेकी खुसीपत्नी भौनीको सकस सम्झी नसक्नु हुन्छ । न ससाना चिचिला छाडेर आँखाकान लुकाउन कतै कुनामा जान सक्छिन् न त घरबार चलाउन ।
 

घोराही र तुलसीपुर सहरबीच एउटा बजार छ । थारू भाषाको लैरनपुर ‘पहारीकरण’ भएर नारायणपुर भएको छ । हो, उही लरैनपुरबाट उत्तर लागे पुगिन्छ, बर्वा गाउँ । ४५ सदस्य भएको एउटा परिवार । दाजुभाइ र दिदीबहिनी १० जना । जेठी, मीना । त्यसताका थारू समुदायको एउटा परिवारमा ४५ जना हुनु सामान्य हो । 
१६ वर्षमै मीनाले एक–डेढ घन्टा पैदल दूरी बेल्वाका भागीराम चौधरीसँग घरजम गर्छिन् । मीनाका पतिले घोडा लाद्ने काम थाल्छन् । एक दिनको कुरा हो । सार्वजनिक कुवा सफा गर्न भागीराम इनारमा पस्छन् । इनारमै इहलीला इतिश्री हुन्छ । त्यसवेला मीनाले बिहे गरेको १५ वर्ष पुगेको हुन्छ । 
दुई छोरा र दुई छोरीसहित जिन्दगी उकालो चढ्न एक्ली मीना मुस्किल चौगुनिन्छ । 

भौनी र मीनाका यस्ताखाले साह्रोगाह्रो सल्टाउन थारू समुदायले एउटा चलन चलाएको छ । त्यही चलन पछ्याउँदै भौनीले मृतक पति खुसीरामका घरमा डाँडागाउँका पुनाराम चौधरीलाई नयाँ पतिका रूपमा भित्र्रयाउँछिन् । मीनाले आफ्नो पतिसँग घोडा लाद्ने मोतीलाल चौधरीलाई । दिवंगत पतिको घरमा नयाँ पति भित्र्रयाउने चलनलाई दाङ उपत्यकाको थारू समुदायले नाउँ दिएको छ– भ्वार पैठ्ना । देउखुरी उपत्यकाको थारू समुदायले भन्छ– भुर पैठ्ना ।
‘श्रीमान् बितेपछि छोराछोरी छाडेर जान पनि मिलेन । बिहे गरी पति ल्याए बालबच्चा स्याहारसुसार सजिलो हुने र जिन्दगी पनि सविस्तार चलाउनलाई ‘अप्ठेरो’मा परेकालाई ‘सप्ठेरो’ पार्न चलाएको चलन हो, यो,’ थारू अगुवा एवं लेखक÷कलाकार छविलाल कोपिला भन्छन् । पुरुष पनि प्रायः पत्नी बितेका वा पत्नीले छाडेर हिँडेपछि अप्ठेरोसँग गुज्रेका हुन्छन् । पत्नीले छाडेका वा मरेको हुँदा तिनका बच्चाबच्ची पनि हुन्छन् । दुःखमा परेकाहरूबीच बिहे हुँदा एक–अर्कालाई बुझ्न र सम्हाल्न सहज हुन्छ । 

जल र जमिनसँग नङमासु सम्बन्धवाल प्रकृतिपूजक थारूले नै तराई गुल्जार बनाएका हुन् । नेपालका आदिवासीमा दोस्रो ठूलो जनसंख्यावाल थारू दाङ, सिन्धुली, उदयपुर, सुर्खेतजस्ता भित्री मधेससहित तराईका कैलाली, कञ्चनपुर,  बाँके, बर्दिया, रुपन्देही, नवलपरासी, कपिलवस्तु, चितवन, सप्तरी, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, मोरङ, सुनसरीमा फैलिएका छन् । यसैगरी, भारतको बिहार, उत्तर प्रदेश र उत्तराखण्डमा पनि थारू बस्ती छन् । भ्वार पैठ्ना प्रचलनअनुसार नयाँ पतिको आफ्नो बेग्लै पहिचान हुँदैन । नयाँ पतिको सामाजिक सम्बन्ध र उपस्थिति पूर्वपतिकै हुन्छ अर्थात् नयाँ पतिले पूर्वपतिकै स्थान लिन्छ । ‘नयाँ पतिको नातापाता पूर्वपतिकै अनुसार हुन्छ । जे साइनो पुरानो पतिको छ, समाजमा त्यही साइनो नयाँको हुन्छ,’ कोपिलाको कथन छ । 

