Monday, October 27, 2008

सम्झेर बगेको खोला

जीवनको कुनै याम थियो जुनबेला समाजका जम्मैचिज बदल्नुपर्छ भन्ठान्थें । लाग्थ्यो यो दुनियाँमा केही पनि छैन मैले काबुमा लिन नसक्ने । जीवनको ती याम सम्झेर उदेक लाग्छ । गीत गाउँदै रोल्पा रुकुमका डाँडाकाँडा घुमियो । संसार बदल्ने मज्जाको सपना उनियो । लाग्थ्यो बच्पनमा चन्द्रमा हातमा ल्याउने सपनाजस्तै आफू तन्नेरी भइसक्दासम्म त नेपालमा जनवाद आइहाल्ने छ । यी डाँडापाखाहरुमा नयाँ जीवन सिरुरुरुरुरुरुरुरुरुरुरुरु फल्नेछन् । जीवन पढ्दैजाँदा थाहा पाउँदै गइयो सम्झेजस्तो कहाँ रहेछ र जिन्दगानी । कहाँ रहेछ र सपनाहरु फुल्ने याम सोचेजस्तो । के त्यसो भए सबै खरानी भए होइन आशावादी छु अझै पनि कि कुनै याममा आउने छ नयाँ बिहान यो मुलुकमा । ठगिएका सारा नेपालीका सपनाको एउटा बिहान । तर मलाई त्यो दिन कति टाढा छ बच्पनमा जस्तो अल्लारेमा जस्तो त्यही पारि डाँडामा भने देखिरहेको छैन । बहुदल भर्खरै गाउँ पसेको ताका भैलो खेल्न जान्थें कहिले चुनवाङ कहिले पाछाबाङ त कहिले कुरेली । मेरा लागि तिहारका रमझम भनेको चन्द्रमा छुने गीतका उड्नु नाच्नु आफूभन्दा साना भाइबहिनीलाई नचाउनु गाउनु थिए । साँच्ची ती दिन कति मज्जाका थिए हँ मेरो छेवैमा बसेर बहराइनमा अलपत्र परेका ११५ जना नेपालीका बारेमा समाचार लेख्दैछन सहकर्मी खगेन्द्र पन्त । पछिल्लो कम्प्युटरमा प्रमिला देवकोटा आफ्नो ब्लग अपडेट गर्दैछन् । उपराष्टपतिको समाचार लेख्न मुड चलेन । आज पनि उसले फेरि भूमिका खोजेको कुरा दोहोर् याएको छ । औकातले नै उपराष्टपति नहुने मान्छेले अझ भारी खोज्नु कति तर्कसंगत होला कुन्नि लेखिन समाचार । तिहारको पूर्वसन्ध्यामा बैकलमा फालिएका उनै पुराना कुरा सम्झन मन लागेको छ । थाहा छैन किन हो कुन्नि सम्झेको बगेको खोला ।थाहा छैन यसपालिको तिहार कस्तो हुने हो जनमुक्ति सेनाको शिविरमा उताबाट आएपछि लेख्ने छु । तिहारको शुभकामना । अब हाम्रो भेट तिहारपछि ।

No comments:

Post a Comment