मुलुकी ऐन १८५४ र भूमि सुधार ऐन १९६४ ले आदिवासी थारू जनजीवन बिथोल्छन् । मुलुकी ऐनले थारूलाई ‘मासिन्या’मा राख्छ । मासिन्याभित्र परेका सबभन्दा ठूला संख्यावाल आदिवासी थारू र तामाङ हुन् । मासिन्यामा राखिनु सेनामा जाने र व्यापार गर्नेसमेत छुट नहुनु हो । कुल मिलाएर, मासिन्या भनेको ‘दास’ बनाउन मिल्ने हो । लेखक आहुतिको शब्दमा त ‘हिन्दू सत्तासँग लड्न सक्ने समूह’ तामाङ र थारू हुन् । 
तामाङ राजधानी काठमाडौं उपत्यकावरपरका रणनीतिक ठाउँमा बसेका छन् । मासिन्यामा राखिएकैले त्यस्तो रणनीतिक ठाउँवासी भएर पनि तामाङ ‘तल’ छ । थारू त ‘पहारी’ र ‘मधेसी’ दुवै शासक खलक’को दोहोरो दमनमा परेपछि के बयान गर्नु । थारू आदिवासी बस्तीमा सन् ५० र ६० को दशकमा अमेरिका र विश्व स्वास्थ्य संगठनले औँलो उन्मूलन कार्यक्रम ल्याउँछन् । डिडिटी प्रयोग गरी लामखुट्टे मार्छन् । पर्यावरणभन्दा पनि थारू प्रभावित हुन्छन् । 
औलो उन्मूलनपछि पहाडबाट शासक खलक लर्को लाग्छ । त्यो लर्को ‘मधेसी’ बस्तीमा होइन, थारू बस्तीमा । त्यसपछि औलोको साटो थारू उन्मूलन सुरु हुन्छ । यसैले औलो उन्मूलनलाई समाजशास्त्री कृष्ण भट्टचनले डाइक्लोरो–डिफिनाइल–ट्राइकोलोरोइथेन (डिडिटी)लाई ‘डेन्जर डोज टु थारू’ नाम दिएका छन् । केही महिनाअघि मात्र यही कुरा भन्न कलाकार लवकान्त चौधरीको एउटा पेन्टिङमा ‘गोलो घेरामा लामखुट्टे आकृति नै मानिस छन्, जसलाई डिडिटी प्रयोग गरिएको’ छ । 
औलो उन्मूलन अर्थात् थारू उन्मूलन नहुँदै राणाशासकले थारू सीप र कौशलमाथि लगाएको ‘दस्तुर’ तीरले घोपेर थारू समुदायलाई थला पारिसकेको हुन्छ । तिनै थला परेका थारूलाई भूमिहीन बनाउन ‘तमसुक’ नामक हतियार पनि प्रयोग हुन्छ । खस/नेपाली बोल्न र लेखपढ नजान्ने थारूलाई ब्याजको स्याज, स्याजको प्याज लगाएर जमिन खोसिएको छ ।
एक भाषा र एक संस्कृति राज्य नीतिवाल नेपालमा सेना, पुलिस, सिडिओ, सरकारी कार्यालय हाकिम, अदालत, प्रधानमन्त्री, मन्त्री, राजा, शिक्षक, हुलाकी सबै पहारी भएपछि थारू भूमि खोस्न केको आइतबार ! भूमिपति थारू भूमिहीन हुन्छन् । आफ्नै थातथलोबाट उठिबासिन्छन् । भुरान खेदिन्छन् । बचेका थारू पुरुष कमैया बन्छन् भने महिला कम्लरी । २०५७ साउन २ गते कमैया मुक्ति र २०७० असार १३ गते कमलरीप्रथा मुक्तिको ‘सरकारी घोषणा’ भएको छ । 
थारू गाउँका स्कुलमा पहारी भाषामा पढाइ, बोल्नुपर्ने पहारी, लेख्नपर्ने पहारी, सरकारी कार्यालयमा शासक संस्कृति सजाउनुपर्ने हुन्छ । पहारीले आफूसँगै बोकेर लगेको शासक संस्कृतिले थारू दैनिक जीवन प्रभावित पार्छ । घोंगी खाएको, थारूले खस नेपाली बोलेको, लाएको, हिँडेको हरेक कुरामा ‘पहारी खिसी’ थारू मन पोल्न थाल्छ । त्यसपछि आफ्नै चालचलन, खानपिन, पहिरन, बोलीचाली बिस्तारै थारू आँखाले पनि ‘असभ्य’ देख्न थाल्छ । पहारी हिन्दू शासक खलकको संस्कृति अब्बल र ‘सभ्य’ देख्न थाल्छ । त्यसपछि पहारी संस्कृति पछ्याउँदा पो सभ्य भइन्छ जस्तो लाग्न थाल्छ । 
पूर्वपतिको घरमा आउने नयाँ पतिलाई थारू समाजले नै ‘कर्के’ हेर्न थाल्छ । दोस्रो दर्जा दिन थाल्छ । तिनका छोराछोरीलाई कुरा काट्न थाल्छन् । अपराध गरेजसरी पो थारू समाजले व्यवहार गर्न थाल्छ । शासक खलकीय संस्कृति प्रभावले बिहे गर्ने परिवार काँप्न थाल्छ । फलस्वरूप थारू समाज आफूले जुगदेखि चलाएको राम्रा चलन चलाउनसमेत हच्कन थाल्छ । 
एकाएक थारू चिन्तन र संस्कृति बिस्तारै बिथोलिन थाल्छ । पूर्वपतिको घरमा आउने नयाँ पतिलाई थारू समाजले नै ‘कर्के’ हेर्न थाल्छ । दोस्रो दर्जा दिन थाल्छ । तिनका छोराछोरीलाई कतिले मुख त कतिले पिठ्युँपछाडिबाट कुरा काट्न थाल्छन् । बिहे, भोज, मेलापातमा फरक व्यवहार गर्न थाल्छन् । अपराध गरेजसरी पो थारू समाजले व्यवहार गर्न थाल्छ । र, शासक खलकीय संस्कृति प्रभावले बिहे गर्ने परिवार काँप्न थाल्छ । त्यसपछि ? थारू समाज नै यस्ता चलन चलाउन हच्कन थाल्छ । सिंगो थारू समुदाय नै शासक संस्कृतिले डाँडामाथिको राँकुली बोटलाई जसरी हल्लाएको वेला को उभिनु ? फलस्वरूप थारू समाज आफूले जुगदेखि चलाएको राम्रा चलन चलाउनसमेत हच्कन थाल्छ । 

‘नेपालको कानुनका कारण पनि भुर पैठ्ना चलन ठप्पप्रायः भएको हो,’ कोपिलाको दाबी छ । पुरानो पतिको घरमा नयाँ पति लाने कुरा पुरुष सत्तालाई टेवा दिने बलशाली शासक ‘संस्कृति’सँग जोडिएको कानुनले कसरी चिन्नु ? हिन्दू महिलालाई समेत नचिन्ने राज्यसत्ताको आँखाले पत्नीले पति ल्याउने थारू चलनलाई कसरी चिन्नु ? पति ल्याउने चलनजस्तो मातृसत्ता झल्को दिने ‘भ्वार पैठ्ना’ चलनलाई कसरी हेर्न सक्नु ? आदिवासी समुदायका संस्कृति चिन्न र बुझ्न न राज्यले जरुरी ठानेको छ न त यसलाई सहजीकरण गर्न नै । लेखक कोपिलाका छिमेकी छन् ।
पहिलो पतिबाट एक र नयाँ पतिबाट चार छोरा छन् । आ–आफ्ना पिताका नाउँबाट नागरिकता बनाउँछन् । अंशबन्डामा नयाँ पतितिरका छोरा वञ्चित हुन्छन् । ‘पहिले न नागरिकताको कुरा थियो न अंशको । त्यसवेला समस्या थिएन । अब समस्या हुने भयो,’ पुरुष स्वामित्व मात्र चिन्ने नेपाली कानुनले पनि आदिवासी चलन ढिकमा पुगेको सुनाउँदै कोपिला भन्छन्, ‘यसैले पनि थारूको भुर पैठ्ना संस्कृतिसमेत सकिने भयो ।’ ‘गोन्याक लागल’ चलन अर्थात् आमाले बच्चा बोकेर नयाँ पतिको घरमा जाने चलन पनि नागरिकता र अंशमा पुगेर टुंगिएको छ । 

भौनीको घरबार भत्किसकेको छ । भन्नुहोला, राजाविनाको लोकतन्त्रमा भ्वार पस्नेजस्ता थारू चलन नफुले कहिले फुल्ला ? लाग्ला, दुःख परेकाहरूका समस्या हल गर्ने यस्ता राम्रा थारू संस्कृति अब हलक्क नहल्के कहिले हल्कन्छ त ? तपाईंलाई यस्तो पनि लाग्ला, अब त स्थानीय सरकार पनि बनेका छन् । कमसेकम तिनले स्थानीय सुखदुःख चिनेका छन् । तिनले त त्यस्ता योजना कसो नबनाउलान् जसले थारू संस्कृतिलाई सम्वर्द्धन गर्छ । 
थारू मूल दाङको कुरा गरौँ । दाङको घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी छन् भने १७ नम्बर वडाअध्यक्ष खुसीराम चौधरी । उपमहानगरले एक वडा एक कृत्रिम ताल नीति लिएको छ । र, १७ नम्बर वडामा सबभन्दा बढी अर्थात् ६ वटा कृत्रिम ताल बनाइएको छ । ताल बनाउँदा विकास भनिएको छ । यसले सिँचाइ, माछापालन र पानी ‘चक्र’लाई सहजीकरण गर्ने नै भयो । तर, यसले थारू समुदायका सामूहिकता र तिनका जनजीवनसँग सीधै गाँसिएका ‘गन्जी’ मासेपछि भ्युरा फुलाउने संस्कृतिसँगै थारू सामूहिक जीवनसँग जोडिएका धेरै कुरा मासिएको छ । थारू र गन्जी एक–अर्कासँग जोडिएका छन् । जहाँ गन्जी त्यहीँ थारू बस्ती बसेका छन् । गन्जीलाई पहारी भाषामा सोता भन्छ । स्वभावैले गन्जीमा नै कृत्रिम ताल बनाउने भएपछि थारू भएकै ठाउँमा ताल धेरै बन्ने भयो । 
थारू समुदायकै उपमहानगर प्रमुख र वडाध्यक्ष हुँदा पनि शासक संस्कृति संरचनासामु कि निरीह हुनु कि विद्रोह गर्नुपर्ने देखिन्छ । ‘टीकापुर’ घटनाले भने राज्यको नजर पुरानै छ भन्दै थारू समुदायले ‘पहिचान’ खोजे है भन्ने कुरा पनि देखाएको छ । भूमिगत रूपमै चुनाव लडेका रेशम चौधरीले जिते जो जेलमै छन् । 
रेकर्डनेपाल डटकमको ट्रबल इन टीकापुरमा टीकापुरका स्थानीय पत्रकार गणेश चौधरी सुनाउँछन्, ‘थारू भन्छन्, हामी मिलेर बसेका होइनौँ, सहेर बसेका हौँ । न टीकापुर घटनाअघि सामाजिक सद्भाव थियो न अहिले । टीकापुर घटनाले यसलाई सतहमा ल्याएको मात्र हो ।’
टीकापुर घटनाले अब थारू आफ्ना पहिचान र आफ्ना रैथाने थातथलो र संस्कृति संरक्षणमा पनि उठे भन्ने संकेत त गर्छ । तर, नेटोमा पुगेर हात हल्लाइरहेका राम्रा चलन बचाउन थारू समुदाय कसरी लागिपर्छ ? शासक संस्कृति ‘चस्मा’ कहिले फुकालेर आफ्नै रैथाने संस्कृति सम्वर्द्धनमा थारू समुदाय लाग्छ ? प्रश्न अनुत्तरित छ । 
from nayapatrika

No comments:

Post a Comment